
एजेन्सी । रोहिंग्या मुस्लिम अल्पसंख्यकलाई सुरक्षा दिन असफल भएको भन्दै म्यानमारका लागि मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघकी विशेष प्रतिनिधिले त्यहाँकी प्रजातन्त्रवादी नेतृ तथा राज्य सल्लाहकार आङ साङ सूचीको कडा आलोचना गरेकी छन् ।
नोबेल पुरस्कार विजेता मलाला युसूफजाईले पनि रोहिंज्याहरु प्रति गरिएको व्यवहार दुःखद र लज्जास्पद भएको टिप्पणी सामाजिक संजाल ट्वीटरमार्फत् गरेकी छन् । दश दिनमा सतासी हजार रोहिंज्या मुसलमानहरु त्यहाँबाट भागेर बंगलादेश प्रवेश गरेको संयुक्त राष्ट्र संघले बताएको छ ।




म्यानमारका लागि मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघकी विशेष दूत याङ्हि ली ले रखाइन प्रान्तको स्थिति साँच्चै नै गम्भीर रहेको र नेतृ सूचीले हस्तक्षेप गर्ने समय आएको बताइन् ।
ली ले नेतृ सूची अप्ठेरो अवस्थामा रहेपनि त्यहाँको हिंसाको निन्दा गर्न उनी विफल भएको बताइन् । प्रहरी चौकीहरुमाथि रोहिंज्याका उग्रवादी समूहले आक्रमण गरे लगत्तै सरकारी सेनाले आम सर्वसाधारण रोहिंग्यामाथि चर्को दमन भइरहेको छ ।
यसबीच नोबेल पुरस्कार विजेता शिक्षा अभियानकर्मी मलाला युसुफजाईले अर्की नोबेल पुरस्कार विजेता तथा म्यानमारकी नेतृ आङ साङ सूचीले सो हिंसाको भत्सर्ना गरेको हेर्नका लागि आफूले प्रतीक्षा गरिरहेको बताएकी छन् ।