काठमाडौं/२० फागुन
नरेन्द्रराज प्रसाइँ तथा ईन्दिरा प्रसाईंद्वारा स्थापित नई प्रकासनले प्रा.डा. ताराकान्त पाण्डेयलाई मरणोप्रान्त पुरस्कृत गर्ने समाचार आज बाहिरिएपछि उक्त पुरस्कारबारे ताराकान्तकी जीवन सङ्गिनी प्रगतिवादी कवि तथा आख्यानकार शीला योगीले एक वक्तव्य प्रकाशित गरी अस्वीकार गर्ने जानकारी गराउनुभएको छ । उहाँले मुलबाटोलाई प्रेसित गरेको वक्तव्यमा “नई प्रकाशन संस्थाद्वारा प्रा.डा. ताराकान्त पाण्डेयलाई मरणोपरान्त नई पुरस्कारबाट सम्मानित गरिने भन्ने समाचारले म र मेरो परिवार तथा उहाँ सम्बद्ध सङ्घ÷संस्था आश्चर्यचकित भएका छौं ।” भनिएको छ ।
सो वक्तव्यमा ताराकान्त पाण्डेयले जीवनभर माक्र्सवादी साहित्य–कला तथा संस्कृति चिन्तनमा लाग्नुभएको जनाउँदै यसखाले पुरस्कारले स्वयम् ताराकान्तको व्यक्तित्वको अपमान हुने वताइएको छ । वक्तव्यमा अगाडि भनिएको छ– “स्मरणीय छ, प्रा.डा. ताराकान्त पाण्डेय नेपालको कम्युनिस्ट तथा गणतान्त्रिक सङ्घर्ष र सांस्कृतिक वैचारिक रुपान्तरणमा क्रियाशील एवम् प्राज्ञिक अनुसन्धानमा सक्रिय र जनवादी, वैज्ञानिक समाजवादी तथा साम्यवादी आस्थामा दृढ, प्रतिबद्ध र सर्वहारा मानवतावादी सौन्दर्य शास्त्रका व्याख्याता हुनुहुन्थ्यो । उहाँ एकजना मालेमावादी सौन्दर्य चिन्तक र समालोचकका रूपमा स्थापित व्यक्तित्व हुनुका सम्बन्धले त्यस खाले पुरस्कारद्वारा दुषित गरिनु उहाँको अपमान हुन्छ भन्ने हामी र उहाँँसंलग्न संस्थालाई लागेको हुनाले म र मेरो परिवारले उक्त पुरस्कार अस्वीकार गर्ने कुरा सम्बद्घ संस्थालाई जानकारी गराउन चाहन्छौं ।”
प्रस्तुत समाचारका सम्वन्धमा ताराकान्त पाण्डेय संस्थापक सदस्यसचिव रहनुभएको र मृत्युका समयमा सो संस्थाको अध्यक्षसमेत रहनुभएका इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष एवम् अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय संयोजक समेत रहनुभएका हिरामणि दुःखीलाई नई प्रकाशनको उक्त निर्णय र शीला योगीको वक्तव्यका बारेमा यस अनलाइन सहकर्मीले सोध्दा उहाँले पनि अनधिकृत रुपमा परिवार र ताराकान्त सम्वद्ध रहनुभएको सङ्घ÷संस्थाका कसैसँग पनि सोधपुछ नै नगरी गरिएको उक्त नियर्णय घोर आपत्तीजनक रहेको बताउनुभयो ।
दुःखीले भन्नुभयो–“यदि यो पुरस्कारका बारेमा हामीसँग वा शीलाजीसँग सोधेको भए हामीले उतिवेला नै अस्वीकार गर्ने थियौँ । किनकि नई प्रकाशन संस्था र हाम्रो वैचारिक धारा भनेका विपरीत ध्रुव जस्तै हुन् । सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूले यस्ता पत्रु पुरस्कार थाप्दै हिँड्दैनन् । ताराकान्तको योगदानलाई बदनाम गर्न यस्तो पुरस्कार दिएर डाम्न खोजिएकोले नई प्रकाशन संस्थालाई आइन्दा यस्ता गलत निर्णय नगर्न सचेत गराउँछौं”































