फागुन २१ को निर्वाचन सशक्त बहिस्कार गर्ने अखिल (क्रान्तिकारी)का नेताहरुको उद्घोष

फागुन २१ को निर्वाचन सशक्त बहिस्कार गर्ने अखिल (क्रान्तिकारी)का नेताहरुको उद्घोष

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट नेपाल निकट अखिल (क्रान्तिकारी)का नेताहरुले आसन्न फागुन २१ को निर्वाचन सशक्त रुपमा बहिस्कार गर्ने उद्घोष गरेका छन् । संगठनको हालै सम्पन्न राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरु सार्वजनिक गर्नका निम्ति आयोजित पत्रकार सम्मेलनमा विद्यार्थी नेताहरुले यस्तो उद्घोषण गरेका हुन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संगठनका नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठले भन्नुभयो, “फागुन २१ को चुनाव भनेको ०८४ चुनाव ०८२ सारेको मात्र हो । यो चुनावले मुलुकलाई नयाँ केही दिनै सक्दैन । राज्यका उत्पीडित,सीमान्तकृत दलित, महिला, मुस्लिम लगायतलाई यो चुनावले कुनै अधिकार दिनै सक्दैन । दिनप्रतिदिन देशमा सङ्कट गहिरिँदै गएको छ । हुँदा हुँदा देशै नरहने हो कि भन्ने संत्रास पैदा भैरहेको छ। यी सबै समस्याको जरो कारण दलाल तथा नोकरशाही पुँजीवाद हो। यसको समूल बिस्थापन गरेर मात्रै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका तमाम् समस्या समाधान गर्न सकिन्छ । तसर्थ, फागुन २१ को निर्वाचन सशक्त रुपमा बहिस्कार गर्नुपर्छ । अखिल (क्रान्तिकारी)ले सशक्त रुपमा बहिस्कार गर्छ र सबै आम देशभक्त, स्वाभिमानी र न्यायप्रेमी युवा विद्यार्थीहरुलाई सशक्त रुपमा बहिस्कारका निम्ति हार्दिक अपिल र आव्हान पनि गर्दछ ।”

त्यसैगरी संगठनका उपाध्यक्ष नेत्र शाहीले भन्नुभयो, “शिक्षा बेचबिखनको साधन बनाएर श्रमजीवी वर्गका छोराछोरीले पढ्नै नसक्ने अवस्थाबाट मुक्त गराउन अब अखिल (क्रान्तिकारी) सडकको सिंह बनेर गर्जने छ ।” उहाँले शैक्षिक रंगमञ्चमा शिक्षा बजार दलाल तथा नोकरशाही बर्ग लागि नयाँ लुटिखाने सुरक्षित लगानी क्षेत्र बनेको भन्दै शिक्षामा भएको निजीकरण, व्यापारीकरण र माफियाकरणको अन्त्य गरेरै छाड्ने बताउनु भयो ।

त्यसैगरी संगठनका सचिव दिनेश जोशी शैक्षिक विकृतिक विसंगतिका विरुद्ध अब अखिल .(क्रान्तिकारी)ले व्यवस्थित रुपमा आन्दोलन अगाडि बढाउने बताउनु भयो । त्यसैगरी अर्का सचिव सचिव नरबहादुर कुमालले नेपालको सही र वैज्ञानिक शिक्षा प्रणालीको रोड्म्याप आफूहरुसँग रहेको भन्दै शिक्षा क्षेत्रलाई आमूल रुपले परिवर्तन गर्न अपरिहार्य रहेको स्पष्ट पार्नुभयो ।

अर्का सचिव प्रवेश रुम्बाले साम्राज्यवादद्वारा प्रायोजित निर्वाचनको रापताप चलिरहेको बेला एकथरी युवा विद्यार्थीहरु भोट बैंकको भुमिका निभाउन मरिहत्ते गरेर लागिरहेको टिप्पणी गर्दै फागुन २१ को कथित निर्वाचनले कुनै समस्याको समाधान नगर्ने भएकोले अखिल (क्रान्तिकारी)को सम्मेलनले सशक्त रुपमा बहिस्कार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

कार्यक्रमको सञ्चालन संगठनका महासचिव नवीन खड्काले गर्नुभएको थियो ।