पोल्ने प्रश्नहरू छन्
शरीरका अङ्ग अङ्गमा
डढेलो सल्काउने जिज्ञासा छन्
यतिबेला
शिशिरपछिको कथित वसन्तमा
कोही पनि आरामदायक
साँच्चिकै प्रेमपरक
सुखदायक स्वप्न देख्न
सकिरहेका छैनन्
छन् भने
केही सपनाका वलात्कारी
उज्यालोका अपहरणकर्ता
पथविचलित भङ्जाहा
नदी आकाश झरना
बोली जिभ्रो भाषा र लयका
तस्कर सौदागर
संसदीय फोहोरी वसन्तमा
खुसी छन् आनन्दित छन्
अरू भने
क्रूर बर्बर आततायी
गुलाबी रङ्गहीन
मौसमका विरुद्धमा
चित्ताकर्षक रक्तिम बिम्बमय
वासन्ती विद्रोहको
आमन्त्रणमा निमग्न छन् ।
यस्तै यस्तै चालामालामा
फेरि पनि
प्रश्नहरू उत्तर बिना मर्ने हुन् कि
उज्यालो दुनियाँका
मानिसहरू
अल्पमतमै पर्ने हुन् कि
अँध्यारो सत्ताका
महामहिमहरू नै
सधैं अग्ला शिखरमा उभिएर
पुरानै जमानाका
आदेश फर्मान गर्ने हुन् कि
यस्तै चासोका बिच
मनहरू सशस्त्र बन्दै छन्
स्वच्छ निर्मल दुनियाँका निम्ति
क्रूर वसन्त विरुद्ध
डिजिटल अस्त्र सोच्दै छन्
र निर्बन्ध सपनाको
आकाङ्क्षालाई बलशाली बनाउँदै छन् ।






























