गिरफ्तार कमरेडहरुलाई बिनाशर्त अविलम्ब रिहा गर्न जोडदार माग, भोलिको बन्द सफल पार्न हार्दिक अपिल

गिरफ्तार कमरेडहरुलाई बिनाशर्त अविलम्ब रिहा गर्न जोडदार माग, भोलिको बन्द सफल पार्न हार्दिक अपिल

काठमाडौं । संयुक्त संघर्ष समितिका संयोजक सीपी गजुरेल गौरवले आज साँझ संयुक्त संघर्ष समितिको आव्हानमा आयोजित शान्तिपूर्ण देशव्यापी मशाल जुलुस कार्यक्रममा हस्तक्षेप गरी देशैभरिका विभिन्न सहरहरुबाट दर्जनौं नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको जनाउँदै गिरफ्तार कमरेडहरुलाई बिना शर्त अविलम्ब रिहागर्न जोडदार माग गर्नुभएको छ ।


वक्तव्यमा संयुक्त संघर्ष समितिको तर्फबाट भोलिका लागि आव्हान गरिएको उपत्यका बन्द सफल पार्न सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, प्रगतिशील तथा देशभक्त पार्टी, संगठन तथा व्यक्तित्वहरुमा हार्दिक अपील गर्नुभएको छ ।

वक्तव्यमा भनिएको छ, “काठमाडौं उपआज सांझ संयुक्त सङ्घर्ष समितिको आह्वानमा आयोजित देशव्यापी शान्तिपूर्ण मशाल जुलुस कार्यक्रममा सुशिला कार्की नेतृत्वको कठपुतली सरकारले प्रहरी हस्तक्षेप गरी देशैभरिका विभिन्न शहरहरुबाट हाम्रा दर्जनौ साथीहरुलाई गिरफ्तार गरेको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार गिरफ्तार हुनेहरुमा क्रान्तिकारी कम्युनिस्ट पाटी नेपालका पीबीएमहरु क. दिनेश शर्मा, क. सुरेन्द्र भण्डारी, क. रामबहादुर बुढा, क. गंगा पौडेल, क. दीपक शाही, केन्द्रीय समिति सदस्यहरु क. बिमल निरौला, क. सुमन पराजुली, क. गुणनिधि आचार्य, क. मनु विक, क. शिव धिमाल, क. पेसल दाहाल, क. टेक बहादुर विक, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बाट केन्द्रीय समिति सदस्यहरु क. वीरेन्द्र शाह, क. रुपा बुढा, क. उषा किरण, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबाट केन्द्रीय समिति सदस्यहरु क. हिमांशु घिमिरे, क. बुद्धलक्ष्मी महर्जन, नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) बाट केन्द्रीय समिति सदस्यहरु क. दिनेश बर्तौला, क. कुमार घताने, क. राजेन्द्र सापकोटा, क. टीका परेल लगायत ६ पार्टीका विभिन्न जिम्मेवारीमा कामगर्ने दर्जनौं कमरेडहरु हुनुहुन्छ । गिरफ्तार कमरेडहरुलाई बिना शर्त अविलम्ब रिहागर्न संयुक्त सङ्घर्ष समिति जोडदार माग गर्दछ ।
हाम्रो संयुक्त सङ्घर्ष समितिले आगामी संसदीय निर्वाचनपछि निर्माण हुने सरकारबाट देशको राष्ट्रिय स्वाधीनता र जनतन्त्र तथा जनजीविकाका समस्या समाधान हुन नसक्ने ठहर गरी स्वाधीन जनसरकारको गठन र जनसंविधानको निर्माणमा केन्द्रित रहेर निर्वाचन बहिष्कारका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसै शिलशीलामा भोलि उपत्यका बन्दको कार्यक्रम राखिएको छ । उक्त कार्यक्रमलाई सफल पार्न सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, प्रगतिशील तथा देशभक्त पार्टी, संगठन तथा व्यक्तित्वहरुमा हार्दिक अपील गर्दछ ।”