निर्वाचन बहिस्कारको आव्हान गर्दै देशैभर मशाल जुलुस प्रदर्शन, पाँच दर्जन बढी गिरफ्तार (फोटोफिचर)

निर्वाचन बहिस्कारको आव्हान गर्दै देशैभर मशाल जुलुस प्रदर्शन, पाँच दर्जन बढी गिरफ्तार (फोटोफिचर)

काठमाडौं । सुशिला कार्की नेतृत्वको कठ्पुतली सरकारले फागुन २१ मा गर्न लागेको चुनाव बहिस्कारको आव्हान गर्दै देशैभर मशाल जुलुस प्रदर्शन गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललगायत ६ वटा कम्युनिस्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिको आयोजनामा गरिएको मशाल जुलुस प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर देशैभर सयौं नेताकार्यर्तालाई गिरफ्तार गरेको छ ।

मशाल जुलुस प्रदर्शनको क्रममा काठमाडौं उपत्यकाको असन, कोटेश्वर, लगनखेल, चावहिल, कलंकीलगायत काठमाडौं उपत्यका बाहिर विराटनगर, नेपालगञ्ज लगायतका क्षेत्रमा प्रहरीले हस्तक्षेप गरी पाँच दर्जन बढी नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ ।

काठमाडौं उपत्यकामा निर्वाचन बहिस्कारका लागि भोलिको बन्द सफल पारौं भन्ने आव्हानका निकालिएको मशाल जुलुस प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरी असन क्षेत्रबाट प्रहरीले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पीवीएम तथा ९ नं ब्यूरोका इन्चार्ज दिनेश शर्मा सागर, पोलिटब्यूरो सदस्य तथा कार्यालय सचिव गंगा पौडेल, हाँक साप्ताहिकका कार्यकारी सम्पादक रामबहादुर बुढा, हाँक टुडेकी सम्पादक मनु विक, क्रान्तिकारी कम्युनिस्ट पार्टीका केस पेशल दाहाल, राम नेपाली, मंगल तामाङलाई गिरफ्तार गरेको छ ।

त्यसैगरी काठमाडौंको कोटेश्वर क्षेत्रबाट वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष हिमांशु , केन्द्रीय सदस्य अच्युत कालिकोटे र क्रान्तिकारी दलित मुक्ति मोर्चाका केन्द्रीय संयोजक टेकबहादुर विकलाई गिरफ्तार गरिएको छ ।
ललितपुरको लगनखेलबाट वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेताहरु बुद्धलक्ष्मी महर्जन, फूलमती, बमबहादुर विश्वकर्मा, साया किरण, सरल र क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता शिव घिमिरेलाई पक्राउ गरिएको छ ।

त्यसैगरी काठमाडौंको कलंकी क्षेत्रबाट अखिल (क्रान्तिकारी) का अध्यक्ष बिरेन्द्र शाह, उपाध्यक्ष रुपा बुढामगर, महासचिव उषाकिरण आजाद, सचिवालय सदस्यहरू सर्जन पाण्डे, पारस राहादी मगर र छत्र विक, केन्द्रीय सदस्यहरू लक्ष्मी पाण्डे, सक्षम विक, सुप्रिया नेपाली, बजिरसिंह नेपाली, समिर विक, स्वस्तिक अधिकारी र सञ्जु राई, साथै क्याम्पस जिल्ला सह–सचिव लोकराज शाही र जिल्ला सदस्य कमराज पाण्डे गरी जम्मा १६ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

त्यसैगरी चावहिलबाट नेकपा (जनपक्ष)का प्रवक्ता दिनेश बर्तौला, जनपक्षीय ट्रेड युनियन महासंघका अध्यक्ष कुमार, महासचिव राजेन्द्रलाई प्रहरीले गिरफ्तार गरेको छ ।

त्यसैगरी प्राप्त समाचार अनुसार विराटनगरमा निकालिएको मशाल जुलुसमा हस्तक्षेप गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका विविएम सुरेन्द्र भण्डारी, केस विमल निरौला, सुमन पराजुली, नेकपा (बहुमत)का कृष्ण चौलागाई, सुमन पौडेल चतुरलाल राई र नकपा सतिलाल चौधरी लगायतलाई प्रहरीले गिरफ्तार गरेको छ । उहाँहरुलाई आजै साँझ छाडिएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

उता नेपालगञ्जमा निकालिएको मशाल जुलुसमा पनि प्रहरीले हस्तक्षेप गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पीवीएम दिपक शाही, केस गुणनिधि आचार्य लगायतलाई पक्राउ गरिएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य बसन्तका अनुसार देशैभर पाँच दर्जनभन्दा बढी नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । पक्राउ गरिएका नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहाई गर्न उहाँले जोडदार माग गर्नुभएको छ ।
यसैगरी, उपत्यका बाहिर प्रायः सबै ब्यूरोका अधिकांश जिल्लाहरुमा निर्वाचन बहिस्कारको आव्हान गर्दै मशाल जुलुस प्रदर्शन गरिएको छ ।