काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत ६ वटा कम्युनिस्ट पार्टी सम्मिलित संयुक्त संघर्ष समितिको आयोजनामा आज साँझ उपत्यकामा निकालिएको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरी दर्जनौं नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको छ ।

प्राप्त जानकारी अनुसार असन इन्द्रचोकमा निकालिएको मशाल जुलुसमाथि हस्तक्षेप गरी प्रहरीले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य तथा ९ नं ब्यूरो इन्चार्ज दिनेश शर्मा सागर, पोलिटब्यूरो सदस्य तथा कार्यालय सचिव गंगा पौडेल, हाँक साप्ताहिकका कार्यकारी सम्पादक रामबहादुर बुढा, हाँक टुडेकी सम्पादक मनु विक, राम नेपाली, मंगल तामाङलगायतलाई गिरफ्तार गरेको छ ।
त्यसैगरी हाम्रा सहकर्मी अनु निरौलाले दिएको जानकारी अनुसार कोटेश्वरको पेरिस चोकबाट निकालएको मशाल जुलुस कोटेश्वर चोकमा पुगेर कोणसभामा परिणत हुँदै गर्दा प्रहरीले हस्तक्षेप गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा एकीकृत दलित मुक्ति मोर्चाका केन्द्रीय संयोजक टेक विक, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालकी केकस तथा विध्यार्थी संगठनकी केन्द्रीय अध्यक्ष हिमांशु र सोही विद्यार्थी संगठनका केस अच्यूत कालिकोटेलाई गिरफ्तार गरिएको छ ।

त्यसैगरी प्राप्त जानकारी अनुसार कलंकी चोकमा निकालिएको मशाल जुलुसमा पनि हस्तक्षेप गरी प्रहरीले आधा दर्जन बढी नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा, नेकपा (जनपक्ष), समाजवादी कम्युनिस्ट पार्टी नेपाल सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिको आयोजनामा आज साँझ उपत्यका बन्दको आव्हान गर्दै मशाल जुलुस निकालिएको थियो ।
प्राप्त जानकारी अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको नेतृत्वमा गोङ्गबु र असनमा, नेकपा (बहुमत)को नेतृत्वमा कलंकीमा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको नेतृत्वमा कोटेश्वरमा, नेकपा (जनपक्ष)को नेतृत्वमा चावहिलमा, लगनखेल र भक्तपुरमा भने संयुक्त रुपमा मशाल जुलुस निकालिएको थियो । अन्य स्थानमा सफलतापूर्वक मशाल जुलुस निकालिए पनि असन, कोटेश्वर र कलंकीमा भने प्रहरीले हस्तक्षेप गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । थप विवरण प्राप्त हुन बाँकी छ ।































