लडेर आउनेहरूले त ठगेर …..

लडेर आउनेहरूले त ठगेर …..

कविता

लडेर आउनेहरूले त ठगेर हत्तु पारे यहाँ ,
ठगेरै आउने ठगहरूले कसरी देश बनाउछन ?
कुहेर झर्छन यी ठगहरू सिनो बनेर गन्हाउछन‌
ठगेर आउने ठगहरूले कसरी देश बनाउछन ?
कसरी देश बनाउँछन….?
***
सत्ताको कुर्सी भन्ने कुरा अचम्मको हुने रहेछ
विनम्र मान्छेलाई पनि अहङ्कारले छुने रहेछ
त्यागी तपस्वी योगी पनि भोगी बनेर सकिने रैछ
फलाम काट्ने फलाम पनि ढोड बनेर मक्किने रैछ
***
नजितुन्जेल‌ दिन्छु भन्छन जितेछी टाउको कनाउछन
ठगेर आउने ठगहरूले कसरी देश बनाउछन ?
कसरी देश बनाउछन..?
***
खसीको टाउको देखाएर कुकुरको मासु बेच्छन‌ त्यहाँ
भ्रष्टचारीको खुट्टा ढोग्छन सोझा सिधालाई‌ हेप्छन् त्यहाँ
सोझो नि चोर्न खप्पिस बन्छ चोरको त कुरै के गर्नु र ?
कुकुरलाई मासु रुँघ्न लगाई ढुक्कले भर के पर्नु र ?
खानका काल आइहाले नि लुटेर मोज मनाउछन
ठगेर आउने ठगहरूले कसरी देश बनाउँछन
कसरी देश बनाउछन ..?
***
चिनेकै ठग..हरूलाई‌ विश्वास गर्ने कस्ता हामी ?
पटके ठगले ठग्न सक्ने सस्ता नि कति सस्ता हामी ?
गुहु र गोबर नछुट्याउने लाटा नि कति लाटा हामी ?
जसले नि ठग्न सकिहाल्ने कहिले हो बन्ने बाठा हामी ?
यस पाली पनि लटपट पारी क-कसले भोट हनाउछन
ठगेर आउने ठगहरूले कसरी देश बनाउछन‌?
कसरी देश बनाउछन ..?