“मैले अध्ययन–विश्लेषण र अर्को प्रकारले भन्दा समीक्षा र सौन्दर्य–चिन्तनका क्षेत्रमा प्रगतिवादी अर्थात् समाजवादी यथार्थवादी चिन्तन र समीक्षा पद्धतिलाई नै मूल आधार बनाउने गरेको छु र त्यसो गर्नुको कारण समाजवादी यथार्थवादी चिन्तन र समीक्षा–पद्धति नै सर्वथा वैज्ञानिक र युगसापेक्ष छ भन्ने कुरामा मेरो विश्वास छ ।”
—प्रा.डा. ताराकान्त पाण्डेय –प्रगतिवाद र कविता, आमुख
विषय प्रवेश
प्रा.डा. ताराकान्त पाण्डेय (२०१७–२०८१) नेपाली समालोचनामा मूलतः यथार्थवादको केन्द्रबाट गहिरिएर माक्र्सवादी चिन्तन र मान्यताका आधारमा कविताको प्रगतिवादी विश्लेषण गर्ने प्रसिद्ध समालोचक हुनुहुन्छ । ‘प्रगतिवादी नेपाली कविता’ शीर्षकमा विद्यावारिधि अनुसन्धान पूरा गर्नुभएका विशेषज्ञ पाण्डेयका कलासाहित्य ः भूमिका र मूल्याङ्कन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यङ्ग्य कवित्व (२०५७), समकालीन नेपाली कविताको संरचना (२०६५), अर्थभ्रान्तिको उत्तरचेतनाका विरुद्ध (२०६५), अर्थको आनन्द (२०६८), समय, सृजना र संवाद (२०६८), समकालीन कविताको संरचना (२०६९) लगायतका समालोचना कृतिहरू प्रकाशित छन् । शोधपरक र तार्किक सामथ्र्यबाट कृतिको गहन परख गर्ने उहाँका समालोचनामा वैचारिक सुस्पष्टता र वस्तुपरक विश्लेषण पाइन्छ । प्रगतिवाद र कविता प्रकाशनका हिसाबले उहाँको दोस्रो समालोचना कृति हो । प्रगतिवादी सिद्धान्तका आधारमा कविताको विश्लेषण गर्ने उपकरणहरू तयार पार्दै तिनको स्वरूप र वर्तमान समाजको मागअनुसारको सिर्जन प्रक्रियाको आवश्यकता र मूल्यबोध गरी तयार पारिएको यस कृतिमा प्रगतिवादी संचेतना नै आजको कविताको मूलस्वर हो भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ र यसलाई पुष्टि गर्नका निम्ति सैद्धान्तिक विधिमाथिको विस्तृत आयाम प्रस्तुत गरिएको छ । यस अध्ययनमा समालोचक पाण्डेयको प्रगतिवाद र कविता समालोचना कृतिभित्रका दुई खण्डहरू ‘प्रगतिवादी साहित्य–सिद्धान्त’ र ‘कवितासम्बन्धी प्रगतिवादी मान्यता’भित्र समेटिएका विषय र दृष्टिकोणका बारेमा विश्लेषण गरिएको छ ।
प्रगतिवादी साहित्य–सिद्धान्त
प्रगतिवादी साहित्य सिद्धान्तको आधार माक्र्सवादी दर्शन रहेको छ । यसले समाजवादी मान्यताअन्तर्गत विभेदरहित मानव समाजको परिकल्पना गर्दछ । जीवनयापनका सामाजिक तथा आर्थिक उत्पादन प्रक्रियामा समान सहभागिता र समानताका निम्ति सचेत आवाज प्रतिध्वनित हुनुपर्ने अवधारणा राख्दछ । माक्र्सवादी दर्शनका प्रखर विश्लेषक डा.पाण्डेयले प्रगतिवादी साहित्य–सिद्धान्तअन्तर्गत प्रगतिवादको शाब्दिक अर्थ र विशिष्ट तात्पर्य स्पष्ट पारी यसको मूल दार्शनिक आधारको चर्चा गर्नुभएको छ । नेपाली साहित्यकोशले दिएको परिभाषा ‘प्रगतिवाद माक्र्सवादी दर्शनको त्यस विशिष्ट विचारधारामा आधारित छ, जुन राजनीतिक क्षेत्रमा साम्यवाद, सामाजिक–आर्थिक क्षेत्रमा समाजवाद, दर्शनमा द्वन्द्वात्मक भौतिकवाद र साहित्यमा प्रगतिवाद नामले परिचित छ, त्यसैले माक्र्सवादी वा साम्यवादी अनुशासनअनुसार साहित्य रचना गर्नु प्रगतिवाद हो’ लाई मनन गरी उहाँले प्रगतिवादभित्र हुने समाजवादी मान्यता र अनुशासनका विविध स्वरूपबाट साहित्य सिर्जनाको मार्ग सुझाउनुभएको छ । उहाँले माक्र्सवादको समाजवैज्ञानिक चिन्तनलाई साहित्य सिर्जनाको र समालोचनाको मुख्य आधार हुँदा त्यसको सामाजिक दायित्व प्रस्ट हुने अवधारणालाई जोड दिनुभएको छ । प्रगतिवादलाई सबल साहित्य सिद्धान्त भएको पुष्टि गर्नका निम्ति उहाँले विभिन्न विद्वान्हरूका यससम्बन्धी दृष्टिकोणलाई सघन अध्ययन गरी सार प्रस्तुत गर्नुभएको छ । डा.ऋषिराज बरालको अध्ययनमा उल्लेख गरिएको माक्र्सवादको मुख्य चिन्तन द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको सिद्धान्त नै प्रगतिवादी साहित्य सिद्धान्तको पनि मुख्य पक्ष हो भन्ने मान्यतालाई डा. पाण्डेयले उल्लेख गर्नुभएको छ । उहाँले साहित्यकोशकै परिभाषाका आधारमा प्रगतिशील र प्रगतिवाद शब्दले बुझाउने उन्नतिको चाहना राख्ने सन्दर्भमा भएको समानार्थकतालाई वैचारिक दृष्टिबाट हेर्नुभएको छ र माक्र्सवादी दर्शनको अनिवार्यता र स्वतन्त्रताका सवालमा आएर यी दुई शब्दबिच समानता नरहेको धारणा प्रस्तुत गर्नुभएको छ । यी केही महत्त्वपूर्ण दस्तावेजहरूलाई मन्थन गरी यस अध्ययनमा उहाँले प्रगतिवाद विशिष्ट र खास दर्शनसम्बद्ध साहित्यिक मान्यता वा सिद्धान्तका रूपमा स्थापित भइसकेको पुष्टि गर्नुभएको छ । यसरी आफूले अध्ययन गरेको विषयप्रति सैद्धान्तिक रूपमा स्पष्ट भएर नै समालोचक ताराकान्त पाण्डेय कविता विधामा प्रकट भएका प्रगतिवादी पक्षको निरूपण र मूल्याङ्कन गर्नुहुन्थ्यो भन्ने तथ्य प्राप्त भएको छ ।
प्रगतिवादको दार्शनिक आधार भौतिकवादी दर्शनका रूपमा विकसित भएको माक्र्सवाद हो र माक्र्स र एङ्गेल्सले यस दर्शनको पृष्ठभूमिमा हेगेलको द्वन्द्ववाद तथा फायरबाखको भौतिकवादसम्बन्धी पूर्ववर्ती मान्यताबाट प्रभाव ग्रहण गरेको कुरा स्पष्ट पार्दै पाण्डेयले द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक द्वन्द्ववादका विशेषताहरू उल्लेख गर्नुभएको छ । वस्तु र प्रकृतिलाई हेर्ने अधिभूतवादी अर्थात् मेटाफिजिकल दर्शनका विरोधमा दृश्यवस्तुको सत्तालाई नै प्रधान सत्ता र यो नै अन्तिम सत्य हो भन्ने मान्यता राख्ने द्वन्द्ववादी अर्थात् डायलेक्टिकल दर्शनको विकास भएको विषयलाई यहाँ विस्तृत रूपमा विश्लेषण गरिएको छ । प्रकृतिका हरेक तत्त्व प्रायः एकअर्कासँग अलग, असम्बद्ध, स्थिर र बनिबनाउ ठान्ने अधिभूतवादका विरुद्धमा द्वन्द्ववादको प्रकृतिका प्रत्येक वस्तुलाई कार्यकारण शृङ्खलामा आबद्ध देख्ने र तिनलाई सतत परिवर्तनशील ठान्दै प्रत्येक पुरानो वस्तु समाप्त हुने र नयाँले त्यसलाई विस्थापित गर्ने मान्यता प्रगतिवादको चिन्तनको चुरो भएको प्रामाणिक अध्ययन यस कृतिमा डा. पाण्डेयले प्रस्तुत गर्नुभएको छ । प्रकृति वा पदार्थका साथै सामाजिक व्यवस्था समेतमा विस्थापनको यो पद्धतिभित्र तीन नियमहरू रहेको कुरा उल्लेख गरिएको छ ः (क) विपरीत तत्त्वबिच एकता, सङ्घर्ष र रूपान्तरण ः यसमा कुनै पनि वस्तुभित्र दुई विपरीत तत्त्व रहेका हुन्छन् र तिनका बिच एक सीमासम्म एकत्व रहन्छ र सँगसँगै सङ्घर्ष वा द्वन्द्व पनि चलिरहेको हुन्छ । यसले विस्तारै परिवर्तनतिर डो¥याइरहेको हुन्छ । सुरुमा मात्रात्मक र पछि गुणात्मक परिवर्तनको प्रक्रियाले नै विस्थापनमा पुग्ने नियम बन्दछ भन्ने पहिलो मान्यता छ । (ख) मात्राको गुणमा परिवर्तन ः गति र परिवर्तनसम्बन्धी यस दोस्रो नियममा परिवर्तनको प्रक्रिया क्रमशः घटित हुँदै जाने बताइएको छ । सुरुमा सङ्घर्षसँगै मात्रात्मक परिवर्तन हुँदै जाने र एक निश्चित विन्दुमा अर्थात् उत्कर्षमा पुगेपछि भने गुणात्मक परिवर्तन घटित हुने यस नियमको विशेषता रहेको छ । (ग) निषेधको निषेध ः नयाँ आउने र पुराना विस्थापित हुने प्रकृतिलाई द्वन्द्ववादले निषेधको क्रमिकताका रूपमा स्विकारेको छ । यहाँ प्रत्येक नयाँ विस्तारै पुरानो हुँदै जान्छ, नयाँ आउने र पुरानाको अन्त्य हुने क्रम निरन्तर चलिरहन्छ । यसरी नयाँले पुरानोको निषेध गर्नु र त्यो नयाँ पनि अर्को नयाँद्वारा निषेधित हुनुलाई नै द्वन्द्वात्मक भौतिकवादमा निषेधको निषेध भनिएको छ । माक्र्सवादी दर्शनको यस विशिष्ट अध्ययनमा पाण्डेयले ऐतिहासिक भौतिकवादको सुस्पष्ट व्याख्या गर्नुभएको छ । परमसत्ताको रहस्यवादप्रति आस्थावान् मानव समाजलाई पदार्थको तथ्यपरक वैज्ञानिक स्वरूपसँग साक्षात्कार गराउनेसम्बन्धी मान्यता नै ऐतिहासिक भौतिकवाद हो र द्वन्द्वात्मक भौतिकवादले यस प्रक्रियालाई प्रयोगाात्मक बनाउँने हुँदै माक्र्सवादले अबलम्बन र व्याख्या गरेका यी दुई मूल सिद्धान्तहरू आपसमा सम्बद्ध र परिपूरक रहेका छन् ।
विज्ञ अध्येता पाण्डेयले द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादका सन्दर्भमा समाजसित जोडिएको माक्र्सवादी दर्शनका सैद्धान्तिक अवधारणाहरूको विवेचना प्रस्तुत गर्नुभएको छ । उहाँले माक्र्सवादमा उल्लिखित मानवसमाजको इतिहासलाई क्रमशः (क) आदिम साम्यवादी युग, जहाँ समाज वर्गविहीन थियो (ख) दासस्वामी युग, जहाँ दास र स्वामीको कठोर मानवसम्बन्ध थियो (ग) सामन्तवादी युग (घ) पुँजीवादी युग र (ङ) समाजवादी युग गरी पाँच प्रकारका समाजैतिहासिक स्थितिको अध्ययन प्रस्तुत गर्नुभएको छ । माक्र्सवादले यी विविध सामाजिक संरचनाको अध्ययनमा द्वन्द्वात्मक भौतिकवादका उल्लिखित नियमहरूलाई आधार बनाएको छ । अबको साहित्य समाजवादका पक्षमा हुनुपर्ने र साहित्यमा वर्गीय समानताका निम्ति प्रतिरोधका आवाजहरू उठाइनुपर्ने आवश्यकतामाथि माक्र्सवादी साहित्य सिद्धान्तले जोड दिएको छ । प्रस्तुत कृतिमा माक्र्सवादका आधारभूत मान्यताका विषयमा महत्त्वपूर्ण संज्ञान दिएर डा. पाण्डेले प्रगतिवादका साहित्यिक मान्यताहरूको स्पष्ट अवधारणालाई व्यवस्थित र बुँदागत ढाँचामा अभिलेखन गर्नुभएको छ ।
प्रगतिवादी चिन्तन परम्पराअन्तर्गत यस परम्पराको पृष्ठभूमि, आरम्भ ः उठान र विकास गरी तीन चरणमा प्रस्तुत गर्दै डा. पाण्डेले माक्र्सवादको उदयअघिका यथार्थवादका क्रमिक विकासका अवधारणाहरूको प्रभाव ग्रहण गरी माक्र्सवादले निर्माण गरेको सशक्त वैज्ञानिक पद्धतिको चरणबद्ध इतिहासलाई समीक्षात्मक चर्चा गर्नुभएको छ । सत्रौँ शताब्दीबाट प्रकाशमा आएका यथार्थवादी मतलाई माक्र्सवादले पृष्ठभूमिका रूपमा लिएको डा.पाण्डेको धारणा रहेको छ । उहाँले बेलायतका दुई दार्शनिक फ्रासिन्स बेकन र जोन लक तथा फ्रान्सका दुई दार्शनिक रेने डेकार्ट र अगस्तन् कोम्तका दार्शनिक चिन्तनबाट यथाथवादले पर्याप्त सामग्री ग्रहण गरेको, यस सामग्रीले सत्रौँ शताब्दीमा यथार्थवादलाई अस्तित्वशाली बनाउनका निम्ति महत्त्वपूर्ण भूमिका दिनुका साथै चिन्तन र जीवनशैलीमा देखापरेका आदर्शवाद र इन्द्रिय बोधातीत सिद्धान्तका विरुद्ध पनि आलोचनात्मक विचारलाई पर्याप्त अगाडि बढाएको भन्ने शिवकुमार मिश्र (सन् १९७८) लाई उल्लेख गर्नुभएको छ । यस विमर्शमा उहाँले अठारौँ शताब्दीको यथार्थवादी चिन्तनले व्यक्तिलाई सामाजिक परिवेशसँग जोडेर नयाँ मोड ल्याउनुका साथै फ्रान्सेली राज्यक्रान्तिले सामन्तवादलाई ध्वस्त गरी पुँजीवादको स्थापना समेत गरेको, पुँजीवादले युगसंरचनामा परिवर्तन ल्याएको, नयाँ समाजमा प्रगतिशील विशेषताहरू उजागर भएका र पुँजीवादसँगै यसका नव असङ्गति र अन्तर्विरोधहरू पनि अगाडि ल्याएको बताउनुभएको छ । यसरी नै उहाँले राल्फ फक्स हुँदै उन्नाइसौँ शताब्दीका माक्र्स–एङ्गेल्समा आएर यथार्थवादी चिन्तनले समाजवादी दर्शनयुक्त साम्यवादी चरणमा प्रवेश गरेका विषयको उठान र सन्दर्भद्वारा पुष्टि गर्नुभएको छ । माक्र्स एङ्गेल्सले उन्नाइसौँ शताब्दीको उत्तरार्धमा द्वन्द्वात्मक भौतिकवादवादी दार्शनिक मान्यता तथा तिनकै कलासाहित्यसम्बन्धी चिन्तनसमेतबाट अनुप्राणित हुँदै यथार्थवादको नव परिष्कृत रूपमा प्रगतिवादको जन्म भएको हो भन्ने मान्यतालाई स्पष्ट उठान गरिएको छ ।

प्रगतिवादी साहित्यचिन्तनको आरम्भमा माक्र्स र एङ्गेल्सको मानक प्रयास रहेको छ । माक्र्सको राजनीतिक अर्थशास्त्रको आलोचनामा योगदान (अ कन्ट्रिब्युसन टु दि क्रिटिक अफ पोलिटिकल इकोनोमी) कृतिको प्रस्तावनालाई प्रगतिवादी अथवा माक्र्सवादी साहित्यचिन्तनको खास उठान वा प्रस्थानविन्दु मानिएको कुरा डा. पाण्डेको यस विश्लेषणमा उल्लेख छ । मूलतः माक्र्सले आर्थिक ढाँचालाई आधार र त्यसमाथि आधारित चेतनाका अन्य रूपहरूलाई बाह्य संरचना अथवा अधिरचनाको संज्ञा दिएका छन् । यही सिद्धान्तअनुसार माक्र्सले कलासाहित्य पनि समाजको आर्थिक उत्पादनको ढाँचा अथवा भौतिक धरातलबाटै उद्भव हुने र अस्तित्वशाली बन्ने कुरा बताएका छन् । उनले सामाजिक उत्पादनको ढाँचा वा आधारमा परिवर्तन आउँदा विचारधाराका अन्य रूपसँगै कलासाहित्यमा पनि परिवर्तन आउँछ भन्नेतिर सङ्केत गरेका छन् । वास्तवामा माक्र्सको यो भनाइमा युगीन चेतना रहेको छ । समाजको अर्थराजनीति एकातिर अनि साहित्य अर्कोतिर हिँड्यो भने त्यसको कुनै औचित्य रहँदैन पनि । प्रगतिवादले साहित्यको यही उत्तरदायित्वलाई मूल मान्यता बनाएको देखिन्छ । माक्र्सले आधार र अधिरचनाको परिवर्तन प्रक्रियामा आधारको परिवर्तनबाटै अधिरचनामा परिवर्तन आउने भए पनि कतिपय अवस्थामा आधारको परिवर्तन अधिरचनाबाट प्रभावित हुने अवस्था देखाएका छन् र कलासाहित्यले अधिरचनाको आधारलाई प्रभावित वा परिवर्तन नै गर्नसक्ने क्षमता राख्नेतिर सङ्केत गरेका छन् । आधार र अधिरचनासम्बन्धी सम्पूर्ण सन्दर्भहरूको विस्तृत अध्ययन डा.पाण्डेयले यस कृतिमा प्रस्तुत गर्नुभएको छ ।
माक्र्स र एङ्गेल्सका प्रगतिवादी साहित्यचिन्तनको विकासमा परवर्ती चिन्तन परम्पराका मुख्यत दुई पक्ष राजनीतिक विचारकहरूको वर्ग र सौन्दर्यचिन्तक आलोचकहरूको वर्ग प्रस्तुत गरिएको छ । राजनीतिक विचारकहरूको वर्गमा माक्र्स–एङ्गेल्सपछि लेनिनको महत्त्वपर्ण उपस्थिति रहेको छ । उनले खास गरी क्रान्ति र सामाजिक परिवर्तनका प्रक्रियामो कलासाहित्यको भूमिकालाई अत्यन्त महत्त्वका साथ लिँदै त्यस भूमिकालाई प्रगतिवादी साहित्यको मूल प्रतिमान र चरित्रकै रूपमा व्याख्या गरेका कुरालाई कलासाहित्यलाई क्रान्तिको पेच र किलाका रूपमा हेरिने बारे प्रगतिवाद र कवितामा पाण्डेयले विश्लेषण गर्नुभएको छ । प्रगतिवादी साहित्य सिद्धान्तका विस्तारक र व्याख्याता लेनिन नै हुन् र उनले पार्टी सङ्गठन र पार्टी साहित्य शीर्षकको रचना नै प्रस्तुत गरेका छन् । लेनिनले प्रतिबद्धता शब्दलाई परिभाषित र सान्दर्भिक विश्लेषण गर्ने क्रममा कलासाहित्यको मूल्यप्रति आग्रह नराखी यसलाई सर्वहारम वर्गको हितमा लगाउनेबारे सोचेको कुरामा सहमत हुँदै पाण्डेयले जनन्यायका पक्षमा महत्त्वपूर्ण समर्थन प्रस्तुत गरेका छन् । यसपछि माओको वैचारिक र कलामान्यताको चर्चा गर्दै माओले विषय र रूप अर्थात् कथ्य र कला दुवैको आवश्यकता रहने महत्वपूर्ण प्रवचनलाई साक्ष्यका रूपमा उल्लेख गर्दै प्रगतिवादी साहित्य सिद्धान्तको स्वरूप स्पष्ट हुँदै गएको दृष्टान्त डा. पाण्डेयले यस अध्ययनमा प्रस्तुत गर्नुभएको छ । त्यति मात्र होइन, सौन्दर्यचिन्तकसँगै लुना चास्र्की, म्याक्सि गोर्की हुँदै क्रिस्टोफर कडवेल, राल्फ फक्स, हावर्ड फास्ट, जर्ज थमसन, जर्ज जुकाच, अन्स्र्ट फिसर हुँदै चिनका लु सुन, चाउ याङ, यावो वेन युवान, भारतका रामविलास शर्मा, नामवर सिंह, मैनेजर पाण्डेय, शिवकुमार मिश्र, नम्वुदरी पाद तथा नेपालका श्यामप्रसाद शर्मा, गोविन्द लोहनी, गोविन्द भट्ट, चैतन्य जस्ता अग्रज तथा केही नयाँ पुस्ताका चिन्तकले प्रगतिवादी साहित्यको अवधारणालाई अघि बढाएका बारे पाण्डेयले महत्त्वपूर्ण विमर्श प्रस्तुत गर्नुभएको छ ।
प्रगतिवाद र कविता
प्रगतिवाद र कविता कृतिको पहिलो खण्डमा यसरी यथार्थवादका विविध रूप र प्रगतिवादको व्याख्या हुँदै समाजवादी यथार्थवादसम्म आएर यही नै यथार्थवादी कला आन्दोलनको विकासक्रममा नव्यतम शिखरका रूपमा प्राप्त हुनपुगेको र हाल प्रगतिवादको पर्यायवाची रूपमा उल्लेख भएको निष्कर्षमा पुगिएको छ । डा. पाण्डेयले यथार्थवाद र आलोचनात्मक यथार्थवादका सम्पूर्ण सबल–सकारात्मक पक्षहरूलाई समाहित गरी प्रगतिवादी साहित्य सिद्धान्त तयार भएको निचोड प्रस्तुत गर्नुभएको छ । यसपछि कलासाहित्यको उद्भवबारेको प्रगतिवादी दृष्किोण, कलासाहित्यको प्रयोजन र वर्गीय पक्षधरताको प्रश्न, अन्तर्वस्तु र रूपको स्थान र द्वन्द्वात्मक सम्बन्धबारे प्रगतिवादी दृष्टिकोण दिँदै यसबाट साहित्यिक मूल्यको मानदण्डका मूल आधारहरू तय गर्दै पहिलो भागको बुँदागत निष्कर्ष प्रस्तुत गरिएको छ । यो भाग निश्चय पनि समालोचक प्रा.डा.ताराकान्त पाण्डेयको प्रगतिवादी अवधारणाप्रति स्पष्ट भएर लाग्नका निम्ति खोस्रिएको चट्टानी जमिनबाट निकालिएको स्वच्छ पानीजस्तो आस्वादनले भरिएको छ ।
प्रगतिवाद र कविता कृतिभित्रको भाग दुई खण्डमा ‘कवितासम्बन्धी प्रगतिवादी मान्यता’ शीर्षकमा अनुसन्धानात्मक दृष्टिकोण निर्माण गरिएको छ । यसमा कविताको पूर्वस्थापित विधासिद्धान्तलाई स्विकार्दै प्रगतिवादी कवितामा हुनुपर्ने जनसाहित्यिक ढाँचा, यसको अन्तर्वस्तु तथा संरचनासँग त्यसको प्रयोजन, कविताको उद्देश्य र प्रयोजन, कविताको यथार्थवादी प्रकृतिजस्ता विविध विशिष्ट सन्दर्भहरूलाई अघि बढाएको देखिन्छ । कविताको उद्भवबारे पहिलो भागमा विशद चर्चा गरिएका प्रगतिवादी मान्यतालाई नै आधार मानेर डा. पाण्डेयले कविताको जन्म मानव सभ्यताको आदिम युगमा आदिम जातिका समुदायमा भएको, आदिम कविता आजको जस्तो विशुद्ध कविता नभएको र सम्पूर्ण वाङ्मयसँग सम्बद्ध र मिश्रित स्वरूपको भएको तथा कविता आरम्भमै पूर्णतया काव्यात्मक अर्थात् लयबद्ध र छन्दोबद्ध थियो भन्ने भनाइलाई आलोचनात्मक विश्लेषण गरिएको छ । यसैगरी कविताभित्रको नृत्य र सङ्गीतलाई श्रमशील जीवनको लयसँग अनुबद्ध गरी तर्क प्रस्तुत गरिएको छ । यहाँ कडवेल र थमसनको सामूहिक क्रियाकलाप प्रयुक्त हुने ओजपूर्ण भाषालाई कविता भनिएको मान्यतामा टेकेर श्रम र समाजमा कविताको स्वरूपबारे धारणा प्रस्तुत गरिएको छ । यसमा कविताको सार्वभौम प्रकृतिअन्तर्गत भाषिक प्रकृति र लयात्मक प्रकृतिबारे छलफल गरिएको छ । कलासहितको जनताका निम्ति बोधगम्य सरल प्रस्तुतिमा विषय र लयमा साङ्गीतिकतामा यी दुवै प्रगतिवादी कविताका अपरिहार्य तत्त्व भएको उल्लेख यस अध्ययनमा गरिएको छ ।
प्रगतिवादको सन्दर्भमा कविताको संरचनात्मक प्रकृतिबारे पनि यस दोस्रो भागमा गहन चर्चा गरिएको छ । प्रगतिवादले कवितालाई संरचनाबाट कृतिमा र कृतिबाट समाजको सम्बद्धतामा हेर्ने हुँदा बाह्य सामाजिक जीवनबाट पृथक् राखेर कविताको संरचना र समग्र कवितामूल्यको आकलन सम्भव नहुने प्रगतिवादी मान्यता यहाँ उल्लेख गरिएको छ । कविताको स्थूल संरचना र बनोटका विषयमा पनि यस भागमा प्रगतिवादी चिन्तन गरिएको छ । यहाँ कविताका आख्यानात्मक, नाटकीय र प्रगीतात्मक संरचनागत विभाजनलाई नै आधार मानिएको उल्लेख छ । यसरी नै कविताको सूक्ष्म संरचना वा बुनोटका विषयमा पनि यस भागमा चर्चा गरिएको छ । यसमा कथनपद्धति, बिम्बविधान तथा अलङ्कार योजना, प्रतीक र व्यञ्जनाका आधारलाई समावेश गरिएको छ । आवेगात्मक अन्तर्वस्तु र वर्गीय समाजको उद्देश्यका कसीमा प्रगतिवादी कविताको सम्भाव्यतालाई विश्लेषण गर्दै यस भागमा प्रगतिवादी कविताका मान्यताहरू बुँदागत निष्कर्षमा प्रस्तुत गरिएको छ ।
निष्कर्ष
समग्रमा प्रगतिवाद र कविता (२०५६) कृतिमा कवितालाई विश्लेषण गर्ने प्रगतिवादी मान्यताको पृष्ठभूमि, विकास, चिन्तन परम्परा र विधागत विशिष्टतासम्मबाट केही थप प्रवृत्तिसमेतको प्रस्तुतीकरण भएकाले यो निकै महत्त्वपूर्ण अध्ययन सामग्री बनेको छ । माक्र्सवादी सिद्धान्तका अनुयायी एक कुशल प्राध्यापक डा. ताराकान्त पाण्डेयले अनुसन्धान र ज्ञानको गरिमामय सर्वोच्चताबाट आर्जन गरेको अनुशासित र निर्वच्छिन्न परम्पराको प्रतिबिम्ब उहाँको यस प्रारम्भकालीन सैद्धान्तिक समालोचना कृतिमा सघन रूपमा प्रकट भएको छ । उहाँको यस अध्ययनको मूल निष्कर्षमा प्रगतिवादको मर्म र साहित्यिक सिद्धान्तका रूपमा यसको विशिष्टताको सूक्ष्म र बोधगम्य विश्लेषणले यो कृतिको मूल्य उच्च रहेको छ । अर्कोतिर आफ्नो अनुसन्धानको मुख्य क्षेत्र कवितालाई रोजी त्यसको वैज्ञानिक पद्धतिमा विश्लेषण गर्ने आधारका रूपमा प्रगतिवादका कविता विश्लेषणका विश्वसनीय आधारहरू निर्माण गरिएकाले प्रगतिवादी साहित्यको रचना र विश्लेषण गर्ने रचयिता र अध्येता दुवैका निम्ति यो मानक कृति बनेको छ ।
(ताराकान्त बाट)






























