इतिहास हन्ता

इतिहास हन्ता

कविता

कुनै अतीतको तानाशाह
हो वा कुनै जासुस
हो कुनै डरलाग्दो भय
सँगसँगै सँगसँगै
हिंडियो
खाइयो भोक मेटाइयो
पिडाहरु पनि पचाइयो
छाया जस्तो आफ्नै
भित्र र बाहिर दुबै
केही फरक नलाग्ने
समयको भिडभाडमा
ऊ त यता अलप भएर
पहिचानका लुगा फुकालेर
नयाँ बुर्जुवाको दौडमा
नामसाम बदलेर
ब्राकेटमा रहेको
महत् अन्तर्यलाई
इतिहास आदर्श
त्याग र सहिदी
मूल्य र अर्थलाई
अथवा भनूँ
पृथक चिन्हलाई
आफ्नै थुकले मेटेर
नालायक पानीमरुवा
जितलाई समर्पणसँग साटेर
हाम्रै अगाडि पो देखियो
म भने
त्यसलाई देखेर
मुन्टो उत्तरतिर
फर्काइ दिएँ
अधमका खातिर
जीवनका सौन्दर्य
चढाउनेहरुलाई सम्झेर
केही थोपा आक्रोशका आँसु
तप्प चुहाइ दिएँ ।