क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक : सि.पी. गजुरेल महासचिवमा निर्वाचित, साम्राज्यवादविरोधी आन्दोलन सञ्चालन गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक : सि.पी. गजुरेल महासचिवमा निर्वाचित, साम्राज्यवादविरोधी आन्दोलन सञ्चालन गर्ने

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक यही २०८२ साल असोज २९ गतेदेखि कार्तिक १ गतेसम्म सम्पन्न भएको छ । बैठकले लिएका महत्वपूर्ण निर्णयहरु पार्टी महासचिव सीपी गजुरेल गौरवले प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गर्नुभएको छ ।

कार्यवाहक महासचिव क. सि. पी. गजुरेलको अध्यक्षतामा बसेको बैठकद्वारा सर्वप्रथम नेपालमा संचालित जनसंघर्ष, जनआन्दोलन तथा महान जनयुद्ध र विश्व कम्युनिस्ट आन्दोलनमा शहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

बैठकमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव क. मोहन बैद्य ‘किरणले’ स्वास्थ्यको कारण महासचिव तथा केन्द्रीय समितिबाट दिनुभएको राजीनामा स्वीकृत गरियो । बैठकले अहिलेसम्म उहाँले समग्र कम्युनिस्ट आन्दोलनमा पु¥याउनु भएको योगदानको उच्च मूल्यांकन गरेको छ । साथै, उक्त रिक्त पदमा बैठकले कार्यवाहक महासचिव सि.पी. गजुरेल ‘गौरव’लाई महासचिव पदमा निर्वाचित गरेको छ ।

वक्तव्यमा भनिएको छ, “त्यसपछि नवनिर्वाचित महासचिव क.गौरवले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । व्यापक बहस र छलफल पछि बैठकमा उक्त प्रस्ताव पारित गरियो । सो राजनीतिक प्रस्तावको सार यसप्रकार रहेको छ ।

क) राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गर्दै अहिले विश्वयुद्धको खतरा बढ्दै गएपनि साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा जनताबीच नै प्रधान अन्तरविरोध रहेको निस्कर्ष निकाल्दै, विश्वभरिका साम्राज्यवाद विरोधी शक्तिहरुलाई गोलबन्द गरी साम्राज्यवाद विरोधी बलियो संयुक्त मोर्चा गठन गर्न र विश्वस्तरमा अन्तराष्ट्रिय कम्युनिस्ट केन्द्रको निर्माणको लागि अझै पहल बढाउनुपर्ने आवश्यकतामा जोड दिएको छ ।
ख) राष्ट्रिय परिस्थितिको चर्चा गर्दै विगत पंचायती सरकारको पालामा शूरु गरिएको नवउदारवादी अर्थनीतिलाई प्रमुख संसदवादी राजनीतिक पार्टीहरु नेका, नेकपा (एमाले) र नेकपा (माके)ले नेतृत्व गरेको दलाल सत्ता र सरकारले निरन्तरता दिदै आएकोले आज नेपाली जनताले दुष्परिणाम भोग्नु परेको निष्कर्ष निकालिएको छ ।
ग) भाद्र २३ गते शुरु भएको जेनजी विद्रोह दलाल नोकरशाही पूँजीपति तथा सामन्तवर्गीय राज्यसत्ता, संविधान र संसदीय व्यवस्थाको विरोधमा थिएन । ओली नेतृत्वको गठबन्धन सरकारले सामाजिक संजालमाथि लगाएको प्रतिबन्ध, देशमा हुँदै आएको भ्रष्ट्राचार र संसदवादी दलहरुका अन्य कतिपय गलत तथा स्वेच्छाचारी क्रियाकलापका विरुद्ध निशस्त्र जेनजी युवाहरुको शान्तिपूर्ण आन्दोलन थियो । विद्रोहको क्रममा साम्राज्यवाद तथा विस्तारवादको विरुद्ध कुनै आवाज उठाइएको थिएन । यसरी यो आन्दोलनको उद्देश्य यही व्यवस्था अन्तर्गत भ्रष्टाचारको अन्त्य, सुशासन र रोजगारीको व्यवस्था थियो ।
घ) भाद्र २३ गतेको जेनजी विद्रोह अमेरिकी साम्राज्यवाद तथा विस्तारवाद र तिनका नेपाली दलालहरुले अपहरण गरे र आ–आफ्नो स्वार्थ पुरा गर्नेतिर लागे ।
ङ) शुशीला कार्कीको नेतृत्वमा बनेको कथपुतली सरकार मुख्यतः अमेरिकी तथा भारतीय शासक वर्ग तथा तिनका नेपाली दलालहरुका बीचको आन्तरिक सम्झौता र नेपाली सेनाको अग्रसरतामा बनेको सरकार हो ।
च) सुशीला नेतृत्वको कठपुतली सरकारले संसदीय निर्वाचन घोषणा गरे पनि यो निर्वाचन हुनेमा निश्चितता छैन ।
छ) देशको यस प्रकारको स्थितिमा बैठकले देशभक्त, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिहरुका बीच संयुक्त मोर्चाको निर्माण, संघर्षको बलमा स्वाधीन संयुक्त सरकारको गठन र वर्तमान प्रतिक्रियावादी संविधान खारेज गरी जन संविधानको निर्माणको दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय गरेको छ ।
ज) राष्ट्रिय स्वाधीनता र सावैभौकिता माथिको खतरा गम्भीर हुँदै गएको विद्यमान स्थितिमा बैठकले साम्राज्यवाद तथा विस्तारवाद विरोधी अन्दोलन संचालन गर्ने निर्णय गरेको छ ।
झ) बैठकले हाल चलिरहेको संगठन सुदृढीकरण अभियानलाई जारी राख्ने र जनवर्गीय संगठनका राष्ट्रिय सम्मेलनहरुलाई सम्पन्न गर्ने निर्णय गरेको छ ।”