काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले महासचिवबाट मोहन वैद्य किरणले दिनुभएको राजिनामा स्वीकृत गर्दै रिक्त पदमा पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवलाई चयन गरेको छ ।

बैठकको सुरुमै महासचिव मोहन वैद्य किरणले आफ्नो स्वास्थ्य अवस्थाका कारणले दिनुभएको राजिनामा वाचन गरेर सुनाइएको थियो । उहाँले केन्द्रीय समितिलाई सम्बोधन गर्नुपर्ने माग भएपछि भर्चुअल रुपमा सम्बोधन गर्नुभएको थियो । महासचिव पदबाट आफूले दिएको राजिनामा स्वीकृत गरिदिन उहाँले केन्द्रीय समितिलाई अनुरोध गर्नुभएको थियो । त्यसपछि केन्द्रीय समितिले उहाँको राजिनामा स्वीकृत गर्दै रिक्त महासचिवको पदमा कार्यवाहक महासचिव सीपी गजुरेललाई चयन गरेको हो ।
का.व. महासचिव गौरवको अध्यक्षता तथा स्थायी समिति सदस्य सुदर्शनको सञ्चालनमा असोज २९–कात्तिक १ मा सम्पन्न केन्द्रीय समितिको बैठकले महासचिव गौरवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन व्यापक रुपमा छलफल पश्चात आएका सुझाबहरु समेटेर प्रतिवेदनलाई समृद्ध तुल्याउने गरी सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
बैठकले जेन जी विद्रोहपछि बदलिदो परिस्थितिको ठोस विश्लेषण गर्दै देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिहरुका बिच संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको पक्षमा व्यापक संघर्ष उठाउन पहल गर्ने निर्णय गरेको छ । यसका साथै बैठकले लिएका महत्वपूर्ण निर्णयहरु चाँडै वक्तव्यमार्फत् सार्वजनिक गरिने महासचिव गौरवले जानकारी दिनुभयो ।






























