जिन्दगी मेसिन हो
मेसिन जस्तो बनाइन्छ
घुमाइन्छ फनफनी
चलाइन्छ जतिसक्दो
धेरैभन्दा धेरै प्रयोग हुन्छ
मनदेखि मस्तिष्कसम्म
आशादेखि अस्तित्वसम्म
मालिककै इसाराको
मालिककै प्रयोगशालाको
चौतारो बन्छ
जति चल्न सक्यो
उति नै मालिकको प्यारो बन्छ
मजदुरको मन जति जल्न सक्यो
मालिकको मन त्यति उज्यालो बन्छ
चल्दाचल्दै खिइन्छ
कुद्दाकुद्दै रगटिन्छ
बुढो हुन्छ थोत्रो हुन्छ
रस रित्तिएको छोक्रो हुन्छ
प्वाल परेको भाँडोजस्तो
प्रयोग गरिसके पछिको घाँडोजस्तो
आहा ! मेरो मेसिन भन्ने मालिक
छि ! मेरो मेसिन भन्न थाल्छ
र अन्त्यमा
मेसिन नै फाल्छ
पुरानोको ठाममा नयाँ हाल्छ
यहीँ चक्र चलाउँदै एउटा मालिक
कामदार पाल्छ
मजदुरको पसिना खसाल्नु खसाल्छ
जब पसिना सुक्न थाल्छ
ताकतहीन शक्तिहीन
पसिना ननिस्कने बुढो थोत्रो शरीर
मालिकलाई घाँडो बन्छ
कहाँ पन्छाऊँ कहाँ मिल्काऊँ ?
विकल्प खोजिन्छ
र अन्त्यमा
पन्छाइन्छ मिल्काइन्छ
यस्तै छ कामदारको जिन्दगी
मेसिनको जिन्दगी
मेसिनको जिन्दगी
न थकाइ मार्न पाउँछ
न दुःख बाँड्न पाउँछ
मेसिन आफै चल्नुहुँदैन चलाइनुपर्छ
मेसिन आफै कुद्नुहुँदैन कुदाइनु पर्छ
मेसिन आफै नाच्नुहुँदैन नचाइनुपर्छ
मेसिन आफै बाँच्नुहुँदैन बँचाइनुपर्छ
मेसिन आफै हाँस्नुहुँदैन हँसाइनुपर्छ
मेसिन आफै थाक्नुहुँदैन थकाइनुपर्छ
जब मेसिन बुढो हुन्छ मिल्काइन्छ
यस्तै छ
मजदुरको जिन्दगी
मेसिनको जिन्दगी ।



























