राजनैतिक घटना र अपराध छुट्टयाएर बिश्लेषण गर्नुपर्छ – क्रान्तिकारी कम्युनिष्ट पार्टी नवलपरासी

राजनैतिक घटना र अपराध छुट्टयाएर बिश्लेषण गर्नुपर्छ – क्रान्तिकारी कम्युनिष्ट पार्टी नवलपरासी

जेनजी आन्दोलनमा संसदवादी पार्टीभित्रको कलह र सुरक्षा कमजोरीका कारण जिल्लामा धेरै भौतिक क्षति

नवलपरासी ४ असोज – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासीले जेनजी प्रदर्शनका क्रममा जिल्लामा भएका घटनालाई राजनैतिक प्रकृति र आपराधिक प्रवृति गरेर छुट्टयाएर बिश्लेषण गर्नुपर्ने बताएको छ । घटनाका बारेमा छलफल गर्न शनिबार जिल्ला प्रहरी कार्यालयमा आयोजित राजनीतिक दलसहितको सर्वपक्षीय बैठकमा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले यस्तो बताउनुभएको हो । ‘जेनजी आन्दोलन भष्ट्रचारको विरुद्धमा सुशासनको पक्षमा उठेको न्यायपुर्ण  आन्दोलन हो, अघिल्लो दिन सम्म बिभिन्न पार्टीमा रहेका युवाहरु जेनजी आन्दोलनमा सहभागी भएको तर्फ नजर अन्दाज गर्नुहुदैन । यो आन्दोलन कसरी बिस्फोट हुन गयो ? यसका पृष्ठभुमिमा के के छन् हेरौ, यद्धपि जेनजी आन्दोलनको मुलस्पिरिटलाई सबैले स्विकार गर्नुपर्छ’ – युवा नेता पाण्डेयले भने–             ‘अपराधीहरुको कुनै पनि पार्टी हुदैन , सबै युवालाई सोलोडोलो कानुनी कारवाही होइन, आन्दोलनभित्रको राजनैतिक प्रकृति र आपराधिक प्रवृतिलाई केलाएर सुक्ष्म अनुसन्धान पछि निष्कर्ष निकाल्नुपर्छ । त्यसको सही बिश्लेषण गरेर अपराधीहरुलाई कानुनी कारवाही गरियोस् निर्दाेष आन्दोलनकारी युवा कानुनी फन्दामा   नपरोस् ।’
उहाँले जेनजी आन्दोलनमा संसदवादी पार्टीभित्रको कलह र सुरक्षा कमजोरीका कारण जिल्लामा धेरै भौतिक क्षति हुन पुगेको तर्फ समेत संकेत गर्नुभयो ।
जिल्लामा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा अहिलेसम्म १६ जना बढी लाई प्रहरीले पक्राउ गरेको छ ।
कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा(माओवादी केन्द्र), रास्वपा, एकीकृत समाजवादी, नेकपा(माले) जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, लगायतका पार्टीका प्रमुख तथा प्रतिनिधि पूर्वमन्त्री, प्रदेश सभा सदस्य, पूर्वजनप्रतिनिधि मानवअधिकारकर्मीलगायत संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकमा बोल्ने राजनीतिक दलका प्रमुखहरुले प्रमाणसहित पक्राउ परेका व्यक्तिलाई कारबाही गर्न र संलग्न भएका व्यक्तिलाई पक्राउ गरेर ल्याउनसमेत प्रशासनलाई आग्रह गरेका थिए ।