प्रिय जेनजेड

प्रिय जेनजेड

कविता

प्रिय जेनजेड
तिमीहरू आफैं कि अरू कोही छ
तिमीहरूसँग
तिमीहरूको अनुहार
तिमीहरूको मस्तिष्क
तिमीहरूको हृदय
तिमीहरूको पाइला
हो वा अरू नै कोही
मुखुण्डो भिरेर
दक्षिणतिरको
वा अझ परतिरको
ब्युरोक्रेटको नयाँ अवतार
अन्त कतै टाढाको
गुप्त डिजिटल सिटिजन
हो वा हाक्काहाक्की
भन्छ म हुँ यसको हकदार ।

प्रिय जेनजेड
तिमी तिमी हौ
वा अरू कुनै बर्बर
जसले अहिले
मच्चाएको छ दुनियाँमा
विभ्रमपूर्ण विद्रोह
जसका आँखामा
लागेको छ रतन्धो
अज्ञानताजन्य विश्वास
बुइ चढेर कसैको
चढिएको सगरमाथा
मान तिमीहरूको
जितको अलङ्कार
हुन सक्तैन
नत आवाराहरूले
दुनियाँ निर्माण गरेको
इतिहास नै पुस्तक बनेको छ
नत निर्दय हृदयहीन
तानाशाहहरूलाई
खाल्डो खनेर पुरेको छ
प्रिय जेनजेड
निलो पहेंलो बैजनीमा
आजसम्म
समानताको चित्र कोरिएको छैन
तिलस्मी जादुको मोहनी मात्र छ ।