न्याय रुक्मिणीलाई कि राधालाई ?

न्याय रुक्मिणीलाई कि राधालाई ?

संस्कृति

 

आज बिहानैदेखि मनमा यौटा कुरा खेल्यो । कृष्णकी प्रेमिका राधाको सन्तान थियो कि थिएन होला भन्ने । प्रश्न च्याट जिपिटिलाई गरेँ । उत्तरमा “राधाको सन्तान बारे धार्मिक ग्रन्थहरूमा स्पष्ट रूपमा उल्लेख नगरे तापनि केही लोककथा, लोकगाथा र क्षेत्रीय परम्पराहरूमा राधाको विवाह ‘अयन’ नाम गरेका पुरुषसँग भएको तर कृष्णसँग गुप्त जीवन बिताएको उल्लेख छ” भन्यो । साथै केही रीतिकथाहरूमा “राधाकृष्णको ‘रहस्यपूर्ण विवाह’ पश्चात् जन्मिएको छोराको नाम ‘राधेया’ ‘जयहरि’,’हरि कुमार’आदि उल्लेख गरेको पाइन्छ” भनेर भन्यो ।(जसमध्ये राधेय कुन्तीपुत्र कर्ण थिए राधाले धर्मपुत्र मानेको भनेर हामीले सुन्दै आएको कुरा हो )
यस उत्तरलाई सहि मान्ने हो भने- कृष्ण र राधा दुबै विवाहित थिए । राधाले पति अयन र कृष्णले पत्नी रुक्मिणी भन्दा पर गएर सम्बन्ध बनाएका थिए यसर्थ राधाकृष्णको सम्बन्ध अनैतिक थियो भन्न सकिन्छ । तर आदर्शवादीहरूले भगवानलाई चरित्रहीन देखाउँदा जनमानसमा कृष्णप्रतिको मर्यादा र मान्यता क्षीण हुने भयले राधाकृष्णको प्रेमलाई कृष्ण (ईश्वर) र राधा (आत्मा) को मिलन भएको अद्भूत असामान्य दिव्य आध्यात्मिक प्रेमको प्रतीकको रूपमा व्याख्या गरे र यही भ्रमलाई स्थापित गर्न सफल पनि भए । धार्मिक परम्परामा रुक्मिणीको पीडा नगन्य बनाइयो र राधाकृष्णको प्रेम मान्य बनाइयो । परिणाममा अहिलेसम्म ‘भगवानको त थियो’ भन्ने गरिन्छ । परस्त्री गमनमा लाग्नेहरूलाई यही वाक्यले हौस्याइरहेछ र यस्तै सम्बन्धलाई वैध बनाउन पहुँचमा हुनेहरू लागिरहेछन् भने त्यही सम्बन्ध बनाएर प्रेमका मामिलामा कालजयी बनेका पात्र पुजनको सिलसिला चलिरहेछ ।

वर्तमान समाजमा पनि प्रेम वा विवाहलाई दुई आत्माको मिलनकै रूपमा व्याख्या गरिन्छ । अग्नि र समाज साक्षी राखेर वा नराखेर पनि ‘आजदेखि एक भयौँ’ भनेरै एक अर्कालाई स्वीकारिन्छ । सबैको वास्तविक प्रेम आफैमा असामान्य र दिव्य हुन्छ चाहे जुनसुकै जाति वा वर्ग बीचको किन नहोस् ।

जोड्न खोजेको प्रसङ्ग परस्त्रीगमनलाई मान्यता दिने गरि कानुन मन्त्रालयले विधायक समितिमा पेश गरेको बहुविवाहको मस्यौदा प्रस्ताव र राधाकृष्ण प्रेमको नै हो । २०७५ भदौ १ मा मुलुकी अपराध संहिता लागुु भएसँगै नेपालमा बहुविवाहलाई पूर्णतः निषेध गरिएको थियो । तर यसैलाई उल्टाउने मस्यौदा तयार गरेर २०८२ श्रावण १६ गते विधायक समितिमा प्रस्ताव गरेको विषयले नेपाली समाजलाई पुन:एक फेर झस्काएको छ । प्रस्तावकपक्षले “बहुविवाह गर्न छुट दिने भनेको होइन, बाहिरको सम्बन्धले समस्या उब्जिएकोले समाधान खोजेको हो” भनेका छन् तर विधान नै हेर्ने हो भने उनीहरू सरासर झूट बोलिरहेछन् ।

संविधानको धारा १७५ (१)मा “कोही पनि विवाहित व्यक्तिले यदि अर्को विवाह गर्यो भने दण्डनीय छ, विवाह स्वत:निरस्त (त्यक्त,नस्वीकारीएको) हुन्छ” भनेर भनिएको छ भने प्रस्तावित मस्यौदामा “यदि विवाहित पुरुषको बाहिरको सम्बन्धबाट बच्चा जन्मिएको छ वा महिला गर्भवती भयो भने विवाह निरस्त नहुने” भनिएकाले प्रस्तावमा ‘बहुविवाह’ भन्ने शब्द नभएता पनि बहुविवाहलाई स्वीकार गर्ने कुरा स्पष्टसँग गरेको छ । संसद्ले यदि यो प्रस्ताव पास गरेको खण्डमा बहुसंख्यक पुरुषले सम्बन्ध विस्तार गरे अनुसार दुई या तीन या सो भन्दा बढी श्रीमतीहरू विधानत: राख्न पाउने व्यवस्था हुनेछ र महिलाले पनि त्यै अनुरुपमा छुट पाउनेछन् । घरमा भएका रुक्मिणी र रुक्मिणीका बालबच्चाहरूले न्याय पाउन् नपाउन् राधाकृष्णको प्रेमले जस्तै वर्तमानका परस्त्रीगमनकारीहरूले पनि मान्यता पाउने छन् । छिपेर चलाइरहेका कृष्णलीलाहरू खुलेरै प्रदर्शित हुनेछ ।

कल्पना गरौँ त्यतिबेलाको परिवार र समाज । सांस्कारिक रूपमा, सामाजिक रूपमा वा आर्थिक रूपमा कस्तो बन्ला ? त्यतिबेला समाजमा बढ्ने बेथिति, विसङ्गति र आपराधिक क्रियाकलाप न राधाकृष्णको प्रेमलाई आदर्श मान्नेहरूले सुधार गर्न सक्छन् न त बहुविवाहलाई मान्यता दिनेहरूले नै सुधार्न सक्छन् । त्यसैले यो कसैले पनि नजरअन्दाज गरेर सुख पाउने विषय नै होइन । तसर्थ अगाडि बढिसकेको समाज र नियम कानुनलाई पछाडि धकेल्न खोज्नेहरूको स्वार्थलाई निस्तेज पार्न आवश्यक छ । अबको न्याय रुक्मिणीहरूले पाउन आवश्यक छ । त्यसका लागि न्यायप्रेमी, समाज सुधारक र अग्रगामी विचारकहरूले मात्र होइन राधाकृष्णको प्रेमलाई पवित्र मान्नेहरूले पनि बेलैमा सोच्नु पर्ने विषय हो । तर महिला उत्पीडनलाई प्रशय दिने कानुनको प्रस्ताव गर्नेहरूलाई प्रोत्साहित गर्दै महिलाहरू रुक्मिणी पीडकहरूको भक्तिमा झुमिरहेका दृष्य भने विडम्बनापूर्ण छ ।

  1. २०८२/४/३२