“नेलकटर कहाँ छ होला सुनु ?”
“त्यही माथि सतासमा होला”,
“ए ! यहीँ रहेछ कस्तो नदेखेको”बुबाको त्यही वाक्य नै अन्तिम संवाद बन्यो मेरो लागि । असारको खेत रोपाइँको सिजन थियो । यता घरमा हजुरबा विरामी हुनुहुन्थ्यो । भाइ सानै थियो । मेरो काम भाइ हेर्ने थियो । म भर्खर एघार वर्ष, दाइ तेह्र वर्ष र भाइ तीन वर्ष पुगेको मात्र । आमा, बुबा र दाइ खाना खाएर खेतमा जानुभयो । साँझ् कतिबेला आइपुग्नुभयो पनि थाहा भएन मलाई भोलिपल्ट अर्थात् असार २५गते बिहानै आमा केही खोज्दै हुनुहुन्थ्यो । “के खोज्नुभएको आमा ?” मैले भनेँ । “रातो टि सट,” “बुबालाई राती आएर जेमराजहरूले लिएर गए । घ्याम्पेसाल चौकी जान लागेको बुबालाई खोज्न ।” आमाले त्यो टि सर्ट पनि भेट्नुभएन । खोजेको बेला नभेटिएको त्थो टि सर्ट आमाले पछि लगाउनु पनि भएन । आमाको भनाइअनुसार पछि थाहा पाएको, आमा राती नै गा. वि.स. उपाध्यक्षको ढोेका ढक्ढक्याउन पुग्नुभएछ । चौकी जाऊँ भन्नलाई तर उसले तपाइँकै मामाससुरालाई लिएर जानुस् म जान्नँ भन्ने जवाफ पाउनुभएछ । भालिपल्ट बिहानै हजुरबा र आमा चौकी पुग्नुभएछ । चौकीबाट वरिपरि चारवटा चौकीमा फोन गर्दा कतै पत्ता नलागेपछि फर्कन भनेर लाग्दा आज जराङ्मा बाघले मान्छे खाएछ नि भन्ने व्यङ्ग्यात्मक हाँसो चौकीबाटै आएको सुन्नुभएछ । आमाले आशा त उतिबेलै मारिसक्नुभएछ । दिउँसो घरमा आमा आइपुग्नुभयो । राजकुमार र भान्जि दिदी पनि आइपुग्नुभयो । वहाँहरूले गाई चराउन जाँदा बुबालाई गाईले चाटेको र आफूहरूले देखेको अनि घाइते हो कि मृत हो थाहा नपाई खबर लिएर आईपुग्नुभएछ ।
त्यसपछि आमा छिमेकी राजु दाइ र ईश्वर दाइ केमा बोकेर ल्याउने डोको लाने कि पटुकाले ल्याउने सल्लाह गर्दै पटुकाले बोकेर ल्याउने भन्ने सल्लाह गर्दै तल खोलातिर जानुभयो । त्यहाँ ढुङ्गामा गोली हानेर सुताई राखेको अवस्थामा बुबाको शव भेटेपछि आमाले त्यही पटुकाले घाँटी कसेर आत्महत्या गर्ने सोच गर्नुभएछ । दाइहरूले आमालाई सम्झएछन् र पटुका खोलेछन् । पछि काकाहरू र बारीमा काम गर्नेहरू पनि पुगेछन् । म चाहिँ भाइलाई डो¥याएर खेत जोत्ने हवल्दार मामालाई एक हातमा जाउलो खाजा र एक हातमा भाइलाई डो¥याउँदै खेततिर गइरहेको थिएँ । खेतमा पुगेपछि हवल्दार मामालाई खाजा लिनुस् भनेँ, उहाँले बाबुलाई खोलामा मारेर लडाईसक्यो जस्तो छ, के खाजा खाएर बस्ने फिर्ता लैजाऊ भन्नुभयो र गोरु फुकाउनुभयो । आमाले बुबालाई पकड्न आएको बेला मलाई र भाइलाई कपालमा समातेर तान्दा पनि ब्युँझ्ेनन् भन्नुहुन्थ्यो पछि । अनि म भाइलाई लिएर घरतर्फ फर्केँ । बाटोमा आमालाई काकाहरूले लिएर आउँदै हुनुहुन्थ्यो । भाइले सोध्यो,“आमा किन रुनुभएको?” मैले भाइलाई उत्तर दिन सकिनँ । हिँड्न पनि सकिनँ, रुन पनि सकिनँ, बोल्न पनि सकिनँ । अनि बिस्तारै सम्हालिएर घरसम्म आइपुगेँ । आमाले बुबाको शव पोस्टमार्टम गर्ने भनी कुरा उठाउनुभएछ । बर्षाको समयमा बोकेर खोलाको बाटो सदरमुकाम लान सक्दैनौँ भन्ने कुरा आएपछि त्यो काम हुन सकेन । घटनास्थलमा प्रहरीहरू मुचुल्का उठाउन आएछ । भिरबाट पो लडेको हो कि भन्ने तर्क गर्दै खिल्लि उडाएछ । पछि मृत्यु भएको मात्र भनेर मुचुल्का उठायो रे ।
बुबाको काजक्रिया घरमै सुरु भयो । त्यस बिचमा माधव मरहट्ठा सर, वामदेव गौतम, श्याम श्रेष्ठ लगाएतका मानव अधिकारर्मीहरू हामीलाई भेट्न र सान्त्वना दिन घरसम्म पुग्नुभयो । दाइलाई माधव सरले काठमाडौँ ल्याएर पढाइदिने निर्णय भयो । दाइ कक्षा आठ सकेर काठमाडौँ पढ्नको लागि आउनुभयो । आमा, म, भाइ र हजुरबुबा मात्र भयौँ जराङ्गमा । बुबालाई मारेको छ महिना पनि नबित्दै चिठी बोकेर आमालाई पनि चौकीमा लान प्रहरीहरू आउन थालेपछि देवराज काकाले तल देवकोटा गाउँमै आएर बस्नु भनी प्रबन्ध मिलाउनुभयो । हामी छ महिना घरबाट विस्थापित भयौँ । गोठ, भैँसी, बाख्रा सब तल झरियो । पछि त्यसरी बस्न पनि असहज हुँदै गएपछि पुनः पुरानै घरमा फर्कियौँ ।
प्रहरी र माओवादीबिच सशस्त्र द्वन्द्व भइरहेको बेलामा गास, बास र कपासले माओवादीलाई सहयोग गर्नेलाई खतम गर्नु भन्ने गिरिजाप्रसाद कोइरालाको प्याकेज अन्तर्गत बुबाको हत्या गरेको रहेछ । बुबा श्री सूर्यज्योति मा.वि. ताकुकोट पाल्खुमा अध्यापनरत नेपाली शिक्षक हुनुहुन्थ्यो । विद्यार्थीहरू उहाँको अध्यापनकलाको तारिफ गर्थे । यता घरमा आम्दानीको स्रोत बुबाको जागिर नै थियो । बुबाको मृत्यु हुँदा समयावधि नपुगेको हुनाले पेन्सन आएन । उपदान मात्र आयो । त्यसपछि आमाले पाल्नुभएको भैँसी बाख्रा बेचेको पैसा नै आम्दानीको स्रोत बन्न पुग्यो । म १० कक्षमा पढ्दा हजुरबुबा पनि वित्नुभयो । दाइले र मैले सँगै एस. एल. सी. पास ग¥यौँ । त्यसपछिको पढाइलाई निरन्तरता दिन काठमाडौँमा बसेर पढ्न सक्ने स्थिति रहेन । अनि चितवनमा मामाले उहाँको जेठीसासूको जग्गामा एक कोठे घर बनाउनुभयो । त्यहीँ बरेर मैले आइ. ए. र दाइले आइ एस्सी विरेन्द्र बहुमुखी क्याम्पसबाट पढ्यौँ ।
त्यसपछि दाइले र किरण मामाले सडक बालबालिका हेर्ने एन. जि. ओ.मा काम गर्न थाल्नुभएपछि हामी काठमाडौँ आयौँ । मैले वि.ए. पढ्दापढ्दै सूर्यज्योतिमा पढाउन गएँ । पढाउँदै र पढ्दै आर. आर. क्याम्पसबाट बि.ए उत्तीर्ण गरेँ । गणेश प्रा. वि.मा पनि पढाएँ डेढ वर्षजति । त्यहीबेलामा आमालाई क्यान्सर देखाप¥यो । थाइराइड क्यान्सर निको भएपछि ब्रेन क्यान्सर सुरु भया ेर उहाँको पनि २०७९—१०—०४गते विर हस्पिटलमा निधन भयो । अहिले दाइको चोभारमा सानो घर छ । भाउजूू र एक छोरासँगै छन् । भाइ नविल बैँकमा काम गर्दै छ । म काठमाडौमै बोर्डिङ्गमा पढाउँदै छु । मैले २ वर्षअघि नुवाकोट निवासी गोविन्द बिक्रम पौडेलसँग विवाह गरेँ । उहाँ माओवादी क्रान्तिकारी धार निकट हुनुहुन्छ । मैले २०७५मा नेपाली विषयबाट स्नातकोत्तर पूरा गरेँ । त्यसभन्दा अघि पढाईलाई बढाउन सकिरहेको छैन ।
यस बीचमा हामीले बुबा नभएकै कारण झ्ेल्नै नपर्ने दुःख, पीडा र समस्याहरू झ्ेल्यौँ । हामीले जस्तै अभिभावक गुमाएका बालबालिकाहरू देशै भरि छन् । राज्य व्यवस्था र जनताको अवस्था बदल्न भनेर युद्ध गरेको तत्कालीन माओवादीका कमाण्डर प्रचण्डले राज्य चलाएको पनि भोग्यौँ । बदले कि आफैं बदलिए त्यो पनि देख्यौँ । हामी जस्ता सहिद परिवार, घाइते, अपाङ्ग र बेपत्ताका परिवारको सङ्कट आफैंमा सीमित छ । युद्ध जस्तै सङ्कट पनि माओवादीको साझ हुँदो हो त हामी जस्तालाई अलिकति राहत हुन्थ्यो होला त्यो पनि हुन सकेन । दुःख लाग्छ, भनाई र गराईको भिन्नताले । गुमाएका बालबालिकाहरू देशैभरि छन् ।राज्य व्यवस्था र जनताको अवस्था बदल्न भनेर युद्ध गरेको तत्कालीन माओवादीका कमाण्डर प्रचण्डले राज्य चलाएको पनि भोग्यौँ । बदले कि आफैं बदलिए त्यो पनि देख्यौँ । हामी जस्ता सहिद परिवार, घाइते, अपाङ्ग र बेपत्ताका परिवारको सङ्कट आफैंमा सीमित छ । युद्ध जस्तै सङ्कट पनि माओवादीको साझ हुँदो हो त हामी जस्तालाई अलिकति राहत हुन्थ्यो होला त्यो पनि हुन सकेन । दुःख लाग्छ, भनाई र गराईको भिन्नताले ।
{इच्छुक अङ्क १२ बाट}