भ्रष्टाचारविरोधी अभियानलाई ग्रामीण वर्गसंघर्षको रुपमा उठाउँदै छौं : सीपी गजुरेल‘गौरव’

भ्रष्टाचारविरोधी अभियानलाई ग्रामीण वर्गसंघर्षको रुपमा उठाउँदै छौं : सीपी गजुरेल‘गौरव’

कार्यवाहक महासचिव– क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अहिले भ्रष्टाचार विरोधी अभियानमा देशव्यापी लागिराखेको छ । यसभन्दा अगाडि पनि देशव्यापी रूपमा जनसम्बन्ध विस्तार अभियान पनि सम्पन्न ग¥यो । यी अभियानको आवश्यकतामाथि प्रकाश पारिदिनुस् न ।

तीनवटा पार्टीबिच ऐतिहासिक एकता महाधिवेशन सम्पन्न गरेपछिको पहिलो बैठकबाट हामीले देशव्यापी जनसम्बन्ध विस्तार अभियान चलाउने निर्णय ग¥यौं । हामी लामो समयदेखि संगठनात्मक काममा व्यस्त भएकोले जनताको बिचमा जान सकिरहेका थिएनौं । त्यसैले पार्टी एकता महाधिवेशनको भाव सम्प्रेषणसहित जनसम्बन्ध विस्तार गर्ने उद्देश्यले हामीले डेढ महिना अभियान सञ्चालन ग¥यौं । विभिन्न खाले अभाव र समस्यालाई छिचोल्दै अभियान सफलतापूर्वक सम्पन्न ग¥यौं । जननिर्भर भएर अभियान सम्पन्न ग¥यौं । पार्टीको हालै सम्पन्न पोलिटब्यूरोको बैठकले अभियान ६० प्रतिशत सफल भएको निष्कर्ष निकाल्यो । अहिलेको सापेक्षतामा यसलाई हामीले महत्वपूर्ण उपलब्धिको रुपमा लिएका छौं । यो अभियानको क्रममा प्राप्त जनताको सुझाव र सल्लाहलाई मध्येनजर गर्दै हामीले भ्रष्टाचारविरोधी अभियान घोषणा गरेका हौं । अब हामी एकसाथ संगठन र संघर्षको चरणमा प्रवेश गरेका छौं । संगठन र संघर्षका दुवै मोर्चामा पार्टीका जवस मोर्चालाई परिचालन गर्ने निर्णय गरेका छौं । जवस मोर्चाका भेला सम्मेलनहरु सम्पन्न गर्ने, संघर्षका कार्यक्रमहरु तय गर्ने र त्यसैका बिचबाट संगठनका सञ्जालहरु निर्माण गर्दै जनसम्बन्धलाई नयाँ उचाइमा उठाउने निर्णय गरेका छौं ।

जनसम्बन्ध विस्तार अभियानले हामीमा एउटा आत्मविश्वास पैदा गरेको छ र अबको भ्रष्टाचारविरोधी अभियानले हाम्रो पार्टी र पार्टीका एजेण्डालाई नयाँ उचाइमा स्थापित गर्नेछ । र, हाम्रो आत्मगत शक्ति एउटा उचाइमा सुदृढ हुनेछ । जनताले हाम्रो विचार, राजनीति र नेतृत्व सहि छ तर संगठन कमजोर भयो भन्ने सुझाव दिएका छन्, त्यो ग्याप हामी पूरा गरेर अगाडि बढ्ने दिशामा पूरै शक्ति लगाइरहेका छौं । जनताले हाम्रो पार्टीबाट निकै ठूलो अपेक्षा गरेका छन् । त्यो जनअपेक्षा पूरा गर्ने र राष्ट्रिय राजनीतिमा एउटा निर्णायक धक्का दिने हैसियतका साथ पार्टी र क्रान्तिलाई बलियो बनाउँदै छौं ।

 


एकता महाधिवेशनपछि पार्टीपंक्तिमा जुन उत्साह देखिनुपर्ने त्यो त देखिएन नि ?
एकता महाधिवेशनबाट पार्टीपंक्तिमा उत्साह नै छाएको छ । पार्टीको भौगोेलिक र सांगठनिक कार्यविभाजनपछि पार्टीपंक्तिमा उत्साह र गति दुवै पैदा भएको छ । कार्यक्षेत्रमा खट्ने, अर्को ब्युरोमा भन्दा आफ्नो व्यूरोमा संगठन र संघर्षका काम कसरी राम्रो र प्रभावकारी बनाउने, पार्टीलाई कसरी बलियो बनाउने भन्ने सकारात्मक प्रतिस्पर्धाको भाव समेत पैदा भएको छ । यो राम्रो स्प्रिट हो । अब जबस मोर्चामा पनि संगठन र संघर्षको क्षेत्रमा कुनले राम्रो गर्न सक्छ, त्यसको आधारमा मूल्यांकन गर्ने पद्धति बसालेपछि सम्बन्धित जबस मोर्चाका नेतृत्व पंक्तिमा पनि व्यापक जनसमुदायका बिचमा जाने, संगठन र संघर्षका कार्यक्रमहरु बनाउने र प्रभावकारी कार्यान्वयन गर्ने गराउने गति पैदा भएको छ । यो निकै सकारात्मक कुरा हो ।

क्रान्तिकारी शक्तिका विरुद्ध संशोधनवादी र अवसरवादीहरुले छर्ने गरेको भ्रम र अनर्गल प्रचारबाजी र घेराबन्दीका कारण पार्टी एकता महाधिवेशनपछि जुन उत्साह अपेक्षित थियो, अलि कम देखिनु स्वभाविक कुरा हो । प्रतिक्रियावादीहरु, संशोधनवादी र अवसरवादीहरुका तमाम भ्रम, अनर्गल प्रचारबाजी र घेराबन्दीलाई तोडेर क्रान्तिकारी कम्युनिस्टहरु अगाडि बढिसकेका छन् । अब क्रान्तिकारीहरुलाई अगाडि बढ्न कसैले रोक्न सक्दैन ।

असार ५ गते देशव्यापी रुपमा भ्रष्टाचारविरोधी अभियान उद्घाटन गर्नुभयो । अहिले भ्रष्टाचारविरोधी अभियान चाहिँ कसरी अगाडि बढिरहेको छ ?
हो, हामीले असार ५ गते देशैभर भ्रष्टाचारविरोधी अभियानको उद्घाटन ग¥यौं । यो अभियान अहिले विकेन्द्रित रुपमा ब्यूरो स्तरमा चलिरहेको छ । ब्यूरो अन्तर्गतका जिल्लाहरुमा भइरहेका भ्रष्टाचार, अनियमितता, जनतामाथि लादिएका अन्याय, अत्याचारका विवरणहरु संकलन भइरहेका छन् । आवश्यकता अनुसार ब्यूरोले भ्रष्टाचारीहरुमाथि कारबाहीका योजना बनाउने छ । र, कार्यान्वयन गर्ने छ । समग्रमा हामीले यो अभियानमार्फत् ग्रामीण वर्गसंघर्ष उठाउन खोजेका छौं । ग्रामीण वर्गसंघर्ष अहिलेको ज्वलन्त आवश्यकता बनेको छ ।

 

आज स्थिति यस्तो बनेको छ कि गाउँ गाउँमा फटाहा, दलालहरुको बिगबिगी छ । जनता ती तत्वहरुबाट आजित बनेकका छन् । युवाहरुको कहालीलाग्दो विदेश पलायन छ । भएका मान्छेहरु बस्नै नसक्ने अवस्थामा पुगेका छन् । यो अवस्थाबाट मुक्ति कसरी दिने ? गाउँ गाउँमा जनताको अवस्था दयनीय बनेको छ । जनयुद्धताका ग्रामीण भेगका जनताले आफूलाई सबैभन्दा शक्तिशाली र सुरक्षित महसुस गर्थे तर आज ठिक उल्टो हुन पुगेको छ । हामीलाई जनसम्बन्ध विस्तार अभियानबाट महसुस भयो कि अब गाउँ गाउँमा जनतालाई साथ दिने एउटा क्रान्तिकारी पार्टी चाहिएको छ । ती शोषित पीडित जनताको असल साथी बन्ने सोचका साथ अहिले हाम्रो पार्टीले काम गरिरहेको छ । जनताले खोजेको जस्तो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी बाहेक अरु हुन सक्दैन ।

जनताले हामीलाई साथ दिने, नेतृत्व गर्ने हो भने आफूहरु संगठित हुन र लड्न तयार छौं भन्ने सन्देश दिएका छन् । यही स्थितिको मूल्यांकन गरेर हामीले अहिले देश र जनताको सबैभन्दा ठूलो समस्या नै भ्रष्टाचार रहेकोले हामीले भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्ने निर्णय गरेका हौं । एकै दिन सबै ब्यूरो र अधिकांश जिल्लाहरुमा समेत एकसाथ अभियान उद्घाटन गरेर एउटा सन्देश दिइसकेका छौं, अब भ्रष्टाचारीहरुलाई कारबाही गरेर अर्को सन्देश प्रवाह गर्ने छौं । हाम्रो अभियानबाट जनतामा नयाँ आशा र विश्वासको सञ्चार हुने विश्वास लिएका छौं ।

अहिले अन्य पार्टीहरुले पनि भ्रष्टाचारविराधी भनेर अभियान चलाइरहेका छन् । अन्य वाम पार्टीहरुसँग सहकार्य गरेर अगाडि जाने सम्भावना चाहिँ कस्तो छ ?
भ्रष्टाचार अहिले सर्वव्यापी बनेको छ । भ्रष्टाचार विरोधी अभियानमा रहेका तथा हाम्रो पार्टीको एजेण्डा मिल्नेहरुसँग हामी सहकार्य गर्न सकारात्मक छौं । तर हामी अहिले आफ्नो पार्टीपंक्तिलाई सुदृढ गरेर, पार्टीको आत्मगत शक्तिलाई एउटा उचाइमा उठाएर मात्र अन्य पार्टी वा समूहसँग सहकार्य वा कार्यगत एकता गर्ने पक्षमा छौं । अन्तर्राष्ट्रिय मुद्दाहरुमा भने सहकार्य गरिरहेका छौं ।

अन्तर्राष्ट्रिय मुद्दाहरुमा सहकार्य गर्दा राष्ट्रिय स्वाधीनताका मुद्दाहरुमा सहकार्य गर्ने स्थिति चाहिँ कति छ ?
अहिले हामीले इजरायले प्लोस्टाइनमाथि गरेको नरसंहारका विरुद्धममा सहकार्य गरिरहेका छौं । अमेरिकी साम्राज्यवादको संरक्षण र निर्देशनमा इजरायलले गाजापट्टीमा गरेको नरसंहार मानवताविरुद्धको महाअपराध हो । महिला, वृद्ध, केटाकेटीसमेत गरी करिब ६० हजार निर्दोष नागरिकको हत्या गरिएको छ । त्यस घटनाको अहिले विश्वव्यापी विरोध भइरहेको छ र हामीले पनि विरोध गर्दै आएका छौं । यसका अतिरिक्त हामीले यस्ता संयुक्त फोरमहरुमा हाम्रा एजेण्डाहरु प्रस्तुत गर्दै आएका छौं । सहकार्यका मुद्दाहरु विस्तार गर्ने कुरामा हामीले जोड गर्दै आएका छौं । तर अन्य पार्टीहरु अहिले नै यस्ता मुद्दामा सकारात्मक भइसकेका छैनन् । तर विरोध भने गर्न सकेका छैनन् ।

माओवादी केन्द्र लगायत चुनाव लक्षित पार्टीहरुले चुनावी गठबन्धन भन्दै प्रचार गर्न पनि थालेका छन् नि ?
उनीहरुले त्यसो गर्न सक्छन् । तर क्रान्तिकारीहरु सचेत हुनु पर्दछ । हाम्रो मुद्दामा जहाँसम्म सहकार्य हुनसक्छ, त्यहाँसम्म जाने हो । उहाँहरु देश र जनताका जायज मुद्दाहरु छोडेर हिड्छन् भने हामी त्यसको विरोध र भण्डाफोर गछौं । उनीहरुको चुनावको गोटी हामी बन्दैनौं । अहिलेको हाम्रो सहकार्य मुद्दाकेन्द्रित सहकार्य हो । हामीले त मूल रुपमा संघीय जनगतन्त्रको मुद्दा उठाउँदै आएका छौं । यो मुद्दामा सहकार्यका लागि पनि हामीले सबै कम्युनिस्टहरुलाई आव्हान गर्दै आएका छौं । यो मुद्दामा सहकार्यका लागि सकारात्मक जवाफ त आएको छैन तर विरोध पनि कसैले गरेका छैनन् । संघीय जनगतन्त्रको मुद्दालाई सबै कम्युनिस्टहरुको साझा मुद्दा बनाउनु पर्छ भन्ने हाम्रो भनाइ छ । हामीले स्पष्ट रुपमा भन्दै आएका छौं– अब कम्युनिस्टहरुले कांग्रेसको एजेण्डा बाकेर नहिडौं, आफ्नै जनगणतन्त्रको एजेण्डा बोकौं ।

जनगणतन्त्रको बारेमा सार्वजनिक फोरमहरुमा विषय उठाउँदै आउनु भएको छ । यसको बारेमा संक्षिप्तमा केही बताइदिनुस् न ।
जनगणतन्त्र भनेको एक प्रकारको नौलो जनवाद नै हो । जनवादी शासन सञ्चालनको एउटा मोडल हो । यो चीनको गणतान्त्रिक व्यवस्थासँग मिल्दोजुल्दो व्यवस्था हो । नेपाली विशेषता अनुसारको संघीय जनगणतन्त्र भनेका छौं । यस दिशामा परिस्थिति परिपक्व बन्दै गएपछि हामी संघीय जनगणतन्त्रको स्पष्ट शासकीय खाका सार्वजनिक गर्छौं ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पुगिसक्यो । यो व्यवस्थाबाट नेपाल र नेपाली जनताको विद्यमान समस्या समाधान नहुनेरहेछ भन्ने कुरा पुष्टि भइसकेको छ । प्रतिगामी शासन राजतन्त्रभन्दा यो एक कदम प्रगतिशील भएपनि यसबाट अब मुलुकमा विद्यमान समस्याको समाधान हुने देखिएन । देशमा विद्यमान तमाम समस्याको वास्तविक समाधान संघीय जनगणतन्त्रले मात्र गर्न सक्छ । तसर्थ, ढिलो चाँडो मुलुक संघीय जनगणतन्त्रको दिशामा जानै पर्दछ भन्ने हाम्रो ठहर छ । राजतन्त्र र लोकतान्त्रिक गणतन्त्र दुवै नेपालमा असान्दर्भिक भइसकेका छन् । त्यसैले हामीले जनगणनतन्त्रको झण्डा उठाइरहेका छौं ।

प्रायः सबैले समाजवादी गणतन्त्र भनिरहेका छन्, तपाईहरुले चाहिँ किन जनगणतन्त्रको झण्डा उचालिरहनु भएको हो ?

यो धेरै महत्वपूर्ण विषय हो । जनतालाई थाहा नहुन सक्छ समाजवाद भनेको सामन्ती पनि हुन्छ र पुँजीवादी पनि । कम्युनिस्टहरुले भन्ने गरेको समाजवाद वैज्ञानिक समाजवाद हो । अहिले अन्य कम्युनिस्ट नाम गरेका पार्टीहरुले भन्ने गरेको समाजवाद वैज्ञानिक समाजवाद होइन, बुर्जुवा समाजवाद हो । पुँजीवादी समाजवाद हो । त्यस्तो समाजवाद नेपाली जनताले खोजेको समाजवाद होइन । नेपाली जनताले खोजेको समाजवाद वैज्ञानिक समाजवाद हो । त्यो समाजवाद नेपालमा नयाँ जनवादी क्रान्ति वा जनगणतन्त्रको स्थापना नभई प्राप्त गर्न सम्भव छैन । जनगणतन्त्रले वैज्ञानिक समाजवादको आधार तयार पार्दछ ।

नेपालमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको छैन । पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको मुलुकमा राष्ट्रिय पुँजीवादको विकास हुने गर्दछ तर नेपालमा अहिले दलाल पुँजीवाद हावी भएको छ । यो दलाल पुँजीवादी व्यवस्थालाई राष्ट्रिय पुँजीवादी व्यवस्थामा बदल्न नयाँ जनवादी क्रान्ति अपरिहार्य छ । नयाँ जनवादी क्रान्तिले समाजवादी क्रान्तिको आधार तयार पार्छ । नयाँ जनवादी क्रान्तिबाट भागेर समाजवादी गणतन्त्रको कुरा गर्नु भनेको जनतालाई बेवकुफ बनाउनु मात्र हो ।

एकथरीहरुले भनेजस्तो वैज्ञानिक समाजवाद जनमत संग्रह वा संसदीय व्यवस्थाको चुनाव लडेर आउने व्यवस्था होइन, यो त भीषण वर्गसंघर्ष, जनप्रतिरोध संघर्ष हुँदै राष्ट्रिय मुक्तियुद्धबाट मात्र सम्भव छ । आज जसले जनवादी क्रान्ति पूरा भयो, पुँजीवाद आइसक्यो भनेर तर्क गर्छन्, ती नेपाली नयाँ जनवादी क्रान्तिका भगुवाहरु हुन् । संशोधनवादी र अवसरवादी कम्युनिस्टहरु हुन् । तिनीहरुलाई आम नेपाली जनताले बेलैमा चिन्न जरुरी छ ।