प्युठानको खैरामा २०१४ माघ १० गते वामदेव र कलादेवीको कोखबाट जन्मनुभएका धनेश्वर पोखरेल जुझारु एवम् खरो क्रान्तिकारी व्यक्तित्व हुनुहुन्छ । आफ्नो बाबु वामदेव र दाजु लिलामणि पोखरेलबाट वामपन्थी राजनीतिमा आकर्षित भएका धनेश्वरले विद्यार्थीकालमै कम्युनिस्ट राजनीतिको अध्ययन गर्नुभयो । त्यसैको कारणले २०३१ सालमा कम्युनिस्ट पार्टी सदस्यता लिएर निरन्तर वाम आन्दोलनमा सक्रिय रहनुभयो । तात्कालिक निरङ्कुश पञ्चायती सत्ताबाट उत्पीडित जनताको परिवेशले धनेश्वर पोखरेललाई भावनामा पनि उद्वेलित गरायो । फलस्वरूप उहाँ कविता विद्यामार्फत् साहित्य सिर्जनामा लाग्नुभयो । आफ्ना समकालीन योद्धा कवि कृष्ण सेन इच्छुकबाट बढी प्रभावित भएका धनेश्वरले तिखो र खरो चरित्रका कविताहरू लेख्ने गर्नुहुन्छ ।

शिक्षण पेशामा संलग्न भएका पोखरेल रोल्पा थवाङमा शिक्षण पेशा गरिरहेकै क्रममा उहाँ २०३६–०३७को शिक्षण आन्दोलनमा सक्रिय रहनुभयो । त्यही क्रममा पञ्चायती सत्ताले कम्युनिस्ट राजनीति गरेको आरोपमा २०३९ सालमा गिरफ्तार गरि राजकाज अपराधको मुद्दा चलाएर जेल हाल्यो । जेलमा उहाँको सम्पर्क कवि कृष्ण सेन ‘इच्छुक’सँग भएपछि उहाँ सिर्जनकार्यमा सरिक हुनुभयो । कम्युनिस्ट राजनीतिका शीर्ष नेता मोहन वैद्य ‘किरण’को प्रेरणा र जेलमा हुँदा कृष्ण सेनको सहकार्यले उहाँलाई स्पातिलो कम्युनिस्ट योद्धा बन्न उत्पे्ररित ग¥यो ।
पोखरेलले २०३३ सालमा पहिलो कविता प्रकाशित गरेदेखि निरन्तर कविता लेखन क्षेत्रमा कलम चलाउनु भएको हो । उहाँले कविताका माध्यमबाट लेखनी यात्रारम्भ गरेता पनि पछिल्ला दिनहरूमा विशेषतः माओवादीको नेतृत्वमा जनयुद्ध सञ्चालन भएदेखि उहाँले राजनीतिक, वैचारिक लेखहरू पनि लेख्न थाल्नुभयो । तथापी राजनीतिक आन्दोलनमा लागिरहँदा जनताका दुःख, पीरमर्का, राज्यबाट जनताले भोग्नु परेको शोषण, उत्पीडन, दमन, हत्या, आतङ्क आदि शोषणका विरुद्ध खरो भाषा शैलीमा कविता कोरेर उत्पीडनकारी सत्ताको विरोध गरिरहनु भएको छ ।
धनेश्वरले आफ्ना कविताहरूमा माक्र्सवादी विचार र तदनुरूपको वर्गीय पक्षधरतालाई खरो रूपमा उतार्नु भएको छ । माक्र्सवादलाई जडतामा बुभ्mने र जीवन व्यवहारमा नउतार्ने धारा तथा माक्र्सवादलाई तोडमरोड गरेर संसदीय भासमा भासिन पुगेको संशोधनवादी धारा यी दुवै प्रवृत्तिको कविताका माध्यमबाट तिखो, खरो र ठाडो प्रहार गर्ने उहाँको प्रवृत्तिगत विशेषता रहेको छ । लामो समय शिक्षण पेसामा रहेर वाम आनदोलनलाई अघि बढाउने कार्यमा लाग्नुभएका पोखरेल २०५१ सालमा शिक्षण पेशा छोडेर पूर्णकालीन रूपमा कम्युनिस्ट आन्दोलनमा सरिक हुनुभयो । २०३१ सालमा तत्कालीन नेकपाको एम.वी., मोहन वैद्य समूहको मूल धारबाट कम्युनिस्ट राजनीति शुरु गर्नुभएका पोखरेलले चौम हुँदै मशाल, एकताकेन्द्र हुँदै माओवादीको मूल प्रवाहमा निरन्तर कृयाशील रहनुभयो । उहाँ सङ्गठित भएको पार्टी २०३९ सालदेखि पटकपटक टुटफुट भएता पनि कृतिकार पोखरेल भने मूल वैचारिक प्रवाहमै निरन्तर समाहित भइरहनु भयो ।
जब नेपालमा एकात्मक राज्य व्यवस्था स्थापना भयो, तबदेखि विभिन्न भाषा–भाषी र जात–जातिका कविलायी गणराज्यहरू निषेध भए । देशमा एउटै भाषा, एउटै धर्म–संस्कृति र खस ब्राह्मणवादी राज्य व्यवस्था स्थापना भयो । हिन्दू आर्यन समाजले अन्य सबै समुदायलाई आफ्नो नियन्त्रणमा लिएर दासत्वपूर्ण व्यवस्था सञ्चालन ग¥यो । यसरी समग्रमा पृथ्वीनारायण शाहले केन्द्रीकरण गरेको एकात्मक राज्य व्यवस्था झण्डै दुईसय चालीस वर्ष टिक्यो । जसका कारण २१औं शताब्दीमा दुनियाँले पाइला टेक्दा पनि नेपाली जनताले १६औं शताब्दीकै परिणती भोग्नु परिरह्यो । फलस्वरूप देशमा छिटफुट रूपमा र पछि सङ्गठित रूपमा पनि शासकहरूका विरुद्ध नेपाली मुक्तिकामी जनताले सङ्घर्ष सञ्चालन गरे । राणा शासनदेखि नै राणा विरुद्ध विभिन्न समयमा विद्रोहहरू भए । पञ्चायत कालदेखि २०५२ सालसम्म पनि विभिन्न समयमा विद्रोहहरू भए । जनताले निरङ्कुशतन्त्रको विरुद्ध धावा बोले । त्यस प्रकारका विद्रोह, आन्दोलन एवम् जनसङ्घर्षहरूमा साहित्य, कला, सङ्गीतका क्षेत्रबाट पनि जनतामा विद्रोहचेत जगाउने काममा श्रष्टाहरू लागि रहे । जसको प्रभाव कवि धनेश्वर पोखरेलमा पनि प¥यो । त्यसैले कविताका माध्यमबाट समकालीन सत्ता, सरकार र शासकवर्गका विरद्ध पोखरेलले तिखो प्रहार गर्नुभयो ।
कवि धनेश्वरले २०३३ सालबाट कविता लेखनको यात्रारम्भ गरेता पनि उहाँका कविताहरू विशेष गरी जनयुद्ध यता लेखिएका नै बढी छन् । २०३७ सालमा जेल परेपछि जेलमै लेखिएको ‘जेल सङ्घर्षको सुशेली’ कृति छाप्न नपाउँदै हराएको बताउने धनेश्वरको लामो समय साहित्य लेखनीयात्रा रोकिएको देखिन्छ । २०५४ सालसम्मका रचनाहरू जनयुद्धका क्रममा डम्पिङमै कुहेर नष्ट भएको पीडा उहाँको छ । २०५४ पछिका रचनाहरू समावेश गरेर कवि धनेश्वरले ‘विद्रोहको युग’ कवितासङ्ग्रह २०६३ मा प्रकशित गर्नुभएको छ । त्यसैगरि उहाँको ‘बेनीमोर्चाको शब्दचित्र’ संस्मरणसङ्ग्रह पनि यसअघि नै प्रकाशित भएको छ । जसमा महान् जनयुद्धका समयमा जनमुक्ति सेनाद्वारा म्याग्दीको बेनी सदरमुकाम कब्जा गर्ने युद्धमोर्चामा व्यवस्थापकका रूपमा सहभागि हुँदाका अनुभूतिहरू समेटिएका छन् । यसरी कवि धनेश्वरलाई विशेषतः वर्गयुद्धको मैदानबाटै जन्मिएका कवि वा साहित्यकारको रूपमा चिन्न, बुभ्mन र पढ्न सकिन्छ । किनकि जनयुद्ध पूर्व उहाँ कविका रूपमा त्यति परिचित भएको पाइँदैन । अहिले पनि उहाँ आफूलाई कवि भन्दा राजनीतिकर्मी नै भन्न रुचाउनुहुन्छ । यद्येपि उहाँ निरन्तर कविता लेखिरहने कवि हुनुहुन्छ । उहाँका कविताहरू विभिन्न पत्रपत्रिका तथा अनलाइन सञ्चार माध्यमहरूमा प्रकशित भइरहेका छन् ।
यहाँ म धनेश्वर पोखरेलको दोस्रो कवितासङ्ग्रह ‘बन्दुकले विश्राम लिएपछि’को भूमिका लेख्न लागिरहेको छु । भूमिका लेख्नु असाध्य अप्ठ्यारो काम हो भन्ने मेरो बुझाई छ । किनकि सामान्य तरिकाले लेख्नु पनि कृतिप्रतिको न्याय नहुने र विस्तृत तरिकाले लेख्दा समालोचना बन्ने र भूमिकामै कविताको साङ्गोपाङ्ग चर्चा गरियो भने कविता पढ्नु नै नपर्ने जस्तो हुन जाने खतरा हुन्छ । तसर्थ भूमिका लेख्ने काम कठिन हो भन्ने मलाई लाग्छ । जे होस् कवि धनेश्वरजीले आग्रह गरिसकेपछि नकार्न पनि सकिएन र म सानोतिनो टिप्पणीमुलक भूमिका लेख्न बसेको छु ।
प्रस्तुत कवितासङ्ग्रहमा बयालीस वटा फुटकर कविता सङ्गृहित छन् । ती कविताहरूमा केही कविताहरू विभिन्न पत्रपत्रिका, अनलाइन तथा सामाजिक सञ्जालहरूमा प्रकाशित भएका छन् । कविताको सिर्जनाकाल भने २०६३ पछि तात्कालीन नेकपा माओवादीले युद्धलाई सदाका लागि विश्राम दिएर संसदीय व्यवस्थामै प्रवेस गरेपछि लेखिएका हुन् । यद्यपि प्रत्येक कविता लेखनको समयक्रम भने खुलाइएको छैन । कवितामा व्यक्त भाव र सन्दर्भहरूले यसको रचनाकाल वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको समयलाई व्यक्त गर्दछन् । प्रस्तुत पुस्तकाकार कृतिको नाम यही सङ्ग्रह भित्र रहेको छब्बीसौँ कविताको शीर्षकलाई लिएर नाकमाकरण गरिएको छ ‘बन्दुकले विश्राम लिएपछि’ ।
कवितामा भाव, विचार र घटनाको लयवद्ध शाब्दिक संरचना हुनुपर्छ । यदि त्यसो भएन भने कविता कविता जस्तो हुँदैन । कविता घटना, विचार तथा भावसंवेदनाको योग भएता पनि यसको अन्तरवस्तु चयनमा विचारकै महत्वपूर्ण स्थान रहन्छ । माक्र्सवादीहरूले साहित्य सिर्जना गर्दा श्रमजीवीवर्गको पक्षधरता लिएको हुनुपर्छ । जहाँ पसिनाको उच्चतम मूल्यबोध गरिएको हुन्छ । किनकि समाजका हरेक वस्तु र घटना वर्गीय हुने भएकाले कवितामा पनि वर्गीय पक्षधरता हुन्छ । धनेश्वरका कवितामा श्रमजीवीवर्ग प्रतिको सम्मोहन प्रचुर मात्रामा पाइन्छ । उहाँले यस सङ्ग्रहमा सङ्कलन गरिएका कविताहरू मार्फत् तिनै श्रमजीवी र उत्पीडित वर्ग, समुदाय, लिङ्गका पक्षमा आपूmलाई उभ्याउनुभएको छ र तिनै वर्ग, समुदायका पक्षमा कविता कोर्नुभएको छ । यद्यपि कवितामा विचार पक्ष हावी भएको छ । अर्को कुरा धनेश्वरका कविताहरूमा जनयुद्ध जनित विषयको प्रधानता पाइन्छ । यस सङ्ग्रहमा सङ्कलन गरिएका कविताहरू जनयुद्धपश्चात् लेखिए पनि तिनले जनयुद्धसिर्जित विषयलाई नै पकडेका छन् । जनयुद्धपछि विकसित घटनाक्रम, संविधानसभाले जनताको संविधान दिन नसकेका विषय, त्यसयता युद्धरत पक्ष सरकारमा पुग्दा समेत जनताको पक्षमा नभएर उही पुरानै सत्तासिन वर्गको पक्षमा उभिएको, साम्राज्यवाद र विस्तारवादको चाकडीमा उभिएको तथा केवल सरकार र संसदमा कसरी टिकिरहने भन्ने कुरामै अल्झिएको विषय पनि कविताका अन्तरवस्तु रहेका छन् । त्यसैगरि कवितामा राष्ट्रियताको भाव पनि प्रचुर मात्रामा पाइन्छ । आफ्नो देशको भौगोलिक अस्मिता लुटिएकोदेखि राजनीतिक, सांस्कृतिक, सामाजिक, शैक्षिकलगायत हरेक क्षेत्रमा परचक्रिहरूले लगाएको हिंश्रक नजरदेखि प्रत्येक्ष रूपमा लुटेको विषयलाई पनि कविताको विषय बनाइएको छ ।
सङ्ग्रहको पहिलो कविता जनयुद्धका महान् सहिद कृष्ण सेन ‘इच्छुक’ लाई बिम्ब बनाएर सम्पूर्ण सहिदहरूको मूल्यबोद्धलाई व्यक्त गरिएको छ । सहिद भनेको नष्ट नहुने जिनिसका रूपमा चित्रण गरिएको छ । सहिद हुनु क्रान्तिको ज्वाला अझ भर्भराएर उठ्नु या आँधी आउनु हो भन्ने सन्देश पहिलो कविताको यस पङ्क्तिले बताएको छ –
तिमी एक मार्छौ
हजार जन्मन्छन्
तिमी एक समात्छौ
लाख भएर ओइरिन्छन्
जति टूक्रा पार्छौ
त्यति नै शक्ति भएर फैलिन्छ
ऊ क्रान्ति हो ÷ विद्रोह हो
तिम्रो सत्ता उथलपुथल पार्ने ऊ आँधी हो ।
(इच्छुकहरू)
यस्तै कविले हिजो जनयुद्ध दवाउन प्रतिक्रियावादी सत्ताले अनेक हथकण्डा अपनाएको र क्रान्तिकारीहरूलाई आतङ्ककारी करार गरेर युद्ध र योद्धाहरूलाई समाप्त पार्न खोजेको दृष्टान्त प्रस्तुत गर्दै क्रान्तिकारीहरूलाई आगोका पूmलको संज्ञा दिएर कविता लेख्नुभएको छ । त्यस कवितामा शाषकहरूको जुनसुकै कार्य पनि असफल भएको बताइएको छ । जस्तो एउटा दृष्टान्त यस्तो छ –
र धर्तीमा सल्केको डढेलो निभाउन
उसले वस्ती–वस्तीमा टुकुचाको पानी खन्यायो
हजारौँ लालीगुराँसका कोपिलाहरू
निमोठेर धुलोपीठो पार्न खोज्यो
तर आगोका फूलहरू
भिर पाखा र वस्तीहरूमा मात्र हैन
शहर, गल्लि र चोक चोकमा
उसका सपनाहरू चकनाचूर पार्दै
धर्ती रङ्ग्याउनेगरि ढकमक्क फूलिरहे ।
(आगोका पूmलहरू)
यी त भए क्रान्तिको चित्र र घटनाहरूको विषयमा आधारित कवितांशहरू । यसैगरि कविले शाषकहरूको दलालीपन, काठमाडौं र मोफसल बिचको विभेद जस्ता विषय पनि कवितामा पश्कनुभएको छ । त्यस्तै राष्ट्रियताको भाव प्रस्तुत गरिएका र क्रान्ति अझै पूरा नभएकोले क्रान्ति जारी राख्ने सन्देश प्रवाह भएका कविता पनि सङ्ग्रहमा आएका छन् । जस्तो –
राजधानी
मोफसललाई दृष्टिविहिन देख्छ
बहिरा ठान्छ
अनपढ, अशिक्षित ठान्छ
अनि लाद्छ सत्ताको क्रुरता
यो बुझ््दैन राजधानी
उस्को जन्म मोफसलमै भएको हो
(मोफसल र राजधानी)
यस कवितामा कविले राजधानीले मोफसललाई अपहेलना गरेको र शोषण मात्र गरेको कुरा दर्शाउनुभएको छ । साथै उहाँले मोफसलले नै राजधानीलाई बचाएको कुरा पनि कविताकै माध्यमबाट प्रष्ट्याउन खोज्नुभएको छ । यसैगरि क्रान्ति अझै नसकिएको र पित्तलहरू गलत बाटोमा लगेपनि आफू सुन भएको अर्थात् क्रान्तिकारीहरू सुन भएकाले क्रान्ति जारी राख्ने छन् भन्ने दृष्टान्त निम्न कवितांशले प्रष्ट्याएको छ ।
म एक लाल सुन हुँ
मात्र एक लाल
हज्जारौं क्वीण्टल पित्तलका बिरूद्ध
लडिरहेको छु ÷ लडिरहने छु
भ्रमको पर्दा नच्यातिएसम्म
धुजा–धुजा नभएसम्म
निरन्तर, निरन्तर लडिरहने छु ।
(एक लाल सुन)
कविले एकथरीले युद्ध रोकेर भोग विलासको जीवनमा लिप्त भएपनि समाज वदल्न, युग बदल्न उठेका मुट्ठीहरू रोकिएका छैनन् । उनीहरू परिवर्तका निम्ति लम्बेयात्रमा निरन्तर हिँडिरहेकै छन् भन्ने शन्देस दिन खोज्नुभएको छ । जसरी हिजोका दिनमा मृत्यु या मुक्तिको कसम खाएर देश बदल्न हिँडेका थिए त्यसरी नै आज पनि हिँड्न तयार छन् योद्धाहरू भन्ने कुरा निम्न कवितांशबाट प्रष्ट्याउनुहुन्छ । –
थापेर छातिमा गोली
खानुपरे खाउँला नै बरू
क्रान्ति नै मुक्तिको मार्ग
त्यो भन्दा छ र के ? अरू ।
गरेर सपना पुरा
छाड्ने छौ महान् सहिदको
ल्याएर जनवाद नयाँ
पार्ने छौ देश मुक्त यो ।
(सङ्कल्प)
प्रस्तुत सङ्ग्रहमा कवि धनेश्वर पोखरेलले समकालीन यथार्थको काव्यात्मक स्वर दिनुभएको छ । वास्तवमा तात्कालीन नेकपा माओवादीले २०५२ सालमा जुन उद्देश्य र लक्ष्य लिएर पुरानो सत्ताका विरुद्ध बन्दुक उठाएको थियो त्यो लक्ष्य पुरा नहुँदै बन्दुक बिसाएकोमा प्रगतिवादी धाराका साहित्यकारहरू कोही पनि सन्तुष्ट भएनन् । स्वम् जनयुद्धको महायात्रामा प्रत्यक्ष सामेल भएका कवि साहित्यकार कलाकार त झन् हुने कुरा पनि भएन । त्यसको प्रभाव प्रस्तुत कवितासङ्ग्रहमा पनि परेको छ । कवि धनेश्वर स्वयम् जनयुद्धमा प्रत्यक्ष सहभागी एकजना महत्वपूर्ण पात्र हुनुहुन्छ । जनयुद्धको सुरुआती दिनदेखि नै सङ्लग्न रहनुभएको पात्र हुनाले युद्ध के कारण र उद्देश्यले सञ्चालित थियो र त्यो पुरा के कारणले भएन भन्ने कुराको भोक्ता साक्षि हुनुहुन्छ । त्यसैले पनि पछिल्लो घटनाक्रमले उहाँमा उद्वेलन पैदा गराएको हो । त्यही उद्वेलनबाट तरङ्गीत भएर बगेका भाव तरङ्ग हुन् यी कविताहरू ।
दुईवटा कृति पाठक सामू पस्किइसक्नुभएका पोखरेलले यो तेस्रो कृतिका रूपमा पाठक सामू ल्याउन थालेको खबरले मलाई खुसी लागेको छ । कविता, गजल तथा हाइकुमा समेत निरन्तर कलम चलाउँदै आउनुभएको पोखरेलको प्रस्तुत कवितासङ्ग्रहको भूमिका लेख्न मलाई अनुरोध गर्नुभएकोमा म कवि धनेश्वर पोखरेल प्रति धन्यावाद प्रकट गर्न चाहन्छु । साथै उहाँको साहित्य लेखनतर्फको यात्रा निरन्तर अगाडि बढोस् भन्ने शुभकामना सहित पुस्तकको प्रतिको टिप्पणीलाई यहीँ बिट मार्दछु ।



























