नेपालका लागि बृहत् वाम एकता आजको प्रमुख आवश्यकता भएको छ । खासगरी गत भदौ २३ र २४ मा भएको बिध्वंश र त्यसैलाई आधार बनाएर भदौ २७ मा राष्ट्रपतिबाट चालिएको कदमका कारण हाल कुनै बिचार र दर्जन बिनाको झुण्ड सरकारमा पुगेको छ । गत शुक्रबारमात्र गठन भएको सरकारले आफ्नो पदभार समेत राम्ररी ग्रहण गरेर बस्तुस्थिति बुझि नसक्दै जसरी राज्य आतंक सिर्जना गर्ने÷गराउने प्रयास थालेको छ, त्यसको मुख्य प्रहार नेपालको कम्युनिष्ट शक्तिमाथि केन्द्रित रहेको देखिएको छ । नेपालमा दर्जन बढी कम्युनिष्ट नामधारी पार्टीहरु रहेका छन् । सबैले गरेका गतिबिधिलाई एकमुष्ठ आधार बनाएर कम्युनिष्ट पार्टी र तिन्का नेताहरुमाथि प्रहारगर्न थालिएको छ । त्यसैले कम्युनिष्ट नाम भएका क्रान्तिकारी र संसदवादी सबै पार्टी अटाउने बृहत बाम एकताको टड्कारो आवश्यकता देखिएको छ । जसले नेपाल कम्युनिष्ट पार्टीको जन्मदिन र विश्व कम्युनिष्ट पार्टीका नेताहरुको स्मृति दिवसलगायतमा भएपनि सबै बाम पार्टीहरुलाई साझा मञ्चमा उपस्थित गराएर बिचारको मन्थन गराउन सकोस । जसका लागि केही प्रयासहरु पनि थालिएका छन् । तर ठूला र स्थापित कम्युनिष्ट पार्टीहरुले आडभरोषा नदिएसम्म बृहत बाममोर्चा बनाउन नसकिने अवस्था सिर्जना भएको छ । क्रान्तिकारी बाम पार्टीको खेमाबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी, संसदवादी बाम पार्टीको खेमाबाट एमाले र मध्यपन्थी बाम खेमाबाट नेपाली कम्युनिष्ट पार्टीलगायतको यसतर्फ तत्काल ध्यानाकर्षण जरुरी भएको छ । जनस्तरबाट बृहत् वाम एकता आजको प्रमुख आवश्यकता भन्ने कुराहरु उठिरहेका छन् । हुन त वाम एकता २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएदेखिनै आकर्षक नारा रहँदै आएको छ । गत भदौ २७ को राष्ट्रपतिको कदमपछि पनि वाम एकताको कुरा उठेको थियो । हालै एमालेको सचिवालयको बैठक भयो, त्यहाँ पनि वाम एकताको कुरा उठ्यो । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले कतिपय कम्युनिष्ट पार्टीहरुका बीचमा पार्टी एकताको पहल गरिरहेको कुरा बाहिर आएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले कम्युनिष्ट एकतामा जोड दिएको छ । नेकपा (मसाल) ले आफ्नै पार्टीको मात्र चुनावी मोर्चाकारुपमा राष्ट्रिय जनमोर्चा बनाएको छ । यसअघिको संयुक्त जनमोर्चाकै धेरै अनुभवहरु रहेका छन् । तर, धेरै मोर्चाहरु टिकाउ भैरहेका छैनन् ।
त्यति हुँदाहुँदै पनि आवश्यकता भने सबैकाबीचमा खट्किएको छ । त्यसैले यो आवश्यकता र जनचाहनाको पूर्ति कसरी गर्ने ? त्यो आजको सबैभन्दा महत्वपूर्ण बहसको विषय भएको छ । कतिपयले पूर्वमाओवादी घटकहरुको एकताको कुरा गरे । त्यो सुन्दा कर्णप्रिय भए पनि असंभव हो । किनकि पूर्वमाओवादीका कतिपय घटकहरु संसदीय राजनीतिमा अभ्यस्त भएका छन्भने कतिपयले संसदीय राजनीतिलाई मानिरहेका छैनन् । कतिपयले त ०६२ मा दिल्लीमा भएको १२ बुँदे सहमति, ०६३ मा भएको शान्ति संझौता, संविधानसभाको निर्वाचन र ०७२ को संविधानलाई नै अमान्य घोषणा गरेका छन् । कतिपयले त्यसैलाई आफ्नो ठूलो उपलब्धि मानिरहेका पनि छन् । यस्तो अवस्थामा एकथरीले पूर्व माओवादीहरुको एकता र अर्कोथरीले पूर्व एमालेहरुको एकताभन्दै जाने होभने त्यो केवल बिवाद बढाउने कुरामात्रै हुन जान्छ । त्यसोभन्दै जाने होभने पूर्व चौथो महाधिवेशन समर्थकहरुको एकता अथवा चौथो महाधिवेशनलाई मान्यता नदिनेहरुको एकतालगायतका कुराहरु पनि आउन सक्दछन् । त्यसैले नेपालको आजको प्रमुख आवश्यकता भनेको बृहत् वाम एकता हो । विवादका विषयहरु खोतल्दै जाने होभने पार्टी स्थापनामा भएको विवादको कुरा पनि आउन सक्दछ । नेपालमा कम्युनिष्ट पार्टीहरुबीचको एकताको प्रमुख आधार पहिलो माक्र्सवाद–लेनिनवाद हुनसक्छ । त्यसमा माओवादलाई थपियो भने कतिपयले माओवाद मान्दैनन् । कतिपयले माओ विचारधारा मानेका छन्भने कतिपयले त्यसलाईसमेत नस्वीकारेको अवस्था छ । त्यसैले माक्र्सवाद–लेनिनवादलाई मात्र आधार बनाएर एकताको प्रक्रिया अगाडि बढाइनु राम्रो हुन्छ । दोश्रो कुरा सबैले आआफ्ना मागहरु अगाडि सारेका छन् । ती मागमा जनसरोकार र जनजीविकाका सवालहरुमा प्रायः सबै कम्युनिष्ट घटकहरुको विचारमा समानता रहेको पाइन्छ । त्यसलाई संयोजन गरेर कार्यगत एकतागर्न सकिने अवस्था पनि रहेको छ । त्यसैले हाल शुरुमा संसदमा रहेका र नरहेका सबै (संभव नभए जतिसक्दो बढी) कम्युनिष्ट पार्टीका दोश्रो तहका नेताहरु रहेको कम्युनिष्ट एकता मञ्चको गठन गरिनु पर्दछ । जसको मूल धेयनै कम्युनिष्ट पार्टीहरुकाबीचमा रहेका विवादलाई कमगर्ने र कमसेकम वर्षमा दुई–चार पटक भएपनि विचारहरुको विनिमय गराउने होस । माक्र्स, ऐङ्गेल्स, र लेनिनलगायतका अन्तर्राष्ट्रिय कम्युनिष्ट नेताहरुको जन्म जयन्ती एउटै मञ्चबाट मनाउन सकिने अवस्था छ । कतिपय विषयमा विचार फरक भए पनि एउटै मञ्चमा बसेर विचार विनिमय गर्न÷गराउन सकिने अवस्था पनि छ ।
जस्तो कम्युनिष्ट पार्टीको स्थापना एकै पटक भएको हो । नेकपाको स्थापना २००६ सालको बैशाख १० गते कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा भएको थियो भनिन्छ । संस्थापक महासचिव पुष्पलालले ‘नेपालको कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’मा आपूmले नेकपा स्थापना गरिसकेपछि मात्र पार्टीको निर्णयअनुसार ‘माक्र्सवादी अध्ययन मन्डल’ गठन गरेको उल्लेख गर्नुभएको छ । जुन अध्ययन मण्डलमा हिक्मतसिंह भण्डारी, प्रयागलाल, शमशेर चाँद र डा. केशरजंग रायमाझी सदस्य रहनुभएको थियो । नेकपाको स्थापनागर्दा पुष्पलालका अतिरिक्त संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द बैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी रहनु भएको थियो । बैशाख १० गते पार्टी खोले पनि यसलाई गोप्यनै राखिएको थियो र सोही सालको भदौ ३० गते नेकपा स्थापनाको औपचारिक जानकारी बाहिर ल्याइएको पनि भनिन्छ । त्यतिबेला पार्टी स्थापनाको जानकारीदिँदा यसअघिका पाँचजना संस्थापकमध्ये पुष्पलालबाहेक अरु कोही थिएनन् । सो दिन पुष्पलालसँग घोषित केन्द्रिय समितिमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र भाइसाहेब भनिने अयोध्या सिंह हुनुहुन्थ्यो । अयोध्या सिंह भाकपाका प्रतिनिधि हुनुहुन्थ्यो । २००८ सालको असोजमा नेकपाको पहिलो सम्मेलन कलकत्तामा हुँदासम्म नेकपाको विधाननै थिएन । २००८ सालदेखि नै नेकपाका राजतन्त्र र गणतन्त्रकाबारेमा पार्टीभित्रै संघर्ष शुरुभएको थियो । संस्थापक महासचिव पुष्पलाल आफैँले २००८ सालको प्रथम सम्मेलन पछिबाटै पार्टीमा संशोधनवादको प्रवेश भएको आफ्ना रचनाहरुमा उल्लेख गर्नुभएको पाइन्छ । २०१० सालमा पाटनमा भूमिगतरुपमा भएको पहिलो अधिवेशनमा तत्कालीन महासचिव मनमोहन अधिकारीले नै संशोधनवादलाई संस्थागतरुपमा प्रवेश गराएको कुरा पनि उठेको थियो । नेकपाको प्रथम घोषणापत्र गणतन्त्रवादी भए पनि दोश्रो अधिवेशनले वैधानिक राजतन्त्र स्वीकार गरेको देखिएको थियो । २०४७ सालमा गठन भएको एमालेको लाइन नै मनमोहनले २०१० सालमा पारित गराएको संशोधनअनुरुप रहेको मानिन्छ । जसको नेतृत्व माधव नेपाल, झलनाथ खनाल र केपी ओलीहुँदै अगाडि बढेको छ । २०१७ सालको पुस १ गतेको काण्डमा पनि नेकपामा स्पष्ट बिभाजन देखिएको थियो । नेकपा स्थापनाको १३ वर्षपछि पहिलोपटक औपचारिकरुपमा फुटेको र त्यसपछि फुटका अनगिन्ती शृंखलाहरु शुरु भएको देखिएको छ । आज पनि त्योक्रम जारीनै छ । समयक्रममा हिजोका कतिपय क्रान्तिकारीहरु आज दक्षिणपन्थी र संसदवादी खेमामा पुगेका छन् । तर, पनि उनीहरुले आपूmलाई कम्युनिष्ट भन्न छाडेका छैनन् ।
नेपालमा रहेका प्रायः कम्युनिष्टहरुमा बैचारिक कुरामै केही नमिलेजस्तो देखिएको छ । खासमा कम्युनिष्ट पार्टीहरु मित्रशक्ति हुन् । उनीहरु शत्रु शक्तिमा परिणत भएभने त्योभन्दा खतराको कुरा अरु केही पनि हुन सक्दैन । जसले नेपालमा रहेका कम्युनिष्टलाई नै समस्या बनाउँछ । कुनै न कुनै समयमा कम्युनिष्टहरु एक भएर काम गर्नैपर्ने हुन्छ । ७० प्रतिशतभन्दा बढी कम्युनिष्टहरु रहेको मुलुक नेपालमा उनीहरुकै बीचमा एकता नहुनु विश्वकै लागि दुखद् खबर हो । त्यसैले कम्युनिष्ट पार्टीहरुका बीचमा रहेका विवादहरुलाई हलगर्नु सबैका लागि बाध्यता पनि रहेको छ । कम्युनिष्ट पार्टीका बारेमा जनमानसमा सधैँ भ्रमको अवस्था रह्योभने त्यसले संसदीय निर्वाचनमा भाग लिएका र नलिएका दुबैथरीलाई हानी गर्छ । यो कुरालाई अस्थित्वमा रहेका सबै कम्युनिष्ट पार्टीले स्वीकार गरेर त्यसको समाधान कसरी गर्ने÷गराउने भन्ने उपायको खोजीमा लाग्नुपर्दछ । जसका लागि तत्काल अत्यन्त लचिलो खालको कम्युनिष्ट एकता मञ्चको स्थापना हुनुपर्दछ । सो मञ्चले नेपालका कम्युनिष्ट पार्टीहरुका बीचमा रहेका बिवाद र मेलका कुराहरुको अध्ययन अनुसन्धान गरेर विवादका कुराहरुलाई क्रमशः न्युनीकरणगर्दै लाने सूत्रहरुको विकासगर्नु आवश्यक छ । कमसेकम वर्षमा दुई–चार पटकमात्रै भए पनि सबै कम्युनिष्ट पार्टीहरुका बीचमा साझा कार्यक्रमहरु हुन सकेभने यसले चुनावमा भाग लिने र नलिने दुबैथरीलाई फाइदा गर्दछ । त्योभन्दा पनि बृहत् वाम एकताले नेपालका शोषित पीडितकासाथै आमनेपाली जनतालाई फाइदा हुन्छ । विदेशी हस्तक्षेप कमगर्न सकिन्छ । त्यसैले वाम एकताको अभियानलाई नयाँ ढंगले उठान्गर्नु जरुरी देखिएको छ । पछिल्लो राजनीतिक स्थितिका कारण बृहत् बाम एकताको अभियानलाई तत्काल अगाडि बढाउनु जरुरी छ ।






























