सांस्कृतिक आन्दोलनलाई नयाँ ढङ्गले सङ्गठित तथा परिचालित गर्नुपर्दछ ।

सांस्कृतिक आन्दोलनलाई नयाँ ढङ्गले सङ्गठित तथा परिचालित गर्नुपर्दछ ।

अन्तर्वार्ता

नेपाली धर्तीमा समाजको आमूल परिवर्तनका लागि लडिएको वर्गसङ्घर्षले साहित्य, कला र संस्कृतिमा कस्तो प्रभाव पारेको थियो । र त्यसले स्थापित गरेको मूल्यलाई चलायमान बनाउन किन सकिएन ? अब त्यसलाई पुनर्ताजगीकरण गर्न कसरी अभियान चलाउनु पर्ला भन्ने ठान्नुहुन्छ ?

नेपाली समाजको इतिहासमा आमूल परिवर्तनका लागि भएका वर्गसङ्घर्षहरूमा पूर्व नेकपा (माओवादी) द्वारा सञ्चालित जनयुद्ध सबै भन्दा उच्च र प्राथमिक स्थानमा रहेको छ । यो वर्गयुद्ध पुरानो राज्यसत्ताको अन्त्य र नयाँ राज्यसत्ताको स्थापनाका निम्ति सञ्चालित एक महान् ऐतिहासिक अभियान थियो । यसको सबै क्रान्तिकारी नेता, कार्यकर्ता, शुभेच्छुक, परिर्वतनकामी जनसमुदाय सहित सहित्यकार, कलाकार तथा सांस्कृतिककर्मीहरूलाई समेत नयाँ उर्जा तथा उत्प्रेरणा प्रदान गरेको थियो । जनयुद्धकालमा वर्गयुद्धद्वारा उद्घाटित नयाँ यथार्थको उद्बोधन, देश, जनता, क्रान्ति तथा मुक्तिप्रति प्रतिबद्धता, नयाँजनवाद, समाजवाद तथा साम्यवादको स्थापनाप्रति निष्ठा, उच्च प्रकारको त्याग, वीरता, तथा बलिदानी भाव लगायतका क्रान्तिकारी मूल्य–मान्यता विकसित तथा स्थापित हुँदै गएका थिए । यस प्रकारका मूल्य–मान्यता तथा आदर्शमा आधारित रहेर साहित्य तथा कला सहित नयाँ संस्कृतिको निर्माण प्रकिया अगाडि बढेको थियो र त्यसैक्रममा माक्र्सवादी सौन्दर्यशासत्रको आलोकमा जनयुद्धको सौन्दर्यशास्त्र पनि जन्मिएको थियो ।

क्रान्तिले बीचैमा धोका र धक्का खाएकोले विकसित तथा स्थापित हुँदै गएका उक्त प्रकारका मूल्य–मान्यता तथा आदर्श अनुरूप आन्दोलनलाई अगाडि बढाउन सकिएन । यसका पछाडि मुख्यतः दक्षिणपन्थी संशोधनवादी विचलन र साथै क्रान्तिकारीहरूको कमजोर स्थिति जस्ता कारणहरूले पनि काम गरेका छन् । अव ती मूल्य–मान्यता र आन्दोलनको ताजगीकरणका लागि तिनको जगमा टेकेर अर्को नयाँ यर्थाथको उद्धाटन गर्नु पर्दछ र त्यसको निम्ति आवश्यक तयारी गर्नु पर्दछ । यो तयारी सैद्धान्तिक, राजनीतिक तथा साङ्गठनिक हरेक क्षेत्रमा हुनुपदर्छ र यसका लागि सांस्कृतिक आन्दोलनलाई नयाँ ढङ्गले सङ्गठित तथा परिचालित गर्नुपर्दछ ।

जनयुद्धले उठाएको विषयमा स्रष्टा सर्जकहरूबाट थुप्रै कविता, कथा, गीत, संस्मरण, निबन्ध जस्ता साहित्य त लेखिए तर उपन्यास÷महाकाव्यमा चित्त बुझदो लेखन भएन भनिन्छ यसबारे के भन्नुहुन्छ ? के उपन्यास र महाकाव्य लेख्न विशिष्ट क्षमताको आवश्यकता पर्ने हो या अरू कुनै कारण देख्नुहुन्छ ?

जनयुद्धद्वारा उद्घाटित नयाँ यथार्थमा आधारित रहेर साहित्यका क्षेत्रमा कविता, कथा, संस्मरण लगायतका विधाहरू जुन रूपमा निर्मित भए त्यसै हिसावले उपन्यास र महाकाव्यको रचना हुन सकेन । यो कुरा मुलतः सत्य नै हो । जहाँसम्म विशिष्ट क्षमताको कुरा हो त्यो त सबै विधाहरूमा आवश्यक पर्दछ । उपन्यास र महाकाव्यका सन्दर्भमा भन्नुपर्दा तिनका लागि विशिष्ट क्षमताका साथै साधना र धैर्यको पनि बढी आवश्यकता पर्दछ ।

अहिले पठन संस्कृति खस्कँदै जानु र प्रगतिवादी साहित्य–कला क्षेत्रमा नयाँ पुस्ताको उत्साहजनक सहभागिता नहुनुका कारण के देख्नुहुन्छ ?

हो, पठन सांस्कृति खस्कँदै गएको छ । जहाँसम्म प्रगतिवादी साहित्य–कलाका क्षेत्रमा नयाँ पुस्ताको उत्साहजनक सहभागिता नहुनुुको कारणको प्रश्न हो, त्यसका पछाडि मूलतः सांस्कृतिक साम्राज्यवाद, दक्षिणपन्थी संशोधनवाद र फेसबुके संस्कृतिले काम गरेका छन् । त्यसका साथै नयाँ पुस्तालाई प्रोत्साहित गर्ने यथेष्ट वातावरणको अभाव, आवश्यक उत्प्रेरणाको कमी, स्वयम् नयाँ पुस्ताका अधिकता लेखक–कलाकारहरूको रुचिको विकासको स्तर जस्ता कारणहरूले पनि काम गरेका छन् ।

जनयुद्धले धक्का खाएपछि नेपाली बजारमा माओवादी जनयुद्धलाई विद्रूपीकरण गरिएका संस्मरण तथा आख्यानहरू आएका छन्, यसको कारण के देख्नुहुन्छ ? के वैश्विक अवस्थामा पनि यस्तै हुन्छ ? त्यस्ता कृतिहरूको समाजवादी यथार्थवादी कोणबाट समीक्षा÷समालोचनाको कमी देखिन्छ । यसबारे हाम्रा कवि, लेखक÷समालोचकको दायित्वबारे के भन्नुहुन्छ ?

जनयुद्धले धक्का खाए यताको अवस्थामा नेपाली बजारमा जनयुद्धको विद्रूपीकरण गरेर संस्मरण, आख्यान निर्माण गरिनुको पछाडि प्रतिक्रान्ति नै मूल कारण रहेको छ । यो कुरा नेपाल मात्र होइन विश्वका विभिन्न मुलुकहरूका सन्दर्भमा पनि सत्य हो । जनयुद्धको विद्रूपीकरण गरिएका कृतिहरूको समाजवादी यथार्थवादी कोणबाट समीक्षा गर्ने काम … रूपमा अगाडि बढ्न सकेको छैन । यो विचारधारात्मक सङ्घर्षको क्षेत्रमा रहेको कमी वा सीमा हो । यसबारे माक्र्सवादी समालोचकहरू बढी सजग तथा क्रियाशील बन्न र समालोचकीय दायित्व संवहन गर्न गम्भीर हुनुपर्दछ ।

जब जब प्रतिरोधी आन्दोलन कमजोर हुन्छ कला साहित्य पनि भुत्ते हुँदै जाने रहेछ । अहिलेको खण्डित वाम आन्दोलनभित्र सांस्कृतिक आन्दोलनको मोर्चा कसरी निर्माण गर्न सकिएला ?

प्रतिक्रियावादी विरुद्धको प्रतिरोधी आन्दोलन कमजोर बनेको स्थितिमा प्रगतिशील साहित्य–कलाको रचनात्मक काम पनि कमजोर नै हुने गर्दछ । तर, स्थितिको यो एउटा पाटो हो । अर्कोतिर त्यस प्रकारको स्थितिमा पनि प्रगतिशील कलाकृति रचिने गर्दछन् र तिनले प्रतिरोधी आन्दोलनलाई आवश्यक ऊर्जा प्रदान गर्दै क्रान्तिको तयारीमा महत्वपूर्ण भूमिका खेल्दछन् ।

विभिन्न धारामा विभाजित अवस्थामा रहेको वामपन्थी आन्दोलनमा सांस्कृतिक आन्दोलनको मोर्चा बनाउन निकै अप्ठेरो हुन्छ । तरपनि प्रगतिशील शक्तिहरू बीचमा सोपेक्ष रूपमा त्यस्तो मोर्चा बनाउन सकिन्छ र बनाउनु पनि पर्दछ । तर, त्यसो गर्दा विचारधारात्मक सङ्घर्षलाई भने ओझ्ेलमा पर्न दिनुहुँदैन ।

नेपालको प्रगतिवादी साहित्यले पचासको दशकदेखि यसको प्रतिध्रुवीय धारालाई पछाडि पार्दै केन्द्रमा स्थापित हुन पुगिसकेको अवस्थामा अहिले सुधारवादी÷संशोधनवादी कथित वाम शक्तिहरू सत्तामा पुगेपछि पुनः प्रतिध्रुवीय धारामै वामशक्ति रमाउन थालेको देखिन्छ यस्तो अवस्थामा प्रगतिवादी साहित्यलाई अझै बढी प्रभावकारी बनाउन कसरी सकिएला ?

पचासको दशक यता प्रतिध्रुवीय धारालाई पछाडि पार्दै प्रगतिवादी धारा पक्कै पनि केन्द्रमा स्थापित हुन पुगेको हो र कैयौँ अर्थमा अहिले पनि पुगेकै छ । तर, नेपाली कम्युनिस्ट आन्दोलन विभाजित भएको र त्यसको एउटा ठूलो हिस्सा सुधारवादी संशोधनवादी बाटो पकडी प्रतिध्रूवीय धारामा समाहित हुन पुगेको अहिलेको अवस्थामा प्रगतिवादी धारालाई प्रभावकारी बनाउन निकै कडा परिश्रम गर्नुपर्दछ । त्यसका लागि एकातिर प्रगतिवादी साहित्यकारहरूका बीचमा सुदृढ विचारधारात्मक एकता कायम गर्नुपर्दछ भने अर्कोतिर विषयलाई अत्यन्तै गम्भीरतापूर्वक ग्रहण गरी क्रान्तिकारी उत्साह र लगनशीलताका साथ सिर्जनात्मक कार्यमा सक्रिय बन्नुपर्दछ । साथै यस धाराका उदीयमान पुस्तालाई उत्प्रेरित तथा प्रोत्साहित गर्ने तर्फ पनि आवश्यक दृष्टि दिनुपर्दछ ।

अहिलेको आन्दोलन जातीयता, क्षेत्रीयता र नारीवादतिर गएको देखिन्छ । के यसले वर्गसङ्घर्षलाई निस्तेज त बनाउँदैन ? यी पृथक् आन्दोलनलाई वर्गसङ्घर्षको मूलधारमा कसरी केन्द्रीकरण गर्न सकिन्छ ?

यद्यपि वर्तमान नेपाली राजनीतिक आन्दोलनमा जातीयतावादी, क्षेत्रीयतावादी तथा नारीवादी विचलन प्रचुरमात्रामा देखा पर्दै आएका छन् र यिनलाई साम्राज्यवादले मलजल प्रदान गरिरहेको छ । उत्तरआधुनिकतावादका पक्षधरहरूले जातीयमुक्ति, क्षेत्रीयमुक्ति र नारीमुक्ति आन्दोलनलाई वर्गसङ्घर्षबाट अलग्याउनका लागि सक्दो कसरत गर्दै आएका छन् । परन्तु ठीक यहीँनेर के पनि बुझन जरुरी छ भने सच्चा माक्र्सवादीहरूले यस प्रकारका गलत चिन्तनका विरुद्ध यथेष्ट सङ्घर्ष चलाउँदै आएका पनि छन् । साथै, नेपालमा जातीय तथा क्षेत्रीय मुक्ति आन्दोलन भन्ने वित्तिकै तर्सिने प्रवृत्ति पनि प्रचुर मात्रामा छ र त्यसका विरुद्ध पनि सङ्घर्ष गर्नु पर्दछ । जातीय, क्षेत्रीय तथा नारीमुतिm आन्दोलनलाई वर्गीयमुतिm आन्दोलनसित नजोडीकन क्रान्ति सम्भव छैन ।

अहिलेको वैश्विक सांस्कृतिक आन्दोलनलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

वर्नमान वैश्विक, सांस्कृतिक आन्दोलको मूल्याङ्कन गर्ने काम सरल होइन, जटिल प्रकारको छ । तर पनि के भन्न सकिन्छ भने आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग भएकोले अहिलेको वैश्विक सांस्कृतिक आन्दोलन पनि साम्राज्यवादको विरोध र सर्वहारा अन्तर्राष्ट्रियतावादको पक्षमा रहेको छ । विभिन्न देशहरूमा चल्दै आएका जनवादी, राष्ट्रियमुतिm र समाजवादी आन्दोलन वैश्विक सांस्कृतिक आन्दोलनसित जोडिएका छन् । विश्वस्तरमा दक्षिणपन्थी संशोधनवाद साम्राज्यवादको पुच्छर बन्दै आएको स्थितिमा वैश्विक सांस्कृतिक आन्दोलन पनि साम्राज्यवादका साथै दक्षिणपन्थी संशोधनवादका विरुद्ध समेत परिलक्षित बन्न गएको छ । सर्वहारावादी सांस्कृतिक आन्दोलन सम्रग सामाजिक रूपान्तरण सहित वैज्ञानिक समाजवाद हुँदै साम्यवादको आर्दश प्राप्तिको दिशातर्फ प्रवाहमान रहेको छ । तर, यो कमजोर छ र यसलाई प्रभावकारी बनाउन जरुरी छ । यस निम्ति यस प्रकारको आन्दोलनलाई माक्र्सवाद–लेनिनवाद–माओवाद र महान् सर्वहारा सांस्कृतिक क्रान्तिको आलोकमा सङ्गठित तथा सञ्चालित गर्न आवश्यक छ ।

आर्थिक, राजनीतिक र सांस्कृतिक दृष्टिले नेपालको वर्तमान अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

सामाजिक आर्थिक रूपमा अहिले नेपाल अर्धसामन्ती, अर्धऔपनिवेशिक विशेषता सहित नवऔपनिवेशिक अवस्थामा छ । देशको राज्यसत्ता दलाल तथा नोकरशाही पँुजीपति र सामन्तवादकै हातमा छ र शासनसत्ता लोकतन्त्रात्मक गणतान्त्रिक संसदीय प्रणालीमा आधारित छ । अहिले सत्ता पश्चगामी, यथास्थितिवादी र कम्युनिस्ट नामधारी संशोधनवादीहरूद्वारा सञ्चालित हुँदै आएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या झ्नै विकराल बन्दै गएका छन् । देशको अर्थतन्त्रमा साम्राज्यवादी नवउदारवादको प्रभुत्व छ । भ्रष्टाचार, अन्याय, अत्याचार सीमाहीन बन्दै गएका छन् । गाउँमा जग्गा जमिन बाँझ्ै पल्टिएका छन्, रोजगारीको खोजीमा युवा शक्तिको अत्यत्तै विशाल हिस्सा विदेशिएको छ । र, देशको अर्थतन्त्र विप्रेषणले धानिएको छ । यसैमा सरकारले गर्व गर्दछ र त्यसले जनताका कुरा सुन्दैन । सत्ता र सरकारको फासिवादीकरण हुँदै गएको छ । एकातिर सत्ताधारी तथा संसदवादी दलहरूमा अन्तर्कलह चुलिँदै गएको छ भने अर्कोतिर ती दलहरूप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा व्याप्त भइरहेको छ । वस्तुतः देश सङ्कट उन्मुख बन्दै गएको छ । सामाजिक रूपान्तरणका लागि वस्तुस्थिति तयार बन्दै जान थाले पनि आत्मगत अवस्था भने कमजोर नै छ । यो वेला सच्चा कम्युनिस्ट शक्तिलाई गोलबन्द गरी क्रान्तिको तयारीमा लाग्न जरुरी छ ।

माक्र्सवादी आधार र उपरिसंरचनामाथि उत्तरआधुनिकतावादी चेतना हावी हुँदै आएको पछिल्लो अवधिलाई कसरी निस्तेज गर्न सकिएला ?

आर्थिक आधारको भूमिकालाई अत्यन्तै न्यून र राजनीति लगायत उपरिसंरचनाका विभिन्न तŒवहरूको भूमिकालाई सदैव प्रधान बताउँदै उत्तरआधुनिकतावादले माक्र्सवादमाथि आक्रमण गर्दै आएको छ । परन्तु त्यसलाई निस्तेज पार्नका लागि माक्र्सवादीहरूले राजनीति, विचारधारा र संस्कृतिका क्षेत्रमा सशक्त सङ्घर्ष चलाउँदै आएका छन् । उत्तरआधुनिकतावाद मरणासन्न साम्राज्यवादी विचारधारा हो र त्यसका विरुद्ध अझ्ै सशक्त र प्रभावकारी विचारधारात्मक सङ्घर्ष चलाउनु पर्दछ ।

तपाईं लामो समय स्वास्थ्य समस्यामा रहनु भएर पनि सिर्जन क्षेत्रमा कृयाशील हुनुभएको भन्ने बुझिएको छ, कुनै कृतिको तयारीमा त होइन ?

फाट्टफुट्ट रूपमा केही त लेख्ने गरेको छु । तर, त्यसभन्दा बढी केही सोचेको छैन ।

समाजवादी यथार्थवादी समालोचनाको वर्तमान अवस्था कस्तो देख्नु हुन्छ ?

पुराना, प्रौढ तथा नयाँ पुस्ताद्वारा लिखित जे जति कृतिहरू प्रकाशमा आएका छन् ती सबैमाथि दृष्टि दिँदा अहिलेको अवस्थामा पनि यथार्थवादी समालोचना सापेक्ष रूपमा उर्वर र समृद्ध नै देखिन्छ । तर यतिलाई पर्याप्त ठानेर सन्तुष्ट भने हुनु हुन्न । यो बेला यस धाराका समालोचकहरूले विभिन्न प्रकारका चुनौतीहरूको सामना गर्न र यस धारालाई अझ्ै माथि उठाउन आआफ्ना साधना तथा क्रियाशीलतालाई सशक्त ढङ्गले अगाडि बढाउनु पर्दछ ।

तपाई्रं माक्र्सवादी समालोचक एवम् सौन्दर्यचिन्तक हुनुहुन्छ । माक्र्सवादी समालोचनाका मुख्य चुनौतीहरू के के हुन् भन्ने ठान्नुहुन्छ ?

माक्र्सवादी समालोचनाका चुनौती वा समस्या विभिन्न ढङ्ग र स्तरका देखिन्छन् । यस सन्दर्भमा मुख्य चुनौती एकातिर उत्तरआधुनिकतावाद र अर्कोतिर दक्षिणपन्थी संशोधनवादबाट रहेको छ । यो वाह्य चुनौती हो र यसका विरुद्ध अझै सशक्त रूपमा विचारधारात्मक सङ्घर्ष चलाउनु पर्दछ । आन्तरिक चुनौती वा समस्याका रूपमा भन्नुपर्दा स्वयम् माक्र्सवादी समालोचकहरूमा विद्यमान लेखकीय ऊर्जालाई आवश्यकता अनुसार प्रस्फुटित गर्नमा केही सीमा वा सुस्तता देखापर्नु हो । यस अतिरिक्त ऊर्जाशील नयाँ समालोचकहरूको… पङ्क्ति तयार पार्ने, अध्ययन तथा लेखनमा उनीहरूको रुचि जगाउने र उनीहरूलाई उत्प्रेरित तथा प्रोत्साहित गर्ने काममा पनि आवश्यक दृष्टि दिन सकिएको छैन । हामीले योजनाबद्ध र गम्भीर रूपमा यसप्रकारका चुनौतीहरूको सामना गर्दै जानु पर्छ । माक्र्सवादी समालोचनाको भविष्य अत्यन्त्तै समुज्ज्वल छ । धन्यवाद !

(प्रवर्तक अङ्क ९ बाट)