नवलपरासी ४ फागुन : डलर अर्बपति उम्मेदवार बिनोद चौधरी सहितका उम्मेदवारको कार्यालय र निजी निवासमा कालो झण्डा राखिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नवलपरासी क्षेत्र नम्बर एकका काङ्ग्रेस उम्मेदवार चौधरी सहित एमाले, नेकपा, रास्वपा, नेकपा (माओवादी)का उम्मेदवारको घरमा कालो झण्डा राखेको हो ।

सोमबार जिमिरेभार बजारमा रहेको चौधरीको चुनावी कार्यालय, महलबारीमा रहेको एमाले उम्मेदवार राम प्रसाद पाण्डेयको निवासको प्रबेशद्वार , नेकपा उम्मेदवार सिन्धु जलेशा बुढाथोकीको बर्दघाट-२ चिसापानीको निवास, रास्वपा उम्मेदवार बिक्रम खनालको बर्दघाट-१० धुब्रटोलमा निमार्णाधिन घर र माओवादी उम्मेदवार राजु प्रसाद हरिजनको बर्दघाट-३ लघुनाहाको घरमा कालो झण्डा र ब्यानर राखिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनाएको छ ।
साम्राज्यवादद्वारा प्रायोजित निर्वाचनले राजनीतिक निकास दिन नसक्ने भएकोले उम्मेदवारहरुलाई सचेत बनाउन कालो झण्डा र ब्यानर राख्ने कार्यक्रम बनाइएको सो पार्टीका बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयले जानकारी दिए । पार्टी केन्द्रको योजना अनुसार झण्डा राख्ने कार्यक्रम जारी रहने समेत उक्त पार्टीले जनाएको छ ।

जिल्लामा निर्वाचन बहिष्कारको लागि संयुक्त संघर्ष समिति क्रियाशिल भैरहदा उम्मेदवारकै कार्यालय र निजि आवासमा कालो झण्डा राखिनुले सुरक्षा चुनौती थपिएको जानकारहरु बताउछ्न । केही दिन देखि जिल्लामा बहिष्कार आन्दोलनका गतिविधि ह्वात्तै वृद्धि भएको स्थानीय बासिन्दाको भनाइ छ ।






























