काभ्रेपलाञ्चोक । रामेछापमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने र सार्वजनिक यातायातमा प्रभावकारी अनुगमन गर्ने सहमति पछि यातायात सेवा संचालन भएको छ ।
बुधबार अबेरसम्म स्थानीय प्रशासन, अरनिको यातायातका प्रतिनिधि र पीडित परिवारबीच भएको वार्तामा मृतकका परिवारलाई कानुन बमोजिम पाउने क्षतिपूर्ति अरनिको यातायातले तत्काल व्यवस्थापन गर्ने र दुर्घटापछि बेत्तपा भएका यात्रुका परिवारलाई पनि मृतक सरह मानेर क्षतिपूर्ति दिने उल्लेख छ ।
सहमति अनुसार सवारी दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई प्रचलित कानुन बमोजिम पाउनुपर्ने क्षतिपूर्ति तत्काल नेपाल अरनिको यातायात सेवा प्रा।लि। ले व्यवस्था गर्ने, दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारहरुलाई कानून बमोजिम दिइने क्षतिपूर्तिको व्यवस्था तत्काल गर्ने र थप क्षतिपूर्तिका सम्बन्धमा जिल्ला सुरक्षा समितिको सहजीकरणमा पीडित पक्षलगायत सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुसहित नेपाल अरनिको यातायात सेवा प्रा।लि।सँग वार्ता हुनेछ ।
यस्तै, अस्पतालमा रहेका मृतकहरुको शव परीक्षण गरी दाहासंस्कारका लागि सम्बन्धित आफन्त तथा परिवारहरुको सहमति र सहजीकरणमा शव हस्तान्तरण गर्ने, सवारी दुर्घटनाका सवारी चालकलाई प्रचलित कानून बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाउने, सवारी दुर्घटनामा हराइरहेका आशंका गरिएका यात्रुहरुको खोजी कार्य जारी राख्ने र हराइरहेका यात्रुहरुको सम्बन्धमा मृतकसरह मानी नियमानुसार क्षतिपूर्ति सम्बन्धित निकायले उपलब्ध गराउने सहमति पनि भएको छ ।
सवारी दुर्घटना सवारी चालकको लापरबाही कारणले भएको भनी पीडित पक्षले दाबी गरे बमोजिमको थप सुविधा उपलब्ध गराउन सम्बन्धित पक्षलाई अनुरोध गर्ने, पीडित पक्षबाट प्राप्त माग पत्ररनिवेदन कार्यान्वयन र सहजीकरणका लागि सम्बन्धित यातायात सेवा प्रा।लि।, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने साथै पीडित पक्षहरुबाट हाल गरिएका विरोधका कार्यक्रमहरू स्थगित गर्ने उल्लेख छ ।
यसैगरी, सवारी साधन संचालन गर्दा यात्रुहरुको जीउधन जोखिम पार्ने गरी सवारी साधन अटेर गरी चलाएको पाइएमा प्रचलित कानून बमोजिम सवारी साधनको दर्ता खारेज गर्न सम्बन्धित निकायमा सिफारिस साथ लेखी पठाउने, रामेछाप भित्रिने तथा जिल्लाभित्रका सडकमा संचालन हुने सवारी साधनहरुको सीमा नाका तथा अन्य चेकप्वाइन्टहरुमा प्रहरी इकाइबाट अनिवार्य रुपमा जाँच गर्नुका साथै यात्रुहरुको संख्या, सवारी प्रवेशको समयलगायतका विषयहरु अनिवार्य रुपमा अभिलेख राख्ने व्यवस्था गर्न सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिने उल्लेख गरिएको छ ।
रामेछापमा संचालन हुने यातायातका साधनको प्रभावकारी अनुमगन गर्ने, चालकको मदिरा र नसालु पदार्थ सेवन गरे नगरेको नियमित चेकजाँच गर्ने र सडकको अवस्था सम्वन्धित निकायले सुधार गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।
दुई बालक र एक युवक अझै वेपत्ता
मंगलबार काठमाण्डौ बाट ओखलढुंगाका लागि छुटेको बा प्र ००१ ०५ ख ९९७५ नं को अरनिको यातायात सेवा प्रालिको बस मन्थली– ६ स्थित त्रिबेणी पुल नजिकको सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खस्दा १२ जनाको घटनास्थलै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।
रामेछापको मन्थली नगरापलिका वडा नं.६ त्रिवेणी पुल नजिक मंगलवार भएको बस दुर्घट्नामा परी तीन जना अझै बेपत्ता रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं–२ पिप्ले का ९ बर्षिय क्रिचन तामाङ, लिखु तामाकोसी गाँउ पालिका वडा नं –७ तिल्पुङ का बर्ष ८ का रोनिश तामाङ र उमाकुण्ड गाँउपालिका वडा नं –६ गुप्तेश्वरका वर्ष २४ का बिशाल सुनुवार बेपत्ता छन् ।





























