नेपालको वर्तमान सांस्कृतिक अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
विद्यमान अर्थतन्त्र र राजनीतिको विचारधारात्मक प्रतिबिम्ब नै संस्कृति हो । नेपालको विद्यमान अर्थतन्त्र भनेको नवऔपनिवेशिक अवस्थाबाट जन्मेको दलाल तथा नोकरशाही पुँजीवाद हो । यहाँको राजनीति भनेको यही दलाल तथा नोकरशाही अर्थतन्त्रको केन्द्रीय अभिब्यक्ति कठपुतली राज्यसत्ता हो । हाम्रो संस्कृति वास्तवमा दलाल पुँजीवादी अर्थतन्त्र र कठपुतली राज्यसत्ताको विचारधारात्मक प्रतिबिम्ब बनेको छ । कठपुली र राज्यसत्ताले राष्ट्रिय संस्कृतिलाई मौलिक रूपमा हुर्कन दिंदैन । यहाँ नवऔपनिवेशिक संस्कृति र राष्ट्रिय संस्कृति बिच नै प्रधान अन्तरबिरोध रहेको छ । यहाँ रहेको मौलिक संस्कृतिलाई विकृतितिर होइन प्रगतितिर अघि बढाउनु क्रान्तिकारी तथा प्रगतिशील संस्कृतिकर्मीहरूको दायित्व हो । दश वर्षीय महान् जनयुद्धले प्रगतिवादी संस्कृतिको विकासलाई तीब्र बनाएको थियो । यसले त्याग, तपस्या र बलिदानको संस्कृति अघि बढाएको थियो । तदनुरूप रीतिरिवाज, चालचलन, साहित्य र कलाको विकास हँुदै थियो । आज त्यो धारा अघि बढिरहेको भएता पनि त्यसलाई रक्षात्मक बन्न वाध्य पारिएको छ । साम्राज्यवादी संस्कृतिको रक्षक बनेको नेपालको नवसंशोधनवादी प्रवृत्ति यसमा मूल जिम्मेवार रहेको छ । संशोधनवाद र नवसंशोधनवाद भनेको अन्ततः कम्युनिस्ट खोलभित्र रहेको पुँजीवाद हो । आज जनयुद्धको संस्कृतिलाई अघि बढाउन र यसको विकास गर्न क्रान्तिकारी कम्युनिस्ट र संस्कृतिकर्मीहरूले नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै बैज्ञानिक समाजवादमा पुग्ने क्रान्तिको विकास गर्न जरुरी छ ।
तपाईं साहित्य लेखनमा पनि रुचि राख्नुहुन्थ्यो, सर्जक पनि हुनुुहुुन्थ्यो तर अहिले दर्शनतिर मोडिनुभयो, यसतर्फ कसरी प्रभावित हुनुुभयो ?
हो, म विद्यार्थी जीवनदेखि नै कविता, कथा लेख्दथेँ र प्रतियोगिताहरूमा प्रथम, द्वितीय पनि हुन्थेँ । जनयुद्धको बेला बढी संस्मरणतिर आकर्षित भएको थिएँ । पहिलो बाजुरा काराबासमा केही कविताहरू लेखेँ र एउटा उपन्यास लेख्न थलिको थिएँ । त्यो उपन्यास अदालतबाट फरार हुँदा उतै रह्यो । पार्टीको केन्द्रीय जिम्मेवारी बढ्दै जाँदा साहित्य माथि राजनीति हावी भयो । विश्वदृष्टिकोण विस्तार गर्दै र गहिरो बनाउदै जाँदा म दर्शनतिर मोडिएँ । म विद्यार्थी जीवनदेखि नै दार्शनिक मोहन वैद्य ‘किरण’बाट पथप्रदर्शित भएको हुनाले पनि दर्शनतिर आकर्षित भएँ । उहाँ पश्चिमी र पूर्वी दुवै दर्शनका ज्ञाता भएकोले त्यसको कुनै न कुनै रूपमा गहिरो प्रभाव परेको छ तर संस्कृत भाषाको ज्ञान नभएकोले पूर्वीय दर्शनमा मेरो दख्खल पुगेको छैन । सौन्दर्यशास्त्र र दर्शनशास्त्रसँग घनिष्ठ रूपमा जोडिको हुँदा म साहित्य र कलाबाट टाढा छैन । अव जीवनको उत्तराद्र्धमा म पुनः साहित्य र संस्कृतितिर पनि मोडिन सक्छु । ‘बालगडेरिया हाय वा’, ‘ओयाङ हाईको गीत’, ‘चम्किलो रातो तारा’, ‘युवाहरूको गीत’, ‘रातो चट्टान’ जस्ता चिनियाँ कथा र उपन्यासहरूले ममाथि गहिरो छाप छोडेका छन् । ‘रातो लालटिन’ जस्तो प्रख्यात नाटकले पनि ठूलो प्रभाव पारेको छ । गोर्कीको ‘आमा’ र निकोलाई आस्त्रोभ्स्कीको ‘अग्निदीक्षा’ले त्यत्तिनै प्रभाव पारेका छन् । हावर्ड फास्टको ‘शहीदनामा’, ‘समरगाथा’ लगायतका कृतिहरू राम्रो प्रभाव रहेको छ ।
नेपाली वाम आन्दोलन इतिहासको गम्भीर मोडमा उभिएको छ । यो स्थितिमा सांस्कृतिककर्मीहरूको भूमिका कस्तो हुनुुपर्ला ?
इतिहासको भौतिकवादले के भन्दछ भने जब उत्पादक शक्ति र उत्पादन सम्बन्धबिचको टक्कर तीब्र हुन्छ तब क्रान्ति हुन्छ । नेपालमा नवऔपनिवेशिक र अर्धसामाजिक स्थितिमा रहेको दलाल पुँजीवादी उत्पादन सम्बन्ध नेपाली शोषित उत्पीडित जनसमुदायका लागि बन्धन बनेको छ । शोषित उत्पीडित जनसमुदाय र उत्पादनका साधनहरूको जोडफल नै उत्पादक शक्ति हो । नेपालको वर्तमान राज्यसत्ता र सञ्चालक शक्तिका रुपमा रहेका राजनीतिक पार्टीहरु दलाल तथा नोकरशाही उत्पादन सम्बन्धको परिणम हुन् । दलाल पुँजीवाद भनेकै विकृत पुँजीवाद हो । विकृत पुँजीवादको छाप राजनीतिक पार्टीहरूमा परेको छ । ती पार्टीहरूमा वाम पार्टीहरू र वाम आन्दोलन पनि पर्दछन् । जुन वाम पार्टीहरूले दलाल पुँजीवादको बिरूद्ध आन्दोलन गरिरहेका छन् उनीहरू क्रान्तिकारी रहेका छन् । त्यसकारण कुनै पनि क्रान्तिकारी पार्टी वाम भएर मात्र पुग्दैन, बरू कम्युनिस्ट पनि हुनुपर्दछ । कम्युनिस्ट हुने भनेको आजैदेखि निजी सम्पत्तिको बिरूद्ध लड्नु हो र सामुहिक सम्पात्तिको स्थापना गर्नु हो । अतः लेनिनले भन्नुभएको छः ‘सबै कम्युनिस्टहरू वाम हुन्छन् तर सबै वाम कम्युनिस्ट हुँदैनन् ।’ नेपालमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायतका केही कम्युनिस्टहरू छन् । उनीहरू वाम पनि हुन् । नेपाली कम्युनिस्ट पार्टी, नेकपा (एमाले), नेकपा (मसाल), नेमकिपा लगायतका पार्टीहरु न कम्युनिस्ट हुन् न त वाम । उनीहरू संसदवादी र दलाल पुँजीवादी राज्यसत्ताका असली चाकरहरू हुन् । यी बिकृत वामहरूले गर्दा हाम्रो देशमा कम्युनिस्ट लोकप्रियता कम्युनिस्ट घृणामा पुगेको छ । त्यसकारण यो बिकृत वामहरूले थुपारेको अजियनको तबेला सफा गर्ने क्रान्तिकारी आन्दोलनको आवश्यकता छ । यस स्थितिमा यो फोहोरको डँगुर सफा गर्ने सांस्कृतिक आन्दोलनको आवश्यकता छ । संस्कृतिकर्मीहरूले सर्बप्रथम यो स्थितिको हृदयदेखि बोध गर्नुपर्दछ ।
द्वितीयत: कवि, कथाकार, उपन्यासकार, कलाकार, नृत्यकार, ब्यँग्यकार लगायतका सम्पूर्ण साहित्य तथा संस्कृतिकर्मीहरूको एक राष्ट्रिय कार्यक्रमबाट दृढसङ्कल्पित संस्कृतिकर्मीहरूको दस्ता तयार गर्नुपर्दछ । यसले यो आँधी–तुफान ल्याउनुपर्दछ, जसले गर्दा दलाल पुँजीवादी राज्यसत्ता उठाएर फ्याँक्न सकोस् । कुनै राज्यसत्ता फ्याँकेर मात्र हुँदैन, बरू फ्याँकिएको भन्दा उच्चस्तरीय राज्यब्यवस्था पनि स्थापित गर्नुपर्दछ । सांस्कृतिक आन्दोलन भनेको हजारौं वर्ष लामो र बिसाक्त रीतिरिवाज, चालचलन, सांस्कृतिक विरासत र विचारधाराका बिरूद्धको विचारधारात्मक आन्दोलन हो । यो कठिन छ, तर यो आन्दोलनको भविष्य उज्ज्वल छ ।
नयाँ समाज निर्माणमा राजनीतिक परिर्वतन आकस्मिक पनि हुन्छ तर सांस्कृतिक परिवर्तन सुस्त हुन्छ, राजनीतिक परिवर्तन मात्रैले सुुव्यवस्था कायम नहुने रहेछ । राजनीति र सांस्कृतिक आन्दोलनलाई सँगसँगै लैजान कसरी सकिन्छ ?
राजनीतिक क्रान्तिले उपरीसंरचना भत्काउँछ । अझ यसो भनौ उपरीसंरचनाको निर्देशक (कमाण्डर) राज्यसत्ता भत्काउँछ । त्यो राज्यसत्ताको हातखुट्टा र दिमागका रूपमा रहेका दर्शन, संस्कृति, साहित्य, कला, कानून तथा धर्म जस्ता उपरीसंरचना आदतीय सत्ता एवम् बानीको सत्ताका रूपमा रहेका हुन्छन् । यी सबै उपरीसंरचनाको आधार अर्थतन्त्र हो । अर्थतन्त्र भनेको उत्पादन प्रणाली हो । उत्पादक शक्ति र उत्पादन सम्बन्ध मिलेर उत्पादन प्रणाली बन्दछ । नेपालमा दलाल पुँजीवादी उत्पादन प्रणाली भएकोले त्यसैको अभिव्यक्तिका रूपमा उपरीसंरचना बनेको छ । संस्कृति भनेको सम्पूर्ण उपरीसंरचनाबाट बनेको आदतीय सत्ता हो । राज्यसत्तामा आमूल परिवर्तन भइसकेपछि पनि परिवर्तनकारी शक्तिहरुसँग पुरानो विचार, आनिबानी, संस्कार–संस्कृति आदतका रुपमा बसेर आएको हुन्छ । त्यसकारण राजनीतिक परिवर्तन छिटो र सांस्कृतिक परिवर्तन ढिलो हुन्छ । नियमितताकै परिणामका रूपमा कहिलेकाहीँ राजनीतिक परिवर्तन आकस्मिक जस्तो पनि हुन्छ । अग्रगामी वर्गले नेतृत्व गर्न सकेन भने क्रान्ति पश्चागामी वर्गको हातमा पनि जान्छ । अहिले नेपालमा त्यही भएको छ ।
हो, तपाईले सही कुरा भन्नु भएको छ ः सांस्कृतिक क्रान्ति हुने र राजनीतिक क्रान्तिले सुव्यवस्था कायम नगर्ने बिचको अन्तरबिरोध रहँदै आएको छ । सोभियत सङ्घ, मङ्गोलिया, चीन, जर्मनी, चेकोस्लोभाकिया, रोमानिया, पोल्याण्ड, युगोस्लाभिया, बुलगेरिया, हङ्गेरी, क्युबा, कोरिया, भियतनाम, लाओस र कम्बोडियामा राजनीतिक क्रान्ति त सम्पन्न भयो, तर त्यहाँ सांस्कृतिक क्रान्ति सोही स्तरमा हुन पाएन । यसले गर्दा उल्लेखित देशहरूमा प्रतिक्रान्ति भयो । सांस्कृतिक क्रान्तिबारे माक्र्स र लेनिनले आवश्यकता बोध गरी यसबारे महत्वपूर्ण सैद्धान्तिक संश्लेषण गर्नुभएको छ । माओले माक्र्स र लेनिनलाई अनुशरण गर्दै चीनमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो । यो क्रान्तिले माक्र्सवाद–लेनिनवादलाई माओवादको उचाईमा पु¥यायो । माक्र्सले १८१८–१८५० को फ्रान्सेली क्रान्तिबाट निस्कर्ष निकाल्दै भन्नुभएको छ ः ‘समाजवाद स्थायी क्रान्तिको उद्घोषण हो, सर्वहारावर्गको अधिनायकत्व सामान्यतः वर्गविभेदको उन्मूलन गर्ने, वर्गविभेद उत्पन्न गर्ने सम्पूर्ण उत्पादन सम्बन्धको उन्मूलन गर्ने, त्यो उत्पादन सम्बन्धअनुरूपको सम्पूर्ण सामाजिक सम्बन्ध उन्मूलन गर्ने, त्यो सामाजिक सम्बन्धबाट उत्पन्न सम्पूर्ण विचारहरूलाई क्रान्तिकारीकरण गर्ने आवश्यक बिन्दुका रूपमा रहेको हुन्छ ।’ यसलाई चीनमा माओले सर्वहारा सांस्कृतिक क्रान्तिको आधारका रूपमा लिनुभएको छ । वैज्ञानिक समाजवाद पुँजीवाद र साम्यवाद बिचको लामो संक्रमणकालीन समाजव्यवस्था भएकोले सर्वहारा अधिनायकत्वको शासन प्रक्रिया लागु हुन्छ । यस प्रक्रियामा सर्वहारावर्ग र उसको कम्युनिस्ट पार्टीले माक्र्सको भाषामा ‘स्थायी क्रान्ति’ र माओको भाषामा ‘निरन्तर क्रान्ति’ सञ्चालन गर्नुपर्दछ । यसमा मूलतः चारवटा कार्यक्रम सम्पन्न गर्नुपर्दछ । एक, वर्गबिभेदको उन्मुलन । दुई, वर्गविभेदको श्रोत रहेको निजी स्वामित्व रहेको उत्पादन सम्बन्धको उन्मूलन । तीन, पुरानो उन्पादन सम्बन्धबाट जन्मेको सामाजिक सम्बन्धको उन्मूलन । चार, त्यो सामाजिक सम्बन्धबाट उत्पन्न विचारहरूको क्रान्तिकारीकरण । यो नै वास्तवमा सांस्कृतिक क्रान्ति हो ।
यहाँ तपाईंहरूले इच्छुक प्रतिष्ठानका तर्फबाट उठाएको प्रश्न हो– राजनीतिक र सांस्कृतिक आन्दोलनलाई सँगसँगै कसरी सञ्चालन गर्न सकिन्छ ? मेरो विचारमा माओले १९६६ देखि १९७६ सम्म प्रयोग गरिसक्नुभएको छ । अब हामीले राजनीतिक क्रान्ति र सांस्कृतिक क्रान्तिबिच कुनै चिनियाँ पर्खाल खडा गर्नुहुँदैन । राजनीतिक क्रान्तिलाई शिर्षमा राखेर सांस्कृतिक क्रान्ति पनि सँगसँगै लैजानु पर्दछ । उत्पादन सम्बन्ध र उन्पादक शाक्तिको टक्कर नै क्रान्ति भएकोले आर्थिक क्रान्ति पनि सँगसँगै अघि बढिरहेको हुन्छ । यहाँ के बुझ्नुपर्दछ भने माओले महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई राजनीतिक क्रान्ति नै हो भन्नुभएको छ । यो कुरा नेपालमा चलेको जनयुद्धले पनि प्रमाणित गरेको छ । हामीले आज राजनीतिक क्रान्तिसँगै सांस्कृतिक क्रान्ति नचलाउने हो भने पुनः प्रतिक्रान्तिको इतिहास दोहोरिन पुग्दछ । क्रान्तिलाई परिपक्व तार्किक निस्कर्षमा पु¥याउन राजनीतिक र सांस्कृतिक क्रान्ति सँगसँगै चलाउनुपर्दछ ।
जनयुद्धले राज्यसत्तालाई टुक्राटुक्रामा ढाल्नुका साथै पुरानो संस्कृतिमा धावा बोल्दै नयाँ संस्कृतिको निर्माण पनि गर्दै गएको थियो । जातीय भेदभावका पर्खालहरू ढल्दै गएका थिए । चालचलन र रीतिरिवाज बदलिंदै गएका थिए । धार्मिक विश्वासहरू टुट्दै गएका थिए र विचारमा क्रान्तिकारीकरणको प्रक्रिया अघि बढेको थियो । त्याग, तपस्या र बलिदानको संस्कृतिको त्यो महान् प्रक्रियामा विकास भएको थियो । साहित्यका विभिन्न विधाहरूमा क्रान्तिको हरियाली छाएको थियो । कम्पनीका कम्पनी सांस्कृतिक कलाकर्मीहरू सङ्गठित भएका थिए । ओपेराहरूको प्रस्तुतीले त चिनियाँ सांस्कृतिक क्रान्तिको झझल्को दिन्थ्यो ।
अतः अब हामीले राजनीतिक क्रान्ति र सांस्कृतिक क्रान्तिलाई सँगसँगै लैजानु पर्दछ । तर सांस्कृतिक क्रान्ति राजनीतिक क्रान्तिसँगै पूरा हुँदैन । माक्र्र्सका अनुसार वैज्ञानिक समाजवादी कालभरी नै सांस्कृतिक क्रान्ति जारी राख्नुपर्दछ ।
नेपाली धर्तीमा विगतमा चलेको महान् जनयुद्धले कला साहित्यमा नयाँ यथार्थको जन्म र विकास ग¥यो तर अहिलेको तरल परिस्थितिमा यो धारालाई कसरी सम्बृद्ध गर्न सकिएला ?
हो, दश वर्षीय महान् ऐतिहासिक जनयुद्धले कला साहित्यको आयाममा पनि नयाँ यथार्थको जन्म र विकास गरेको कुरा हाम्रै जीवनको जीवनानुभुति हो । जनयुद्ध समग्र पुरानो समाज व्यवस्थामा क्रान्ति थियो र नयाँ समाज व्यवस्थाको स्थापना गर्ने त्यसको लक्ष्य थियो । त्यसले पुरानो अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अर्थ–सामाजिक कुहिएको व्यवस्था पल्टाएर नयाँ जनवादी क्रान्तिद्वारा वैज्ञानिक समाजवाद स्थापना गर्ने ध्येय बोकेको थियो । त्यसअनुसार त्यो बन्दुक, मादल र कलमको मोर्चाका रूपमा पनि प्रकट भयो । साहित्य र कलामा पनि जनयुद्धले सुन्दर लालीगुराँसहरू फुलायो । त्यसले बलिदानको गाथालाई स्थापित ग¥यो । कलामा यसले जेबी टुहुरे र खुशीराम पाख्रीनका गीत र गायनलाई विकास गरेर नयाँ उचाईमा पु¥यायो । सौन्दर्य चिन्तनमा चैतन्य स्कूललाई अघि बढायो । कविता सिर्जनामा कृष्ण सेन ‘इच्छुक’ को सौन्दर्य, आवेग र आक्रोसलाई विकास ग¥यो । थुप्रै क्रान्तिकारी कविता सङ्ग्रहहरू प्रकाशन भएका छन् । त्यसरी नै उपन्यास र कथाहरू पनि सिर्जना भएका छन् । संस्मरण विधाको त बाढी नै आएको थियो । संसारका उन्पीडित तथा श्रमजीवी जनताले सगरमाथातिर फर्केर नारा लगाए– ‘हिमालयतिर हेर, एउटा सुन्दर संसार जन्मँदै छ ।’ जहाँसम्म आजको तरल परिस्थितिमा यो धारालाई समृद्ध कसरी बनाउने भन्ने प्रश्न राखिएको छ, यो गम्भीर प्रश्न हो । परिस्थिति बदलिएको छ । जनयुद्ध पराजित भएको छ । त्यसका केही नायकहरूको वैचारिक मृत्यु भएको छ । प्राप्त केही मात्रात्मक उपलब्धीहरू पनि डेमोकल्सको तरबारमुनि रहेका छन् । समग्र देश नवउपनिवेशको तप्कानेमुनि रहेको छ । यस बिचबाट क्रान्किारीहरूले पुनः पुनर्गठित र एकीकृत हुँदै क्रान्तिको नयाँ बाटो तय गरिरहेका छन् ।
नेपालमा यतिखेर नवऔपनिवेशिक आर्थिक–सामाजिक स्थितिबाट दलाल तथा नोकरशाही अर्थतन्त्र बनेको छ । यो वास्तवमा बिकृत पुँजीवाद हो । यसले कला साहित्यमा पनि बिकृति ल्याएको छ । त्यसकारण एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले पहिलो र आम कार्यक्रम पुँजीवादी क्रान्ति पूरा गर्ने कार्यक्रम बनउनु पर्दछ । दलाल पुँजीवादी अर्थतन्त्रमा उभिएको दलाल तथा नोकरशाही पुँजीवाद र नेपालका शोषित–पीडित तथा श्रमजीवी जनताबिचको अन्तरबिरोधको समाधान गर्नुपर्दछ । नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा संक्रमण गर्ने कार्यक्रम बनाउनुपर्दछ । यो महान् क्रान्तिका लागि तदनुरूपको महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई अघि बढानुपर्दछ । विज्ञान र प्रविधिको समेत प्रयोग गर्दै साहित्यकर्मी र कलाकर्मी पुनः सङ्गठित भएर लाग्नुपर्दछ । नयाँ पिढीको दिलदिमागमा नयाँ साहित्य र कलाको बारुद भरिदिनुपर्दछ । जनयुद्धको कला साहित्यको जगलाई तब मात्र समृद्ध गर्न सकिन्छ जब हामी नयाँ परिस्थिति अनुसार सिर्जना गर्न सक्छाैं ।
नयाँ पुस्तामा पठन संस्कृतिमा ह«ास आउन थालेको देखिन्छ, यसको कारण के देख्नुहुन्छ ? उनीहरूमा अध्ययन संस्कृतिमा रुचि जगाउन के गर्नुपर्ला ?
पहिलो, प्रकृति र समाज क्रान्तिकारी कम्युनिस्ट वा कुनै कला तथा साहित्यकर्मी अनुरूप हुँदैन, बरू कम्युनिस्ट कला तथा साहित्यकर्मी प्रकृति र समाज अनुरूप हुनुपर्दछ । पठन संस्कृतिमा ह्रास आउनुको कारण देश, काल र परिस्थिति अनुसार हाम्रो पाठ्यसामग्री नहुनु हो भन्ने लाग्दछ ।
दोस्रो, विज्ञानका नयाँ–नयाँ आविस्कार र विज्ञानको विकास अनुसार बनेका प्रविधिले उत्पादक शक्ति (जनशक्ति–उत्पादनका साधनहरू)लाई तीब्र गतिमा लिएका छन् । उत्पादक शक्तिसँग जोडिएका उत्पादनका साधनहरूमाथि निजी स्वामित्व रहेको छ । उन्नत प्रविधि निजी स्वाभित्वमा अर्थात् पुँजीपतिहरूको हातमा रहेको छ । समग्रमा उत्पादन प्रणालीको गति अनुसार हाम्रो कला तथा साहित्यको सिर्जनात्मक गति र सौन्दर्य हुनुपर्दछ । अर्कोतिर, उत्तर आधुनिकतावादी दर्शन र त्यस अनुरूपको साहित्यले ‘महाआख्यानको अन्त्य, इतिहासको अन्त्य’ भन्दै बिषयलाई ऐतिहासिक सिलसिलाबाट फुटाएको छ । अहिलेसम्म लेखिएको साहित्य त आखिर इतिहास नै हुने भयो । मान्छेलाई यसरी इतिहास र वर्तमानका बिच बिखण्डन गरिएको छ । माथि उल्लेखित दुई कारणले पठन संस्कृतिमा ह्रास आएको छ ।
तेस्रो कुरा, नेपालमा अध्ययन गर्नेहरू बढी कम्युनिस्टहरू हुन् । अरू संसदवादी तथा दलाल पुँजीवादी पार्टीका मानिसहरूले अध्ययन कमै गर्दछन् । यी पार्टीहरू भित्र पनि प्रदीप गिरीहरू जस्ता नभएका होइनन् । अन्तर्राष्ट्रिय रूपमा सोभियत सङ्घको बिघटनपछि अध्ययन सामग्रीको उत्पादन र अध्ययन–अनुसन्धानमा ह्रास हुँदै गएको हो भने नेपालमा जनयुद्धको पराजय भएपछि अध्ययन वा पठन संस्कृतिमा कमी आएको हो । त्यसकारण ह्रास हुँदै गएको पठन संस्कृतिलाई पुनः उभारमा ल्याउन नयाँ अभियानको आवश्यकता छ । एउटा नयाँ क्रान्तिको पहलकदमी गर्न जरुरी छ । क्रान्तिको पहलकदमीले पठन संस्कृतिमा उभार ल्याउनेछ ।
भरखरै यही भदौ २३ र २४ मा भएको जेन जेडको आन्दोलनलाई तपाइँ कसरी मूल्याङ्कन गर्नुहुन्छ ? यद्यपि यसले नेपाली समाजमा केही उथलपुथलकारी तरङ्ग ल्याएको छ । मालेमावादी दृष्टिकोणबाट यसलाई कसरी बुुŠन सकिन्छ र अबको आन्दोलनको चरित्र के हुनुपर्ला ?
गत भाद्र २३ र २४ गते भएको जेन–जेड आन्दोलनलाई हेर्दा आकस्मिक रूपमा घटेको घटना जस्तो देखिन्छ । तर यो साम्राज्यवादीहरूको लामो समयदेखि भइरहेको तयारी र अभ्यासको परिणाम हो । साम्राज्यवादीहरूकै उक्साहटमा घरेलु प्रतिगामी तत्वहरूले गत वर्षको फागुनतिर एउटा प्रयत्न गरेका थिए । एमसीसी परियोजना लागू गर्न साम्राज्यवादीहरूका लागि एउटा निर्धक्क वातावरण तयार गर्नु थियो । उपयुक्त मुद्दा र मौकाको खोजीमा उनीहरू थिए । यसै आशयको वरिपरि के.पी. ओली चीनको साङ्घाईमा आयोजित मेलामा भाग लिन गए । त्यहाँ नरेन्द्र मोदी, सी चिनफिङ, भ्लादिमिर पुटिन, किम जोङ इल लगायत विभिन्न देशका नेताहरू उपस्थित थिए । यसको साथै बेइजिङको तियनमेन स्क्वायरमा आयोजित जापानलाई पराजित गरेको ८०औं वर्षगाँठका दौरानमा चीन कम्युनिस्ट पार्टी र चीन सरकारले आयोजना गरेको कार्यक्रममा पनि ओलीले भाग लिए । सी चीनफिङ र पुटिनसँग उनको छुट्टा–छुट्टै भेट भएका तस्वीर र कुराकानी सञ्चार माध्यमबाट ब्यापक प्रचार–प्रसार भयो । यसबाट पश्चिमा साम्राज्यवादी र दक्षिणको विस्तारवादी सशंकित भए । उनीहरूले नेपालका युवाहरूको काँधमा बन्दुक राखेर पड्काउने मुद्दा खोज्दै गए । सत्ताधारी पार्टीभित्र र पार्टी बाहिरका ताबेदारहरूले केपी ओलीलाई युवाहरूको लागि नसा बनेको सामाजिक सञ्जाल बन्द गर्न उक्साए र मन्त्रीपरिषदले निर्णय ग¥यो । सामजिक सञ्जालबिना १५ मिनेट पनि उकुसमुकुस हुने युवा मात्र होइन, सारा जनता सरकारप्रति आक्रोसित भए ।
अचानक भाद्र २३ गते भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जालमाथि लागेको प्रतिबन्ध बिरूद्ध आन्दोलनको घोषणा गरियो । विद्यार्थीहरूलाई एनजीओ–आइएनजीओबाट तलब खाएका प्रधानाध्यापक र प्राचार्यहरूले आन्दोलनमा पठाइदिए । पाँच हजार हाराहारीको सङ्ख्यामा उत्रिएका युवाहरू माइतिघरबाट संसद भवन बानेश्वरतिर लागे । प्रहरीले नयाँ बानेश्वर चोकको नजिकै ब्यारीकेड राख्यो जसलाई जताबाट काटेर संसद भवनतिर जान सकिन्छ । त्यसमा पनि युवाहरूले ब्यारिकेड तोड्दै संसद भवनका पर्खाल तोडेर भित्र पसे । त्यसै मौकामा एउटा एम्बुलेन्सबाट गोली चल्यो । त्यसपछि सरकारलाई पनि गोली चलाउन सजिलो भयो । विद्रोही युवाहरूको टाउको टोउकोमा ताकेर गोलीको पर्रा छुटे । १९ जना जहीँको तहीँ मरे र बाँकी सयौं घाइते भएर अस्पतालहरूमा पुगे । अब देशव्यापी रूपमा जनसमुदाय नै आक्रोसित भयो । यसलाई साम्राज्यवादीहरूले अपहरण गरे । साँझ डिस्कट बैठक मार्फत् साम्राज्यवादी योजना बन्यो । त्यसअनुसार देशका कुन–कुन सरकारी भवन र गैरसरकारी भवनमा आगो लगाउने भनी आन्दोलनभित्र घुसेका अपराधीहरू सहितको ब्यूहरचना गरियो । २४ गते तोडफोड र आगजनी गरियो । आगो लगाउन विशेष रसायन छर्केको कुरा सरकारी प्रतिबेदनमा समेत आएको छ । यो तोडफोड र आगजनीमा समेत सहभागी सेनाको प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै लागेपुगेसम्म प्रतिगामी सरकार बनाउन खोज्यो । राष्ट्रपतिको अस्वीकृति र दक्षिण तथा पश्चिमका साम्राज्यवादीहरूको सम्झौता एवम् सहमति अनुसार अन्ततः सुशीता कार्कीको कठपुतली सरकार बन्यो ।
त्यसकारण यो राष्ट्रिय रूपमा भ्रष्टाचार, बेथिति र अत्याचारबाट बनेको बिस्फोटक स्थिति र साम्राज्यवादीहरूको निरन्तर प्रयासमा योजनवद्ध भएको विद्रोह हो । यसको उद्देश्य हो ः एमसीसी परियोजना नेपालमा लागु गर्न सहज हुने सरकार निर्माण गर्नु । यो राजनीतिक पार्टीहरूको विरोध गरी साम्राज्यवाद अनुकूलको राजनीतिक पार्टी स्थापना गर्ने र राजनीति आवश्यक छैन भनेर राजनीति गर्ने अभियान पनि हो । नेपालमा भएको यो विद्रोहमा जेन–जेड स्थापित भयो ।
सन् १९९१ मा सोभियत सङ्घको विघटन भएपछि अमेरिकी साम्राज्यवादको पृष्ठपोषण गर्ने दार्शनिक र भाषाविदहरूले उत्तर आधुनिकतावादी दर्शन प्रतिवादन गरे । यसलाई लागू गर्न अमेरिकाका केही समाजशास्त्री र जनसङ्ख्याविदहरूले पुस्ताको विभाजन गरे । उत्तर–आधुनिकतावादको काम भनेको फुटाएर राज गर्ने विखण्ठनवाद हो । पुस्ताको अवधारणले पनि उमेर समूहमा विभाजन ल्याइदिन्छ । पार्टीहरूमा बूढा र युवाको अन्तरबिरोध यसैको परिणाम हो । यो अन्तरबिरोधको समाधान ‘एकमा तीन’को सिद्धान्त हो, जुन माओद्वारा प्रतिपादन गरिएको हो । युवा भएर मात्र नेता हुँदैन । समाज वर्गहरूमा बाँडिएको छ, वर्गहरूको नेतृत्व राजनीतिक पार्टीहरूले गर्दछन्, पार्टीहरूको नेतृत्वमा सबभन्दा अनुभवी, आधिकारिक र प्रभावशाली पार्टी सदस्यहरू छानिन्छन्, तिनलाई नै नेता भनिन्छ । नेता वास्तवमा कार्यदिशा र कार्यक्रामको आधारमा बन्दछ । यसमा युवाहरूको भूमिका महत्वपूर्ण हुन्छ । तर यसमा युवा, प्रौढ तथा बृद्धको अन्तरविरोध हुँदैन ।
मालेमावादी दृष्टिकोणबाट हेर्दा जेन–जेड विद्रोहको चित्र माथि उल्लेख भए अनुसारको देखिन्छ । छोटकरीमा भन्दा जेनजेड विद्रोह युवाहरूको काँधमा बन्दुक राखेर साम्राज्यवादले पड्काई आफ्नो स्वार्थसिद्ध गरेको घटना हो । यसले क्रान्तिकारी कम्युनिस्टहरूलाई हाम्रो देशको परिस्थिति छर्लङ्ग देखाइदिएको छ । यस विद्रोहपछि राष्ट्रियताको मद्दा प्रमुख बनेको छ । कठपुतली सरकारका विरुद्ध स्वाधीन संयुक्त सरकार गठन प्रक्रिया महत्वपूर्ण भएको छ । देशभक्त, क्रान्तिकारी जनवादी र वामपथी पार्टी, समूह र व्यक्तित्वहरूको राष्ट्रिय राजनीतिक सम्मेलन, त्यस सम्मेलनबाट संयुक्त मोर्चा निमर्काण र संयुक्त जनसङ्घर्षबाट स्वाधीन संयुक्त सरकार गठन गरी जनगणतन्त्रात्मक संविधान बनाउनतिर जानुपर्दछ । यो शृङ्खलालाई गणतन्त्र नेपाल निर्माण गर्ने कडीसँग जोड्नुपर्दछ ।
अबको आन्दोलनको चरित्र भनेको जनसङ्घर्ष र जनप्रतिरोध सङ्घर्षको रिहर्सलद्वारा सशस्त्र विद्रोह हो । जेनजेड विद्रोहले पनि आन्दोलन त्यतातिर सोŠयाएको छ ।
कला साहित्यमा समाजवादी यथार्थवादी धारालाई अगाडि बढाउन संस्कृतिकर्मीहरूलाई के सल्लाह दिनुहुन्छ ?
समाजवादी यथार्थवादी कला साहित्यको धारा भनेको श्रमिक जनसमुदाय, वर्गसङ्घर्ष र उज्यालो भविश्यको यथार्थसँग जोडिएको धारा हो । आजका संस्कृतिकर्मीहरूले यसलाई प्रभावकारी रूपमा अघि बढाउन निम्न सैद्धान्तिक र व्यावहारिक सल्लाह दिन चाहन्छु ः
१) ठोस जनजीवनको ठोस अध्ययन –
जनजीवन नै समाजवादी यथार्थवादको मूल तŒव हो । गाउँ र शहरका किसान तथा मजदुर वस्ती र कारखानाहरूको अध्ययन गरी त्यहाँको श्रम र सङ्घर्षका सम्भावनाहरू अध्ययन गर्नुपर्दछ । कल्मनामा भन्दा जनताहरूबिच गएर लेखेका गीत, कविता, कथा र उपन्यास, संस्मरण जस्ता साहित्य नै जीवन्त हुन्छन् ।
२) यथार्थतालाई नारामा मात्र होइन, सुन्दर तथा पक्षधर शैलीमा प्रस्तुत गर्नु –
कठोर यथार्थ मात्र होइन, रचनात्मक आशावाद अनिवार्य हुन्छ । हाम्रो शैलीमा अन्ध प्रचार मात्र हुनुहुँदैन । त्यसमा श्रम, सङ्घर्ष र परिवर्तनको सम्भावना देखाउने शैलीमा प्रस्तुत गर्नुपर्दछ । पात्रहरू प्रस्तुत गर्दा वास्तविक, जीवन्त र गुण–दोषसहित हुनुपर्दछ ।
३) कलाको रूप अनुसारको नयाँ–नयाँ शैलीको प्रयोग –
हामी नाटकमा सडक नाटक, गीति नाटक, जीवन्त संवाद प्रयोग गर्न सक्छांै । कवितामा श्रमिकको आवाज र भावना बोकेका मुक्तक, गजल, हाइकु लेख्न सक्छौं । गीतमा अन्याय र अत्याचार चेतना प्रकट गरी भावमय, आक्रोसमय, जोशिलो शैलीमा लेख्न र गाउन सक्दछौं । चित्रकलामा उत्पादन, श्रम र गरिबीलाई आधुनिक दृश्य भाषामा उर्तान सक्छौं ।
४) माक्र्सवादी सौन्दर्यशास्त्रको निरन्तर अध्ययन –
हामीले समाजवादी यथार्थवादी साहित्य कलालाई सुन्दर र खारिएको बनाउन चैतन्य, निनु, ताराकान्त, जगदीशचन्द्र, घनश्याम आदिका समालोचना; पुष्पलाल, किरण र भक्तबहादुरहरुका दर्शन; गोर्की, लुशुन, याङ्मो, हावर्ड फाष्टका उपन्यासहरू; माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओका साहित्यिक रचनाहरू; कृष्णसेन ‘इच्छुक’ लगायत इच्छुक प्रतिष्ठान र प्रगतिवादी फाँटमा सम्बद्ध स्थापित कविहरुका कविता तथा विविध विधाका साहित्यहरू पढ्नुपर्दछ । त्यसैगरी नेपालको समाजजिक संरचना र वर्गीय राजनीतिको अध्ययन गर्नुपर्दछ । सैद्धान्तिक आधार कमजोर भयो भने कला तथा साहित्य पनि सतही हुन्छ ।
५) सामूहिक सिर्जना र सहकार्यमा जोडदिनु –
साहित्यकार र कलाकार एक्लै भएर समाजवादी यथार्थवादको कला साहित्य निर्माण हुन सक्तैन । यसका लागि कलाकार र साहित्यकार सङ्गठित भई कला र साहित्य सिर्जना गर्नुपर्दछ । यस सम्बन्धी सामूहिक रिहर्सल, छलफल, कृति विश्लेषण र कार्यशाला सञ्चालन गर्नुपर्दछ । युवा सृजनकर्मीहरूलाई प्रशिक्षण र तालिम पनि दिनुपर्दछ ।
६) समाज परिवर्तनप्रति प्रतिबद्धता –
आफ्ना कृतिहरूमा अन्याय, अत्याचार, शोषण–दमन, असमानता तथा वर्गचरित्रको प्रश्नहरू उठाई समाधान दिने प्रतिबद्धता हुनुपर्दछ । जनपक्षधरता समाजवादी यथार्थवादको पहिचान हो ।
७) समाजवादी यथार्थवादलाई डिजिटल माध्यमबाट प्रभावकारी बनाउने –
यूटुब, समाजिक सञ्जाल, टेलिभिजन आदिबाट नाटक, प्रहसन, चित्रकला, गीत, कविता आदि प्रस्तुत गर्दा समाजवादी यथार्थवादलाई लोकप्रिय बनाउन सकिन्छ । जनताको यथार्थ स्थिति बुŠनु र सङ्घर्षमा रुपान्तरण तथा सौन्दर्य देख्नु समाजवादी यथार्थवादी साहित्यको सार हो ।
माक्र्सवादको विभ्रमीकरण गर्दै सल्वलाएका वैश्विक गतिविधिको छायाँ नेपाली समाजमा पनि देखा पर्न थालेको छ, के हामीले यसलाई चिर्न नसकेका हौं ?
राजनीति नै उपरीसंरचनाको शिर्षस्थानमा रहेको हुनाले साहित्य तथा कलामा यसको प्रभावकारी भूमिका हुन्छ । राजनीतिले साहित्यमा र साहित्यले राजनीतिमा प्रभाव पार्दछन् । विश्व संशोधनवादले माक्र्सवादका आधारभूत सिद्धान्तलाई विभ्रमीकरण र विकृतिकरण गरिरहेको छ । आजको युग सूचना–सञ्चारमा तीब्र भूमण्डलीकरण भइरहेको युग हो । यसमा साम्राज्यवादी र यससँग घनिष्ठ रूपले जोडिएको संशोधनवादी वैश्विक गतिबिधि सल्बलाइरहेकै हुन्छ । साम्राज्यवादी दर्शन उत्तरआधुनिकतावादले “इतिहासको अन्त भयो” “महाआख्यानको अन्त भयो” भन्नुको अर्थ माक्र्सवादको अन्त भयो भनेकै हो । यसको असर नेपाली कम्युनिस्ट आन्दोलनमा व्यापक रूपले पर्न गयो । माक्र्सवादी साहित्य पढ्नेहरूलाई ‘थोत्रा किताब’ पढेर हुन्छ ? भनी प्रश्न उठाए । ख्रुश्चेभले सोभियत सङ्घ कम्युनिस्ट पार्टीको बीसौं महाधिवेशनमा ‘शान्तिपूर्ण सङ्क्रमण, ‘शान्तिपूर्ण सहअस्तिŒव’ र ‘सबै जनताको पार्टी’ को नारा दियो । उक्त नाराले नेपाली कम्युनिस्ट आन्दोलनमा मनमोहन, रायमाझी, तुलसीलाल, मदनभण्डारी र पुष्पकमल दाहाल जन्मायो । महान् जनयुद्ध विजयको सङ्घारमा पुग्दै गर्दा मूल नेतृŒवमै विचलन ल्याइदियो । झन् नवऔपनिवेशिक देशमा साम्राज्यवाद र संशोधनवादको छायाँ सल्बलाउनु स्वाभाविकै छ ।
वैश्विक विभ्रमीकरणलाई चिर्न हामीले जनयुद्धको आधारमा टेकेर एउटा नयाँ आन्दोलनको पहलकदमी गर्नुपर्दछ । साम्राज्यवादी तथा संशोधनवादी भ्रमजालका विरूद्धको आन्दोलन सृष्टिको लागि कला र साहित्यले पृष्ठभूमि तयार पार्नुपर्दछ । जनयुद्धको पृष्ठभूमि कला र साहित्यले नै तयार पारेको थियो । यसको लागि जिम्मेवार निकायबाट एउटा अभियान नै बनाउनुपर्दछ ।
तपाई लामो समयदेखि माओवादी आन्दोलनमा हुनुुहुन्छ । माओवादी आन्दोलनको भ्रष्टीकरण गर्दै लेखिएका कलासाहित्यको अध्ययन कत्तिको गर्नुुभएको छ, नेपाली साहित्यिक बजारमा यो प्रवृत्ति प्रशस्त देखिनु चिन्ताको विषय हो । क्रान्तिकारी नेतृत्वको हैसियतले आम पाठक र सर्जकहरूलाई के सुुझाव दिनुहुन्छ ?
हो, म सयौं–हजारौं कमेडहरूसँगै माओवादी आन्दोलनमा क्रियाशील छु । बिशेषतः जनयुद्ध र जनयुद्धपछिको स्थिति भोगिरहेको छु, देखिरहेको छु र पढिरहेको छु । जसबेला जनयुद्ध चलिरहेको थियो र उचाईमा पुगिरहेको थियो, त्यतिबेला सौन्दर्यशास्त्रको गुराँस पूmलिरहेको थियो । जुनबेला पार्टीभित्रबाट पैदा भएका नवसंशोधनवादी नेताहरुले रङ बदल्दै गए त्यसबेला कुरूपशास्त्रको पलाँस फूल्न थाल्यो र धतुरो पलाउन थाल्यो । जनयुद्धको गर्जनमा कृष्ण सेन जस्ता थुप्रै स्थापित प्रगतिवादी कविहरुले उच्च सहादत प्राप्त गर्न पुगे भने देशैभरी इच्छुकका लेखन पछ्याउँदै सयौँ अब्बल कविहरु जन्मिए । उनीहरुका कलम प्रतिकृयावादी शासकहरुको मुकाममा बन्दुक बनेर पड्किए । जनयुद्धको बेला सामना, सिस्ने, अपि सैपाल, चुनुशिल्पा, बैकुण्ठचेत, क्षितिज, चोमोलोङ्मा, शिवसारदा, मगराँत, वलिदान, इच्छुक, रक्तिम सांस्कृतिक परिवार लगायतका दर्जनौँ साङ्गीतिक पपिरवारले मात्र गीत, सङ्गीत, नृत्यको र अभिनयको अभियान गुञ्जायमान पारेका थिएनन्, बुर्जुवा कलाकारहरूले समेत स्वर मिसाउन आइपुग्दथे । जनयुद्धकै मैदानबाट संस्मरण साहित्यको जीवन्त प्रबाह भइरहेको थियो । बलिदान, सहास र विजयको सौन्दर्यलाई लिएर कथा, निबन्ध, उपन्यास, नाटक, गजल, ओपेरा लेखिँदै थिए ।
जब जनयुद्धको विघटन भयो यसले खडा गरेका मूल्यमान्यता विघटन भए, तब वर्गवैरीहरू र संशोधनवादीहरूले जनयुद्धलाई बदनाम गर्न ‘प्रयोगशाला’ ‘मैले देखेको दरबार’ ‘बारुदको धुवामा उड्दा’ अच्यूत कृष्ण खरेल र रुक्माङ्गत कटुवालका जीवनकथाहरू लेखिन थाले । नेकपा (माओवादी)द्वारा सञ्चालित जनयुद्धलाई भारतले सञ्चालन गरेको थियो भन्ने झूठा कथा लेख्न थाले । जनमुक्ति सेनालाई भारत सरकारले तालिम दिएको भन्ने कपोलकल्पित कुराहरू लेख्न थालियो । त्यसरी नै उपन्यास साहित्यमा प्रदीप नेपालको ‘आकाश गंगाको तिरैतिर’, रेशम विरहीको ‘प्रेमदासको डायरी’, जेबी दर्लामीको ‘मारीखोला ढुङ्गो’ र बिबेक ओझाको ‘ऐँठन’ जस्ता जनयुद्ध विरोधी उपन्यास लेखिएका छन् । जनयुद्धको पहल गरेका, त्यसलाई निरन्तरता दिएका हजारांै मानिसहरूलाई समेत दिउँसै रात पारेका यी आख्यानहरू पढ्दा लाग्दछ– यी भुक्तभोगी पिंढी अस्ताइसकेपछि यो डलरको झुसिलो डकारले जनतालाई कति दुःख दिन्छ होला ! त्यसकारण समयमै हाम्रै जीवनका तथ्यहरूको आधारमा सत्य साहित्य लेख्न जरुरी छ । जनयुद्धको सही विश्लेषणसहित लेखिएका राजनीतिक र साहित्यक कृतिहरूलाई राम्रोसँग स्थापित गर्न पुनः प्रकाशन र चर्चा आवश्यक छ । नयाँ–नयाँ कृतिहरू सिर्जना गर्नुपर्दछ । साम्राज्यवादको सातो जानेगरी फेरि क्रान्तिकारी आन्दोलन उठाउन जरुरी छ । सुनारको सयौं चोटका विरूद्ध लोहारको एक घन प्रहार गर्न आवश्यक छ ।
पाठक र सर्जकहरू झूठो साहित्यबाट भ्रमित हुनु भनेको त जिउँदा तथ्यहरूप्रति आँखा चिम्लनु हो । तथ्यहरूबाट सत्य खोज्दै नयाँ साहित्य सिर्जना गर्न आवश्यक छ । वास्तविकता बुझाउन साहित्य र कलाको क्षेत्रमा मात्र नभई राजनीतिक क्षेत्रमा समेत नयाँ ढङ्गले क्रान्तिकारी अभियानको पहल गर्न जरुरी छ । एउटा पुँजीवादी जनवादी क्रान्ति पूरा गर्दै वैज्ञानिक समाजवादमा पुग्ने न्यूनतम लक्ष्यका साथ साम्यवादमा पुग्ने ध्येय राख्नुपर्दछ । त्यो कार्यक्रम तयार छ, भौतिक तयारी भइरहेको छ ।
गणतन्त्र स्थापना भइसकेपछि कतिपय प्रगतिवादी स्रष्टाहरूले पहिचानको मूूल्यलाई आफ्नो सिर्जनामा मुखरित गरिरहेका छन् । समाजवादी यथार्थवादी कला–साहित्यको मानदण्डबाट हेर्दा यसको मूल्याङ्कन कसरी गर्न सकिन्छ ?
पहिचानको मूल्यलाई प्रगतिवादी स्रष्टहरूले आफ्नो सिर्जनामा मुखरित गर्नुको अर्थ दबिएका आवाजलार्ई साहित्यमा स्थान दिनु हो । यो त माक्र्सवादसङ्गत नै भएको देखिन्छ । यसले जातीय, लैंगिक र सांस्कृतिक रूपमा उत्पीडितहरूलाई मुखरित गर्दछ । माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओ पनि उत्पीडित रास्ट्रियता, दलित, महिलाका पक्षमा हुनुहुन्थ्यो । तर पहिचान साहित्य वर्गीय साहित्यद्वारा निर्देशित भएन भने त्यो जातिवादी, क्षेत्रीयतावादी, महिलावादी र अराजक व्यक्तिवादी हुने खतरा हुन्छ । उत्तरआधुनिकतावादीहरूले वर्गीय आन्दोलन एकीकृत र केन्द्रीकृत हुन नदिन पहिचानवादी साहित्यमा जोड दिन्छन् । यसले गर्दा उत्पीडित जाति, क्षेत्र, लिङ्ग र संस्कृतिलाई मुक्त गर्न सकिंदैन । किनभने यसले समग्र शोषित उत्पीडित वर्गलाई अलग–अलग पारिदिन्छ ।
समाजवादी यथार्थवादी कला साहित्यको मानदण्ड दुईवटा हुन्छन्– एउटा राजनीति र अर्को कला । राजनीतिक मापदण्ड भनेको वर्गाीय विश्वदृष्टिकोण हो भने कलात्मक मापदण्ड भनेको कलाकृतिहरूलाई सुन्दर बनाउने कला हो । आखिर साहित्यिक कृति जतिसुकै कलात्मक भएपनि सर्वहारा वर्गीय साहित्यलाई हेर्ने पुँजीपतिको दृष्टिकोण पुँजीपति वर्गीय नै हुन्छ । यसलाई उसले सुन्दर देख्दैन । यसको अर्थ सर्वहारा एवम् शोषित उत्पीडितवर्गले राजनीतिक नारा लेख्नुपर्दछ भन्ने होइन ।
हाम्रो साहित्य र कला यथार्थ हुनुका साथै कलात्मक मापदण्डमा पनि खरो उत्रनु पर्दछ । कला तथा साहित्य राजनीतिक निर्देशनमा हुन्छ । पहिचान मूल्यको कला साहित्यलाई पनि हामीले राजनीतिक र कलात्मक मापदण्डबाट हेर्नुपर्दछ । निश्चय नै हामीले उत्पीडित जाति, क्षेत्र, लिङ्ग र संस्कृतिलाई विषयवस्तु बनाएर साहित्य लेख्नुपर्दछ । तर यसलाई हामीले शोषित वर्गको मुक्तिसँग जोड्न सकेनौं भने त्यो जातिवादी, क्षेत्रवादी, लिङ्गवादी र संस्कृतिवादी बन्दछ । त्यसकारण हाम्रो वर्गीय दृष्टिकोणमा आधारित साहित्य हुनुपर्दछ । हाम्रो कला–साहित्यको मापदण्ड राजनीतिक र साहित्यक दुवै हुनुपर्दछ । यही नै सामाजवादी यथार्थवादी मापदण्ड हो ।
(इच्छुक अङ्क १३ बाट)































