प्रकृतिको अस्तित्वमा हुने कयौँ रङ मध्ये कालो रङ एउटा हो । इन्द्रेणिमा सात रङ हुन्छन् तर त्यसमा कालो रङ हँुदैन । कालो हुनु उपहास या विभेदमा पर्नु हुने गरेको छ । हामी साना काखे बाबु नानिलाई काले वा काली भनेर बोलाउछौँ, त्यसरी बोलाउनु मायाको सङ्केत हो । कुनै कुनै मानिस जन्मजात कल्साउँदो वर्णका हुन्छन् त्यस्ता मानिसलाई उसको गुण हेरेर बुझेर होइन रूप देखेर काले वा कलुवा भनिन्छ । कुनै मानिस रूपका गोरा वर्णका हुन्छन् तर मनमा कलुषित भावनाले भरिएका हुन्छन् । हामी त्यस्ताको पीठ पछाडी डराइडराइ कालो मन भएको भन्छौँ । शब्दकोशले कालो शब्दको विभिन्न अर्थ बताउँछ । कालो रूप भएका वस्तुको अगाडि काले विशेषण जोडिएको हुन्छ । कालो गोरु, कालो बाख्रो, कालो ढुङ्गो, कालो धान, कालो रात आदि आदि ।
कतिपय कालो रङ भएका वस्तुहरू बहुगुणि हुन्छन् । हाम्रो उत्तरी क्षेत्रको सेतो हिमाल मुनिको वन अलि परबाट हेर्दा घना कालो देखिन्छ । त्यही कालो वनभित्र असङ्ख्य जडिबुटिहरू पाइन्छन् । त्यही कालो वनभित्र पहाडिया राष्ट्रवादले मानेको राष्ट्रिय चरो र राष्ट्रिय फूल स्वीकारेको डाँफे र लालिगुराँस पनि हुन्छन् । हिमाल मुनिको कालो वनको सौन्दर्य हेर्दै गर्दा हिउँ थुप्रिएर सेतो भएका चूलिहरू अहिले हिउँ सुकेर काला पहाड भएका छन् । यो दृश्यले हामी सबैको मन चस्स दुख्छ । हाम्रो नेपालको पश्चिमी भूभागका वासिन्दाहरू रोजगारीको सिलसिलामा भारतीय भूमितिर धाउने गर्छन् तर जो जो रोजगारीमा धाएका छन् उनीहरूको घर परिवारले काला पहाड गएको भन्ने गर्छन् । हाम्रा बन्धुहरूलाई सानो ठूलो रोजगारी दिनसक्ने त्यो काला पहाडलाई धन्य मान्नु पर्दछ । काला पहाडमा हाम्रा बन्धुहरूलाई रोजगारी दिने दातामध्ये कुनै कुनै कालो मन भएका पनि हुँदाछन् । तिनीहरूले रोजगारी दिए पनि पारिश्रमिकमा ठगी गर्नेहरू पनि हुन्छन् । कोही मान्छे बाहिर देख्दा सफेद गोरो देखिए पनि भित्री मन कालो भएका हुन्छन् । वनस्पती जगतमा कुनै कुनै फलहरू पाकेपछि कालो रङका हुन्छन् । काफल पाकेपछि कालो हुन्छ । कालो रङ भएका पंक्षिहरू पनि हुन्छन् । काग, कोइली र चिभे आकारमा साना ठूला जस्ता भएपनि रङमा उस्तै हुन्छन् । त्यही कालो रङको फाइदा उठाएर कोइलीले कागको गूँडमा फुल पार्छ र बच्चा हुर्किएपछि आफुसितै लैजान्छ । आधुनिक सेरोगेसी सभ्यता सायद कोइलीले नै सिकाएको हो ।
आगो बल्दाबल्दैको दाउरा बिचैमा निभ्यो भने कालो अँगार बन्दछ तर त्यही कालो अँगार फलाम गाल्ने गोलको काम गर्छ । कालो गोल भएन भने कृषिकर्मका किसानहरूका लागि कृषि औजार फाली, कोदालो वा हँसिया आदि नयाँ बनाउन र तिनमा धार लगाउन समस्या पर्दछ । अहिले पेशाका हिसाबले यो आरन पेशा सङ्कटमा पर्दै गैरहेको छ । अँगार भनेर हामी विभेद गर्छौँ तर त्यही अँगारमा पोलेको हरियो मकै हामी स्वाद मानी मानी खान्छौं । हरियो मकै मात्र किन हजुर आमाले कालो हाँडिमा भुटेर हरर फूला उठेका मकै हामी धेरैले खाएका छौँ । तर त्यही काले हाँडिमा मकै भुट्दा बेलामा याद गरिएन भने केहिबेरमा आफुजस्तै कालो बनाइदिन्छ । यसले उपयोगितामा होसियार हुनु पर्दछ भन्ने सिकाउँछ । अर्को कुरा सबै कालाहरू बेठिक हुँदैनन् र बाहिरी कालो वस्तुको उपयोग मानव हितमा हुन्छ भन्ने पनि बुझिन्छ ।
कालो विशेषण थपिएका खाध्य वस्तुहरूमा धानले विशेष महत्त्व राख्छ । तराइका फाँटमा काला नमक धान होस् या पहाडका बेसि र मध्य पहाडमा हुने कालो मार्सी वा कालो झिनुवा अरू चामलको भात भन्दा विशेष महत्त्वका हुन्छन् । सामाजिक सञ्जालमा एक चरण कालो मार्सी भातको निकै ट्रोल बन्यो । धामी झाँक्री परम्परामा विश्वास गर्नेहरूले घरमा भएको बिरामीलाई कालो वीर लागेको हो म निको पार्छु भनेर कयौँ धामीले कालो बोकाको माग गरेको तथ्य हाम्रै समाजमा छन् । मांसाहारीका लागि धराने कालो बङ्गुर निकै प्रिय छ । कालो बङ्गुरको भुटुवासित कालो रम (ब्ल्याक लेभल, ब्याक पाइपर) चुस्नेहरू हामी जति छौँ भूमिगत नै छौँ । कालो कोदोको ढिँडो कालो कुखुरीको झोलसँग निल्न पाए कति स्वाद र सन्तुष्टि मिल्छ अनुभविलाई मात्र ख्याल हुन्छ । हिजो आज बुढ्यौलीले कपाल फुलेर सेतो भएका बा आमा पनि कपालमा कालो दलेर जवान देखिने प्रचलन खुबै मौलाएको छ । आफुलाई प्रौढायुवती भनेर मान्ने आमा दिदीहरूले कवि माधब घिमिरेको “काला केश नबाट है युवती हो फुस्किन्छ रे यौवन” भन्ने पद्याँश सुने भने के ठान्नु होला ?
रात कालो हुन्छ । जसलाई अँध्यारो भनिन्छ । कालो साम्राज्यभित्र अनेक अपराध हुन्छन् । इतिहासका काला रातमा धेरै हत्याकाण्डका घटना भएका छन् । कोतपर्व होस् कि नारायणहिटीको दरबार हत्याकाण्ड होस् रातमा नै भएका छन् । अझ रहस्यमय र हास्यस्पद कुरा के छ भने दरबार हत्याकाण्डको आयोगको प्रतिवेदनमा युवराज दीपेन्द्रले नाम नखुलेको कालो पदार्थ मदिरामा मिसाएर पिए भन्ने प्रतिवेदन सार्वजनिक भएको थियो । त्यो नाम नखुलेको कालो पदार्थ के थियो त्यसको खोजी कसैबाट भएको छैन । नाम नखुलेको कालो पदार्थ जस्तै ठूलठूला भ्रष्टाचारमा सङ्लग्न नाम नखुलेका काला पात्रहरू कति छन् त्यो खोजीको बिषय बन्नुपर्दछ । यस्ता कालो मन भएका पात्रहरू पञ्चायती व्यवस्थामा मात्र होइन बहुदलीय काल र अहिलेको गणतान्त्रिक कालमा पनि उत्तिकै सक्रिय छन् ।
हाम्रो समाजमा कोही अचिनारुले खेतबारीको फलफूल वा घाँस दाउरा चोर्यो भने त्यसको हातमा कालो कोढ आओस् भनेर गाली गर्ने प्रचलन छ । कालो कोढ एक प्रकारको छालामा आउने रोग हो । केही दशक अघिसम्म यस्तो कोढीलाई गाउँ समाजले बहिष्कार गर्दथ्यो र त्यस्ता रोगीहरू अनगिन्ती पीडा खपेर जीवन गुजार्थे । उनीहरू मर्दा उनका सन्तती बाहेक अरूले शव छुन पनि घिन मान्दथे तर अहिले भने उपचारपछि घर परिवारसित घुलमिल हुन पाउँछन् । मन नपरेको मान्छेलाई कालो जिब्रो भएको कलजिब्रे भनिन्छ । कालो रङ प्रकृतिमा पाइने वनस्पतिबाट निकाल्न सकिन्छ । विश्वका कुनाकुनामा पनि कालो रङका श्रोतहरू छन् । अघि हाम्रा पुर्खाले हाम्रै वनको वनस्पती मुसुरे कटुस, आँप वा सालका बोक्रा र पात पकाएर कालो मसि तयार पार्दथे । अहिले पनि घरका भित्ता सिँगार्न यस्तै वनस्पतिका बोक्राहरू पकाएर कालो खोटो तयार गरिन्छ । यस्तो प्रचलनले घरेलु उद्योग फष्टाउन सक्छ र हाम्रो परम्परा र आत्मनिर्भरता उन्मुख हुन सक्छ तर बजारिया इनामेलले यो प्रबिधिलाई विस्थापित गर्न थालेको छ ।
कालो रङको केही विशेषता पनि छन् । निलो आकाशमा सेतो बादल लागेपछि मौसममा परिवर्तन आउँछ त्यो सेतो बादल जब कालो हुन्छ पानी बर्सन थाल्छ । अझ बादल घना कालो बन्यो भने असिना समेत बर्सन्छ । कालो बजार निकै फष्टाउने ब्यवसाय भित्र पर्दछ तर यस्ता काला ब्यवसायीलाई जोगाउने कालो कानुनको भुक्तभोगी तपाईं हामी नै हौँ ।
न्यायालयमा पक्ष विपक्षमा बहस गर्ने वकिल र न्यायमूर्तीहरूको पहिचान भनेको कालो कोट हो । यस्ता कालाकोटेहरू न्याय मूर्तीसित गठबन्धन गरेर बेलाबेलामा चर्चामा आएको हामी धेरैले सुनेका छौँ ।
सरकारी कार्यालयमा कालो मसि अनिवार्य हुन्छ । कसैको सरुवा, बढुवा अथवा खोसुवा गर्नु परेमा सम्बन्धित कार्यालयले टिप्पणी वा आदेश गर्नुपरे कालो मसिको प्रयोग गरिन्छ । सफा सेतो कागज वा नेपाली कागजमा कालो मसिले लेखेर गरिएका नियुक्तिले हजारौँ कर्मचारी, शिक्षकहरू जङ्गी, प्रहरीले निबृत पट्टा पाएका छन् । अहिले पनि नागरिकता वा पासपोर्ट लिनुपर्दा बूढीऔँलाको ल्याप्चे अनिवार्य हुन्छ र त्यो ल्याप्चेमा प्रयोग हुने मसि नै कालो मसी हो । राणा शासनको कालमा काला दौरा सुरुवाल पोशाकका सिपाहीहरू हुन्थे । त्यस्ता पोशाकमा सिपाहीहरू गाउँ पस्दा गाउँलेको सातो जान्थ्यो । नेवारी समुदायको खास खास सांस्कृतिक पर्वहरूमा कालो पोशाक लगाउने प्रचलन अझै प्रचलित छ, जसलाई हाकु पटासी भनिन्छ ।
कालो रङ बिरोधको प्रतीकको रूपमा प्रयोग हुन्छ । शान्तिपूर्वक आन्दोलन गर्नु पर्दा मुखमा कालो पट्टि बाँधेर बिरोध जनाइन्छ । पेशागत सङ्गठनमा जोडिएका शिक्षक, प्राध्यापक, कर्मचारीहरूले बितेका दशकमा धेरै पटक कालोपट्टी बाँधेर आफ्नो माग पूरा गराएका थिए । राजा महाराजा वा शासक प्रशासकको आगमनमा कालो झण्डा देखाएर बिरोध गरिन्छ । २०१७ साल पुस १ गतेलाई पञ्चायती इतर राजनीतिक शक्तिहरूले कालोदिन भनेर कालो टीका लगाएका थिए । इतिहासमा माघ १९ पनि कालो दिन भनेर बिरोध गरिन्छ । २०५९ माघ १९ को दिन राजा ज्ञानेन्द्रले संसदीय व्यवस्था माथी कू गरेका थिए । त्यो दिनलाई पनि कालो दिन भनियो । पञ्चायती अबधिभर राज्य बिरुद्ध लेख्ने सहास गरेका सम्पादक, लेखकहरूका रचना सेन्सर गराउनु पर्दथ्यो । शासकलाई व्यवस्था बिरोधी लागेमा त्यस्ता सामग्रीमाथी कालो पोतिन्थ्यो । हिन्दूहरूले शुभ कार्य भनेर पुजा अर्चना गर्दा या मन्दिरमा पुजा गर्दा कालो रङ र कालो फूल चढाउँदैनन् बरू बिहे ब्रतबन्ध वा रूद्री पुजामा ग्रहको निषेध भनेर काला ध्वजा मन्साउने गर्छन् । तिहार पर्वको भाइटीकामा दिदी बहिनीले दाजुभाइलाई लगाउने सप्तरङ्गी टीकामा पनि कालो रङ हुँदैन । अहिलेको दिदी बहिनीका फेशनमा टाउका माथी कालो चस्मा भने अनिवार्य फेसन बनेको छ र त्यसले ह्याडविनको काम गरेको हुन्छ ।
जिम्मेवार पदमा पुगेर आर्थिक हिनामिना वा पदीय दुरूपयोग गरेका कर्मचारी वा राजनीतिमा लागेकाहरूलाई कालोमोसो दलेर जनकार्वाही गरिन्छ । समाजमा सम्भ्रान्त भनिएका परपीडकलाई दिइने यो जनकार्वाही निरन्तर अघि कबढाउनु पर्दछ । यी काला सर्पहरू हुन् । आफ्नो पदीय औकात र दायित्व बिर्सिएर पदको दुरूपयोग गर्ने मुलुकमारा काला भ्रष्टहरू यो मुलुकबाट हटिदिए कति जाती हुन्थ्यो तर दन्त्यकथाको अन्त्यमा बोलिने थेगो जस्तो “सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला” जस्तो यो निबन्ध पाठकसम्म जाला कि नजाला गर्भको बात र सर्गको बात एकै त हो ।































