काठमाडौं । मोहन वैद्य ‘किरण’ले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवबाट राजिनामा दिंदै नेतृत्व हस्तान्तरण गरेपछि नेपाली सञ्चारमाध्यममा उहाँको राजनीतिक व्यक्तित्वको उचाइले राम्रै चर्चा पाएको छ । प्रायः सबै सञ्चारमाध्यमले उहाँको राजिनामा तथा नेतृत्व हस्तान्तरणलाई सकारात्मक रुपमा महत्व दिएर विचार र समाचार सम्प्रेषण गरेका छन् । ‘किरणले बालेको राजनीतिक नैतिकताको टर्चलाइट’ (अनलाइन खबर÷सुुदर्शन खतिवडा), संघर्ष, सिद्धान्त र सरलताको पर्यायः मोहन वैद्य ‘किरण’ (नेपाल प्रेस÷रामप्रसाद आचार्य), ‘वैद्य बा’को ‘राजीनामा’मा रमाइरहेको देश (नेपालभ्यूज) आदि केही प्रतिनिधिमूलक विचार र समाचारका शीर्षक हुन् ।
सुदर्शन खतिवडाले लेखेका छन्, “खासगरी कम्युनिस्ट राजनीतिमा आजीवन नेतृत्वमा टाँसिएर बस्ने अभ्यास संस्कृति नै बनेको छ । यही पृष्ठभूमिमा वैद्यले जीवनका विभिन्न चरणमा नैतिकताको आधारमा पद छाडेका छन् । २०४३ सालमा असफल विद्रोह प्रयास अर्थात् ‘सेक्टर काण्ड’पछि महासचिव पद त्यागेर पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व हस्तान्तरण गरेका थिए । …उनले फेरि एकपटक पद र मान–प्रतिष्ठाभन्दा माथि उठ्ने प्रयास गरेका छन् ।”
उनले सोभियत संघका स्टालिनदेखि चीनका माओ, भियतनामका होचिमिन्ह, उत्तर कोरियाका किम इल–सुङसम्म पुग्दा नेतृत्व कहिल्यै स्वेच्छाले हस्तान्तरण भएको इतिहास विरलै भेटिएको उल्लेख गर्दै रोमानियाका निकोलाय चाउचेस्कु त पार्टी र सत्तामा टाँसिएकै कारण जनताको आक्रोशमा मारिएको प्रसंग समेत उल्लेख गरेका छन् ।
नेपालको कम्युनिस्ट आन्दोलनमा पनि २०३१ सालदेखि मोहनविक्रम सिंह निरन्तर पार्टी नेतृत्व रहेको, नारायणमान बिजुक्छे पनि चार दशकदेखि नेतृत्वमा रहेको, माधवकुमार नेपालले १५ वर्ष महासचिव भएर नयाँ पार्टी खोलेरै भए पनि अध्यक्ष पदमै आसिन रहेको, केपी शर्मा ओलीले पार्टी विधान नै संशोधन गरी ‘आजीवन अध्यक्ष’ बन्ने बाटो खोलेको, माओवादी आन्दोलनका नेता पुष्पकमल दाहाल (प्रचण्ड) झन्डै चार दशकदेखि पार्टी अध्यक्षमा रहेको, पार्टी खिइएर एउटा परिवारमा सीमित भइसक्दा पनि नेकपा मालेका महासचिव सिपी मैनाली साढे दुई दशकदेखि निरन्तर नेतृत्वमा रहेको उल्लेख गर्दै यो पृष्ठभूमिमा वैद्यको कदम राजनीतिक संस्कृतिमा अँध्यारोमा जुनकिरी जस्तै बनेको उल्लेख गरेका छन् ।
उनले किरणको राजनीतिक विशेषताको विषयमा लेखेका छन्, “जनयुद्धपछि शान्ति प्रक्रियामा असहमत वैद्यले प्रचण्ड नेतृत्व छाडेर फरक बाटो रोजे। क्रान्तिकारी जनविद्रोहलाई निरन्तरता दिने अभियानको झन्डा उठाइरहे । उनको पार्टी सानो थियो, प्रभाव सीमित। तर उनी लगातार मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी र सीमान्तकृत वर्गका सवाल बोलिरहे। उनी भन्थे, ‘क्रान्ति अधूरो रह्यो।’ उनको अडान थियो— क्रान्ति पूरा नभएसम्म शान्ति स्थायी हुँदैन। यस अडानलाई पदभन्दा अगाडि राख्नु नै उनको विशेषता हो ।”
रामप्रसाद आचार्य (नेपाल प्रेस)ले लेखेका छन्, “नेपालको कम्युनिस्ट आन्दोलनसँग अपरिचित कसैका लागि पनि ‘मोहन वैद्य’ नाम सुन्दा एउटा दृढ, संघर्षशील र सिद्धान्तमा अडिग व्यक्तित्वको छवि सजिलै मस्तिष्कमा आउँछ । माओवादी युद्धका मुख्य योजनाकार, शास्त्रीय माक्र्सवादी चिन्तक, दार्शनिक र साहित्यिक चिन्तनका धरोहर मानिएका नेता किरणले अब सक्रिय राजनीतिबाट बिदा लिएसँगै चर्चामा छन् ।”
उनले थप अगाडि लेखेका छन्, “सत्तासँग सम्झौता नगर्ने दृढ चरित्र र माक्र्सवादी दर्शनप्रतिको गहिरो निष्ठाले उनलाई आज पनि जीवित इतिहास बनाएको छ । अब उनी सक्रिय राजनीतिबाट बिदा भए पनि उनका विचार र लेखन नेपाली वाम आन्दोलनका प्रेरणाका स्रोत बनेर रहनेछन् । मोहन वैद्य ‘किरण’ केवल एक नेता होइनन्—उनी विचारका मणि हुन्, संघर्षका प्रतीक हुन् र सरल जीवनमा महान दर्शनको प्रतिबिम्ब हुन् ।”
त्यसैगरी नेपालभ्यूजले ‘वैद्य बा’को ‘राजीनामा’मा रमाइरहेको देश शीर्षकमा लेखेको छ, “देशमा एकाथरि यस्ता राजनीतिकर्मी छन् – जो सत्ता, शक्ति, पद र पैसाका लागि मरिहत्ते गर्छन् । यही कारणले ती बदनाम र अलोकप्रिय छन् । जीवनभरि ‘देश र जनता’का नाममा राजनीति गर्दा नि आम नागरिकबाट प्रेम र सद्भावको साटो घृणा र आक्रोशको तारो बन्छन् । अर्कोतिर त्यस्ता राजनीतिज्ञ पनि छन् – जो जीवनभरि सत्ताबाहिर बस्दा पनि खिन्न र दुःखी देखिँदैनन् । बरू तिनका दुःखमा मान्छेहरू खुसी भइरहेका छन् । यस्तै एक दुर्लभ पात्र हुन् – मोहन वैद्य ‘किरण’ ।”
अगाडि लेखिएको छ, “‘वैद्य बा’मा केही निर्मल चरित्र अवश्य छन् । कम्तीमा उनले राजकीय पदका लागि कहिल्यै मरिहत्ते गरेनन् । २०६४ को पहिलो संविधान सभा निर्वाचनपछि उनले सांसद पदसमेत त्यागेका थिए । आफ्नो खाँटी साम्यवादी विचारधारा र माक्र्सवादी सिद्धान्तप्रतिको निष्ठा लुकाएर पाखण्डी बहुदलवादी कहिल्यै भएनन् । उनले लोकतन्त्रवादी हुनुको स्वांग कहिल्यै पारेनन्, साम्यवादी हुनुमै सधैँ गौरव गरे ।… उनले जुन विचारमा निष्ठा राखे, त्यही अनुरुप जीवन बाँचे । अन्य धेरै कम्युनिष्ट नेताहरूको जस्तो उनको जीबन पाखण्डको थप उदाहरण बनेन ।”
यसरी सञ्चारमाध्यममा मोहन वैद्य किरणको आदर्श व्यक्तित्वले चर्चा पाउनु र उहाँको जीवन र कर्मको एकत्वसहितको राजनीतिक मूल्यचेतको बोध हुनु सुखद् पक्ष हो । मोहन वैद्य किरण नेपालको कम्युनिस्ट आन्दोलनको ‘क्रान्तिकारी स्कूल’ हो । उहाँको बहुआयामिक व्यक्तित्व र नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा उहाँको योगदानको विषयमा आगामी दिनमा थप चर्चा हुँदै जाला उहाँले पार्टीको सक्रिय राजनीतिक जिम्मेवारीबाट दिनुभएको राजिनामा तथा नेतृत्व हस्तान्तरणले नेपालको समग्र राजनीतिलाई नैतिकताको मूल्यबोध गराएको छ र पाठ सिकाएको छ । मूल्य र आदर्शहीन, पद र पैसाका लागि मरिहत्ते गर्ने उपभोक्तावादी संस्कृतिले नराम्ररी गाँजिएको वर्तमान राजनीतिको कुरुप र घिनलाग्दो छविमाथि मोहन वैद्य किरणले देखाएको राजनीतिक नैतिकताले चरम निराशाबिच आशाको सञ्चार गराएको विश्लेषण भइरहेको छ ।
यही पृष्ठभूमिमा मोहन वैद्य किरणको जीवनवृत्तलाई यहाँ विवरणात्मक रुपमा संक्षिप्तमा प्रस्तुत गरिएको छ ।
नाम : मोहन वैद्य
राजनीतिक नाम : किरण
साहित्यिक नाम : चैतन्य (यो नाम पारिजातले राखिदिएकी थिईन)
जन्म मितिः २००३ श्रवण १५ गते
जन्मस्थान : खैरा, प्युठान
विज्ञता : राजनीतिज्ञ, दर्शनशास्त्री, सौन्दर्यशास्त्री, समाजशास्त्री,भाषाशास्त्री,सैन्यशास्त्री
बुवा र आमा : शशिधर वैद्य र जानुका वैद्य
श्रीमती : शुष्मा आचार्य
छोरीहरु : लता वैद्य, चेतना वैद्य र सृजना वैद्य
२०२१ मा कम्युनिष्ट पार्टीको सदस्यताको लागि आवेदन
२०२२ मा नेपाल कम्युनिष्ट पार्टी को सदस्यता प्राप्त
२०२३ मा नब्यन्याय दर्शनशास्त्रमा शास्त्री उत्तीर्ण
२०२४ मा माओको रातो लकेट लगाएको आरोपमा महेन्द्र सरकारद्वारा पहिलोपटक गिरफ्तार
२०२५ असारमा जेलबाट रिहाई
२०२६ असोजमा प्युठानमा किसान संघर्ष गर्दा दोस्रोपटक गिरफ्तार
२०२७ मा स्नाकोत्तर उत्तीर्ण
२०२९ असार १ मा पार्टीका दस्तावेजसहित पोखराबाट तेस्रोपटक गिरफ्तार
२०३१ मा चौथो महाधिवेशनबाट “नेपाल कम्युनिष्ट पार्टी(चौम)“ को केन्द्रीय सदस्यमा निर्वाचित
२०३५ मा शसस्त्र संघर्षको सैन्य कार्यदिशा निर्माण
२०४१ मा पाँचौ महाधिवेशनबाट नेकपा(मशाल)को महामन्त्री निर्वाचित
२०४३ मा नेकपा (मशाल) द्वारा राष्ट्रिय पञ्चायत चुनाव बहिष्कारका क्रममा काठमाडौंका प्रहरी सेक्टरहरुमा आक्रमण
२०४५ मा नेकपा(मशाल)को महामन्त्रीबाट राजिनामा
२०४८ मा नेकपा (एकता केन्द्र)को ३पोलिटब्युरो सदस्य निर्वाचित
२०५१ मा नेकपा(माओवादी)को पोलिटब्युरो सदस्य निर्वाचित
२०५२ फागुन १ देखि नेकपा (माओवादी)ले सन्चालन गरेको दीर्घकालीन जनयुद्वको पहलकदमी,मुख्य योजनाकार,प्रचण्डका गुरु, रणनीतिक सल्लाहकार र कुशल नेतृत्वको
भुमिका निर्वाह
२०६० मा भुमिगत रहदा भारतबाट गिरफ्तार
२०६३ मंसिर १५ गते भारतको जेलबाट रिहा
२०६४ मा संविधानसभाको सभासद भएर एक वर्षभित्र राजिनामा
२०६५ मा एनेकपा (माओवादी)को वरिष्ठ उपाध्यक्ष
२०६९ असारमा एनेकपा (माओवादी) बाट बिद्रोह गरेर नेकपा–माओवादी गठन गरेर अध्यक्षमा निर्वाचित
२०७२ मा नेकपा (क्रान्तिकारी माओवादी) को अध्यक्ष
२०८१ मा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको महासचिव निर्वाचित
२०८२ असोज २९ मा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको महासचिव र केन्द्रीय सदस्यबाट राजिनामा दिएर उच्च राजनीतिक नैतिकता प्रस्तुत
मोहन वैद्यका कृतिहरुः–
दर्शनशास्त्रको क्षेत्रमा कृतिहरु
१. संघर्षको दर्शन (२०३८–२०६०) सम्मका दार्शनिक आलेखहरुको सँगालो)
२.माक्र्सवादी दर्शन
३. हिमाली दर्शन
सौन्दर्यशास्त्रको क्षेत्रमा कृतिहरुः–
१.माक्र्सवादी कलादृष्टि र समीक्षा (२०५४)
२.क्रान्ति र सौन्दर्य (२०६४)
३.माक्र्सवादी सौन्दर्य चिन्तन(२०६९)
४.माक्र्सवादी समालोचना (२०७७)
राजनीतिक अर्थशास्त्रको क्षेत्रका सयौं आलेखहरु
वैज्ञानिक समाजवादको क्षेत्रका कृतिहरु
१.क्रान्ति र सिद्वान्त (२०२९–२०६७) सम्मका ऐतिहासिक दस्तावेजमा आधारित)
२.माक्र्सवाद र संस्कृति
३.क्रान्ति र विद्रोह
४.नेपाली समाज र संस्कृति ः एक संक्षिप्त अध्ययन
५.संसोधनवाद र पश्चगमन



























