जब हामी ‘युद्ध’ शब्द सुन्छौ हाम्रो मस्तिष्कमा तोप, ट्याङक, सैनिक र ध्वस्त सहरहरुको तस्बर बन्छ । तर २१औ शताब्दीको भूराजनीतिमा युद्धको स्वरुप फेरिएको छ । आजको युद्ध मैदानमा भन्दा बढी मिडियाको स्क्रिनमा, सत्ताको गलियारामा र आम मानिसको दिमागमा लडिन्छ । यो अदृश्य हुन्छ ।
युद्धको सबैभन्दा खतरनाक स्वरुप हो छद्म (प्रोक्सीवार) जहाँ शक्तिशाली राष्ट्रहरुले अर्को देशको भूमि र त्यहाँका नागरिकहरुलाई आफ्नो रणनीतिक स्वार्थको गोटी बनाउछन् तर यो प्रक्रिया एक्कासी सुरु हुँदैन यो कुनै देशको सार्वभौम सत्तालाई धमिराले खाए झै भित्र भित्रै खोक्रो बनाउने एउटा लामो र सुनियोजित अभियान हो । विशेषगरी नेपालजस्तो दुई विशाल छिमेकीको बिचमा रहेको तर आन्तरिक रुपमा राजनीतिक अस्थिरता भ्रष्टाचार र राजनीतिक विभाजनले ग्रस्त देश यस्तो प्रोक्सी वारको प्रयोगशाला बन्ने गरेको छ ।
नेपाल जस्तो जस्तो राष्ट्रमा विदेशी शक्तिहरुले कसरी छद्म युद्धको लागि एउटा पुरै इको–सिस्टम वा पारिस्थितिक प्रणाली निर्माण गर्छन् भन्ने विषयमा सुक्ष्म र चरणबद्ध प्रक्रियाको बारेमा ‘विश्व घटना’ले विस्तृत विश्लेषण गरेको छ, जसलाई यहाँ प्रस्तुत गरिएको छ–
स्टेप– १– प्रभावका लागि जग निर्माण :
छम युद्धको जग हतियारले होइन प्रभावले खनिन्छ । यो प्रारम्भिक चरणमा विदेशी शक्तिहरुले आफ्नो उपस्थिति र प्रभावलाई यति चलाखीपूर्ण विस्तार गर्छन् कि त्यो विकास सहयोग र सद्भावको आवरणमा लुकेको हुन्छ । विदेशी शक्तिहरुले आफ्नो प्रभाव विस्तार गर्न एनजीओ, आईनजीओ, दातृ निकाय र विकास परियोजनाहरुलाई सबैभन्दा उत्तम माध्यम बनाउँछन् । गरिबी निवारण, लैंगिक समानता, मानव अधिकारको रक्षा, लोकतान्त्रिक सुदृढीकरण जस्ता आकर्षक र सकारात्मक नाराहरुका साथ उनीहरु देशको दुरदराजका गाउँहरुसम्म पुग्छन् । उनीहरुको घोषित उद्देश्य सहयोग गर्नु भए पनि अघोषित उद्देश्य भने देशको सामाजिक, राजनीतिक, धार्मिक, क्षेत्रीय र वर्गीय विभाजनको विस्तृत डाटाबेस तयार पार्नु हो । कुन समुदायमा सरकारप्रति बढी असन्तुष्टि छ, कुन भौगोलिक क्षेत्र विकासबाट बञ्चित छ, कहाँका युवाहरुमा बढी आक्रोश छ, यस्ता संवेदनशील सूचनाहरु संकलन गरेर भविष्यमा कहाँ विद्रोहको बिउ रोप्न सकिन्छ भन्ने राजनीतिक नक्सांकन गरिन्छ। यो सूचना नै भविष्यको हस्तक्षेपको लागि कच्चा पदार्थ हो । विदेशी शक्तिले प्रभाव पार्ने अर्को तरिका भनेको देशका पढेलेखेका र बौद्धिक मानिसहरुलाई आफ्नो पक्षमा पार्नु हो । यसका लागि उनीहरुले देशका प्रतिभाशाली विद्यार्थी, पत्रकार र प्रोफेसरहरुलाई आकर्षक छात्रवृत्ति दिएर आफ्नो देशमा पढ्न बोलाउछन् । त्यहाँ उनीहरुको सोचाईमा यस्तो प्रभाव पारिन्छ कि उनीहरु त्यो विदेशी शक्तिको राष्ट्रिय स्वार्थ र विचारलाई नै सही मान्न थाल्छन् । पछि जब यी व्यक्तिहरु आफ्नो देश फर्केर नीति निर्माण मिडिया प्रशासन र विश्वविद्यालय जस्ता महत्वपूर्ण निकायहरुमा स्थापित हुन्छन्, तब उनीहरुले विदेशी शक्तिको एजेन्डालाई आफ्नै विचारको रुपमा प्रस्तुत गर्न थाल्छन् । यस प्रक्रियालाई अझ प्रभावकारी बनाउन र यी व्यक्तिहरुलाई भविष्यमा शक्तिशाली एजेन्ट अफ इन्फ्लुएन्स अर्थात् प्रभावका एजेन्टको रुपमा स्थापित गर्न उनीहरुलाई विशेष पुरस्कार र सम्मान प्रदान गर्ने रणनीति अपनाइन्छ । जब कुनै विद्यार्थीले प्रतिष्ठित विदेशी संस्थाबाट ठुलो पुरस्कार पाउँछ, उ आफ्नो देशको नजरमा रातारात स्टार बन्छ । र, उसको भनाइलाई एउटा छुट्टै बैधता प्राप्त हुन्छ । भविष्यमा जब उसले विदेशी शक्तिको पक्षमा बोल्छ, मानिसहरुले त्यसलाई उसको विशेष ज्ञान ठान्छन्, विदेशीहरुको एजेन्ट भनेर शंका गर्दैनन् । यसले उसलाई आकर्षणको पात्र र युवाहरुको रोल मोडल बनाउँछ । यो पुरस्कार पाउने व्यक्ति पनि मनोवैज्ञानिक रुपमा त्यो देशप्रति ऋणी र बफादार महसुस गर्छ । संक्षेपमा त्यो पुरस्कार व्यक्तिको प्रतिभाको कदर मात्र होइन, त्यो भविष्यमा प्रयोग गर्नका लागि उसको काँधमा राखिएको तक्मा हो, जसले उसको हरेक कुरालाई ओजनदार र विश्वसनीय बनाउँछ ।
स्टेप–२ : एजेन्टको सुनियोजित नियन्त्रण
त्यसो त गुप्तचर एजेन्सीले एजेन्टको निर्माण गरिसकेपछि अब उनीहरुको काम एजेन्टको नियन्त्रण हुन्छ, ताकि त्यही नियन्त्रणको स्वार्थ अनुकुल काम लगाउन सकियोस् । यो छद्म युद्धको इको–सिस्टम निर्माणको सबैभन्दा फोहरी तर प्रभावकारी रणनीति हो, जसलाई भ्रष्टाचारको पासो अर्थात् ‘कम्प्रोम्याट’ भनिन्छ । विदेशी गुप्तचर एजेन्सीहरुले देशका सत्तासिन वा सत्तामा पुग्न आतुर महत्वाकांक्षी तर नैतिक रुपमा कमजोर नेता उच्च पदस्थ कर्मचारी र सुरक्षा अधिकारीहरुको पहिचान गर्छन् । उनीहरुलाई ठुला परियोजनाको ठेक्का हतियार खरिद वा अन्य माध्यमबाट भ्रष्टाचारमा संलग्न हुन अनुकुल वातावरण बनाइदिन्छन् । यो सम्पूर्ण प्रक्रिया पैसाको लेनदेनदेखि गोप्य बैठकसम्म अत्यन्त सुक्ष्म तरिकाले रेकर्ड गरिन्छ ।
यसरी तयार पारिएको गोप्य प्रमाण जसलाई गुप्तचरको भाषामा ‘कम्प्रोम्याट’ अर्थात भ्रष्टाचारको पासो भनिन्छ । अब यस्तो कम्प्रोम्याट उक्त व्यक्तिको राजनीतिक भविष्य समाप्त पार्ने टाइम बम उनीहरुकै हातमा हुन्छ । अब त्यो नेता वा अधिकारी आफ्नो पद जोगाउन र जेल जानबाट बच्न विदेशी शक्तिहरुको हरेक आदेश मान्न बाध्य हुन्छ । अब उ आफ्नो देशको प्रतिनिधि नभएर विदेशी शक्तिको एसेट बन्न पुग्छ, जसको रिमोट कन्ट्रोल गुप्तचर एजेन्सीको हातमा हुन्छ । आर्थिक भ्रष्टाचारको पासोभन्दा पनि विनाशकारी व्यक्तिगत र चरित्र हत्या गर्ने अर्को शस्त्र हो हनि ट्रयाप अर्थात् यौन काण्डको षड्यन्त्र, आर्थिक भ्रष्टाचारको आरोपलाई राजनीतिक प्रतिशोध भनेर पन्छाउन सकिएला तर जब बलात्कार र यौन दुव्र्यवहार जस्तो नैतिक पतनको आरोप लाग्छ, त्यसबाट बच्न लगभग असम्भव हुन्छ । यो केवल राजनीतिक आक्रमण मात्र होइन, यो व्यक्तिको चरित्र नैतिकता र मानवतामाथिको सिधा हमला हो । जसले उसलाई समाजमा घृणित बनाउँछ । यस्ता आरोपहरुको खण्डन गर्न अत्यन्तै कठिन हुन्छ र प्रमाण होस् वा नहोस् आरोप लाग्नु मात्रै पनि उसको राजनीतिक करियर समाप्त पार्न पर्याप्त हुन्छ । वास्तवमा यो सुनियोजित षड्यन्त्र अन्तर्गत यौन मामिलामा रुचि राख्ने नेताको पहिचान गरी उसको वरिपरि जाल बिछाइन्छ र आपत्तिजनक भिडियो वा तस्बीर रेकर्ड गरिन्छ । यही प्रमाणलाई सुरुमा ब्ल्याकमेल गरेर नेतालाई नियन्त्रणमा राखिन्छ र जब उसको उपयोगिता सकिन्छ, त्यही प्रमाण मिडियामा लिक गरेर उसलाई बलिको बोको बनाइन्छ र सदाका लागि उसको राजनीतिक अध्याय समाप्त गरिन्छ ।
यो त भयो गुप्तचर एजेन्सीले एजेन्ट निर्माण र नियन्त्रणका केही उदाहरण तर यहाँ रोचक कुरा त यसरी विदेशी गुप्तचर एजेन्सीले सत्ता पक्षका नेताहरुलाई नियन्त्रणमा राख्दै गर्दा समानान्तर रुपमा अर्को एउटा वैकल्पिक शक्तिलाई पनि मलजल गरिरहेका हुन्छन् । त्यस्तो वैकल्पिक शक्ति कुनै नयाँ राजनीतिक दल ‘आक्रामक युवाहरुको समूह’, ‘जातीय संगठन’ वा ‘नागरिक समाज’को आवरणमा रहेको कुनै आन्दोलन हुन सक्छ, उनीहरुलाई पनि गोप्य रुपमा आर्थिक, वैचारिक र सांगठनिक सहयोग गरिन्छ । यसले विदेशी शक्तिलाई दुई वटा फाइदा हुन्छ एक– सत्ता पक्षले आफु अनुकुल काम नगरेमा उसलाई वैकल्पिक शक्तिमार्फत् दबाब दिन सकिन्छ । दोस्रो– यदि सत्ता पक्ष पूर्णरुपमा अलोकप्रिय भएमा उसलाई हटाएर आफुले तयार पारेको नयाँ शक्तिलाई स्थापित गर्न सकिन्छ ।
स्टेप– ३ : नागरिकमा निराशा र आक्रोश
यो चरणमा समाजमा लुकेर रहेको असन्तुष्टीलाई विस्फोट गराइन्छ र देशलाई राजनीतिक संकटमा धकेलिन्छ । दशकौदेखि गरिएको लगानी र नियन्त्रणको वास्तविक परीक्षण यही चरणमा हुन्छ । जब विदेशी शक्तिलाई आफ्नो उद्देश्य पुरा गर्ने समय आएको महसुस हुन्छ, तब उसले चरण दुईमा जम्मा गरेको कम्प्रमेन्टलाई अर्थात् भ्रष्टाचारको पासोलाई हतियारको रुपमा प्रयोग गर्छ । सत्तारुढ नेताहरुको भ्रष्टाचारका सनसनीपूर्ण फाइलहरु आफुले लगानी गरेको मिडियामार्फत् ब्रेकिङ न्यजको रुपमा सार्वजनिक गरिन्छ । यी खबरहरुलाई आफु अनुकुलका बौद्धिक र विश्लेषकहरुमार्फत् टेलिभिजन बहस र सामाजिक संजालहरुमार्फत् बढी ल्याइन्छ । एकपछि अर्को गर्दै भ्रष्टाचारका कर्तुतहरु खुल्दै जान्छन् । आजको युगमा जनमत निर्माण गर्ने सबैभन्दा ठुलो हतियार सामाजिक सञ्जाल हो । सार्वजनिक भएका भ्रष्टाचारका काण्डहरुलाई हजारौ नक्कली अकाउन्ट ट्रोल र पेड इन्फ्लुएन्सरमार्फत् २४ सै घण्टा प्रचार गरिन्छ । यो देश खतम भयो, सबै नेता चोर हुन्, व्यवस्था नै असफल भयो जस्ता सरल तर शक्तिशाली नाराहरुमार्फत् जनतामा चरम निराशा र आक्रोश भरिन्छ । यो एक प्रकारको मनोवैज्ञानिक युद्ध हो, जसको उद्देश्य नागरिक र राज्यबीचको विश्वासको सम्बन्धलाई पूर्णरुपमा तोड्नु हो । जब जनता पुराना र स्थापित नेताहरुबाट पूर्णरुपमा निराश हुन्छन्, तब विदेशी शक्तिले चरण दुईमा तयार पारेको वैकल्पिक पात्र वा समूहलाई नयाँ मुक्तिदाताको रुपमा अगाडि सार्छ । यो पात्रलाई भ्रष्टाचार नगर्ने, इमान्दार, देशप्रेमी र व्यवस्था परिवर्तन गर्ने सक्षम नायकको रुपमा प्रचार गरिन्छ । जनताको आक्रोश र निराशाको भेललाई यही नयाँ पात्रको पक्षमा लडिन्छ र सडक आन्दोलनको लागि आहवान गरिन्छ ।
स्टेप– चार : उत्कर्ष सडकबाट संग्रामतर्फ
यो इकोसिस्टमको अन्तिम र सबैभन्दा विनाशकारी चरण हो, जहाँ राजनीतिक संकटलाई हिंसात्मक द्वन्द्वमा परिणत गरिन्छ । नयाँ नायकको नेतृत्वमा सुरु भएका प्रदर्शनहरु सुरुमा शान्तिपूर्ण हुन्छन्, जसले गर्दा आम जनता र अन्तराष्ट्रिय समुदायको सहानुभूति प्राप्त हुन्छ । तर केही समयपछि योजनाबद्ध रुपमा यी प्रदर्शनहरुमा हिंसात्मक तत्वहरुको घुसपैठ गराइन्छ । एजेन्ट प्रोभोकेटरहरुले भिडलाई प्रहरीमाथि आक्रमण गर्न र सरकारी सम्पत्ति जलाउन उक्साउँछन् । यो हिंसाले सरकारलाई बल प्रयोग गर्न बाध्य बनाउँछ । जब सरकारी दमनबाट केही प्रदर्शनकारीको मृत्यु हुन्छ, तब त्यो घटनालाई छद्म युद्धको टर्निङ पोइन्ट बनाइन्छ । सरकारले आफ्नै निहत्था जनताको हत्या गर्यो भनेर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रचार गरिन्छ । मारिएका व्यक्तिहरुलाई सहिद घोषणा गरिन्छ, जसले आन्दोलनलाई थप भावनात्मक र आक्रामक बनाउँछ । अब त्यो आन्दोलन राजनीतिक मागको लागि नभएर बदलाको लागि अगाडि बढ्छ । एकपटक सरकारले आफ्ना नागरिकमाथि गोली चलाएको भाष्य स्थापित भएपछि विद्रोही पक्षलाई आत्मरक्षाका लागि हतियार उठाउनु जायज भएको तर्क प्रस्तुत गरिन्छ । यही बहानामा अब सरकारी भवनहरु ध्वस्त बनाइन्छ र अराजकताको पराकाष्ठा देखिन्छ । यसरी सहयोग र विकासको नाममा सुरु भएको अदृश्य खेल भ्रष्टाचारको पासो मिडियाको मनोवैज्ञानिक युद्ध र सडक आन्दोलन हँुदै देशलाई गृहयुद्धको आगोमा होमिन्छ । विदेशी शक्तिले बनाएको इकोसिस्टम पूर्णरुपमा सफल हुन्छ र त्यो देश उसको भूराजनीतिक स्वार्थको प्रयोगशाला बन्न पुग्छ ।
स्टेप– ५ : पुरानो एजेन्टको पतन
यो खेलको सबैभन्दा क्रुर र निर्णायक क्षण हो । जब एउटा पुरानो काम नलाग्ने भैकेको गोटी अर्थात् एजेन्टलाई योजनाबद्ध रुपमा हटाइन्छ र उसको ठाउँमा एउटा नयाँ चम्किलो र बढी प्रभावकारी गोटी स्थापित गरिन्छ । यो कुनै संयोग होइन, बरु एउटा रणनीतिक दिमागले रचिएको पटकथा हो । जहाँ एउटा पात्रको पतनसँगै अर्को पात्रको उदयको लागि अनिवार्य सर्त बन्न पुग्छ । यो सम्पूर्ण पटकथाको पहिलो अध्याय पुरानो एजेन्टको योजनाबद्ध पतनबाट सुरु हुन्छ । कुनै पनि गुप्तचर एजेन्सीको लागि राजनीतिक एसेट वा एजेन्ट एउटा लगानी हो तर हरेक लगानीको एउटा म्याद समाप्ति मिति हुन्छ । जब त्यो मिति नजिक आउँछ, उसलाई हटाउने प्रक्रिया सुरु हुन्छ, जुन अत्यन्तै निर्मम र योजनाबद्ध हुन्छ । एउटा एजेन्टलाई काम नलाग्ने घोषणा गरिनुका पछाडि ठोस कारणहरु हुन्छन् । पहिलो कुरा त उसलाई सुम्पिएको काम पुरा भइसकेको हुन्छ । दोस्रो कारण– उ लामो समयसम्म एउटै भूमिकामा रहँदा उसको विश्वसनीयता र प्रभावकारितामा ह«ास आएको हुन्छ । जनताले उसलाई शंकाको नजरले हेर्न थाल्छन् र उ एउटा ‘एक्सपोज्ड कार्ड’ बन्छ, जसबाट थप कुनै चाल चल्न सकिदैन । अन्ततः उ आफैमा एउटा बोझ बन्न पुग्दछ । उसले गरेका भ्रष्टाचार र गोप्य सम्झौताहरुको जानकारी यदि बाहिरियो भने त्यसले उसको संचालक अर्थात् विदेशी शक्तिलाई समेत बदनाम गर्न सक्छ । त्यसैले आफ्नो संलग्नताको प्रमाण मेटाउन पनि उसलाई राजनीतिक परिदृश्यबाट हटाउनु अनिवार्य हुन्छ । तर उपयोगिता सकिएपछि उसलाई केवल बिदा मात्र गरिदैन, बरु प्राय उसको नियन्त्रित ध्वंश गरिन्छ, जसलाई बलिको बोको बनाउने प्रक्रिया भनिन्छ । यो प्रक्रियामा उसलाई नियन्त्रण गर्न प्रयोग गरिएका हतियारहरु जस्तै भ्रष्टाचारका फाइल र गोप्य रेकर्डहरु नै उसको विरुद्धमा प्रयोग गरिन्छ । उसकै संचालकहरुले यी संवेदनशील जानकारीहरु मिडियामार्फत् लिक गराउछन् । यसले एकातिर देशमा राजनीतिक संकट सिर्जना गर्छ भने अर्को जनताको सम्पूर्ण आक्रोश त्यही एजेन्टप्रति सोझिन्छ । उ रातारात राष्ट्रिय खलनायक बन्छ । रोचक कुरा त के छ भने यो उसको अन्तिम मिसन हुन्छ, आफ्नो बदनामी स्वीकारेर आउने वाला नयाँ एजेन्टको लागि बाटो सफा गरिदिने यद्यपि सबै पुराना एजेन्टहरुको अन्त्य यति नाटकीय हँुदैन । उनीहरुको बहिर्गमनका लागि विभिन्न विकल्पहरु तयार पारिएको हुन्छ । यदि एजेन्ट चलाख छ, संचालकप्रति पूर्ण बफादार छ र चुपचाप सेवा निवृत्त हुन तयार छ भने उसलाई गोल्डेन ह्यान्डसेक वा सुरक्षित अवतरणको विकल्प दिइन्छ । त्यसबखत उसलाई विदेशमा कुनै आकर्षक पद ठुलो आर्थिक पुरस्कार वा उसको नाममा कुनै फाउन्डेसन खोलेर सम्मानजनक बिदाई गरिन्छ । यो उसको बफादारीको इमानभन्दा पनि उसको मौनताको मूल्य हो । तर यदि कुनै एजेन्टले अटेरी गर्छ वा विद्रोह गर्ने प्रयास गर्छ भने उसको अन्त्य दुखद् हुन सक्छ–मतलब मृत्यु । पुरानो एजेन्टको पतनको योजना सँगै पर्दा पछाडी नयाँ एजेन्टको उदयको तयारी समानान्तर रुपमा चलिरहेको हुन्छ । यो नयाँ एजेन्ट पुरानोको ठिक उल्टो छवि भएको व्यक्ति हुन्छ र उसको व्यक्तित्वलाई निकै होसियारीपूर्वक निर्माण गरिएको हुन्छ । नयाँ एजेन्टको सबैभन्दा ठुलो हतियार उसको स्वच्छ छवि हो । यदि पुरानो एजेन्ट भ्रष्ट थियो भने उ भ्रष्टाचार विरोधी योद्धाको रुपमा प्रस्तुत हुन्छ । यदि पुरानो एजेन्ट वृद्ध र परम्परावादी थियो भने युवा र प्रगतिशील विचारको हुन्छ । ऊ जनता माझ म यो फोहोर सफा गर्न आएको हुँ भन्ने सन्देशका साथ प्रवेश गर्छ । उसको व्यक्तित्व भाषण र नाराहरु सबै पुरानो एजेन्टले पैदा गरेको निराशाको औषधिको रुपमा डिजाइन गरिएको हुन्छ । यसका साथै उसलाई वैचारिक रुपमा दीक्षित पनि गरिएको हुन्छ । जसले गर्दा उसले विदेशी शक्तिको स्वार्थलाई नै आफ्नो देशको हित हो भनेर विश्वास गरेको हुन्छ । उसलाई आधुनिक राजनीतिक युद्धका हतियारहरु जस्तै सामाजिक संजालको प्रयोग, क्राउड फन्डिङ मार्फत् पैसा उठाउने तरिका र मिडियालाई आफ्नो पक्षमा प्रयोग गर्ने कलामा पोख्त बनाइएको हुन्छ । र, अन्त्यमा त्यो क्लाइमेक्सको क्षण आउँछ, जहाँ पुरानोको पतन र नयाँको उदयलाई एउटै मञ्चमा नाटकीय रुपमा प्रस्तुत गरिन्छ । यसरी पुरानो एजेन्टबाट नयाँ एजेन्टको उदय गराउँदा यो प्रक्रिया प्रायः समस्या प्रतिक्रिया समाधानको मनोवैज्ञानिक मोडलमा आधारित हुन्छ, जुन तीन चरणमा अघि बढ्छ । पहिलो चरणमा विदेशी शक्तिले आफै समस्या सिर्जना गर्छ, अर्थात् पुरानो एजेन्टको भ्रष्टाचार र असफलतालाई सार्वजनिक गरेर देशमा संकट पैदा गर्छ । त्यसपछि दोस्रो चरणमा यो समस्याप्रति जनताको प्रतिक्रियालाई अवलोकन गर्छ, जुन आक्रोश निराशा र विकल्पको खोजीको रुपमा आउँछ र तेस्रो चरणमा जब जनता समाधानको लागि छटपटाइरहेका हुन्छन्, तब उसले आफ्नो तयार पारेको समाधान अर्थात् नयाँ एजेन्टलाई प्रस्तुत गर्छ, यो यति कुशलतापूर्वक गरिन्छ कि जनतालाई लाग्छ यो परिवर्तन उनीहरुले आफैले ल्याएका हुन् । वास्तवमा उनीहरुले माग गरेको नायक धेरै अघि पर्दा पछाडी कसैले तयार पारेको थियो भन्ने कुरा उनीहरुले पत्तै पाउदैनन् ।
विश्व भूराजनीतिमा छद्म युद्धको खेल सँधै एउटा मात्र देशले खेल खेलिरहेको हुन्छ भन्ने हुदैन । त्यहाँ अनेकौ शक्तिहरु लडिरहेका हुन सक्छन् । अझ नेपाल जस्तो देशमा यस्तो खेल निकै जटिल हुन्छ ।
समग्रमा भन्नुपर्दा राजनीतिक एजेन्टहरुको यो उदय र पतनको चक्र कुनै प्राकृतिक वा लोकतान्त्रिक प्रक्रिया नभएर विदेशी शक्तिहरुले आफ्नो स्वार्थ अनुकुल रचिएको एउटा क्रुर र योजनाबद्ध खेल हो । एजेन्टहरु उनीहरुका लागि केवल ‘डिस्पोजेबल साधन’ हुन्, जसको म्याद सकिएपछि कुनै हिचकिचाहट उनीहरुलाई फ्याँकिन्छ ।
नेपाल जस्तो देश जहाँ राजनीतिक अस्थिरता र बाह्य शक्तिको चलखेल निरन्तर भैरहन्छ, नेपालमा हुने हरेक ठुला राजनीतिक परिवर्तनहरुका लागि पात्रहरुको नाटकीय उदय र पतनको पटकथा देशको सिमाना बाहिर लेखिने गरिन्छ ।