सत्ता बदलिएपछि धेरै थोक बदलिन्छ

सत्ता बदलिएपछि धेरै थोक बदलिन्छ

कविता

सत्ता बदलिएपछि मालिक बदलिँदो रहेछ
मालिक बदलिएपछि
मालिकका बफादार फेरिँदा रैछन्‌
बफादारहरू बदलिएसँगै म बदलिएँ मालिक
मेरो बफादारिता तपाईंको शरणमा अर्पण गर्दै
म घोषणा गर्छु –
म बदलिएँ मालिक ।

बुद्धिजीवी सत्ताका प्रतिपक्षी हुन्छन्‌
फेल भइसकेको छ नोम चोम्स्किको ‘फिलोसफी’
बदलिसक्यो बर्तोल ब्रेख्तले भन्ने
‘सत्य’ खोज्ने लेखकको परिभाषा ।

आखिर कसलाई हुँदैन सत्ताको लोभ
शक्तिको लालच
मालिक
निकै मोहित हुन्छ शक्तिको सम्मोहन
शक्ति हजुरकै हातमा, सत्ता हजुरकै हातमा
जसको शक्ति उसकै भक्ति
म सम्मोहित छु तपाईंकै भक्तिमा
म बदलिएँ मालिक

हेर्नोस् त मालिक
पात पतिङ्गर सबै बतासको दिशासँगै उड्दछन्‌
हाँगाबिँगा लहरा सबै बतासको लयसँगै झुक्दछन्‌
म किन उड्न खोजूँ फरक दिशामा
भुमरीमा अल्झिरहेको पतिङ्गर जसरी
छिन्नभिन्न बनाइन सक्छु कुनै पनि बखत
मलाई लिनु छैन यस्तो घनघोर चुनौती
मालिक
सत्ता बदलिएपछि धेरै थोक बदलिन्छ
म बदलिएँ मालिक ।

सहज हुन्छ पानीको बहावसँगै तैरनु
हावाको वेगसँगै बहनु
नदीको लयसँगै बग्नु
अँध्यारोमा अँध्यारै बनेर घुस्नु
बतासको तालमा ताल मिलाउनु
निकै कठिन पो हुन्छ
छालसँग मुकाबिला गर्नु
निकै सकस पो हुन्छ हावासँग पौठेजोरी खेल्नु
निकै जटिल पो हुन्छ अँध्यारोसँग भिडन्त गर्नु

बगरमा टुक्रिएको ढुङ्गा जसरी
कुनै पनि बेला बनाइन सक्छु टुक्रा टुक्रा
हुत्याइन सक्छु मजधारबाट किनारमा
बोटबाट हाँगा लाछिए जसरी
कुनै पनि बेला लाछिएर बजारिन सक्छु जमिनमा
मलाई गर्नु छैन यस्तो भीषण सङ्घर्ष
मलाई गर्नु छैन अब अँध्यारोसँग बगावत
मालिक सत्ता बदलिएपछि धेरै थोक बदलिन्छ
म बदलिएँ मालिक ।

मालिक
कोही बस्दैन कुरेर खरानी हेर्दै निभेको अगेनो
सबैले ताप्नु छ बलेकै आगो
जसको राप उसको ताप
राप तपाईकै ताप तपाईकै
म बदलिएँ मालिक

हो मालिक
सत्ता बदलिएपछि धेरै थोक बदलिँदो रहेछ
बुद्धिजीवीको विवेक बदलिँदोे रहेछ
न्यायका पक्षधरहरूको न्याय बदलिँदोे रहेछ
मिडियाको विषय बदलिँदोे रहेछ
अडान बदलिँदोे रहेछ
आलोचकहरूको चेत बदलिँदोे रहेछ
कविको कविता बदलिँदोे रहेछ
बागीहरूको बगावत बदलिँदोे रहेछ
अवसरवादीहरूको चाप्लुसी बदलिँदोे रहेछ
लालचीहरूको अपेक्षा बदलिँदोे रहेछ
हो, सत्ता बदलिएपछि धेरै थोक बदलिँदोे रहेछ
म बदलिएँ मालिक ।

मेरो इमान जमान, मान सम्मान सबै तपाईंकै नाम
मेरो कला, सीप, शिल्प, सौन्दर्यचेत सबै तपाईंको नाम
मेरो बुद्धि विवेक ज्ञान सबै तपाईंकै नाम
मैले आर्जेको दर्शन सबै तपाईंकै शरण
मेरो बगावत सबै तपाईंकै हरण
सत्ता बदलिएपछि धेरै थोक बदलिन्छ
म बदलिएँ मालिक
न प्रश्न न छन् आलोचना
न सन्देह न संशय
न छ कुनै बगावत न विद्रोह
नपत्याए परीक्षण गरिहेर्नोस्‌
म बदलिएँ मालिक
सत्ता बदलिएपछि धेरै थोक बदलिन्छ
म साँच्चै बदलिएँ मालिक ।
०००