१) असोकजी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ११ नं. क्षेत्रीय व्यूरोको सचिव हुनुहुन्छ । यहाँको पार्टीले आगामी २०८२ फागुन २१ गते को निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ, ११ नं. व्यूरोमा निर्वाचन बहिष्कार सम्बन्धी के कति कार्यक्रमहरु सम्पन्न भए ?
हाम्रो पार्टीले २०८२ फागुन २१ मा सम्पन्न गर्न खोजिएको कथित संसदीय निर्वाचन सशक्त बहिष्कार गर्ने निर्णय गरेको खुलासा भैसकेको छ । सो को कार्यक्रम आइसकेपछि व्यूरोस्तरमा ¥याली र बहिष्कार सभा, अनि बृहद अन्तक्र्रिया कार्यक्रम सम्पन्न भैसकेका छन् । त्यसैगरी व्यूरो अन्तर्गतका जिल्ला संयुक्त संघर्ष समिति गठन र बीच बीचमा सो समितिका बैठक बसेर योजना निर्माण गरी मसाल जुलुश पर्चा वितरण, कोणसभाहरु, जनता, कार्यकर्तासँग भेटघाट ,छलफल र छिटफुट रुपमा भित्तेलेखनका काम भैरहेका छन् ।
२) निर्वाचन बहिष्कार सम्बन्धी ११ नं. क्षेत्रीय व्यूरोको आगामी कार्यक्रमहरु के छन् ?
हाम्रो ११ नं. व्यूरोमा निर्वाचन बहिष्कार सम्बन्धी आगामी कार्यक्रमहरु बहिष्कार सभा अलि व्यापकतामा कोणसभा, पर्चा वितरण, जनता कार्यकर्तासँग भेटघाट, छलफल, अन्तक्र्रिया, भित्तेलेखन लगायतका कार्यक्रम रहेका छन् ।
३) कतिपयले निर्वाचन बहिष्कार गर्नुभन्दा उपयोग गरेर विदेशी साम्राज्यवादका एजेण्टहरुका विरुद्ध संघर्ष उपयुक्त हुन्थ्यो भनेर सल्लाह दिएको सुनिन्छ । यससन्दर्भमा तपाईको प्रतिक्रिया के छ ?
–आसन्न संसदीय निर्वाचन विदेशी साम्राज्यवाजदी तथा विस्तारवादी शक्तिले संसदीय राजनीतिक पार्टीका पुराना र नयाँ दलालहरुलाई सत्तासीन गराएर मुख्यतः अमेरिकी साम्राज्यवादले नेपाललाई आफ्नो क्रिडास्थल बनाउने प्रपञ्च नै हो यो संसदीय निर्वाचन । यो आफैमा पुष्टि भै पनि सकेको छ । क्रान्तिकारीहरुले यसप्रकारका निर्वाचन उपयोग वा बहिष्कार गर्नु कार्यनीतिक प्रश्न हो । क्रान्तिकारीहरुले अपनाउने कार्यनीतिले रणनीतिको सेवा गर्नु पर्दछ । अहिलेको निर्वाचन साम्राज्यवाद तथा विस्तारवादका दलालहरुले अर्थात् यो कठपुतली सरकारले गराउँदै छ । यो आफैमा वैधानिक सरकार होइन । अर्कोतर्फ राष्ट्रको वर्तमान अवस्था वस्तुस्थिति पनि उपयुक्त छैन, यो निर्वाचन उपयोग गरेर यो प्रतिक्रियावादी सत्तामा गएर संसदवाद कै सेवा पुग्छ । राष्ट्रिय स्वाधिनता तथा जनतन्त्र तथा जनजीविकाको सुनिश्चितताका निम्ति सिन्को पनि भाँच्न सकिन्न, पाइन्न, दिंदैनन् । त्यसकारण यो संसदीय निर्वाचन सशक्त बहिष्कार नै गर्नुपर्दछ ।
४) राष्ट्रिय स्वाधीन सरकारको नारा यहाँको पार्टीले अघि सारेको छ , त्यसप्रकारको सरकारले राष्ट्रिय स्वाधिनता र जनताको जनतन्त्र र जनजविकाको समस्या समाधान गर्छ नै भन्ने आधार के हो ?
–हाम्रो पार्टीले राष्ट्रिय स्वाधिनता तथा जनतन्त्र–जनजीविकाको नारा दिंदै आएको छ । यो संसदीय व्यवस्थाबाट सम्भव छैन । त्यसकारण, राष्ट्रिय पुँजीपतिवर्ग, स्वाभिमानी नेपाली, प्रगतिशील, वामपन्थी अर्थात् राष्ट्रिय स्वाधिनताका पक्षधरहरु सम्मिलित अन्तरिम स्वाधीन राष्ट्रिय संयुक्त सरकार गठन गरी राष्ट्रिय स्वाधिनताको रक्षा र अधिकार सम्पन्न नेपाली नागरिक कायम गर्ने अन्तरिम जनसंविधान निर्माण गरेर शुद्ध किसिमको पुँजीवादी जनवादी सरकार स्थापना गर्ने दिशामा अगाडि बढ्नुपर्दछ ।
५) साम्राज्यवादी तथा विस्तारवादीहरुले आफ्ना पुराना दलालहरुलाई परिवर्तन गरेर नयाँ दलालहरुलाई नेपालमा स्थापित गर्न खोजका छन् भनेर तपाईहरुले बोलेको सुनिन्छ किन त्यसो भन्नु भएको हो ?
–साम्राज्यवाद तथा विस्तारवादका पुरानो दलालहरु, जसले सत्ताको आडमा जनतामाथ थिचोमिचो र राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता माथि आँच पु¥याउँदै आएर आम रुपमा बदनाम भैसकेका छन् । भ्रष्टाचारमा लिप्त भएर झनै नांगिइसकेका छन् । त्यसकारण साम्राज्यवादले यति धेरै ननांगिइसकेका नयाँ दलालहरुलाई स्थापित गर्ने सत्तासीन गराउने योजनाका साथ जेनजी आन्दोलन, नयाँ कठपुतली सरकारको गठन र मध्यावधि जस्तै २०८२ फागुन २१ गतेको संसदीय निर्वाचनसम्म आइपुगेका छन् । यो सबै बदनाम पुराना दलाललाई मिल्काएर नयाँ दलाललाई सत्तासिन गराएर आफ्नो स्वार्थसिद्ध गर्न यो सब गरिरहेका छन् साम्राज्यवादीहरुले । त्यसैले हामी यो भन्दैछौं ।
६) साम्राज्यवादीहरुले जेनजी विद्रोह गराए भन्नुभयो त्यो विद्रोहको आधार सत्तासीन पार्टीहरु जस्तै कांग्रेस, एमाले, माके लगायतको राष्ट्रघात कुशासन, भ्रष्टाचार नै मुख्य जिम्मेवार छ भन्ने आम जनताको बुझाई छ नि ?
–जेनजी विद्रोह भन्दा पनि साम्राज्यवादका पुराना दलालहरु कुशासनका कारण जनतामा बदनाम भैसकेकोले नयाँ दलाल स्थापित गर्नका लागि जेनजीको नाममा साम्राज्यवादले घटाएको घटना हो । त्यो योजना ध्वंश गर्ने नियतिका साथ बनाइएको थियो । त्यो जेनजीले घटाएको घटनामा अज्ञानताबस केही युवाहरु सुशासनको निम्तिको संघर्ष भन्ने भ्रमले हाम फाले ज्यान गुमाए साम्राज्यवादीको फरक उद्देश्य र योजनामा त्यो विध्वंशकारी परिघटना भयो विना उपलब्धी ठूलो धनजनको क्षति मात्र भएन राष्ट्रिय सम्पदा नै खरानी बनाइयो । यो संसदीय राज्य व्यवस्था, यसका हिमायती संसदीय राजनीतिक पार्टीका राष्ट्र र जनविरोधी क्रियाकलाप पनि यो जेनजी आन्दोलन हुनु एउटा कारण त हो फेरि ।
७ ) आफूलाई क्रान्तिकारी बताउने पार्टीहरुले नयाँ पुस्ताको भावनालाई बुझ्न नसकेको, उनीहरुलाई आफ्नो सिद्धान्त प्रति आकर्षित गर्न नसकेको, बदलिएको परिस्थिति अनुसार नीति कार्यक्रम तय गर्न नसकेको जस्ता गुनासा वा आरोप तपाईहरु माथि पनि त छ नि ?
–यो मुलुकमा मालेमावादी मार्गनिर्देशक सिद्धान्तमा आधारित, आमूल परिवर्तनको पक्षमा सही क्रान्तिकारी विचार सिद्धान्तको रक्षा र विकासको निम्ति दृढ संकल्पित राजनीतिक पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नै हो । यो पार्टीले भ्रमवस विभिन्न पार्टी र पार्टीमा अल्मलिएर रहेका क्रान्तिकारी शक्तिहरुलाई एकीकरण ध्रुवीकरणको प्रक्रियाबाट एकताबद्ध बनाउँदै आएको छ । यो पार्टी जनताका जल्दाबल्दा समस्या र राष्ट्रिय स्वाधीनताका मुद्दा उठाउँदै विभिन्न संघर्षमा जुटिरहेकै छ । तर कुरा के छ भने नेपालको मात्र कुरा होइन विश्वस्तरमै क्रान्तिकारी घेराबन्दीमा छन् । भए गरेका कामले प्रचार पाइरहेका छैनन् । त्यो हुनु गर्नुका धेरै कारणहरु छन् । तर पनि हामी अलि व्यापकतामा जनता कार्यकर्ता माझ पुगेर पार्टीका विचार योजना पु¥याउन नसकेको कुरा हामीले स्वीकार्नै पर्छ । अर्कोतिर राष्ट्र र जनताको बारेमा चिन्ता गर्ने सचेत युवापंक्ति, सबै खाले क्षमता प्रतिभा विदेश पलायन भैरहेको स्थिति पनि जिम्मेवार छ । बदलिएको परिस्थिति अनुसार पार्टीले नीति, कार्यक्रम तर्जुमा गर्न नसकेको भन्ने होइन । कार्यान्वयनमा केही समस्या त छन् ।
८) अब फरक प्रशंगमा कुरा गरौं , तपाई तनहुँमा जन्मिएको व्यक्ति, कसरी कम्युनिस्ट आन्दोलनप्रति आकर्षित र आबद्ध हुनुभयो ?
–म जन्मिएको त स्याङ्जा जिल्लामा हो । २०३२ सालमा त्यो भूगोल तनहुँ जिल्लामा गाभियो । मेरो पुर्खा नै वैष्णव धर्माबलम्वी, पण्डित खलक, सम्पन्न परिवार नै भन्नुपर्छ, मलाई पण्डित बनाउन ९ वर्ष कै उमेरमा भारतको मथुरा वृन्दावन पठाइयो ।
त्यहाँका मठमन्दिर र सडकका पेटीमा फ्याँकिएका, कसैले दया गरेर केही दिएर मागेर एकमुठी सास धानेका हजारौं मानिस कथा व्यथाले मलाई पिरल्यो । मानव मानव बीच यत्रो विभेद किन ? यो प्रश्नले मलाई धेरै सोच्न बाध्य बनायो । अध्ययन गर्दै, झनै गहिरिंदै जाँदा म एकाएक माक्र्सवादी चिन्तन र वामपन्थी प्रगतिशील विचारमा आकर्षित भएँ । भारतमा नेपाली छात्र संगठन थियो । म संगठित भए प्रगतिशील विद्यार्थीको भूमिकामा रहेर काम गरे । यो २०२० सालको कुरा हो, स्कूल जीवनकालमा विद्यालयको स्ववियु, काठमाडौंमा गण्डकी विद्यार्थी परिषद्, स्याङ्जाली विद्यार्थी परिषद समेत संगठित भएर काम गर्दै आएर एसएलसी पछि शिक्षक भैसकेपछि २०२९ सालमा पार्टी सदस्यता प्राप्त गरी नेकपा माक्र्सवादी (क. पुष्पलाल समूह) मा संगठित भएर अहिले आजका मितिसम्म निरन्तर पार्टी काममै खटिरहेको डटिरहेको छु ।
९) सिन्धुलीमा कृषि विकास बैंकको जागिरे जीवनलाई छाडेर के कति कारणले पार्टी राजनीतिमा लाग्नुभयो ?
–जागिरको कुरा गर्दा म २०२८–०३० प्रा.वि. अस्थायी शिक्षक, २०३०–०३ शक्तिमावि स्थायी शिक्षक, २०३२–०३४ कृषि विकास बैंकको सहकारी व्यवस्थापक (का.स.), २०३४–२०३६ कृषि विकास बैंकको लेखापाल, बीचबीचमा प्रशाखा प्रबन्धक, २०३६–०३९ कर्मचारी संचय कोषको असिस्टेन्ट खरिदार का.मु हेड असिस्टेन्ट (ना.सु), २०३९–२०४१ निमावि शिक्षक, २०४१–०५ र माध्यमिक विद्यालय शिक्षक बीचबीचमा छिटफुट माविको प्रधानाध्यापक, यी सबै जागिर नेपाली क्रान्ति, कम्युनिस्ट आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएकाले हात धुनु परेको थियो । सिन्धुलीको प्रशंग आयो, म कार्यरत कृषि विकास बैंकको कार्यालय काभ्रे र सिन्धुली जिल्लाको सिमानामा थियो, त्यो कार्यालयले काभ्रे र सिन्धुली दुवै जिल्लाका केही भूगोल हेथ्र्यो । त्यतिबेला मेरो संगत वामपन्थी प्रगतिशीलहरु संगै हुन्थ्यो । म नेकपा (माक्र्सवादीको पार्टी इलाका सदस्य थिएँ । क. असारे काकासँग भेट भयो र राजनीतिक छलफलको क्रममा नेपाली कम्युनिस्ट आन्दोलनबारे धेरै स्पष्ट भएर नेकपा माक्र्सवादीबाट नेकपा (चौथो) महाधिवेशनमा प्रवेश लगत्तै आफ्नो गृहजिल्ला तनहुँ आएर धेरै माक्र्सवादी कमरेडहरुलाई चौथो महाधिवेशन मै संगठित गरेर संगठन विस्तारमा लागि परेको थिएँ ।
१०) तनहुँ छाडेर तपाईको परिवार नवलपुर आउनुको पनि त कथा होला नि ?
– म तनहुँबाट नवलपुर आउनु पर्नाका कारणहरु धेरै छन् । मेरो तनहुँ छाड्ने कतै बसाई सर्ने सोंच होइन । २०५३ वैशाख १९ गते विहान ४.०० बजे प्रहरी इन्सपेक्टरको नेतृत्वमा मेरो घर घेरा हालेर बुढी आमालाई हप्कीदप्की, भाइबुहारीलाई अपशब्दले गाली गलोज भाईका नाबालक छोरालाई फकाई फुलाई “ठूलो बुबा कहाँ छन् कता सुत्छन् ? सोधपुछ र मेरी श्रीमतीलाई मरणासन्न हुने गरी लछारपछार कुटपिट गरेर ढोकाहरु फोड्ने, आँटीमा धान कोशका भकारी खोलेर सबै मुछिदिने र थुप्रै कितावहरु मेरा नोट बोरामा पोको पारेर लैजाने काम गरे । मेरो फुपुको छोरा भानिज भाई कृषि विकास बैंकको अधिकृत हुनुहुन्थ्यो । नवलपुरको कावासोती सुकुम्बासी वस्तीमा १ विगाह जमिन लिएर बस्नु भएको थियो । त्यो खबरले विक्षिप्त भएर भेट्न बोलाउन तनहुँ किइँमा मेरो घरमा जानुभएछ । मेरो श्रीमतिले “अहिले बाँचियो, यहाँ मलाई मार्छन्, तपाईको दाई कता हो कता ? तपाई गएको ठाउँमा मलाई पनि लिएर हिंड्नु” भनेपछि भानिज भाई बासुदेव तिमिल्सनाले संगै लिएर जानु भयो ।
– यहाँको १ विगाह जमिन आधा आधा बाँडेर बस्ने निधो गरी चारजना नाबालक केटाकेटी बोकेर २०५३ वैशाखको अन्त अन्ततिर नबलपुर कावासोतीको सुकुम्बासी बस्तीमा बसोबास गर्न पुगे । त्यतिबेला नेकपा (माओवादी) पार्टीको स्याङ्जा जिल्ला सचिव थिए । अहिले जस्ता फोन थिएन । मैले धेर पछि थाहा पाएर रातविरातमा त्यो स्थानमा पुगेर बालबच्चासँग भेट गरेको हो ।
११) २०६९ सालमा प्रचण्डले नेतृत्व गरेको पार्टीबाट विद्रोह गर्नु विप्लव, बादलहरुबाट बहिर्गमनका सन्दर्भलाई संक्षिप्तमा स्पष्ट गरिदिनुन ?
–महान जनयुद्ध नेपाली नयाँ जनवादी क्रान्ति हाँकिरहेको, वैकल्पिक जनसत्ता, जनमुक्ति सेना, आधार इलाका निर्माण, त्यहाँ सानातिना उद्योगको स्थापना,जनवादी शिक्षाका स्कूलहरु, जनकम्युन, जनसहकारी, न्यायलयहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र बल साँगुरो घेराभित्र कैद भएर ठूला शहर, सदरमुकाममा केन्द्रित थियो, बाँकी ग्रामिण इलाका ८० प्रतिशत भूभाग माओवादीको कब्जामा आम रुपमा नेपाली जनताको साथ र समर्थन, स्थानीय सत्ता सर्लक्कै कब्जा गरेर केन्द्रीय सत्ता कब्जाको योजनामा अगाडि बढ्दै गर्दा पार्टीको मुख्य नेतृत्व पार्टी अध्यक्ष जनमुक्ति सेनाका सुप्रिम कमाण्डर प्रचण्डले उक्त सबै उपलब्धी समाप्त पारेर योजनाबद्ध ढंगले संसदवादमा हाम फालिसकेपछि क. किरणको नेतृत्वको टिमले सच्चाउनु सकिन्छ कि भनेर एउटै पार्टीमा विचार समूह बनाएर पार्टी गतिविधि विचारको मन्थन ग¥यौं तर उहाँहरु प्रचण्डको समूह निक्लनै नसक्ने ससदीय आहालमा डुबुल्की मारिसकेपछि २०६९ असार २–४ सम्म राष्ट्रिय भेला गरी प्रचण्ड समूहसँग विद्रोह गरी ने.क.पा.– माओवादी पार्टी पुनर्गठन गरी संगठन निर्माण र संघर्षको सेटमा अगाडि बढेको हो । उहाँहरु आर्थिक केन्द्रित हुने भएर उहाँहरु क्यास माओवादी, हामी ड्यास माओवादी भएर स्थापित हुन पुगेका थियौं । त्यस बखत साँगठनिक आधार त बराबरी जस्तै हो, विचार सिद्धान्तमा हामी क. किरणको पार्टी धेरै उचाईमा थियौं । हामीले क्रान्तिकारी धारालाई मजबुत बनाउँदै लैजाँदा साम्राज्यवादी, विस्तारवादी, घरेलु प्रतिक्रियावादी र सबैखाले दक्षिणपन्थी अवसरवादीलाई ज्वरो आयो, टाउको दुख्यो र क्रान्तिकारी विचार, क्रान्तिकारी पार्टीलाई घेराबन्दी गर्ने कमजोर बनाउने नियतिका साथ कहिले नेत्रविक्रम चन्द कहिले राम ब. थापा, देव गुरुङहरुलाई हाम्रो पार्टीबाट बहिगर्मन गराउने क्रम चल्यो । तर हामी विचलित नभैकन ने.क.पा.(एकीकृत) परी थापा, रामसिं श्रीस, पछि आएर नेकपा (बहुमत), नेकपा (मशाल) सँग पार्टी एकता क्रान्तिकारी ध्रुवीकरण गर्दै अगाडि बढिरहेका छौं । पछिल्लो समयमा सोही नियतिका साथ धमेन्द्र बास्तोला अन्य केही व्यक्तिहरुलाई पनि हाम्रो पार्टीबाट अलग्याउने काम भैरहेको छ ।
१२) तीनवटा पार्टीको एकीकरणबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन भएको छ, यसले विस्तारै आफ्नो गतिविधिहरु अगाडि बढाइरहेको देखिन्छ, तपाई एउटा पुरानो र पाको कम्युनिस्ट नेताको हैसियतले यो एकता रक्षा र विकास गर्दै नेपाली क्रान्तिकारी आन्दोलनलाई ध्रुवीकृत गरेर लैजान आगामी दिनमा के के गर्नुपर्छ ? भन्ने ठान्नुहुन्छ ?
–यो प्रशंगमाथि कैयौं सन्दर्भमा जोडिइसकेको पनि छ । फेरि पनि यस प्रसंगमा केन्द्रित हुनुपर्दा हामी तीनवटा अलि अगाडि बढेर एउटा पार्टीका रुपमा एकतावद्ध गरेर आएका छौं । यसबाट देशी विदेशी प्रतिक्रियावादीहरुलाई ठूलो चुनौती भएको छ । हामी थोरै कहाँ केमा अल्झिएका त छैनांै ? हाम्रो एकता प्रक्रियाका कैयौं सांगठनिक काम अझै बाँकी छन् र विचार, सिद्धान्त, नीति, योजनामा हामी एक ठाउँमा आइनै सक्यौं तर कही कतै अलि अलि भावनात्मक एकता भैसकेको छैन कि । पहिला त हामीले यो कार्यभार पूरा गर्नुपर्छ, छन् त प्रक्रियामै छौं । पूरा गर्छौं, गर्नुपर्छ । धेरै क्रान्तिकारी पंक्ति संशोधनवादी, दक्षिणपन्थी अवसरवादी, संसदवादी शक्तिले छरेको भ्रममा छन् । ती भ्रमित क्रान्तिकारी पंक्तिसँग हामीले पहुँच पु¥याएर संसदबाट आफैमा बदनाम, नांगिइसकेको त छ , अझ यो भ्रमलाई क्रान्तिकारी विचार सिद्धान्तबाट प्रशिक्षित गर्दै क्रान्तिकारी ध्रुवीकरणको प्रक्रियामा सशक्त ढंगले लाग्नु पर्दछ ।
विश्वस्तरमै मानव समाज एक अर्काका विरोधी दुई वर्गमा विभाजित छ, अर्थात् यो मानव समाज दुई वर्गमा विभाजित छ । राजनीतिक पार्टी वर्गको नेतृत्व प्रतिनिधित्व गर्ने संगठित शक्ति हो । सिंगो संसारमा वर्ग दुई वटा मात्र छन् । त्यसरी नै राजनीतिक पार्टी पनि दुई वटा हुन्छन् । एउटा गरिखाने आफ्नै पसिनामा बाँच्ने श्रमजीवीवर्ग र अर्को बसी खाने अर्काको पसिनामा बाँच्ने काम चोर वर्ग । यसरी हेर्दा सैद्धान्तिक तथा राजनीतिक हिसावले श्रमजीवी वर्गको एउटा पार्टी र श्रमचोर वर्गको अर्को पार्टी हुन्छ । साम्राज्यवादी, विस्तारवादी । देशी विदेशी प्रतिक्रियावादी दक्षिणपन्थी अवसरवादी संसदवादीहरुको एउटा पार्टी र आमूल परिवर्तनका पक्षधर क्रान्तिकारी विचार, सिद्धान्त अंगाल्ने अर्को पार्टी हुन्छ । नेपालमा सबै हिसावले संसदवादीहरुको एउटा र संसदवाद विरोधीहरुको एउटा पार्टी हुन्छ । हामी वर्गीय दृष्टिकोणमा स्पष्ट भएर वर्गसंघर्षका माध्यमबाट मात्र वर्गीय मुक्ति सम्भव छ । राष्ट्रिय स्वाधीनता तथा जनतन्त्र जनजीविकाको सुनिश्चितता वर्गीय मुक्ति आन्दोलनबाट मात्र सम्भव छ । हामीले यही वास्तविकता जनताको बीचमा लैजानु र जनतालाई सचेत प्रयत्नद्वारा क्रान्तिकारी धारामा समेट्दै जानुपर्छ । हाम्रो अर्थात् किसान, मजदुर, सुकुम्बासी सर्वहारावर्ग र राष्ट्रिय स्वाधीनताका पक्षपातीहरुको जीत सुनिश्चित छ ।
१३) अन्तमा हाँक साप्ताहिक पत्रिका मार्फत् थप भन्न केही छ कि ?
–हाँक साप्ताहिक पत्रिकाबारे कुरा गर्नुपर्दा सबभन्दा पहिला त यो पत्रिकाका व्यवस्थापन र प्रकाशन टिमलाई हृदयदेखि नै हार्दिक धन्यवाद दिन चाहान्छु । जुन ढंगले यो पत्रिका ठूलो मेहनतका साथ निरन्तरता दिनु सफल हुनु भएको छ, क्रान्तिकारी विचार आम पाठकमा सम्प्रेषण गर्नु भएको छ यो ठूलो कुरा हो ।
म मेरो आदरणीय दाजु शक्ति लम्सालसँगसँगै स्कूल जीवनदेखि नै लामो समय पत्रकारिता क्षेत्रमा काम गरेको छु ।योजना साप्ताहिक, जनादेश साप्ताहिक, छानवीन साप्ताहिक, वर्गदृष्टि साप्ताहिक पत्रिका र कैयौं मासिक, अर्धवार्षिक, वार्षिक पत्रिका र बुलेटिन समेतमा कही न कहीं कुनै न कुनै भूमिकामा जोडिंदै आएको व्यक्ति हुँ म । त्यसैले पत्रिका चलाउन कति गाह्रो कुरा हो ? भन्ने कुरामा म अनभिज्ञ छैन । अहिले हाँक साप्ताहिकसँग पनि मलाई जोड्नु भएको छ, म धन्यवाद दिन चाहान्छु । यहाँहरुको टिमले गर्नुभएको मेहनत सह्रानीय छ । यो पत्रिकामा प्रकाशित लेख, रचना, समाचारले धेरै विषयमा पाठकहरुलाई सुसुचित गरेको र नेपाली नयाँ जनवादी क्रान्ति, कम्युनिस्ट आन्दोलनमा धेरै टेवा पु¥याईरहेको छ । अन्तमा अझ स्तरोन्नति सहित यो हाँक साप्ताहिक पत्रिका नेता, कार्यकर्ता, आम जनता, अन्तर्राष्ट्रिय स्तरमा समेत पुग्न पु¥याउन सफल हुनु हुनेछ, यही शुभकामना दिन चाहन्छु ।
साभारः २०८२ फागुन ३ गते हाँक टुडे अनलाइनमा प्रकाशित यो अन्तरवार्ता निर्वाचन बहिष्कारका सन्दर्भ र अन्य विषयहरुमा समसामयिक लागेकोले व्यापक पाठकहरुबीच लैजाने उद्येश्यले यहाँ साभार गरिएको छ । सम्पादक





























