विषय परिचय ः
हामीले अनुसरण गर्दै आएका संस्कृति, महिला र पितृसत्ता एक अर्कामा अन्तरसम्बन्धित विषयहरू हुन् । संस्कृतिसँग महिलाहरू प्रत्यक्ष जोडिएका हुन्छन् भने पितृसत्ताबाट महिला नै बढी पीडित भएको पाइन्छ । मानवले जीवन जिउने क्रममा अपनाइएका गतिविधिमा जुन वर्गको अधिपत्य छ, संस्कार र संस्कृति पनि सोही अनुरुप स्थापित हुँदै जाने गर्छ । संस्कृति निर्माणमा परिवार, समाज, शिक्षा, राज्य व्यवस्था र आर्थिक अवस्थाको भूमिका महत्वपूर्ण रहन्छ । हरेक जाति, क्षेत्र, वर्ग र समुदायमा आ–आफ्नै पहिचान, क्षमता र मान्यता अनुरुपको संस्कृति स्थापित भएको हुन्छ । एक जातिको संस्कृति अर्को जातिसँग नमिल्न सक्छ । फरक फरक भूगोलको संस्कृति पनि फरक फरक नै हुने गर्छ तर समग्रमा नेपालमा स्थापित संस्कृति पितृसत्तात्मक सोच र संरचनाले प्रभावित छ । पितृसत्तात्मक सोच र व्यवहारबाट विशेषतः महिला नै बढी पीडित हुने भएकाले यस अवधारणापत्रमा नेपाली महिला, पितृसत्ता र संस्कृतिको विषयमा केन्द्रित रर केही छोटो चर्चा गर्ने जमर्को गरिएको छ ।
क) महिला
जैविक रूपमा पुरुषको तुलनामा केही कमजोर तर मनोवैज्ञानिक रुपमा निकै कमजोर, असाहाय र निरीह जातिको रुपमा पहिचान पाएको वर्गमा नेपाली महिला पर्दछ । जैविक रूपमा भन्नाले महिलाको शारिरीक बनोट र विकास पुरुषको भन्दा भिन्न हुन्छ । गर्भधारण गर्ने जिम्मेदारी पनि प्रकृतिले महिलालाई नै सुम्पेको छ । यसर्थ परिवारमा महिला र पुरुषको भूमिका भिन्नाभिन्नै हुनु स्वभाविक नै हो तर यसैलाई आधार बनाएर महिलामाथि गरिने भेदभाव र हेलाँ–होचो भने हामीभन्दा अघिल्लो पुस्तासम्म असैह्य नै थियो । महिलामाथि गरिने कहालिलाग्दा अत्याचार र अपराधहरूलाई वर्तमान कानुनले रोक्ने प्रयास गरे तापनि हाम्रा कतिपय संस्कृतिभित्र प्रत्यक्ष अप्रत्यक्ष रूपमा अन्तरघुलित भएर रहेका महिला विरोधी मान्यताहरूले अझै पनि डस्न छाडेका छैनन् । जुन कुरा महिलाहरूले पत्तै नपाई सहर्ष स्वीकार गरिररहेको पाइन्छ र महिलालाई कमजोर बनाउने तत्वलाई महिलाहरूले नै मल जल गर्ने र संरक्षण गर्ने मुख्य भूमिका पनि निभाइरहेका हुन्छन् । उदाहरणको रूपमा श्रीमानलाई परमेश्वर मान्ने, पुजा गर्ने, उनको नाममा तिर्थ–ब्रत गर्ने, उनीविना आफ्नो अस्तित्व नै नरहने कुरालाई मान्यता दिने जस्ता सोचलाई लिन सकिन्छ । हाम्रो संस्कृतिले छोरीहरूले जन्मदेखि नै तिरस्कार खेप्न पर्नुको मुख्य कारण छोरालाई मात्र वंशको आधार बनाउने र पुरुषलाई पुज्ने परम्परा र संस्कृतिले नै हो । छोराछोरी बराबरी गर्ने संस्कृति भएको भए महिलामाथिको हिंसा पक्कै कम हुँदो हो । तर पुरुष हावी भएर बनाएका सामाजिक नियम र मान्यताहरूमा पुरुषले महिलालाई दासीको रूपमा स्थान दिए चने आफू मालिक जस्तो हुने परम्परा बसाइए । जुन सामाजिक नियम र परम्परालाई आजसम्म महिलाहरूले पनि सकिनसकी घिसारिरहेका छन् । जसका कारण कति महिलाहरूले अकालमा ज्यान गुमाए त्यसको लेखाजोखा इतिहासमा कहिँ कतै भेटिँदैन । महिलालाई वस्तु ठान्ने पितृसत्ताको रजगजमा महिला हिंसाको तथ्याङ्क भेट्ने कुरा पनि भएन । अझै पनि महिलाको जन्म र मृत्युको प्राधिकार पितृसत्ताले निर्धारण गरिरहेछ । छोरी भए गर्भमै तुहिनु पर्ने र वंश धान्ने छोरा भए जन्मन पाउने सामाजिक प्रावधान कायम नै छ ।
छोरा वा छोरी जन्मनका लागि गर्भाधारणको प्रक्रिया उही, जन्मको प्रक्रिया उही, बिबाहपछि बस्ने बास उहीँ, खाने गाँस उही, दुःख सुख उही तर श्रीमान् उच्च र श्रीमती तुच्छ हुनै सक्दैन र पनि हाम्रा संस्कृतिमा महिला र पुरुषमा उँच र निचको विभेदपूर्ण सोचको मुकुट भिराइएको छ । छोरीहरू सांस्कारिक र सभ्य बनाउन त्यही पितृसत्तात्मक सोचको मुकुटलाई ‘छोरीको शोभा’ ठानिन्छ र “सहु सहु नानी सहनै नसके पनि” भन्दै हुर्काइन्छन् । छोरीहरू सहँदा–सहँदै सिध्याइन्छन् ! सिध्दिने त सिद्धिगए अब पनि त्यसरी नै हुर्काउने वा नहुर्काउने ? निर्णय महिलाकै हातमा छ । सहँदा सहँदै सिद्दिने कि आत्मसम्मानका साथ बाँच्ने त्यो पनि महिलाकै विवेकमा भर पर्छ । महिलाले कमजोर प्राणीको दोषबाट मुक्त हुने हो भने विवेक र विचारलाई पुरातन शैलीबाट मुक्त गर्दै पितृसत्तात्मक सोच त्याग्न अपरिहार्य छ ।
महिलाहरू दमित हुनुको कारण एक मध्ये पराश्रित भएर बाँच्न बाध्य थिए । अघिल्लो पिँढीका प्रायः महिलाको आर्थिक आर्जन हुँदैन थियो । अठार घन्टा काममा खटिने महिलाहरू पैसाको लागि श्रीमानको भर पर्नु पर्ने थियो यसैले पनि हेपिएका थिए तर अहिले आर्थिक रूपमा महिलाहरू पनि आत्मनिर्भर बन्दै गएको अवस्था छ र आत्मनिर्णयको क्षमता पनि वृद्धि भएको अवस्था छ । राष्ट्रिय जनगणना २०७८ अनुसार महिला साक्षरता दर ६९.४ प्रतिशत छ । यो शिक्षित पुस्ताले अन्धविश्वास र महिलामाथि हुने हरेक विभेदको खुलेर प्रतिवाद गर्ने आँट गरेमा आगामी दिनमा महिलाहरूले पनि साँच्चै समान अधिकार र सम्मानजनक जीवन बाँच्न पाउने कुरामा आशा गर्न सकिन्छ तर यो पुस्तामा पनि संस्कृतिका नाममा अधिक महिलाहरू देखासिकीमा हिँडिरहेको दृष्यले आशालाई धमिल्याइ रहेको खतरा पनि छ ।
ख) पितृसत्ता
घर, परिवार वा राज्य सञ्चालन प्रक्रियामा पुरुषको अधिपत्य भएको सत्ता पितृसत्ता हो । पितृसत्तामा पुरुष मान्य र महिला अमान्य हुन्छ । पुरुषलाई केन्द्रमा राखेर बनाइएका नीति नियम, रहनसहन, शिक्षा संस्कृति भएको समाज पितृसत्तात्मक समाज हो । जसको आर्थिक आधार पुरुषमा निहित हुन्छ । त्यहाँको धार्मिक, सांस्कृतिक र व्यावहारिक सबै क्रियाकलापमा पुरुष सर्वश्रेष्ठ भनेर बुझाइएको हुन्छ भने महिलालाई पुरुषको अधीनमा राखिनु पर्ने मान्यतालाई आत्मसात गरिएको हुन्छ । पुरुषबिनाका महिला असहाय ठानिन्छ र हरेक ठाउँमा पुरुष नै प्राथमिकतामा राखिएको हुन्छ ।
नेपाली समाज पनि हालसम्म पितृसत्तात्मक मूल्य मान्यतामा आधारित जीवनशैलीलाई अङ्गिकार गरिरहेको समाज हो । जन्मदेखि मृत्युसम्म पुरुषलाई अघि र महिलालाई पछि अर्थात् पिछलग्गु वस्तु मानिँदै आएको समाज हो । महिलाका इच्छा, आकांक्षा, समस्या, विचार आदिको स्थान शून्य बनाइएको समाज हो । पुरुषलाई सर्वस्व ठान्ने र आफूलाई निकम्मा मान्ने चेतना बोकेर हिँडिरहेका महिलाहरू यही समाजका उपज हुन् । पितृसत्तात्मक चेतना हरेक जाति, वर्ग र समुदायका महिला वा पुरुष दुवैमा हुन्छ । उदाहरणका लागि टोल समाजमा हुने गरेका समाजिक कामहरूको अध्ययन गर्न सकिन्छ । जुनसुकै टोलमा टोल सुधारका कामहरू भइरहेका हुन्छन् । जहाँ नामावलीमा घरमुली भनेर पुरुषकै नाम राखिएको हुन्छ । महिला उपस्थित हुने र अग्रसर हुने गरेका कामहरूमा पनि पुरुषकै नामको खोजी हुने गरेको पाइन्छ । कुनै पनि निमन्त्रणा पत्र (कार्ड) पुरुषको नाममा आए मात्र पुरुषका लागि स्वीकार्य हुन्छ । महिलाका नाममा चुले निम्ता नै आए पनि पुरुषले सहज रूपमा लिन सकिरहेका हुँदैनन् । कारण हाम्रा संस्कार संस्कृति र मान्यताको प्राथमिकतामा पुरुष नै हुनुपर्छ भन्ने सोच अझै हावी छ । आफू सरह दक्ष नै भए पनि महिलालाई राख्ने स्थानको निर्धारण पितृसत्तात्मक धारणाले गरिरहेको हुन्छ । जुन समानताको सवालमा चुनौतीपूर्ण विषय बनिरहेको छ । हामीले देखिरहेका हुन्छौँ– समानताका लागि आवाज उठाउँदै गर्दा वा कुनै कार्यक्रमहरू गर्दै गर्दा महिलाको सहभागितामा जोड दिइन्छ तर खास प्रशिक्षणको आवश्यकता पुरुषमा देखिन्छ । महिलाको अस्तित्व र स्थान गौण ठान्ने पुरुष प्रशिक्षित गर्न सकेमा महिलालाई गर्ने व्यवहार र हेर्ने नजरमा बदलाव ल्याउन सकिन्छ । अन्यथा महिलालाई घरबाट निस्किने वातावरण नै बन्दैन ।
व्यवहारतः पितृसत्तात्मक चेतनाको संरक्षण महिलाबाट पनि भएको पाइन्छ । हातखुट्टा, मन मस्तिष्क, आँखा कान, मुख, ज्ञान सबै भएका महिलाहरू पनि कतिपयले आफ्नै विवेकले आफ्नो निम्ति चलाउन जान्दैनन् वा चाहँदैनन् र हरेक निर्णयमा परनिर्भर भइरहन्छन् । महिलाहरू आफै अपाङ्गता चाहान्छन् भने अधिकारको कुरा गर्नु पनि बेकार हो । त्यसैले आफ्नो विवेकको सही प्रयोग गर्ने अभ्यास महिलाले गर्न जरुरी हुन्छ । मान्छेले आफू अनुकूलको वातावरण र बाटो आफै बनाउने हो । परिवर्तन चाहनेले आफ्ना सन्ततीमा प्रभाव पर्ने गरि आफैमा सुधार ल्याउन आवश्यक हुन्छ । आफ्ना छोराछोरीलाई के सिकाउने कस्तो बनाउने आफैमा निर्भर रहन्छ । पुरातन सोच बोकिरहने, पितृसत्तात्मक सोचलाई मान्यता दिइरहने, अन्धविश्वास र विकृतिको पछि लागिरहने र त्यही पात्रबाट परिवर्तनको वा अधिकारको कुरा गर्ने हो भने आफ्नै सन्ततीले पनि पत्यउदैनन् । शिक्षित व्यक्तिले सकारात्मक परिणाममा जोड दिनु पर्छ । घर मुली (पुरुष)ले गरेको निर्णयलाई ठिक भए पनि बेठिक भए पनि अन्तिम निर्णय हो भनेर मानिरहने हो भने पुस्तान्तरण हुने शिक्षा पनि त्यही नै हो । पुरुष भनेको पुज्ने जात हो भनेर बालबच्चालाई सिकाइरहने हो भने उनीहरूले पनि त्यसैलाई अनुशरण गर्नु अनौठो हुँदैन त्यसैले हामीले महिलाको जीवनमा सुधार ल्याउने हो भने महिला पुरुष दुबै सुध्रिन आवश्यक छ । पितृसत्ताले दिएको लम्बेतान दुःखको अन्त्यका लागि दुबैले पितृसत्तात्मक सोच त्याग्नु पर्ने हुन्छ ।
महिलाहरूले आफ्नो लागि परिवारको लागि समाजको लागि र राष्ट्रको लागि पनि काम लाग्ने किसिमले आफूसँग भएको विवेकको प्रयोग गर्नुपर्छ । क्षमताको प्रयोग गर्नुपर्छ र पुरुष समान सम्मानित जीवन बाँच्ने प्रयत्न गर्नु पर्दछ । महिला पुरुष दुवैमा एकअर्काप्रति उदार भावना, आदरणीय व्यवहार र सौम्य वातावरण सिर्जना गर्नुपर्छ अन्यथा कि महिला पीडित कि पुरुष पीडित हुनजान्छ । अहिलेको संविधानले महिलाका पक्षमा धेरै राम्रा नीति नियमहरू समेटेको छ तर महिलाले पुरातन सोच र व्यवहारलाई अङ्गाली रहने हो भने कानुनले मात्रै महिलालाई न्याय गर्न सक्दैन । पितृसत्तात्मक सोच उखेल्न सक्दैन ।
ग) संस्कृति
मान्छेले अपनाउँदै आएको भाषा, धर्म, कला, साहित्य, आचारविचार, रहनसहन आदि क्रियाकलाप नै संस्कृति हो । देश काल परिस्थिति अनुरुप लामो समयदेखि कुनै पनि जाति वा समुदायले जीवन यापनका क्रममा परम्परादेखि अपनाउँदै आएका र मान्यता पाएको गतिविधि त्यो जाति वा समुदायको संस्कृति भनेर चिनिन्छ । अध्येताहरूले कुनै पनि जाति, समुदाय वा क्षेत्रको राजनीतिक, सामाजिक, आर्थिक वा शैक्षिक अवस्था कुन कालखण्डमा कस्तो थियो भनेर अध्ययन गर्नु पर्दा त्यहाँको संस्कार संस्कृतिलाई आधार बनाएर अनुसन्धान गर्ने भएकाले मानव सभ्यतामा संस्कृति एक महत्त्वपूर्ण विषय हो । तर अहिले बसाइँसराइ, सञ्चार र यातायातका कारण पहिचानको संस्कृति हराउँदै गएको छ । यौटा जाति समुदाय वा क्षेत्रको संस्कृति अन्य जाति समुदाय वा क्षेत्रकाले पनि मनाउने भएकाले मिश्रित संस्कृतिको निर्माण हुँदै गएको छ । जस्तैः छठ तराईवासीको संस्कृति भनेर चिनिन्थ्यो भने अहिले अन्य क्षेत्र र समुदायले पनि मनाउन थालेका छन् । त्यस्तै केक काट्ने, वेवी सावर गर्ने, हल्दी, मेहन्दी, राखी बाँध्ने जस्ता विदेशी संस्कृति भित्रिन थालेका छन् । यसले अबका दिनमा संस्कृतिले पहिचानको आधार गुमाउँदै जाने सङ्केत गर्दछ । वर्तमानमा संस्कृति परम्परालाई निरन्तरता दिने भन्दा पनि मनोरञ्जनका लागि र देखासिकीमा जस्तोसुकै संस्कृति मान्न थालेको अवस्था छ । यसले झालेमाले र जोकर संस्कृतितर्फ समाज अघि बढिरहेको देखाउँछ । यो संस्कृति होइन विसङ्गति हो । यो विसङ्गतिलाई नत्याग्ने हो भने आगामी पुस्ताले पुर्खाको संस्कृति पुस्तकमा मात्र फेला पार्ने छन् । त्यसो हुनु मानव इतिहासको निम्ति दुःखद् पक्ष हो ।
संस्कृतिमा असमानता हुन्छ विभेद हुन्छ कतिपय अमानवीय अत्याचार पनि हुन्छ । जस्तैः नरवली प्रथा, छुवाछुत प्रथा, सती प्रथा, दास प्रथा, बाल विवाह जस्ता गलत संस्कृतिहरू हाम्रो समाजबाट हटाएको धेरै भएको छैन । यस्ता कुप्रथाहरूलाई कानुनले नै निषेध गरिसकेको छ भने कतिपय संस्कृतिमा अझै पनि महिला विरोधि, निम्न जाति र समुदाय विरोधि मान्यताहरू बाँकी नै छन् । जसलाई परिमार्जन गर्दै उन्नत संस्कृति निर्माणमा जोड दिनु पर्ने आवश्यकता छ । तर अहिलेको पुस्ता देखासिकीको संस्कृतिमा रमाउन थालेकाले संस्कृतिप्रति विशेषतः आमाहरू सचेत हुन जरुरी देखिन्छ । आफ्ना बालबच्चालाई कस्तो संस्कार संस्कृति सिकाउने र कस्तो नागरिक बनाउने भन्ने विषय बाबु आमाको हातमा हुन्छ । समाज अनावश्यक भड्किलो र विसङ्गतिपूर्ण संस्कृतितर्फ उन्मुख हुनुमा महिलाहरूको कमीकमजोरी र अविवेकीपन पनि एक हो ।
पितृसत्ता महिलालाई घरभित्रै सजाएर आफ्नो चाकडीमा कजाउन चाहन्छ । व्यापारीहरू जसरी हुन्छ धेरै बिक्री गरेर धेरै कमाउन चाहन्छन् । पुरोहित वा गुरु महाराजहरू आफू सम्मानकासाथ जिउने सजिलो उपाय खोजिरहन्छन् । यी सबैको चाहना अनुसार महिलाहरू चलिरहेको देखिन्छ । महिलाहरूलाई आ आफ्ना योजनामा यिनीहरूले सजिलै परिचालन गरिरहेका हुन्छन् । उदाहरणको लागि साउनमा हरियो चुरा मात्रै नेपालमा अरबौंको भित्रिन्छ । त्यै अनुरुपमा शृङ्गारका अन्य सामाग्री र लुगाफाटा भित्रिन्छ । यसले व्यापारी मालामाल, हप्तै पिच्छे महिलाले मन्दिरहरू भरिभराउ हुन्छ । अनेक बाबा र गुरुहरू मालामाल र महिलालाई दासी मान्ने पुरुषहरू गदगद बनाएर महिलाहरूले गलत गरिरहेका छन् तर उनीहरू यो मान्न तयार छैनन् किन कि उनीहरूलाई त्यो नै सहि हो भन्ने मीठो भ्रममा विश्वस्त पारिएको छ । प्रथमतः महिलाहरू यो भ्रमबाट मुक्त हुन जरुरी छ र पुरुषले पनि पुजिने संस्कारप्रति गर्व गर्ने होइन नबुझेका श्रीमती छन् भने बुझाउनु पर्छ । म भगवान होइन मान्छे हुँ भनेर सहर्ष स्वीकार गर्नुपर्छ ।
मान्छेलाई गलत खानपान र गलत जीवनशैलीका कारण रोग लाग्छ । रोगको कारण, दुर्घटनाका कारण र बुढ्यौलीका कारण मान्छेको मृत्यु हुन्छ भन्ने सत्यलाई बुझ्न छाडेर पढेलेखेका शिक्षित महिलाहरू पनि श्रीमान निरोगी बनाउन, श्रीमान्को आयु बढाउन या छोराको श्रीवृद्धिका लागि भन्दै जपतप पूजापाठ गरिरहेको हामी पाउँछौँ । त्यसो भए ती महिलाहरूको परिवारमा सङ्कट नै परेको छैन त ? प्रश्न उठ्नु स्वभाविक छ । मान्छेको जीवनमा घटना परिघटनाहरू आउछन् । जसलाई भाग्यसँग जोडेर हैन व्यक्तिको व्यवहार,आचरण र विज्ञानसँग जोडेर हेरियो भने महिलाले अभागी बन्नै पर्दैन वा भाग्य सुधार्न चार चौरास गर्नु नै पर्दैन । तर हाम्रो संस्कृतिले त्यसो भन्दैन यो कोणबाट सिकाउँदैन र त पुरुष पूज्य संस्कृतिलाई अङ्कमाल गर्न सिकाइरहेको हुन्छ ।
पितृसत्तात्मक संस्कृतिले जीवनकालमा मात्र होइन मरेपछि पनि महिलामाथि विभेद गरेको छ । जस्तैः सोह्र श्राद्धमा मृत पुरुषको मात्रै श्राद्ध गरिन्छ । मरेको पुरुषलाई खानु पर्दा महिलालाई पनि त खानु पर्ला ? यो विषयमा प्रश्नहरू धेरै उठ्न थालेपछि पण्डितहरूले आफ्नो काममा पनि बृद्धि हुने र जजमानको चित्त पनि बुझाउन सजिलो हुने ठानेर अहिले मृत महिलाको पनि श्राद्ध गरे हुन्छ भनेर गराउन थालेको पाइन्छ । आउँदा दिनमा महिला पुरुष दुबैको सोह्र श्राद्ध गर्ने संस्कृति बस्न सक्छ । आखिरी कसले बनाउने रहेछ त संस्कृति ? मान्छे आफैले रहेछ । यसैले अहिलेको पुस्ता भनेको शिक्षित पुस्ता हो । के सहि र के गलत छुट्याउन सक्ने पुस्ता हो । कागले कान लग्यो भनेर कानै नछामी कागको पछि दगुर्नु ठिक होइन । संस्कृति र विकृति छुट्याएर सहि संस्कृतिको संरक्षण र गलत संस्कृतिमा परिमार्जन गर्न आवश्यक छ र मनासिब पनि हुन्छ ।
निष्कर्ष
पितृसत्ताले सत्ता, शक्ति र सम्पत्तिबाट महिलालाई वञ्चित गरेर निरीह बनायो । शिक्षाबाट टाढा राखेर अबुझ बनायो र संस्कार संस्कृति मार्फत पितृसत्तात्मक चेतना घुसाएर पुरुषकै हितमा प्रयोग गर्यो । उनीहरूले जे जे भट्याए महिलाहरूले त्यही त्यही पत्याए । खेतीपाती, बस्तुभाउ, बन जङ्गल, घर परिवार सबै धानेर पनि पुरुषको अगाडि निरीह बनिरहे । आफूमाथि जति नै लाठी मुङ्ग्री बजारे पनि उनैलाई देउता मानिरहे । यो नै महिला पीडित हुनुको मूल कारण बन्यो ।
समय बदलिएको छ । समय अनुसार चल्न सिक्नुपर्छ । व्यवस्था बदलिएको छ । व्यवस्था अनुसार आफूलाई बदल्न सक्नुपर्छ, बोल्न सक्नु पर्छ । महिलालाई पुज्ने श्रीमान् हैन बुझ्ने जीवनसाथी चाहिन्छ । धेरै कुरा बदलिसकेको छ, बदलिन बाँकी सोच हो । अन्धविश्वास र कुसंस्कार त्याज्य विषय हुन् त्याग्न सक्नुपर्छ । सन्तानलाई सकारात्मक संस्कृतिप्रति जिम्मेवार बनाउने विकृतिप्रति विकर्षण गराउनु अभिभावकको दायित्व हो, हरेक अभिभावकले आ आफ्नो दायित्व पूरा गर्ने प्रयत्न गर्नु पर्दछ र अभिभावकलाई आदर गर्ने परम्परा सिकाउनु पर्दछ । कसैको हानी नोक्सानी नगर्न र खराब आचरणमा नलाग्न प्रोत्साहित गर्नुपर्दछ । महिला पुरुष बीच समानताको दृष्टिकोण बाल मस्तिष्कमा नै बीजारोपण गर्नु पर्दछ । आफ्ना सन्तानलाई सभ्य र प्रगतिशील समाज निर्माणमा लगाउन सही संस्कृति निर्माणमा ध्यान दिन सकेमा जीवन बद्लिनेछ, परिभाषा बदलिने छ, समाज बद्लिनेछ साथसाथै देश पनि बदलिनेछ ।
(इच्छुक अङ्क १३ बाट)





























