चुनावको नकाब !

चुनावको नकाब !

कविता

भोट हाली जिताएको हित गर्ला भनीकन
साधु मान्छे पठाएको फर्क्यो चोर बनीकन
‘एकपल्ट भयो यस्तै, अब यस्तो हुँदैन कि !’
सम्झेको फेरि भो त्यस्तै, प्रथामै खोट क्यै छ कि !

शङ्काले हेर ए मान्छे, प्रश्नले घेर यो मन
गाँठो सुल्झन पर्नेमा किन बढ्दै छ उल्झन ?
खेतबारी बसे बाँझा, छैनन् उद्योग, टाक्सिए
युवा पर्देसिनु हाम्रै भोटका नतिजा थिए !

नेताको फुर्सतै छैन, हमेशा व्यभिचार छ
सर्वको सम्पतिलाई निजी पार्न हतार छ
चुनिएर गएकाले हामीलाई सधैँ छले
हाम्रो जीवन फेरिन्न यस्तो जाबो चुनावले

दुवै कान दुखेका छन् झूटैझूट सुनी सुनी
आउँछन् भोटका बेला मात्रै निकृष्ट बैगुनी
असत्य झाङ्गिदै जान्छ, निष्ठाघाती सराब छ
सत्य बाहिर पारिन्छ, यो व्यवस्थै खराब छ

सदाचार गलाएर भ्रष्टाचार फलाउँछ
छ्या ! यो दुर्गन्धको सत्ता ! सम्झ्यो कि उक्क आउँछ !
धूर्तले स्वादले खाने, सद्देले कोक्किने रछ
भोटले पार लाग्दैन, यो व्यवस्थै खराब छ ।

कस्का दलालले जित्ने हार्ने कस्का दलालले
नेताजी भनिएका नै नाङ्गै दलालीमा चले
पदको भागबन्डामा तर्कहत्या हुँदै गयो
सत्यले दिक्क मानेर धिक्कारेर रुँदै गयो ।

ठगिखाने प्रथामाथि विषादि कालको छरौं
सुल्झिने क्रान्तिले नै हो, बाँकी क्रान्ति पूरा गरौं
रोजी सिर्जनको बाटो सुव्यवस्था खडा गरी
श्रमसम्मानले जागौं कर्ममैदानमा झरी !