पुरानो घाउहरू बोल्छन्
समयले फेरि एकपटक
तिनै पाटाहरू खोल्छ
के थियो ? के छैन ?
किन परिवर्तन चाहिन्छ
यी सबै प्रश्नहरू
इतिहासले नै सोध्छ ।
सकार जन्मिन्छ
नकारको अन्धकार चिर्ने प्रयत्नबाट
नकार पनि उठ्छ
सकारको सीमाको भित्ताभित्रैबाट
यी दुबै अन्तरविरोधहरू
जस्तो दिन र रात,
जस्तो माटो र अंकुर
एक–अर्काभित्रै आफ्नै कारण बोकेर बाँच्दछन् ।
निषेध हुन्छ
जुन पुरानो जर्जर
समयको चालसँग मेल नखाने
असमानताहरूको विरुद्ध
निषेधको त्यो चोटैभित्र
फेरि एक नयाँ अंकुर हुन्छ
फेरि जीवन,
फेरि सम्भावना,
फेरि उभार ।
यसरी
सकार चढ़्दै–चढ़्दै
नकारको भित्ताभित्र छिर्छ
फेरि नकार भत्कँदै
नयाँ सकार जन्माउँछ
स्पाइरल जस्तै,
उकालो जस्तै,
धेरै चोटि फर्किए पनि
उही ठाउँमा कहिल्यै नअडिने
उन्नतिको यात्रा ।
समाज पनि यसरी नै
इतिहासको नाड़ीमा धड्किन्छ
पुरानो व्यवस्था
नकारिन्छ,
नयाँ स्वरुप
सकारिन्छ,
फेरि त्यो नयाँ नै
कुनै दिन पुरानो भएर
फेरि नकारिन्छ ।
यही हो
द्वन्द्वको सौन्दर्य,
परिवर्तनको ज्वाला,
मानव इतिहासको गहिरो बाटो
सकार र नकार
एकअर्काका शत्रु होइनन्,
उही एकै प्रक्रियाका
दुई धड्कन,
जसबाट
निषेधको निषेध
नयाँ बिहानको सूत्र बन्छ ।




























