परिवर्तनमा बौद्धिक वर्गको दायित्व

परिवर्तनमा बौद्धिक वर्गको दायित्व

बौद्धिक वर्गले सामाजिक सन्दर्भमा नयाँ चेतना या दृष्टिकोण सिर्जना गरी पुरानामा नयाँको आधार निर्माण गर्छन्

बौद्धिक या प्राज्ञिक हुनु र शिक्षित हुनु फरक विषय हो । शिक्षित व्यक्तिले निश्चित पाठ्यक्रमका दायरामा रहेर ज्ञानको विस्तार गर्छ । शिक्षित व्यक्तिको प्राथमिकता पाठ्यक्रममा मात्र सीमित हुनुहुँदैन । उसको भूमिका या व्याख्या समाजमा कसैका लागि सामान्य र कसैका लागि बौद्धिक आधार हुन सक्छ । बौद्धिक या प्राज्ञिक व्यक्ति भने आफ्नो विद्वता समाजका विशेष मुद्दामा केन्द्रित गर्दै आलोचनात्मक नयाँ दृष्टिकोण दिन उद्यत हुन्छ । शिक्षित व्यक्ति व्याख्यामा सीमित हुन्छ । तर, प्राज्ञिक व्यक्तिले आलोचनात्मक सोचको दक्षता विकास गर्छ । बौद्धिक व्यक्तिको दक्षता संकटका वेलामै बोध हुने गर्छ । प्राज्ञिक व्यक्तिले कार्यकारण र आलोचनात्मक चिन्तनको आफ्नो दक्षता उपयोग गर्दै जटिल परिस्थिति र अवधारणासहित सूत्रबद्ध गर्ने विशेष सोच विकास गर्छ । शिक्षित शब्दको प्रयोग मापनीय परीक्षणका व्याख्यामा सीमित हुन्छ भने प्राज्ञिकता एउटा दृष्टिकोण र विमर्शको तरिका हो । यसमा व्यक्तिलाई दक्षतासहित विश्वदृष्टिकोणको अवधारणा बोध गर्न सहज हुन्छ । अर्थात्, शिक्षित शब्द मापनीय आधारमा बोध गरिन्छ भने बौद्धिकता संसारको वास्तविकता बोध गराउने सन्दर्भमा आएको हुन्छ । उसको वैचारिकता र परिस्थितिको व्याख्या उल्लेख्य र मार्गदर्शक हुन्छ । समाजको पठन या ज्ञानको खानी नै प्राज्ञिकताको दक्षताको आधार हो र यो शैक्षणिक या सिकाइ प्रक्रियाबाट प्रदत्त हुन्छ । यसले व्यक्तिको बौद्धिक उचाइ र प्रतिनिधित्वलाई देखाएको हुन्छ । बौद्धिक या प्राज्ञिक व्यक्ति समाजको निष्क्रिय उपभोक्ता होइन, बरु वर्ग अन्तर्विरोध र यसका विषयमा सधैँ वकालत गर्ने सजग व्यक्ति हो ।
अमेरिकाको हार्वर्ड विश्वविद्यालयका प्राध्यापक नोम चोम्स्कीले सन् १९६७ मा सामाजिक विज्ञ तथा प्राविधिकका हैसियतले भियतनाम युद्धका सन्दर्भमा गरेको समसामयिक आलोचना विशेष स्मरणीय छ । उनले भियतनाम युद्धमा अमेरिकाद्वारा गरिएको अपराधको भत्र्सना गर्दै सामाजिक या वैज्ञानिक न्यायका विषयमा आवाज उठाएका थिए । यसपछि नै यस विषयमा वैज्ञानिक, गणितज्ञ, औषधिविज्ञ, दार्शनिक सबैको आवाज यस विषयमा उठेको थियो । यसले समसामयिक अवस्थामा विश्वको ध्यान आकर्षित गरेको तथ्य बिर्सन मिल्दैन । दोस्रो विश्वयुद्धपछि म्याकडोनाल्डको जर्मनी र जापानका जनताप्रति त्यहाँको सरकारको उत्तरदायित्वको आधार के थियो भन्ने प्रश्न सामान्य थिएन । अनि, शान्त रूपमा यो प्रश्न हामीतिर पनि फर्कन्छ । वास्तवमा ब्रिटिस र अमेरिकन जनताले जापानी जनतामाथि बम खसालेर के प्राप्त भयो त ? यसैले सत्ताकेन्द्रित सरकारको सफेद झुटविरुद्ध बौद्धिक या प्राज्ञिक आक्रमण हुनपर्ने देखिन्छ । परिस्थितिको विश्लेषण कार्यकारण आधारअनुसार आलोचनात्मक दृष्टिकोण दिन पछि पर्नु भनेको शिक्षित पल्टिनु मात्र हो । यस किसिमका प्राज्ञिक बहसमा विशेष मान्यताको अर्थ रहन्छ । हामीसँग भएको राजनीतिक स्वतन्त्रताको शक्ति र सुसूचित हुने स्वतन्त्रताको अधिकार बिर्सन मिल्दैन । यसलाई बोध गराउने उत्तरदायित्व पनि प्राज्ञिकहरूकै हो । यस किसिमको कर्मले नै प्राज्ञिक हुनुमा आनन्द दिने गर्छ । त्यसैले बौद्धिक व्यक्ति गतिहीन उपभोक्ता नभई समय परिस्थितिको बोध गरी आलोचनात्मक मूल्यांकन गर्ने व्यक्ति हो । आफ्नो ज्ञानको भण्डारबाट समाजलाई गति दिन सक्षम आधार पनि बौद्धिक व्यक्ति नै हो ।
बौद्धिक र उत्तरदायित्व ः बौद्धिक या प्राज्ञिक व्यक्तिले शाब्दिक सहायताले सत्यतथ्यको उद्भाषित गर्छ । समसामयिक यथार्थको उद्घाटन गर्दै जनतामा विचार पु¥याउन लागिपर्ने व्यक्ति सामान्तया समाजको शिक्षित सदस्य या बौद्धिक हो । उसको चिन्तन मानवतावादी र प्रजातान्त्रिक पद्धतिका विकासमै रहेको हुन्छ । प्राज्ञिक व्यक्तिले समाज र देशभित्रका परिस्थितिमा मात्र होइन, विश्वमै सत्यका लागि आवाज उठाउँछ । केही समावेशी र अपवादबाहेक सबै मानवता र असल या सत्यका लागि नै बौद्धिक आवाज प्रस्तुत भएको हुन्छ भन्न सकिन्छ । समाजमा जनबौद्धिक आधार बनाउँदै सत्यको प्रतिनिधित्वका लागि होस् या जनताप्रतिको उत्तरदायित्वका विषयमा प्राज्ञिक नेतृत्व स्पष्ट हुनपर्ने देखिन्छ । प्राज्ञिक उत्तरदायित्व सत्यतथ्यपूर्ण पृथक् बौद्धिक आनन्दको एक प्रकार हो । यसमा हाम्रो सामाजिक नीति राष्ट्रिय सम्पदा र राष्ट्रिय सोचको सर्वोच्चता केन्द्रित हुने गर्छ । विचारधाराको सिर्जनात्मक निर्माणमा प्राज्ञिक व्यक्तिको भूमिका विशेष हुने गर्छ । सत्यतथ्यका लागि ऐतिहासिक आधारबाट सामाजिक घटनाको कारण र विश्लेषणमा जोड दिनुपर्ने हुन्छ । समाजप्रतिको नैतिक उत्तरदायित्वबाटै बौद्धिक उत्तरदायित्व मापनीय हुन्छ ।
अन्तनियो ग्राम्चीले बौद्धिकता र सांस्कृतिक प्रभुत्वका सिद्धान्तमा सामाजिक वर्गभन्दा भिन्न बौद्धिक या प्राज्ञिकता नहुने दृष्टिकोण प्रस्तुत गरेका छन् । यसो भए पनि प्रत्येक व्यक्ति सामाजिक प्रकार्यमा क्रियाशील हुने र यस क्रममा प्रभुत्व समूह र सीमान्तकृत समूहका रूपमा समाज छुट्टिने उनको मान्यता छ । यस क्रममा उनले बौद्धिकलाई परम्परागत बौद्धिक र जैविक या खाँटी (अग्र्यानिक) बौद्धिकका रूपमा वर्गीकरण गरेका छन् । परम्परागत बौद्धिकहरू यथास्थितिको निरन्तरतामै रमाएका हुन्छन् भने खाँटी बौद्धिकहरूले प्रत्यक्ष रूपमा सामाजिक वर्गसँग जोडिएका हुन्छन् र यथास्थितिविरुद्ध सामाजिक मुद्दासँग आलोचनात्मक दृष्टिकोण विकास गरेका हुन्छन् । ग्राम्चीका अनुसार सबै मानिस बौद्धिक हुन्छन् र प्रत्येकमा पृथक्–पृथक् क्षमता र दक्षता हुन्छ । यसो भए पनि सबै व्यक्ति राम्रा बौद्धिक भने हुँदैनन् र बौद्धिकको भूमिका पनि पूरा गर्दैनन् । बौद्धिकले त सामाजिक सन्दर्भमा नयाँ चेतना या दृष्टिकोण सिर्जना गर्छन् र पुरानामा नयाँको आधार निर्माण गर्छन् । यसमा पनि अधिसंरचना र विचारधाराअनुसार समूहगत आधारमा बौद्धिकको धरातल रहेको हुन्छ । समसामयिक या परम्परागत सत्तासँग जोडिएका बौद्धिकहरू अधिसंरचनाकै तहमा रहेका हुन्छन् । उनीहरू सत्ताको हितवरिपरि रहेर बौद्धिक खेती गर्छन् । यो सहज देखिन्छ तर सीमान्तका आवाज खोतल्नु या सर्वहारापक्षीय बौद्धिक पक्षधरता कठिन विषय हो ।
बौद्धिकहरू समाजका अधिसंरचनाका भाग हुन् । यिनले समाजका अधिसंरचनामा रहेर विचारधारा निर्माण गर्छन् । धेरैजसो बौद्धिक पुँजीवादको श्रेणीगत तहमा रमाउँछन् । पुँजीवाद तथा सत्ताका आपराधिक कार्यविरुद्ध रही सीमान्तीय आवाज उठाउने सबै बौद्धिक जो यस मुद्दामा सचेत र प्रतिबद्ध हुन्छन्, तिनीहरू नै खाँटी वा अग्र्यानिक बौद्धिक हुन् । सीमान्तकृत समूहको आवाज बुलन्द पार्नमै यो समूह लागिपरेको हुन्छ । सीमान्तकृत वर्गको मानसिक अवस्था र उनीहरूको क्षमता बोध गराउन तथा लुकेको दमित शक्ति प्रस्फुटन गराउन यी बौद्धिकको विशेष भूमिका रहेको हुन्छ । त्यसैले विचारधारामा प्रस्ट भई सीमान्तीय पक्षधरताबाटै बौद्धिक आधार देखाउन सक्नु नै बौद्धिकहरूको वास्तविक उत्तरदायित्व हो ।
माक्र्सवादी बौद्धिकहरू वर्गपक्षधरतामै रहेका हुन्छन् । यी बौद्धिकको भूमिका सर्वहारा वर्गपक्षीय आवाजलाई सञ्चार तथा विश्वविद्यालयलगायत ठाउँमा पु¥याउन विशिष्ट हुनुपर्ने देखिन्छ । यो सचेतता या जागरणमा सामाजिक संरचना, राजनीति र वर्ग पक्षधरताको उच्च चिन्तनगत आधार र आलोचनात्मक चेत रहेको हुन्छ । वास्तवमा क्रान्तिकारी खाँटी बौद्धिक नै सञ्चार र ‘एकेडेमिया’मा प्रवेश गर्न जरुरी छ, किनभने यिनीहरू नै सीमान्तकृत या सर्वहारा वर्गका पक्षमा जागरण या चेतनाको सञ्चरण गर्न सक्षम हुन्छन् । यसर्थ, सञ्चार र विश्वविद्यालय यही बौद्धिक पुस्ताको पर्खाइमा छ ।
बौद्धिकको भूमिकामा वर्गसचेत दृष्टि नै उल्लेख्य हुन्छ । विचारको नेतृत्व र सीमान्तीय आवाजका पक्षमा बौद्धिक आवाज स्पष्ट हुनुपर्छ । नयाँ मान्यतामा माक्र्सवादको व्याख्या उच्च वर्गका इलाइटबाटै भएको छ, जुन माक्र्सवादी चिन्तनमा सोचनीय विषय बनेको छ । यी उच्चवर्गीय बौद्धिक मध्यमवर्गीय स्वार्थसँग सम्बद्ध छन् । वास्तविक बौद्धिकहरूले विचारधारा र वर्गसचेतताका विषयमा ध्यान दिन जरुरी छ । छली बौद्धिक र साँचो बौद्धिकबिचको भिन्नता यही चिन्तनगत दृष्टिकोणबाट स्पष्ट हुन जरुरी छ । निम्न वर्गलाई हेर्ने र पक्षधरताको विषयमा यी बौद्धिकबिच भिन्नता देखिन्छ । उच्चवर्गीय बुद्धिजीवीको भूमिका पुँजीवादी विचारधाराकेन्द्रित रहेको छ र पुँजीवादको संवद्र्धनमा विशिष्ट देखिन्छ । यस्तै सच्चा बुद्धिजीवीको भूमिका समाजको वास्तविक संरचना बोध गराउँदै सीमान्त समूह र सर्वहारा वर्गलाई त्यसको दलदलबाट बाहिर निकाल्न सचेत प्रतिबद्धतामै रहेको हुन्छ । त्यसैले, सर्वहारा वर्ग पक्षधरतामा बौद्धिक आधार खोजी गर्दा समाजको वास्तविकतामा प्रवेश गर्दै आलोचनात्मक चेतनाको विकासमा जोड दिनुपर्ने हुन्छ ।
दूरदृष्टियुक्त ज्ञान वितरणमा बौद्धिकताको भूमिका रहन्छ । बौद्धिककै कारण समाजको चेतनामा पनि प्रभाव परेको हुन्छ । बौद्धिकहरूले भिडलाई अबौद्धिक क्रियाकलाप र गलत कार्यको भण्डाफोर गर्दै सत्य र असल मार्गको बोध गराउँछन् । समाजको जागरणका लागि बौद्धिकले तत्व, ज्ञान, दक्षता र भलाइमा जोड दिन्छन् । नकारात्मकताबाट सोसाइटीलाई सहज मार्गमा ल्याउन बौद्धिकहरूको भूमिका बिर्सन मिल्दैन । सामाजिक मूल्य, मान्यता रक्षाका लागि बौद्धिकहरूको भूमिका नै अग्रणी हुन्छ । यिनीहरू सामाजिक उत्तरदायित्वका साथै नैतिक आदर्शबाट अभिमुख भएका हुन्छन् । आइन्स्टाइनले भनेझैँ संसार खतरामुक्त ठाउँ नभए पनि असल काम गर्न सधैँ लागिपर्नाको विकल्प देखिँदैन । यसर्थ, बौद्धिकहरूले आफ्नो क्षमता उपयोग गर्नैपर्ने हुन्छ । समाजलाई नकारात्मक प्रभावबाट मुक्त पार्न मार्गनिर्देशन गर्नैपर्ने हुन्छ । सामाजिक अभिकर्ताका रूपमा देखिन बौद्धिकहरू पछि पर्नुहुँदैन । समाज परिवर्तनका लागि अर्थपूर्ण आधार दिन बौद्धिकताको भूमिका हिजो थियो र आज पनि उत्तिकै रहिरहेको छ ।
हाम्रो सन्दर्भमा ः नेपालका सन्दर्भमा पनि शिक्षित र बौद्धिकको भूमिका भिन्नभिन्न देखिन्छ । वर्तमानको यथार्थ संश्लेषण र त्यसप्रतिको दृष्टिकोण निर्माणमा बौद्धिकको भूमिका नै उल्लेख्य हुन्छ । नेपालमा संसदीय प्रणालीको असफलता मात्र होइन, यसले सामाजिक स्थितिलाई दलाल र भ्रष्टबाट नियन्त्रित गर्दै नैतिक चरित्रमा संकट सिर्जना गरेको छ । देशमा भ्रष्टाचारमुक्त भई सुशासनका लागि विशेष परिवर्तन आवश्यक छ । सांसदलाई मासिक तलब सुविधा होइन, संसद् बैठक भएको दिनको भत्ता मात्र उपलब्ध गराउने हो भने पनि यसको सामान्य निकास हुन्छ । यस्तै मन्त्रीमण्डल संंसद्बाट होइन, विज्ञबाट चयन हुने आधार तय गरिनुपर्छ । यही विकृति बढार्न जेन–जी आन्दोलन भएको र यसले उठाएका भ्रष्टाचारविरोधी सुशासनका मुद्दा उपयुक्त देखिन्छन् । पार्टी प्रणालीमा राजनीतिक रूपमा समानता छैन । पहुँचवाला नै पदमा पुग्न सहज भएको छ । विपन्नले यस अवस्थामा चुनाव लड्न सक्दैन । पूर्ण रूपमा समानुपातिक चुनाव नभएसम्म यसले कुनै निकास पनि दिँदैन । त्यसैले, बुद्धिजीवीको सक्रियता यस किसिमको परिस्थतिको ठोस विश्लेषण गरी दृष्टिकोण निर्माणमा केन्द्रित हुन जरुरी छ । शिक्षा, स्वास्थ्यजस्ता विषयमा असमानता सिर्जना भएको छ । यस असमानताबाट मुक्त हुन दृष्टिकोणका साथै समसामयिक विकृतिविरुद्ध नयाँ चिन्तनसहित नयाँ राज्य प्रणालीको खोजीमा सिर्जनशील बौद्धिकहरू प्रतिबद्ध देखिनैपर्छ ।