कवि जगदीशचन्द्रको कविता संग्रह ‘व्यवस्थाको कन्चट’माथि सघन परिचर्चा

कवि जगदीशचन्द्रको कविता संग्रह ‘व्यवस्थाको कन्चट’माथि सघन परिचर्चा

'संसदीय व्यवस्था बर्बर तन्त्र हो, यसका विरुद्ध विद्रोह गरिनुपर्छ भन्ने मेरो कविताको निष्कर्ष हो' :कवि जगदीशचन्द्र

काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानको ‘सिर्जना र संवाद’को १३ औं श्रृङ्खलाको रुपमा शनिबार जनप्रिय क्रान्तिकारी कवि जगदीशचन्द्रको कविता संग्रह ‘व्यवस्थाको कन्चट’माथि सघन परिचर्चा गरिएको गरिएको छ । प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखी र कवि गौरी देवकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रा.डा. हेमनाथ पौडेल, डा.अमर गिरी, डा. विभूति भट्टराई र चतुर्भूज लगायतले टिप्पणी गर्नुभएको थियो ।

डा. विभूति भट्टराईले कविता संग्रह माक्र्सवादी सौन्दर्य चिन्तनमा आधारित वर्गप्रति समर्पित रहेको र यसले वर्गीय आन्दोलनका क्षेत्रमा ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले केही कवितामा स्थापित काव्यिक शैली र संरचनाप्रतिको आबद्धताको अभाव देखिएको औल्याउनु भयो ।

त्यसैगरी चतुर्भुज पाठकीय दृष्टिबाट कविता संग्रहमाथि टिप्पणी गर्दै कविता संग्रहमा सर्वहारावर्गीय मानवतावादी चेत प्रखर रुपमा प्रकट भएको बताउनु भयो । उहाँले माक्र्सवादी विचारधाराका हिसाबले प्रस्तुत कविता संग्रह सशक्त, प्रतिरोधी र हस्तक्षेपकारी भएको पनि टिप्पणी गर्नुभयो । १८९ वटा कविता र उहाँको कर्ममा तादाम्यता रहेको बताउँदै उहाँले प्रतिध्रुवीय कित्ताका सर्जकहरुले जस्तो शब्द निफनेरभन्दा पनि जे हो त्यही रुपमा कविले यथार्थको सशक्त चित्रण र बोलाई र गराईबिचमा एकरुपीकरण प्रकट गर्नुभएको बताउनु भयो ।

अर्का टिप्पणीकार प्रा.डा. हेमनाथ पौडेलले कवि जगदीशचन्द्रसँग २०४१ सालदेखि सहकार्य गर्दै आएको चर्चा गर्दै कविताको विषयमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति भएको, हालसम्म तीनवटा कविता संग्रह (वर्तमान जन्मन खोजिरहेछ, मुक्तिक्षेत्र र व्यवस्थाको कन्चट) प्रकाशित भए पनि उहाँको मूल व्यक्तित्व भनेको समालोचकीय व्यक्तित्व भएको बताउनु भयो । काव्यिक व्यक्तित्व र अन्यलाई त्यसपछि राख्नुपर्ने पनि बताउनु भयो । उहाँका तीनवटै कवितामा सर्वहारावर्गीय पक्षधरता, माक्र्सवादी विचार र क्रान्तिप्रतिको प्रतिबद्धता अविचल रुपमा र अझ सशक्त रुपमा प्रकट हुँदै आएको टिप्पणी गर्नुभयो ।

प्रस्तुत कविता संग्रह पनि तीव्र वैचारिक, उद्देश्यपरक र परिवर्तनमुखी रहेको बताउनु भयो । कविता संग्रह विरोधका लागि विरोध नभएर इतिहास र वर्तमानबोधका साथ भविष्यदृष्टिका हिसाबले सशक्त रहेको स्पष्ट पार्नुभयो । वर्तमान संसदीय राजनीतिको कुरुप यथार्थको चित्रण गर्दै कविले सिंगो कविता संग्रहमा विचारविम्ब प्रस्तुत गरेको र कविताहरु निकै सशक्त रहेको पनि टिप्पणी गर्नुभयो । उहाँले वैचारिक स्खलन, वर्गीय तथा राष्ट्रिय आत्मसमर्पण, क्रान्तिप्रतिको धोका र गद्दारीप्रति तीखो प्रहार र क्रान्तिप्रतिको आशावादिता र जिम्मेवारीबोध सान्दार रुपमा प्रकट भएको बताउनु भयो ।

उहाँले शैली र संरचना फरक भयो भने पाठकको लागि फरक स्वाद आउँछ, सम्प्रेषणीय, अन्तरवस्तुको सौन्दर्यपक्ष, विचार र रुप पक्षबीचको सन्तुलन (जैविक एककत्व)मा केही कमी हुन गएको पनि बताउनु भयो । प्रतिध्रुवीय कित्तालाई सशक्त जवाफ दिन पनि प्रगतिवादी साहित्यको क्षेत्रमा कलम चलाउनेहरुले ‘उनीहरु नारा लेख्छन्, कविता लेख्दैनन्’ भन्ने आलोचनाको जवाफ दिनु पनि व्यञ्जना र विम्ब निर्माणमा कलामूल्य पक्षलाई पनि ध्यान दिनुपर्ने बताउनु भयो ।

डा.अमर गिरी गिरीले कवि जगदीशचन्द्र एउटा वैचारिक धारामा हिडिरहनु भएको व्यक्तित्व भएकोले उहाँका कृति वैचारिक धाराबाट प्रभावित हुनु स्वभाविक भएको चर्चा गर्दै कविता विचारविहिन हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले तर कविता विचार होइन भन्दै कलामूल्य, माझिएको भाषा, ओजस्वी कथन, स्थापित प्रतिमानहरुका आधारमा कविताको मूल्यांकन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले कवितामा पाठकको हृदय र मस्तिष्कलाई झंकृत गराउने र रुपान्तरणका लागि उत्प्रेरित गर्ने सामथ्र्य हुनुपर्ने भन्दै कवि जगदीशचन्द्रको व्यक्तित्वभन्दा पनि उहाँको कविता रहेर प्रस्तुत कृतिको मूल्यांकन गरिनुपर्ने पनि बताउनु भयो ।

कविता सपाट, लय, आवेग, विम्ब, आक्रोश र प्रतिरोधी रहेको भन्दै उहाँले अंशगत कमजोरीलाई प्रधान नबनाएर राम्रा कविताहरुको आधारमा समग्र कवितासंग्रहको मूल्यांकन गरिनुपर्ने पनि धारणा व्यक्त गर्नुभयो र उहाँले भन्नुभयो, “यस आधारमा कविता तीव्र वैचारिक, प्रतिरोधी र सशक्त रहेका छन् ।”

चारजना टिप्पणीकारहरुको सुझाव र टिप्पणीमाथि आफ्नो धारणा राख्दै कवि जगदीशचन्द्रले कविता आफैमा सामूहिकताको निजत्वसहितको अभिव्यक्ति भएको भन्दै प्रस्तुत कविताको सार्वभौमिक सत्तामा आफूमा रहेको र आएका टिप्पणीहरुलाई सकारात्मक रुपमा लिएको बताउनु भयो । उहाँले भन्नुभयो, “साम्राज्यवादी तथा विस्तारवादी सत्ताले मेरो सत्तालाई चुनौती दियो भने त्यो उसको कुरा हो ।”

पछिल्ला बर्षहरुमा प्रगतिवादी साहित्यहरुमा क्रान्तिकारी अन्तर्वस्तु अभिव्यक्त हुन छाडेपछि, अत्यन्तै कम मात्रामा आउन थालेपछि खासगरी गणतन्त्र स्थापनापछि त्यसले आफूलाई छाएको र त्यसपछि कविता लेख्न पुनः कविता लेख्न थालेको बताउँदै कवि उहाँले आफ्ना पछिल्ला कविता यथार्थको तीव्र चेतनामा आधारित रहेको र यी कविताका शैलीहरु पछिल्ला टर्किस, प्यालेस्टाइन र भारतीय आदिवासी प्रगतिवादी साहित्यसँग नजिक रहेको पनि स्पष्ट पार्नुभयो ।

प्रतीक, विम्ब, रुपक र विरोधाभाषबाट विचार र यथार्थको चित्रण गरेको भन्दै प्रस्तुत कवितामा केही नयाँ प्रयोग गर्न खोजेको पनि प्रयोग गर्नुभएको छ । उहाँले स्वच्छन्दतावादी विम्बलाई पनि क्रान्तिकारी रुपान्तरणका लागि प्रयोग गरिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “संसारमा प्रयोग नभएका थुप्रै शब्दहरु प्रयोग गरेको छु । चेतनालाई यथास्थितिमा राख्न त मिलेन नि । शब्दको ज्ञानको चेतना त्यसलाई भत्काउने काम गर्छ कविले । संरचनाका हिसाबले पनि नयाँ प्रयोग गर्न खोजिएको छ । क्रान्तिकारी सार र क्रान्तिकारी रुपबिच एकत्व प्रकट गर्ने कोशिस गरिएको छ । संसदीय व्यवस्था बर्बर तन्त्र हो । यसका विरुद्ध विद्रोह गरिनुपर्छ भन्ने मेरो कविताको निष्कर्ष हो ।”

कार्यक्रमको समापन गर्दै इच्छुक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले प्रस्तुत कवितामाथिको परिचर्चा काव्यिक साहित्यानुरागीका लागि आफैमा एउटा स्कूलिङ जस्तो हुन गएको र प्रगतिवादी साहित्यका रुप र अन्तवस्र्तुप्रतिको बुझाइको हिसाबले अत्यन्तै राम्रो छलफल भएको बताउनु भयो ।

कार्यक्रममा केही टिप्पणीकार र सहभागीले प्रस्तुत कविता संग्रहका कविताहरु पनि वाचन गर्नुभएको थियो ।