२९ कार्तिक पोखरा कास्की ।
क्रान्तिकारी स्वास्थ्यकर्मी संगठन, नेपालको प्रथम राष्ट्रिय भेला घनश्याम विजय ढकाल शहिद स्मृति भवन शहिद चोक पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षता आकाश गौतमले गरेका थिए । कार्यक्रमको संचालन विक्रम थापाले गरेका थिए । कार्यक्रमको समुद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पोलिटब्युरो सदस्य दिनेश शर्मा सागरले गरे ।
शहिदप्रति एक मिनेट मौनधारण गरेर कार्यक्रमको उद्घाटन भएको थियो । कार्यक्रममा पार्टी केन्द्रीय समिति सल्लाहकार विशेष अतिथि रामजी थापा, अतिथिहरु ७ नम्बर ब्युरो सेक्रेटरी नारायण अधिकारी, क्रान्तिकारी संयुक्त मोर्चा केन्द्रीय सदस्य मान बहादुर थापा, केन्द्रीय सदस्यहरु शुसिला थापा, बाबुराम सुवेदी, विप्लव निकट स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सचिव मणि न्यौपाने, मजदुर संगठनका केन्द्रीय सदस्य दिपक गुरुङ, सामना परिवारका केन्द्रीय सदस्य जनकलाकार काजीबाबु श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टी पिबिएम दिनेश शर्माले पार्टीले जनयुद्ध, जनआन्दोलन र अब हुने जनविद्रोहमा स्वास्थ्यकर्मीको भूमिका र सहभागितालाई महत्वपूर्ण स्थान दिइएको बताए । उनले स्वास्थ्य क्षेत्रमा रहेका विकृति विसङ्गतिप्रति संगठनले पुनः संरचना गर्ने गरी आन्दोलन जारी राख्न निर्देशनमूलक मन्तव्य राखेका थिए ।
राष्ट्रिय भेलाले आकाश गौतमको संयोजकत्वमा टेकहरी न्यौपाने (काठमाडौं), काजीबाबु श्रेष्ठ (कास्की), प्रेम कडेल (चितवन), निर्मला लुवार (कालिकोट), स्मृति वि क (डडेलधुरा), प्रभा बुढामगर( रोल्पा), अमृत चपाई ( पर्वत), डाक्टर आकाश अर्याल (स्याङ्जा), डाक्टर सञ्जिव योञ्जन ( काभ्रेपलाञ्चोक) लगायतका पन्ध्र सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । भेलको पहिलो बैठकले आकाश गौतमको संयोजकत्वमा पाँच सदस्यीय सचिवालय गठन गरेको थियो ।

कार्यक्रमको अन्त्यमा बोल्दै संयोजक आकाश गौतमले पार्टी र क्रान्तिको दौरान स्वास्थ्य क्षेत्रमा रहेका विकृति विसङ्गतिप्रति संगठनले रातो मशाल बाल्ने र शहिद बेपत्ताको बाँकी सपना पुरा गर्ने प्रतिबद्धता राख्दै शहिदको कोटा चुक्ता गर्न पछि नहट्ने बताउदै कार्यक्रम समापनको घोषणा गरेका थिए । साथै उपस्थित सबै सबै अतिथि एवं उपस्थिति योद्धाहरूमा हार्दिक आभार एवम् धन्यवाद दिएका थिए ।





























