१
बाँसका सिठाले बारेर माटोले पोतेको झुपडी, खरको छानो, लामो टहरो, ढोकाका नजिकै कागजका टुक्राटुक्री पनि देखिन्थे । झुपडीभित्र स–साना बच्चाहरूले हल्ला मच्चाइरहेका थिए । कसैले पहाडा भट्याउँथे । कसैले कपुरी क खरायो ख भन्दै वर्णमाला घोकिरहन्थे ।
कतै किताबका कविता पनि सुनिन्थे ।
….बसबस मौरी बुधबार जाउली
फूलैफूलको कचौरामा मह तिमी खाउली ।……….
गीतको अर्थ त बच्चाहरूलाई थाहा थियो थिएन, गीत भने कण्ठै पारेका थिए । श्रमिक मौरीलाई महको आस देखाउने अनि मह आफैैले चाट्ने …… । कैयौँ वर्षदेखि यो गीत बच्चाबच्चीका मुखमा झुण्डिएको थियो ।
“ ए केटा , पढ्छस् कि मुर्गा बनाइदिऊँ ? ”
नपढ्ने केटाककेटीलाई डर देखाउने यो परम्परागत शैली नै थियो । शिक्षकले लठ्ठी देखाउँथे र विद्यार्थीलाई तर्साउँथे ।
विद्यार्थीहरू अझ जोडतोडका साथ कराउँथे । कसले चिच्याएर पढ्ने ? कसरी शिक्षकलाई आफ्नो आवाज सुनाएर पढैया ठहरिने ? भनेर होडबाजी नै चल्थ्यो ।
हाम्रो झण्डा एक
चन्द्र सूर्य दुई ।
हिमाल, पहाड, तराई
तीन थरी भुईँ ।
पूर्व, पश्चिम, उत्तर, दक्षिण
चारै दिशा छन् ।
पाँचैवटा विकासक्षेत्र
एउटै साझा मन ।
छ वटा ऋतु छन् हाम्रो नेपालमा
सातै बार सप्तकोशी झर्छन् हिमालमा । ……
२
भर्खर भर्खर गाउँलेहरूको मिहिनेतले खुलेको स्कुल थियो । नत व्यवस्थित भवन, न त कसैको सहयोग, न कसैको निगाह । अहिलेसम्म त्यो स्कुलले सहयोगदाता पाएको छैन । केवल गाउँलेहरूको मन र मिहिनेत थियो तर पनि त्यो स्कुलले प्रताप जस्तो शिक्षक पाएको थियो । मान्छे गरिब तर मिहिनेतका धनी । मान्छेको मन जित्ने मान्छे । ..तर कट्टर समाज सुधारक । उनको मिहिनेत र लगनशीलतादेखि सबै खुसी र प्रसन्न थिए ।
“पढाउनमा सिपालु छन् प्रताप सर ।”
“केटाकेटी मन पराउने ……. कडा पढाई । उनी आँफू सिपालु । उनले पढाएका विद्यार्थी पनि सिपालु ।”
सोझा र सादा व्यक्तित्वका धनी । सायद यहीँ भएर होला उनलाई कसैले पनि खोट लगाएका थिएनन् ।
“लौ है सर ! विद्यार्थी तपाईँकै भरमा छन् ।” गाउँलेहरू मध्ये धेरैले यसै भन्थे । प्रताप सर मख्ख पर्थे ।
“ हजुरहरूको सल्लाह सधैँ शिरोधार्य छ ।” उनी भन्थे ।
“यी बालबच्चाको भविश्य उज्ज्वल बनाउने जिम्मा मेरो . । यिनका बाबु आमाले मलाई सुम्पेका छन् ।” मनमनै सोँच्थे र अभिभावकले आफूँप्रति गरेको विश्वासलाई धन्यवाद दिन्थे ।
“साँच्चै नै यिनै बालबच्चाको भविश्यमै देश र जनताको भविश्य जोडिएको हुन्छ ।”
प्रताप सर …. गाउँलेहरूले बनाएका सर । उनको तलब पनि गाउँलेले नै बेहोर्दछन् । त्यो स्कुलमा दरबन्दी छैन ।
“ विद्यार्थीले गलत शिक्षा पाए भने …. ?” उनी सतर्क रहन्थे । “विद्यार्थिको चिन्तन् गलत हुन्छ । चिन्तन गलत भए उसले गर्ने हरेक क्रियाकलाप पनि गलत हुन्छ । अनि बिग्रन्छ समाज । अनि जरा गाड्छ गलत संस्कार र संस्कृतिले । अनि बिग्रन्छ पुरै समाज र दुनियाँप्रतिको बफादारिता, समाजप्रतिको उत्तरदायित्व ।
उनी तर्सन्थे गलत शिक्षादेखि । उनी भन्थे – “नैतिकवान र असल विद्यार्थी बनाउनु पर्छ । तबमात्र सिकाएका हरेक शिक्षाले समाजमा सकारात्मक परिणाम ल्याउन सक्छ ।”
देशभक्तिका मिठामिठा गीत सुनाउने कला पनि उनमा थियो । गीत सुनेर विद्यार्थीहरू मख्ख पर्थे । उनले कथा पनि उत्तिकै भन्ने गर्थे ।
“ सर अर्को कथा सुनाइदिनुस् न ।” विद्यार्थीहरूले एकपछि अर्को कथाको माग गर्थे ।
“सर आज एउटा गीत सुन्ने ।”
“होइन, होइन सर … कविता सुन्ने ।”
विद्यार्थीहरूले प्रायः कोकोहोलो मच्चाइरहन्थे । कक्षामा पस्नासाथ विद्यार्थीबाट माग ओइरिन थाल्थ्यो । प्रत्येक दिन केही न केही कोसेली बोकेर कक्षामा बस्नुपर्थ्यो ।
प्रायः कक्षामा उनले सहिदका वीरताका गाथा सुनाउँथे । अनि सोध्थे —“ बुझ्यौ त कुरा ? हामी कस्तो बन्नुपर्छ ? ”
“असल मान्छे सर ।” विद्यार्थीहरूको एक स्वरमा उत्तर आउँथ्यो ।
“कस्तो असल ?” प्रताप सरले प्रश्न दोहोर्याउँथे ।
“ गँगालाल र शुक्रराज जस्तो ।” विद्यार्थीहरू झन् जोडले उत्तर दिन्थे ।
विद्यार्थीको जवाफले प्रताप सर सन्तुष्ट हुन्थे । उता स्याबासी पाएपछि विद्यार्थीहरू पनि मख्ख पर्थे ।
पुस्तकमा छापिएको फोटातिर दृष्टि दिएर प्रताप सर भित्रभित्रै भावुक हुन्थे ।
त्यसदिन पनि प्रताप सरले डायरीमा नोट गरे र तिनै बालबालिकाहरूलाई सुनाए । बच्चाबच्चीहरूलाई सुनाउदैमा पनि उनको मन सन्तुष्ट भयो ।
प्रताप सरले विद्यार्थीलाई मात्र पढाएनन् , अभिभावकहरूलाई समेत पढाए । उनकै प्रयासले गाउँसम्म आउने बाटो खनियो । स्कुल खुल्यो । सामुदायिक वन भयो र अरु अरु भए । अब आउने शैक्षिक सत्रदेखि कक्षा थप गर्ने योजना छ ।
“अब त सामुदायिक वन भयो । स्कुल चलाउन गारो हुँदैन ।
३
“ ला…ला…. ला….
हिमालको काखमा छ मेरो सानो गाउँ,
दुःख भन्ने कस्तो हुन्छ त्यहाँ बुझ्न जाउँ ।……… ”
विद्यार्थीले भाका हाल्न खोजे ।
“मिलेन मिलेन । ……. ल ल फेरि एकपटक । ल सुरु —
एक….. दुई …. तीन ….. ”
केटाकेटीहरू फेरि गाउन थाले । विद्यार्थीहरूको स्वर परपरसम्म सुनिन्थ्यो । छाप्रोको् प्वालप्वालबाट आवाज बाहिरिँदै थियो ।
बच्चाबच्चीहरू गाउनमै व्यस्त थिए । बाहिर के भइरहेको छ ? उनीहरूलाई फिटिक्कै पनि जानकारी थिएन । प्रताप गीत सिकाउनमै व्यस्त थिए । उनलाई बाहिर ध्यान दिने अलिकति फुर्सद पनि थिएन ।
एक्कासि एउटा युवक कक्षा कोठामा प्रवेश गर्यो । युवक निकै अत्तालिएको देखिन्थ्यो । उसले चिटचिट पसिना छोडेको थियो । त्यसले जोडतोडले सास फेर्थ्यो । आँखा त्रसित थिए र चनाखो तरिकाले यताउता हेर्थ्यो । उसको मनोभाव बुझ्दा ऊ कुनै सङ्कटमा छ भन्ने आभास हुन्थ्यो । ऊ भित्र पसेपनि उसको ध्यान भने बाहिरतिर थियो ।
त्यो युवक भित्र पसेपछि गुन्जिरहेको गीत पनि बन्द भयो । सबैका नजर अचानक युवकमाथि परे । सबैले ट्वाल्ट्वाल्ती युवकलाई हेरे । बच्चाहरू छक्क परे । गीत गाएर चिच्याउने बच्चाहरू डरले चिच्याए । फेरि एकैछिनमा कक्षा कोठामा पुरै सन्नाटा छायो । न कोही बोल्छ, न कोही हलचल गर्छ । प्रताप सर हेरेको हेर्यै भए । परिस्थिति बदलियो ।
“ सर मलाई एकछिन लुकाउनुस् । .. मलाई बचाउनुस् ।” युवकले अत्तालिँदै भन्यो र केटाकेटीको माझ गएर छिप्ने प्रयास गर्यो । बच्चाबच्चीहरू अक्मकिए अनि हच्किए पनि । प्रताप सरको मुहार भयभीत भयो । टुलुटुलु हेरिरहे । बोलेनन् ।
“ सेना पछि आ‘को छ सर । बचाउने मराउने तपाईको हात ।” युवक आत्तिएर बोल्यो । प्रताप सर गम्भीर सङ्कटमा परे । मानवता र आत्मसुरक्षा बिचको द्वन्द्वले मुटु बुरुकबुरुक उफ्रन थाल्यो । युवकलाई बचाउन खोजून् त आफू सङ्कटमा, आफू बाँच्न खोजून् त युवक सङ्कटमा ।
प्रताप सर बोल्न सकेनन् । विद्यार्थीहरूका अनुहारतिर हेरे । सबैका अनुहार अन्यौलग्रस्त देखिन्थे । सबैले युवक र प्रताप सरतिर हेरिरहेका थिए ।
“को मान्छे हो यो ? किन आयोे ? किन डराएको छ ? किन बचाउनुस् भन्छ ? ” बाल प्रश्नहरू खचाखच थिए । तर उत्तर एउटा पनि थिएन ।
सिठाले बारेको बारको छिद्रबाट कतै कतै सूर्यको तेजिलो प्रकाश कोठाभित्र छिरेको देखिन्थ्यो । युवक हुत्तिदै भित्र आउँदा ल्याएको हावाको सानो झोँकाले धुलाका कणहरू तेजिलो किरणमा स्पष्ट देखिन्थ्यो । पल्लो कक्षाका विद्यार्थीहरूको कोलाहल भने जस्ताको तस्तै थियो ।
“ए .. त्यसोभए तपाइँले यो पढाएजस्तो गर्नुस् । म अर्को कक्षामा जान्छु ।” प्रताप सरले तत्काल विकल्प दिए ।
“तिमीहरूको नयाँ सर .. । तिमीहरूले जानेका जति गीत सुनाओ ।” प्रताप सरले विद्यार्थीलाई फेरि गीत गाउन लगाए र आफू अर्को कक्षामा गए ।
युवकले आफ्नो झोला विद्यार्थीको झोलासँग राखिदियो र पढाएको अभिनय गर्न थाल्यो । विद्यार्थीको गतिसँगै थपडी मार्न थाल्यो । उनीहरूसँगै गाउन थाल्यो । युवक आफू पनि त कलाकार थियो । मिठो स्वर… । उसको स्वर सुनेपछि सबै मख्ख परे ।
“मुनामदन भन्ने किताब सुनेका छौ ?” युवकले सोध्यो ।
“सुनेका छम् सर ।” विद्यार्थीहरूले पल्लो कोठासम्म सुनिने गरी कराए ।
“ सर ,मुनामदन सुनाइदिनुस् न ।” विद्यार्र्थीहरूले माग गरे । सङ्कटका बेलामा पनि युवकले मुनामदनको भाका बिर्सन सकेन । झ्याउरे लयले सङ्कटलाई ओझेलमा पारिदियो ।
क्षणभरमै बर्दीवाल शाही सेनाको जत्थाले विद्यालयलाई घेरा हाल्यो । युवकले भित्रबाट चियाउदै प्वालबाट बाहिर हेर्यो । बालबच्चालाई गाउन लगाएर आफ्नो ध्यान बाहिर केन्द्रित गर्यो । वरिपरि सेनाको घेराबन्दी, घेराबन्दीभित्र विद्यालयको पठनपाठन । यहाँ स्कुल मात्र थिएन । स्कुलको नजिकै ठिङ्ग उभिएको पिपल पनि थियो । पिपलका पातसँगै युवकको मुटुको धड्कन पनि फरफराइरहेको थियो ।
सेनाहरू आँगनमै आए । हतियार समाएका सेनाहरूलाई देखेर विद्यार्र्थीहरू भयभीत भए । नव आगन्तुक युवकको होस् हवास् उड्यो । अनुहार धमिलियो । विद्यार्थीहरूले ठुलाठुला आँखा बनाएर हेर्न थाले ।
शाही सेनाहरू बडो डरलाग्दा देखिन्थे । युवकभन्दा कैयौँ बढी डरलाग्दा । युवक भित्र पस्दा विद्यार्थीहरू छक्क परेका थिए । तर सेना देखिँदा भने भयभीत देखिए । जब हतियारले सुसज्जित सेनाहरू देखिए, विद्यार्थीहरू असुरक्षित अनुभव गर्न थाले । कुनै कुनै डरले पिलिसपिलिस् रुन थाले । कुनै चुपचाप भए । मुनामदनको भाका रोकियो । गीत गाउने रहर नै बिलाएर गयो ।
वातावरण पूरै स्तब्ध र मौन भयो । मानौ त्यो स्कुल पूरै मसानघाटमा बदलिएको छ ।
विद्यार्थीहरूले मनमनै प्रताप सरको प्रार्थना गर्न थाले । प्रताप सरले डराइ डराइ ढोकाबाट मुन्टो तानेर बाहिर हेरे । एउटा अगाडि दुईवटा अलिक पछाडि भएर सेनाहरू कक्षा कोठातिर जाँदै थिए । तर प्रताप सर हत्त न पत्त आएर बडो आदरसाथ नमस्कारले स्वागत गरे । बदलामा उनीतिर इन्सास तेस्याए ।
“ यता दौड्दै आएको मान्छे खै ? देखिएन ?” प्रताप सरलाई केरकार गर्न थाले ।
“एउटा मान्छे दौड्दै थ्यो क्यारे ।” प्रताप सरले ओँठ कँपाइ कँपाइ जवाफ दिए ।
“कता गयो त्यो ?
“ यताबाट चिरातिर गयो । यो बाटो जङ्गल पनि जान्छ । हात सोझ्याएर प्रताप सरले देखाइदिए ।
“ ए ! होर ? केटा हो ढिला नगर । नत्र भाग्छ त्यो ।” आदेश जारी भयो । बन्दुकधारी सेनाको जत्था सबै उतै ओइरियो । विद्यालयको प्राङ्गण फेरि खाली भयो । तर त्रास भने जस्ताको तस्तै रह्यो ।
अरु सोधपुछ केही पनि भएन ।
उनीहरू हतारमा आए । हतारमै कुराकानी गरे । हतारमै गए । प्रताप सफल भए । उनीहरू असफल भए ।
“ अब त ढुक्क भयो । ” प्रताप सरले लामो सास फेरे । जोडतोडले उफ्रिरहेको छातीको धड्कन बिस्तारै कम भयो । एकैछिनमा प्रताप सर कक्षा कोठामा प्रवेश गरे । त्यो युवक कक्षा कोठामा अझै छिपेको थियो । प्रताप सर भित्र पस्दा झसङ्ग झस्कियो ।
“अब तपाईँ ढुक्क भए हुन्छ । तिनीहरू गए ।” प्रताप सरले युवकलाई सान्त्वना दिए ।
“धन्यबाद छ सर तपाईँलाई । तपाईँले मलाई ठुलो गुन लगाउनुभयो । तपाईले मलाई मात्र बचाउनु भएन, सिङ्गै क्रान्तिलाई सहयोग गर्नुभयो ।” युवकले प्रताप सरलाई सम्झी सम्झी आभार प्रकट गर्यो ।
युवक अब ढुक्कसँग बोल्न सक्ने भयो । डेस्कमा राखेको झोला उठायो र बाहिरतिरको वातावरण राम्ररी नियाल्यो । प्रताप सर फेरि बाहिरतिर निस्किएर चारैतिर हेरे । परिस्थति सामान्य थियो । युवक पनि बाहिर निस्कियो ।
“ अब तपाईँले अर्को एउटा सानो सहयोग गर्नुपर्यो सर ।” युवकले कुरा राख्यो ।
“ के सहयोग ? कस्तो सहयोग ? आर्थिक ?” प्रताप सर झस्किए ।
“ हैन, हैन । त्यस्तो केही हैन । माझगाउँसम्म चिठी पुर्याउने सहयोग हो । म आफै जानलाई अब खतरा भयो । त्यै भएर । ” युवकले प्रताप सरलाई यस्तै भन्दै गयो । प्रताप सरका आँखा पिपलका रुखमा थिए । पिपलका पात फरफराइरहेका थिए भने यता युवक बरबराइरहेको थियो । सबै कुरा एकएक गरेर सुनिसकेपछि प्रताप सरले पनि प्रष्ट जबाफ दिए –“ म पनि त जान सक्दैनँ । फेरि त्यो पनि तत्कालै ?”
दुबै जनाको एकैछिन वार्ता चल्यो । त्यसपछि युवक आफ्नो बाटो लाग्यो । प्रताप सर आफ्नो कक्षा कोठामा लागे । अनि के के सोँच्दै घोरिए ।
त्यसपछि भने प्रताप सरको अनुहारमा साँच्चिकै चमक हरायो । कक्षा कोठामा विद्यार्थीहरू पनि कम बोल्न थाले । उफ्री उफ्री हल्ला गर्नेहरू पनि शान्त र भलाद्मी जस्ता देखिए । एक आपसमा गर्ने खासखुस पनि निकै गोप्यजस्तो हुन थाल्यो । वास्तवमै यो देखावटी शान्ति थियो । भित्रभित्रै त त्राहिमाम । हृदयमा धेरै त्रासले बास गर्यो भने पनि मान्छे बाहिर शान्त देखिदो रैछ । यहाँ त्यस्तै भयो ।
प्रताप सरलाई न पढाउन मन लाग्यो, न हाँस्न र गाउन मन लाग्यो ।
एकैछिनमा समयले नेटो काट्यो । घण्टी बज्यो । विद्यार्थीहरू कोठाबाट बाहिर निस्किए र घरघर गए । प्रताप सर पनि घरतिर लागे ।
४
शुक्रबारको दिन । अतिरिक्त क्रियाकलापको दिन । कहिले लोकगीत …. कहिले हाजिरीजवाफ , … कहिले हिसाब दौड … पालैपालो यस्तै यस्तै कार्यक्रम चलिरहन्थ्यो । तर त्यसदिनको कार्यक्रम भने विशेष थियो । आज गाउँको युवा क्लबले पनि आफ्नो प्रस्तुति देखाउने दिन थियो । गाउँभरिका मान्छेहरूलाई कार्यक्रममा निमन्त्रणा गरिएको थियो ।
“बच्चाबच्चीलाई सानैदेखि रचनात्मक कार्यक्रममा सहभागी गराउनु पर्छ ।” प्रतापले अभिभावकहरूलाई यसै भन्थे र विद्यार्थीहरूलाई अभ्यास गराउँथे । गाउँका केटाकेटी युवायुवती सबैमा उत्साह दिने प्रताप सर आफै पनि निकै सिपालु थिए ।
त्यस क्लबका अध्यक्ष हुन् प्रताप सर । आजको कार्यक्रममा ‘गङ्गालालको रगत’ शीर्षकको नाटक देखाउने तयारी छ । कार्यक्रमलाई सफल बनाउन गाउँका पूरै मान्छेहरू उल्टिएर किर्लिप्पै आएका छन् । चउरमा बेन्चहरू मिलाईएका छन् र रङ्गमञ्च पनि बनाइएको छ ।
“ लौ है ! कार्यक्रम भद्दा नहोस् ।” सबैजना बराबर तयारीमा जुटिरहेका थिए । खासगरी अभिभावकहरू आफ्ना बच्चाबच्चीहरूको प्रस्तुति हेर्न आतुर थिए । भाग लिने बच्चाबच्चीहरूले आ–आफ्ना अभिभावकहरूलाई विशेष अनुरोध गरेका थिए । त्यसका अतिरिक्त प्रताप सरले पनि चिठी लेखेरै सबैलाई निमन्त्रणा गरेका थिए । हेर्नकै लागि भए पनि महिला, पुरुष, बालबच्चा, युवा , युवती सबैको उपस्थिति राम्रो थियो । आयोजक टिम जनमास देखेर मख्ख पर्दै आफ्नो तयारी गरिरहेको थियो ।
तयारी पूरा भएपछि विद्यार्थीहरू धेरैले आ–आफ्नो कला देखाए । कसैले कविता पढे । कसैले गीत गाए । कोही नाचे । कसैले चुट्किला सुनाए । कसैले हास्यब्यङ्ग्य कमिक्स देखाएर सबैलाई हँसाए ।
“ मेरो बाबुको पालो कतिखेर आउँछ ?” सबैमा आफ्नो बच्चाको कला हेर्ने रहर थियो । कुनै अभिभावकले आफ्नो बच्चा कार्यक्रममा सहभागी नभएको देखेपछि आयोजकसँग आफ्नो दुखेसो समेत पोखे । कुनै कुनै त रिसाए पनि ।
कस्ले कस्तो कला प्रस्तुत गर्यो ? दर्शकहरूमा चर्चा परिचर्चा हुन थाल्यो । दर्शकहरूले मूल्याङ्कन गर्न थाले । बेलाबेलामा तालीको गडगडाहटले कलाकारको जोस ह्वात्तै बढाउँथ्यो । दर्शकहरूले ताली बजाएर कलाकारको सम्मान गर्थे ।
“ यो सब प्रतापको योगदान हो ।” मान्छेहरू प्रताप सरप्रति कृतज्ञता प्रकट गर्थे ।
एकै छिनमा ‘गंगालालको रगत’ नाटक सुरु भयो । स्वयम् प्रताप सरले लेखेको नाटक । आफै निर्देशक, आफै नायक पात्र ।
‘गंगालालको रगत’
मञ्चमा कोही राणा बनेर आए । कोही सिपाही बनेर आए । प्रताप सर गंगालाल बनेर आए । रूप बदलेका पात्रहरू देखेर केटाकेटीहरू हाँस्न थाले ।
“ ए ! हाम्रो सर त …. ।” केटाकेटीहरू अचम्म परे । अन्य कलाकार पनि रूप बदलेर आए । चिन्ने दर्शकहरूले फलानो हो फलानो हो भनेर भन्न थाले ।
“ सरले किन त्यस्तो कपडा लगाएको दाइ ?” भानुले अझैसम्म बुझ्न सकेको थिएन । नबुझेरै तिलकलाई सोध्यो ।
साँच्चे नै यसरी नाटक गरेको भानु र तिलकले कहिल्यै देखेका थिएनन् । आखिर बच्चाहरू त हुन् । देख्न पनि कहाँ पाऊन् र ? यस्तो कार्यक्रम गाउँमा पहिलोपटक हुँदै थियो । तिलक दाजु भएकोले भाइभन्दा जान्ने त हुनै पर्यो । उसले भानुको जिज्ञासा मेटाउने सुरले भन्यो – “ हाम्रो सर गंगालाल जस्तै हुनुभा’को रे ।” तिलकले सकेसम्म बुझाउने प्रयास गर्यो ।
“ ए होर ? किन ?”
“ नाटक गरेको नि ।”
“ साँच्चै गर्या कि बलै ?”
“ नाटक पनि साँच्चै हुन्छ र ?”
भानुले तिलकलाई प्रश्नमाथि प्रश्न गर्न थाल्यो । तिलकले पनि एक एक गर्दै बताउँदै गयो ।
नाटक उत्कर्षतर्फ जान थाल्यो । राणाहरूको जोडजोडको बोलीले मञ्च थर्कियो । खासखुस कुरा गर्नेहरू पनि चुपचाप भएर सुन्न थाले । सबैको ध्यान नाटकमै केन्द्रित भयो । बेलाबखतमा दर्शकहरू पेट मिचिमिची हाँस्थे र बेलाबखतमा भावुक बन्थे । घरिघरी तालीको गडगडाहटका माध्यमबाट दर्शकहरूले कलाकार र कलाकारितालाई धन्यवाद दिन्थे । साना बालबच्चाहरूलाई पनि पनि नाटकले मोहित बनायो । सबैले चासोका साथ हेर्न थाले ।
राणाले गंगालाललाई गाली गर्न थाल्यो । गंगालाललाई साजद्रोहीको आरोप लगायो । राजाको गाथगादी ताकेको आरोप लगायो । अरु के के आरोप लगायो । राणा अदालतमा आफै आरोप लगाउँथे अनि आफै फैसला सुनाउँथे । त्यहाँ पनि त्यहीँ देखाइयो । टाठो टाठो स्वरमा गंगालाललाई हप्की दप्की गर्न खोजे । डर धम्की देखाउन थाले … दाह्रा किट्दै …. खाउला झैँ गरेर झम्टिए । साना विद्यार्थीहरू डराउन थाले । प्रताप सरमाथि बुट बर्सन थाल्यो । सानाखाले विद्यार्थीहरू ‘हाम्रो सरलाई पिटे ’ भन्दै पिलिस पिलिस गर्न थाले । अबोध बालबालिकालाई यो अभिनय हो भन्ने ज्ञान भएन ।
भानु डराएर तिलकलाई च्याप्पै समायो । दाजुले सम्झाउन थाल्यो ।
“ साँच्चिकै पिटेको हैन भाइ, नाटक मात्रै हो ।”
अलिक ठुला विद्यार्थीहरू भने डराएनन् ।
छेउछेउमा उभिएका पुलिस पात्रहरूले गंगालाललाई लाठीले हिर्काए जस्तो पनि गर्थे । राणा भेषधारी पात्रले चर्को चर्को स्वरमा भन्यो –“ तैँले माफी माग । आत्मसमर्पण गर । म तँलाई माफी दिन्छु । व्यर्थैमा ज्यान किन हाल्छस् । बाँच्ने मन छैन तँलाई ?”
तर गंगालालले माफी माग्दै मागेनन् । बरु उल्टै नारा लगाए –
“इन्क्लाब… जिन्दाबाद !!
तानाशाही ….. मूर्दाबाद !!”
राणाले झन दाह्रा किट्यो । लाल लाल आँखा बनाउदै जोडजोडले बोलेर आदेश दियो – “यसलाई पाता कस । यसलाई दुख्ने गरी पिट । यसकी आमालाई देखाउदै पिट । यसको बाउलाई देखाउदै पिट ।”
पुलिस बनेका पात्रहरूले आदेशको पालना गर्न थाले । गंगालाललाई डोरीले पाता कसेर पल्टाए । कोर्राले हिर्काउन थाले । दर्शकहरूले ‘कठैबरा’ भनेको आवाज मञ्चसम्म पुग्यो । आवाज सुनेपछि प्रतापले आफ्नो अभिनय सफल भएको महसुस गरे । तर मञ्चमा गंगालाललाई लात र बुटले निरन्तर हिर्काउन थालियो ।
भानु डराएर तिलकलाई समाएकै थियो । साना बच्चाहरूमध्ये कसैले आफ्नी आमाको पछ्यौरी समाए । कोही डराएर रुन थाले ।
मञ्चमा श्री ३ जुद्ध सरकारको सवारी भयो । सुरक्षा गार्डले वरपरबाट जुद्ध सरकारलाई छाता ओढाइरहेका थिए । चाकरीवाला र आसेपासेले पनि ठट्यौलो अभिनय गर्थे ।
श्री ३ सरकार मञ्चमा प्रवेश गरेपछि पुलिस पात्रहरूले खुट्टामा घप्लक्कै ढोगिदिए । श्री ३ बाट सबै चाकर र पुलिसहरूलाई मिठो मुस्कानको निगाह बक्स भयो । त्यसपछि सरकारको डरलाग्दो आँखा गंगालालमाथि पर्यो ।
“ माफी माग्यो ?”
“मागेन सरकार …. अझ उल्टै नारा लगाउँछ । ” फुच्चे राणाजीले श्री ३ मा रिपोर्ट प्रस्तुत गर्यो ।
“ कुटाइ कम भयो । तिमीहरूले कम यातना दियौ ।” श्री ३ बाट पुलिसहरूको दक्षतामाथि प्रश्न चिह्न खडा भयो ।
“फेरि कुट । अब मेरो चित्त बुझ्ने गरी कुट । म बसेर हेर्छु । पिटाइ कम भयो भने तिमीहरूको जागिर चट् ।” आदेशले पुरै मञ्च थर्कियो ।
“ जो हुकुम सरकार !”
गंगालाललाई अझ जोडतोडले पिटेको र अनेक लाञ्छना लगाएको दृष्य देखाइयो । दर्शकहरूको ध्यान अझ केन्द्रित भयो । पुलिसहरूले दिल फुकाएर कुटेको अभिनय गर्न थाले । गंगालाल भने गल्दै नगलेको र झुक्दै नझुकेको अयिनय गर्न थाले । यातनाले छटपटिदा पनि राणा शासन ढाल्छौँ भनेर उद्घोष गर्न थाले ।
“इन्क्लाब … जिन्दाबाद !! ”
गंगालाल बनेका प्रताप सर जोडतोडले कराए । दर्शकहरूले पनि प्रताप सरलाई साथ दिए र नारा रन्काए —
“इन्क्लाब …… जिन्दाबाद !!”
राणा शासन … मूर्दाबाद !! ”
दर्शकहरूले समेत नारामा साथ दिएपछि प्राङ्गण पूरै गुञ्जायमान भयो । विशाल जुलुसको जस्तो आवाज परपरसम्म पुग्यो । ्
नारा बन्द भयो । दर्शकहरू पूरै भावुक भए । चारैतिर सन्नाटा छायो । दर्शकहरूले गंगालालप्रति सहानुभूति दर्साए । राणाप्रति आक्रोस ब्यक्त गरे ।
“कठैबरा गंगालाल !”
“असत्ती .. पाजी राणाहरू !…… अत्याचारी, ….शोषक,…. सामन्त ।” दर्शकहरूले सम्झी सम्झी राणाहरूलाई धारे हात लगाउन थाले र सराप्न थाले । हात खुट्टा बाँधेर पल्टाइएका गंगालाललाई रुखको फेँदमा लगेर बाँधियो ।
“ जाओ, दशरथेलाई पनि लिएर आओ ।” श्री ३ सरकारले हुकुम दियो । दर्शकहरूले नाटकको अन्तिम रसस्वादन गर्दै थिए । सबैको ध्यान नाटकमै खिचिएको थियो । अलि टाढा बसेर हेर्नेहरू पनि अन्तिम दृष्य हेर्न मञ्चका नजिक नजिक आएका थिए । सबैले आफ्ना बोली बन्द गरेर नाटकका पात्रका शब्दमा ध्यान दिइरहेका थिए । त्यहाँ केवल पात्रहरू बोलेको मात्र सुनिन्थ्यो । बरु पिपलमा हावाको झोँकाले लछारपछार गर्दा डालीबाट निस्केको हल्का आवाजले पनि स्थान पाएकोे थियो ।
ठिक त्यहीँ स्तब्ध वातावरणमा ………….. मञ्चदेखि अलि परै … दर्शकभन्दा पनि अलि परैबाट एउटा कडा आवाज आयो ।
“ खबरदार कोही पनि भाग्ने कोसिस नगर्ला ।”
सम्पूर्ण उपस्थित जनसमुदायको आँखा आवाज आएको दिशातिर केन्द्रित भयो । एक्कासि सबैका अनुहार कालानिला भए । सुरुमा त धेरैले यो पनि नाटक होला भनेर अनुमान गरे । तर उनीहरूको अनुमान गलत साबित भयो । त्यो आवाज नाटकको कुनै पात्रको थिएन, न त कुनै अभिनय नै थियो । मान्छेहरू त्रसित भए । सबैका ओँठ मुख काँप्न थाले । मुटुको धड्कन एक्कासि बढ्यो । केटाकेटीहरू आ–आफ्ना अभिभावकका जीउमा टाँस्सिए । कसैकसैले अझै पनि के भएको भन्ने स्पष्ट भएनन् । ट्वाल्ल परेर हेरिरहे ।
केही क्षणमै धेरै मान्छेहरूमा जानकारी भयो –
“ शाही सेनाले घेरा हालेछ ।”
यसबेलासम्म नाटकको खेल भताभुङ्ङ भैसकेको थियो । फेरि आवाज दोहोरियो – “ चारैतिरबाट सुरक्षाकर्मीले घेरा हालिसकेको छ । कोही पनि हलचल नगर्ला । नत्र गोली ठोक्न बाध्य हुनेछौँ । ” यहीँ मात्र चर्को आवाज आइरह्यो ।
भिडमा कोलाहल मच्चियो । मान्छेहरू त्यो चेतावनीको कुनै परवाह नगरेर भाग्ने तरखर गर्न थाले । पात्रहरू मञ्चबाट यताउता लागे । नाटकमा कड्कने श्री ३ महाहराज पनि मञ्च छोडेर भिडमा मिसिए । नाटकका पुलिस पनि भिडमै मिसिए । दर्शकहरूमध्ये कोहीले भाग्ने कोसिस गर्न थाले । कसैले भाग्ने हैन भन्दै कराउन थाले । गाउँका भद्र भलाद्मी भनाउँदाको पनि ओँठ मुख सुक्न थाल्यो ।
शाही सेना मञ्चमा प्रवेश गरे ।
“इन्फर्मेसन ठिक रैछ साप ।” एउटाले बोल्यो ।
“साँस्कृतिक कार्यक्रम देखाउने भा’को हैन ?” अर्कोले बोल्यो ।
“नेता चैँ यै हुनुपर्छ ।” प्रतापतिर इन्सास सोझ्याउँदै बोल्यो ।
प्रताप सर डोरीले बाँधिएको अवस्थामा थिए ।
“ठोक सालेलाई !” आदेश आयो ।
…ड्याम्म ..! ! ! आदेश पालनामा कतिपनि ढिलासुस्ती भएन । कति सजिलो छ ! कसैको जिन्दगी छिन्न । क्षणभरमै …..
अहिले सम्मकै चर्को र डरलाग्दो आवाज यत्रतत्र सर्बत्र फैलियो । प्रताप सरको बायाँ छातीबाट रगतका छिर्काहरू उछिट्टिए । रगत छाद्दै प्रताप सर छटपटाउन थाले । मुख र नाकबाट ह्वाल्ह्वाल्ती रगत बग्यो । बन्दुकको आवाजले झस्कायो । तितरबितर भएका दर्शकहरूको भिडले फेरि एकपटक मञ्चतिर आँखा घुमायो । प्रताप सरको तन्किरहेको शरीर सबैका आँखामा पर्यो ।
बोल्ने अवसर कसैलाई दिइएन । ्
“बाँधेर ठिक्क पार्या रैछन् । साला ! भाग्नै पाएन । … क्या सजिलो भयो !”
गोली ठोक्नेवालाले आफूलाई निकै बहादुर सम्झियो र गर्वले उन्मत्त आँखाले चारैतिर हेर्यो । बाँकी कलाकार र दर्शकहरू गरी पन्ध्र जनालाई गिरफ्तार गरियो । शाही सेनातिर खुसियालीको बहार छायो । बाँकीलाई हप्काउँदै र लातले हिर्काउँदै अलपत्र छोडेर सेना फर्कियो । त्यहाँ भने रुवावास चल्न थाल्यो । प्रताप सरको नजिक कोही जाने हिम्मत गरेनन् ।
मञ्चमा एक्लै पल्टिराखेको प्रताप सरको शरीर शवमा परिणत भइसकेको थियो ।
भानु अक्क न बक्क भयो । यताउता हेर्यो । कसैका आँखामा आँसु कसैका ओँठमा कम्पन , कोही क्रोधित थिए त कोही त्रसित थिए । स्थिति भयावह र करुणामय दुवै थियो ।
“ दाइ नाटक सिद्धियो ?” बडो अचम्म परेर दाजु तिलकलाई कलिला हातले कोट्याउँदै भानुले प्रश्न गर्यो । उसले मनमनै आफूले कहिल्यै नाटक नगर्ने सोँच पनि बनायो । भानुको प्रश्नले तिलकको हृदयमा भित्रैसम्म घोँच्यो ।
तिलकको आँखामा बरर्र आँसु देखियो । ऊ झट्ट बोल्न सकेन ।
“ नाटक सिद्धियो र दाइ ? ” भानुले पुनः प्रश्न गर्यो ।
“ हो भाइ , नाटक सिद्धियो … । ” तिलकले भानुको हात च्याप्प समायो र मुस्किलले बोल्यो — “ अब हाम्रा प्रताप सर साँच्चिकै गंगालाल हुनुभयो भाइ । सरको इच्छा पूरा भयो । .. ” त्यसपछि तिलक बोल्न सकेन । बरु हिक्का छोडेर रोयो । बालबच्चाको मन अत्यन्त दयालु र करुण हुन्छ । नौनी जस्तो छिट्टै पग्लन्छ । तिलकको मन पनि पग्लियो ।
“ हामीलाई गंगालाल बन्नुपर्छ भन्नुहुन्थ्यो , आज आफै बनेर देखाइदिनु भयो ।”
तिलकले अन्कनाइ अन्कनाइ यतिसम्म बोल्यो । योभन्दा बढी केही भन्न सकेन । उसका आँखाभरी टन्न आँसु थिए । हिक्का छोडेर फेरि रुन थाल्यो । भानु अचम्मै पर्यो ।
“ सर किन उठ्नुभएन ?” भानु प्रताप सरको नजिकै गयो । नजिक जानेमा सबैभन्दा पहिला उहीँ थियो ।
“ सर.. ! ए सर .. !! नाटक सिद्धियो । अब उठ्नुस् सर । सबै गइसके । ” भानुले प्रताप सरको शवलाई घच्घच्याउन थाल्यो । हुन त त्यहाँ रुनेहरूको अभाव थिएन । रुनेहरू अरु थुप्रै थिए । तर भानुको अवोध बालापनले स्थितिमा थप पीडा थपेको थियो । भानुले प्रतापलाई बाँधेका डोरी फुकाइदिने प्रयास गर्यो । उसको हातमा पनि रगत लाग्यो ।
“ हेर्नुस् त सर तपाईँको छातीमा कतिका रगत छ । लुगामा पनि रगत । फोहोर मात्रै छ । फोहोर लुगा नलगाउने भन्नु भा’को हैन र ? आज त तपाईँका कपडामा पनि रगतै रगत भयो नि ।” भानुको यो अवोध बोलीले वरपर उभिएका सबैलाई अझ भावुक बनायो ।
“ उठ्नुस् सर उठ्नुस । कस्तो राम्रो नाटक देखाउनु भयो । सबै रुनुभा’छ । म पनि रोएँ नि । भानुले आफ्नो हातमा लागेको रगत भुइमा पुछ्यो ।
“ दाइ सरको डोरी फुकाइदेउन ।” भानुले फेरि डोरी फुकाइदिन खोज्यो ।
क्रमशः अरु ठुला विद्यार्थीहरू पनि रुँदै प्रताप सरमाथि झम्टन पुगे । फेरि पूरै जमातमा रुवाबासी चल्यो । केहीबेरपछि स्वयम् भानु पनि डाँको छोडेर रुन थाल्यो । तिलकले जमिनमा बग्दै गरेको रगतमा हात राख्यो । अलिकति जम्न लागेको अलिकति बग्दै गरेको रगत कोमल हातमा लाललाल बनेर टाँस्सियो । माटोमा रगत बग्दा हृदयमा निकै ठुलो घाउ बन्दो रैछ । तिलक बोल्यो – “ तपाईँले भन्ने गरेको गंगालालको कथा मैले आज बल्ल बुझेँ सर । यस्तो कथा कोर्न निकै कठिन मिहिनेत गर्नुपर्दो रैछ ।”
ऊ जुरुक्क उठ्यो र बेसरी चिच्यायो ।
“ प्रताप सर — जिन्दाबाद ! ”
तिलकसँग अरुले पनि स्वरमा स्वर मिलाउँदै कराए ।
त्यस दिनदेखि त्यो स्कुलमा प्रताप सर पढाउन आएनन् । ती विद्यार्थीहरूले प्रताप सरको सदा याद गरिरहन्छन् । शाही सेनाप्रतिको उनीहरूको धारणा नै फरक भएर आयो । आज भोलि स्कुलको अफिसको भित्तामा प्रताप सरको फोटो मात्र झुन्डिएको छैन, प्रताप सरको कथा पनि विद्यार्थीको मुखमुखमा आएर बसेको छ ।
(भरखरै प्रकाशित प्लाष्टिककाे फूलबाट)






























