क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सुनवलमा ज्ञापन पत्र, भ्रष्टाचार विरुद्ध चरणबद्ध संघर्षको घोषणा

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सुनवलमा ज्ञापन पत्र, भ्रष्टाचार विरुद्ध चरणबद्ध संघर्षको घोषणा

नवलपरासी २३ भाद्र – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचार विरुद्धको अभियानलाई तीव्र बनाउँदै सुनवल नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । सोमवार आयोजित कार्यक्रममा पार्टीले सुनवल नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै जनतालाई साथ लिएर चरणबद्ध संघर्ष अघि बढाउने चेतावनी दिएको छ ।
नगरपालिकालाई बुझाइएको १९ बुँदे ज्ञापनपत्रमार्फत पार्टीले नगर भित्रको भ्रष्टाचार, अनियमितता, सार्वजनिक सम्पत्तिको दुरुपयोग, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा देखिएको कमजोरीप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल सुधारको माग गरेको हो ।
पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा सेक्रेटरी रवि पाण्डेयले भ्रष्टाचारविरुद्धको अभियान तीन चरणमा सञ्चालन हुने जानकारी दिँदै भन्नुभयो , “पहिलो चरणमा जनचेतना जगाउन ज्ञापनपत्र, दोस्रो चरणमा भ्रष्टाचारीहरूको भण्डाफोर, र तेस्रो चरणमा जनकारबाही हुनेछ ।” युवा नेता पाण्डेयले जिल्लाका विभिन्न सरकारी कार्यालय र स्थानीय तहमा व्याप्त विकृति तथा विसंगतिका विरुद्ध जनस्तरबाट संघर्ष गर्ने पार्टीको योजना रहेको बताउनुभयो ।
कार्यक्रममा पार्टीका कार्यालय सदस्य दुर्गा नारायण चोधरील शिक्षा, स्वास्थ्य, कृषि, यातायात, पर्यटन र सार्वजनिक सम्पत्तिको संरक्षणलगायतका मागहरू प्रस्तुत गर्नुभयो । ज्ञापनपत्र ग्रहण गर्दै नगरपालिका नगर प्रमुख बिमला अर्यालले “नगरपालिकाले सक्ने मागहरू सम्बोधन गर्नेछ” भनी प्रतिक्रिया दिनुभयो ।
पार्टीबाट नगर संयोजक प्रेम रिमालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, “राज्य सत्ता भ्रष्ट र कमिसनखोरीको अखडामा परिणत भएको छ । वर्तमान व्यवस्था प्रतिको जनताको अविश्वास सडकमा प्रकट भइरहेको छ । यस्तो अवस्थामा देशमा फाँसीवाद, प्रतिगमन वा क्रान्तिका परिवेश तयार हुँदैछन्।” ज्ञापनपत्रमा चेतावनी दिइएको छ कि यदि मागहरू बेवास्ता गरिएमा पार्टी चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछ । कार्यक्रममा पार्टीका जिल्ला कार्यालय सदस्य गणेश बहादुर ढकाल, महिला नेतृ एंव पार्टीको नगर सहसंयोजक जेनिशा परियारलगायतको सहभागिता रहेको थियो ।