दलितप्रतिकाे विभेद र रास्वपाकाे रवैया

दलितप्रतिकाे विभेद र रास्वपाकाे रवैया

संस्कृति

संसदमा पहिलो दिन झन्डै दुई तिहाइ बहुमत प्राप्त दल रास्वपाका अध्यक्ष रवि लामिछानेले हिन्दू समाजमा दलितहरू प्रति हुने ऐतिहासिक विभेद, अपमान र हेपाईलाई संगठित अपराध भनेर रोस्टमबाट नै माफी माँगे। सम्भवतः अब झन्डै दुई तिहाइको सरकारलेपनि दलित समुदायसँग माफी माँग्ने छ। सत्य यो नै हो। माफी माग्नु राम्रो हो, उचित पनि हो।
रविको यस कृत्यबाट खगेन्द्र सुनार भाव अभिभूत भए । उनले भने _ ‘यसले दलितको शीर उच्च भएको छ’।
खगेन्द्र सुनारको जन्म र पालन पोषण दलित परिवारमा भने अवश्य भएको हो। तर उनी कतैबाट दलित देखिँदैनन्। राजनीतिक समाजमा उनको दलित नेताको पहिचान छ, सम्मान छ । सत्ताधारी दलको सुप्रिमोले नै माफी माँगेपछि दलित नेताले गर्व गर्नु पनि पर्छ । यो पनि उचित नै हो।
तर जब म संसदमा यी नेताहरूको मुखबाट सनातनी रटान र भजन सुन्छु, अनि मलाई लाग्छ, दलितसँग माँगेको माँफी साँच्चै हो कि गोहीको लोकप्रिय आँसू ! दुबै एक साथ कसरी हुनसक्छ? यही सनातनी हिन्दू धर्मले समाजमा शूद्र, दलित र तल्लो जातको सामाजिक संरचना खडा गरेको छ । यो कसरी हुन्छ? एकातिर सनातनी हिन्दू पनि कायम राख्ने, र अर्कोतिर दलितसँग माफी पनि माग्ने ?
उदार सनातनी हिन्दूले भन्न सक्छन् _ हामी कुनै भेदभाव गर्दैनौँ, गर्नपनि दिन्नौँ । राम्रो, गर्न सके त राम्रो ! तर के यो सम्भव छ ?
गैर धार्मिकस्थलहरु सम्विधान संसद, बजार, होटल, हस्पिटल, सिनेमा, स्कुल आदिमा त यो भेदभाव अत्यन्त न्यून वा छैन भनेपनि हुन्छ। यो धर्मनिरपेक्ष राजनीतिक संघर्ष र आधुनिक चेतनाको प्रभाव हो। तर सामाजिक चेतनामा, जहाँबाट शूद्र, दलित, ठूलो जात, सानो जात, छोइने नछोइने, जस्तो भेदभावयुक्त मनोविज्ञान जन्मन्छ, त्यो परम्परागत धार्मिक सांस्कृतिक उत्सव, रीतिथिति र मन्दिरहरु हो । सकिन्छ त मन्दिरभित्र पहिचान सहित दलितको प्रवेश गराउन? सकिन्छ पशुपति र जानकी मन्दिरमा दलितलाई प्नरवेशगराउन ? सकिन्छ परम्परागत उत्सव र तिहारहरुमा दलितहरुलाई ब्राह्मण, क्षेत्रीय र वैश्यको बराबरीमा स्थान दिलाउन ? यो भेदभाव कतै उल्लेख गरिएको हुँदैन, तर हुन्छ । सकिन्छ ?
हिन्दू धार्मिक समुदायमा संरचना मात्र होइन, चेतनामा शताब्दीयौँ देखि गहिरो गाडिएको भेदभाव बारे के छ विचार? यो अपराध हो कि होइन ? केहीले भन्न सक्छन् _ परम्परा देखि चलिआएको रीतिरिवाज बदल्न सकिँदैन। यसमा हस्तक्षेप गर्नु उचित हुँदैन। तर यो रीतिरिवाजले नै मनोविज्ञानको सृजना गर्छ । यो दलित प्रतिको हेय भावले नै यिनीहरु भोग्नका निम्ति हुन् भन्ने भाव सृजना गर्छ । तराई होस वा पहाड, ग्रामीण र साना शहरहरुमा हुने अधिकांश बलात्कारका घटनामा र विविधखाले सामाजिक दमनका घटनाहरुमा सिकार दलित हुनुमा यही मनोविज्ञानले काम गरेको हुन्छ।
त्यसो भए रीतिरिवाजको नाममा सामाजिक उत्सवमा यो विभेद कायम रहन दिनु पर्छ ? तराई मधेशमा (सम्भवतः पहाडमा पनि) हिन्दू समुदायमा कुनै धार्मिक कृत्य गर्दा वा मृत्यु संस्कारको भोजमा ब्राह्मण भोजन सबैभन्दा पहिले गराइन्छ, त्यसपछि अन्य, र सबैभन्दा पछि दलितहरुलाई खुवाइन्छ। केही ठाउँमा दलितलाई अन्य जातसँग राखेर खुवाइन्छ, तर स्थान भने केही पर नै हुने गर्छ। भोजमा यो असमान व्यवहार प्रायः सबैलाई मान्य हुन्छ, मानौँ यो स्वाभाविक परम्परा हो। तर विचार गरे यो सामाजिक भेदभाव हो, जो रीतिरिवाजको नाममा निर्बाध चलिरहेको छ। यो पनि अपराध नै हो। र यो सबै सनातनी धार्मिक संहिता र स्मृतिको उपज हो।
जति बेला रवि लामिछाने दलित समुदायसँग माफी माँगी रहेका थिए, यस परम्परागत अपराध तर्फ उनको ध्यान पुगेको थियो थिएन? खगेन्द्र सुनारले पनि जब गर्वले शीर ठाडो पार्दै थिए, उनले सामाजिक हेपाईको निरन्तरता सम्झेका थिए कि थिएनन्?
सामाजिक परम्परागत भेदभाव र असमान व्यवहार हटाउन अनेक अभ्यास र सामाजिक छलफल, आधुनिक र धर्मनिरपेक्ष र सहिष्णु चेतना प्रसारको अभियान चलाउनु पर्ने आवश्यकता पर्छ। तर मन्दिरहरुमा दलितहरुको प्रवेश, र अवरोध बिना दलितहरुले पूजाआजा गर्ने अधिकार र अवरोध गर्नेलाई कडा कारबाहीको व्यवस्था कानुन बनाएर तत्काल गर्न सकिन्छ। रास्वपाले चाह्यो भने यो अनुकूल अवसर पनि हो।
हुन त धर्म, जुनसुकै भएपनि आफैंमा समस्या छ । आफूलाई श्रेष्ठ र अरुलाई दोयम बुझ्ने प्रवृत्ति सबै धर्ममा हुन्छ। त्यसैले मेरो विचारमा धार्मिक हुनुभन्दा मानवीय हुनु र सबै मानव समुदायलाई समान बुझ्नु सही दृष्टिकोण हो । तर पनि हिन्दू धर्मलाई उदार देखाउन खोज्ने हो भने तत्कालै कानुन बनाएर दलितहरुलाई मन्दिर प्रवेश गराएर उदाहरण बन्न सकिन्छ। रास्वपा सभापति लामिछानेले यस्तो गर्न सक्छन्? चाहे त अहिले पर्याप्त बहुमतको अवसरपनि छ । तर गाह्रो मानेको छु मैले। एकातिर उही सनातनी हिन्दूको महिमा गान र सँगसँगै दलितसँग माफी, कसरी सम्भव छ ?
सभापति लामिछानेले मलाई गलत साबित गर्न सके म खुशी हुनेछु। होइन भने उनको माफी गोहीको लोकप्रिय आँसू नै त हो। बिचरा खगेन्द्र सुनार,उनले दलित भएर सोच्नै सकेनन्, होइन भने दलित समुदायको सामाजिक भेदभाव यथावत् रहँदा रहँदै उनले शीर ठाडो पार्ने हतार गर्ने थिएनन्।