२००६ साल वैशाख १० गते (२२ अप्रिल १९४९) पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । स्थापनाको पर्चा, १५ सेप्टेम्बर १९४९ को घोषणापत्र र २००८ सालको राष्ट्रिय सम्मेलनले सामन्तवाद,विस्तारवाद र साम्राज्यवादका विरुद्ध नयाँ जनवादी क्रान्ति गर्नुपर्ने मान्यतामा केन्द्रित कार्यदिशा र त्यसको कार्यक्रम पारित ग¥यो । यसले माक्र्सवाद–लेनिनवाद र विचारलाई आफ्नो निर्देशक सिद्धान्त बनायो । स्थापनाकालदेखि पहिलो महाधिवेशनसम्म पार्टीले क्रान्तिकारी धार पकड्यो । यसैबेला पार्टीले पर्सा, बारा, रौतहट लगायत तराईका जिल्लामा सामन्ती भूस्वामित्वका विरुद्ध सशक्त किसान आन्दोलन चलायो । २०१० को पहिलो महाधिवेशनले नयाँ जनवादी कार्यक्रमलाई हटाएर संशोधनवादी सुधारवादी कार्यक्रम पारित ग¥यो । त्यसका महासचिव मनमोहनले २०१३ सालमा राजतन्त्रको वैधानिकत्वलाई अंगीकार गरे । २०१४ सालको दोस्रो महाधिवेशनले राजावादी केशरजंग रायमाझीलाई महासचिव बनायो । २०१७ सालको राजाको फौजीकाण्ड पश्चात् २०१९ मा तेस्रो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्रको आधारभूत कार्यक्रम र सर्वसत्ता सम्पन्न सार्वभौम संसदको मूल कार्यनीति पारित ग¥यो २०१० देखि २०१९ सालसम्म संशोधनवाद हावी रहेको अवस्था थियो ।
यसपछि कम्युनिस्ट आन्दोलन सही नीति र नेतृत्व विहीन बन्दै करिब एक दशकसम्म पूरै विकेन्द्रित र बेबारिसे जस्तै भयो । यही क्रममा नेपाली कम्युनिस्ट आन्दोलनमा दुईलाइन संघर्ष देखा प¥यो । २०२५ सालमा तेस्रो सम्मेलन गरी पुष्पलाल श्रेष्ठ समूह, २०२८ सालको झापा विद्रोहबाट जन्मिएको झापाली विद्रोही समूह, र २०२८ सालमा केन्द्रीय न्यूक्लियस हुँदै २०३१ मा चौथो महाधिवेशन समूह बने । यी सबै समूहले माक्र्सवाद–लेनिनवाद र माओ विचारधारा, नयाँ जनवादी क्रान्तिको कार्यक्रम र सशस्त्र संघर्षको कार्यदिशाको पक्षमा उभिए । यिनले रुसी आधुनिक संशोधनवाद र तेस्रो महाधिवेशनमा पारित राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमको दृढ विरोध गरे ।
चौथो महाधिवेशन समूह र झापा विद्रोही समूह देशव्यापी रुपमा फैलिंदै गए । यो स–साना कम्युनिस्ट समूहमा विभाजित हुने प्रक्रिया २०४० को पूर्वाद्धको अवस्थासम्म चलिरह्यो । २०४६ को जनआन्दोलनबाट पंचायत ढल्यो र संवैधानिक राजतन्त्रात्मक संसदीय बहुदलीय व्यवस्थाको स्थापना भयो । पंचायतकालका भूमिगत पार्टीहरु खुल्ला भए । नेकपा (माले), मनमोहन समूह, बीच एकीकरण भै २०४७ मा महाधिवेशन गरे । नेकपा (एमाले) बताए । यिनले नयाँ जनवाद परित्याग गरी बहुदलीय जनवाद (बहुलवाद) र संसदीय कार्यदिशा अपनाउन पुगे । नेकपा (मशाल), नेकपा (चौम), सर्वहारावादी श्रमिक संगठन र विद्रोही मसाल) मिलेर क्रान्तिकारी एकीकरण गर्दै २०४८ मा महाधिवेशन गरी माक्र्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवाद र दीर्घकालीन जनयुद्धको कार्यदिशा पारित गरे ।
दक्षिणपन्थी संशोधनवादका विरुद्ध वैचारिक तथा राजनीतिक संघर्ष चलाउँदै तथा नयाँ जनवादी क्रान्तिको आधारभूत तयारीका साथ २०५२ फागुन १ गतेबाट महान् जनयुद्धको शुरुवात भयो । जनयुद्धको १० वर्षको अवधिमा रणनीतिक रक्षा र सन्तुलनको अवस्था पार गर्दै तीब्र विकाससका साथ चौतर्फी पकड बनाउँदै यो आकर्षणको केन्द्र बन्न पुग्यो । नेपाली नयाँ जनवादी क्रान्ति कम्युनिस्ट आन्दोलनको इतिहासको दुरगामी महत्वकाको परिघटना थियो । जनयुद्धले छलांगमय गतिमा विकास ग¥यो । त्यही अनुपातमा भित्री र बाहिरी प्रतिक्रियावादी दुश्मन शक्तिहरु केन्द्रित हुँदै आउनु स्वाभाविक थियो । यसै प्रक्रियामा कम्युनिस्ट समूहहरु र व्यक्तित्वहरु एकीकृत र धु्रवीकृत भए । एकीकरण र ध्रुवीकरण मुख्यतः जनयुद्धको पक्षधरता र संसदीय पक्षधरताको सेरोफेरोमा भएका थिए ।
गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानको कार्यनीतिलाई पार्टीभित्रकै मूल नेता प्रचण्ड र अर्का नेता बाबुरामले विभिन्न छलकपट र षडयन्त्र गरी रणनीतिक रुपमा प्रयोग गरेर क्रान्तिप्रति गम्भीर विश्वासघात गरे । विकसित हुँदै गएको क्रान्ति धोकेबाज प्रतिक्रान्तिकारीहरुको घेरामा प¥यो । एक समय क्रान्तिको नेतृत्व गरेको प्रचण्ड मण्डली पछिल्लो समय प्रतिक्रान्तिको सेवामा लाग्यो । जनयुद्धको अन्तिम अवधि र २०६३ मंसिरको विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनको नाममा पी.एल.ए. को आत्मसमर्पण र हतियार विसर्जन, बुुर्जुवा लोकतान्त्रिक गणतन्त्र (संसदीय व्यवस्था) को स्वीकारोक्ति लगायतका गम्भीर प्रकारका दक्षिणपन्थी अवसरवादी विचलन र विश्वासघातका कारण उत्कर्षमा पुगेको क्रान्तिले गम्भीर धक्का खान पुग्यो । संविधान सभाको अवधिमा पार्टीभित्र दुई लाइन संघर्ष तीब्र र पेचिलो बन्दै गयो । यसै अवधिमा २०६९ असारमा क्रान्तिकारी धाराले दक्षिणपन्थी अवसरवादका विरुद्ध ऐतिहासिक विद्रोह गरेर मोहन वैद्य ‘किरण’ को नेतृत्वमा ने।क।पा। माओवादी पार्टीलाई स्थापित ग¥यो ।
नेपालको कम्युनिस्ट आन्दोलनले सात दशक पार गरिसकेको छ । यस दौरान यसले विभिन्न संघर्षका उतार चढाव, टुट–फुट तथा एकीकरण र ध्रुवीकरणका बीचबाट अगाडि बढेको छ । यस शिलशिलामा दुई विपरीत धारा र प्रवृत्तिका रुपमा ध्रुवीकृत हुँदै गएको छ । पार्टी स्थापना कालबाट प्रथम महाधिवेशन पहिलेको क्रान्तिकारी प्रवृत्तिदेखि २०५२ देखिको जनयुद्ध सहितको क्रान्तिकारी प्रवृत्तिको धारा र अर्को विपरीत २०१० देखि २०१९ समग्रको दक्षिणपन्थी संशोधनवादी प्रवृत्ति हुँदै प्रचलित माले एमालेका नकारात्मक प्रवृत्ति, पूर्व चौम तथा माओवादी आन्दोलनको अवसरवादी प्रवृत्ति सहितको अर्को धारा जो पश्चगमनको बाटो अंगालेको छ । यस अतिरिक्त अन्य उपधारा पनि छन् जसले आफ्नो अस्तित्व धान्न कठिन छ, लामो समय, स्वतन्त्र रहन सक्ने अवस्था देखिंदैन ।
यो संघीय लोकतान्त्रिक गणतन्त्र बुुुर्जुवा, दलाल नोकरशाही पुँजीपति र सामन्त वर्गको प्रतिनिधि, प्रतिक्रियावादी व्यवस्था हो । हिजो एक चरण नयाँ जनवादी क्रान्तिको नेतृत्व गर्न दृढ अठोटका साथ लागेका महान् जनयुद्धको नेतृत्व गरेका पार्टीको मूल नेता सहितको एउटा टिम र झापा विद्रोहीहरु कम्युनिस्ट सिद्धान्त र विचारको परित्याग गरी प्रतिक्रियावादी वर्ग, सत्ता र व्यवस्थाको रक्षा कवच बनेकाहरु आफूलाई कम्युनिस्ट भन्न छाडेका छैनन् । यसप्रकारका तत्वहरु ने.क.पा.(एमाले), ने.क.पा.(माओवादी केन्द्र) र भर्खर नेकपा (एमाले) बाट अलग भएको माधव नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मिलेर भर्खरै बनेको नेपाली कम्युनिस्ट पार्टीले वर्तमान प्रतिक्रियावादी संसदीय व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षा र प्रयोग गर्ने शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपान्तरण गर्ने विषयमा जोड दिएका छन् । यसप्रकार शान्तिपूर्ण संक्रमण, शान्तिपूर्ण सह अस्तित्व र शान्तिपूर्ण प्रतिस्पर्धाको खु्रश्चोभी आधुनिक संशोधनवादको नेपाली आयामका रुपमा प्रयोग भएको छ ।
प्रतिक्रियावादी संविधानमा समाजवाद शब्द राखिएकोमा यिनीहरु निकै गौरवका साथ फूर्ति हाँक्दछन् । आखिर यो समाजवाद कस्तो र कुन वर्गको हितमा प्रयोग हुन्छ ? यसबारे भ्रम छर्न आफ्नो राजनीतिक प्रतिवेदनमा, यो समाजवाद प्रजातान्त्रिक समाजवाद नेपाली कांग्रेसको होइन, यो सोभियत माडेलको समाजवाद पनि होइन यो उन्नत समाजवाद हो भनी शब्द जाल फ्याँकेका छन् । अनि के हो त उन्नत समाजवाद ? यसबारे स्पष्ट व्याख्या छैन,तथापि उनीहरुले वैज्ञानिक समाजवादको सारतत्वबाट अलग गर्ने प्रयत्न भने लुकाउन सकेको छैनन् । नेपाली कांग्रेस जसले आफूलार्ई प्रजातान्त्रिक समाजवादको कुरा गर्छ त्यसको पनि समर्थन रहेको समाजवाद कस्तो होला त ? सर्वहारा अधिनायकत्वलाई पूरै नकारेर उनीहरुले भन्ने गरेको उन्नत समाजवाद त घुमाएर नेकाले भने झैं प्रजातान्त्रिक समाजवाद भन्दा तात्विक रुपमा भिन्न पाइँदैन ।
उस्तै प्रसंगमा चीनको कम्युनिस्ट पार्टीले सोभियत संघको कम्युनिस्ट पार्टीलाई पठाइएको पत्रमा भनिएको छ, “जब कुनै मजदुर पार्टी पतनको खल्डोमा गिर्दछ र पुँजीपति वर्गको चाकरी गर्न लाग्दछ, त्यो बेला यो हुन सक्दछ कि पुँजीपति वर्गले त्यसलाई संसदमा बहुमत प्राप्त गर्ने र सरकार बनाउने स्वीकृत देओस् । कतिपय देशका पुँजीवादी सामाजिक जनवादी पार्टीहरुको अवस्था त्यस्तै छ । तर यस्तो स्थितिबाट खाली पुँजीपति वर्गको तानाशाही कै सुरक्षा हुन्छ र त्यही बलियो हुन्छ, यसबाट एक उत्पीडित र शोषित वर्गका रुपमा सर्वहाराको स्थिति न त बदलिन्छ, न बदल्नै सकिन्छ, यस्ता तथ्यहरुले साँच्चै पुँजीवादी बाटोको टाट पल्टाइलाई नै प्रमाणित गर्दछन् । यी भनाईहरुले नेपाल लगायत संसदवादी कम्युनिस्टहरुद्वारा प्रतिक्रियावादीहरुको चाकडी गरी त्यसै वर्गमा गिरेको कुरालाई प्रमाणित गरेको छ । त्यसैले, अहिले सही दिशामा क्रान्तिलाई अगाडि लैजान दक्षिणपन्थी संशोधनवाद विरुद्धको वैचारिक तथा राजनीति संघर्षका साथै वर्गसंघर्ष चलाउन अनिवार्य भएको छ । यसलाई विशेष महत्वकासाथ लिन आवश्यक छ । अहिले नेपाली कम्युनिष्ट क्रान्तिकारीहरुले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि विगतमा संचालन भएका जनआन्दोलन, सशस्त्र संघर्ष र मुख्यतः जनयुद्धका अनुभवहरुको जगमा आधारित ठोस नेपाली विशिष्टता पकडेको जनविद्रोहको बाटो नै पछ्याउनु पर्दछ ।
निचोड
अहिलेको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । जति जति साम्राज्यवाद विभिन्न देशहरुमा फैलिंदै गयो त्यसको प्रभावका कारणले ती देशहरुमा संशोधनवाद विस्तार हुन पुग्यो । नयाँ जनवादी तथा समाजवादी क्रान्ति सम्पन्न भएका मुलुकहरुमा पुनः पुँजीवादको पुनस्र्थापना हुन गयो । तथापि विश्वका कतिपय देशहरुमा नयाँ जनवादी, समाजवादी क्रान्ति र क्रान्तिकारी गतिविधिहरु संचालित हुँदै आएका छन् । विश्व कम्युनिस्ट आन्दोलन यतिबेला बढी नै रक्षात्मक चरणबाट गुज्रिरहेको छ ।
विश्व कम्युनिस्ट आन्दोलनको इतिहास माक्र्सवाद र संशोधनवाद बीचको तीब्र र घनीभूत दुई लाइन संघर्षको इतिहास हो । यसप्रकारका संघर्षमा कहिले माक्र्सवाद त कहिले संशोधनवादले आफ््नो पकड मजबुत बनाउँदै आएको छ । आज संशोधनवादीहरुले जडसुत्रवाद र उग्रवादको विरोधका नाममा माक्र्सवादप्रति गद्दारी गर्दै पुँजीवादी दर्शन, नवउदारवादी अर्थतन्त्र र संसदीय सत्ताको अभ्यास गरिरहेका छन्–त्यो नै आजको प्रमुख चुनौतीको विषय हो । आज संशोधनवाद साम्राज्यवादी वित्तिय पुँजीवादका अगाडि आत्मसमर्पण गर्दै माक्र्सवाद र नवउदारवादको समिश्रणमा जोड दिंदै सर्वहारा वर्गीय अडानबाट पूर्णतः पलायन हुँदै प्रतिक्रियावादी सत्ता र व्यवस्थाको पहरेदार बनेको छ ।
अन्तर्राष्ट्रिय रुपमा कम्युनिस्ट आन्दोलनले गम्भीर धक्का खाएको वर्तमान पृष्ठभूमिमा कम्युनिस्ट क्रान्तिको कार्यभार पूरा गर्नका लागि सबै खाले संशोधनवाद, अवसरवाद र मुख्यतः दक्षिणपन्थी संशोधनवादलाई विचारधारात्मक रुपमा परास्त गर्नु एउटा अनिवार्य सर्त हो । सबै खाले संशोधनवादका विरुद्ध भीषण संघर्षका बीचबाट माक्र्सवादले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा विकास गरेको हो । यसका लागि कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले एकताबद्ध गर्न गम्भीरता साथ अगाडि बढ्नु अर्को जिम्मेवारी हो ।
मालेमावादको आलोकमा क्रान्तिलाई अगाडि बढाउनका लागि विचारधारात्मक, राजनीतिक तथा सांगठनिक सबै क्षेत्रका काममा नयाँ परिस्थितिको माग अनुसार दृढ संकल्प, साहस र प्रतिबद्धताका साथ उर्जाशील र एकताबद्ध भएर सशक्त रुपमा अगाडि बढ्नु आज ऐतिहासिक आवश्यकता बनेको छ ।































