‘दक्षिणपन्थी संशोधनवाद नै अहिलेको कम्युनिष्ट आन्दोलनको प्रमुख समस्या’

‘दक्षिणपन्थी संशोधनवाद नै अहिलेको कम्युनिष्ट आन्दोलनको प्रमुख समस्या’

स्वाधीन संयुक्त सरकारमा जोड

नवलपरासी १९ कार्तिक :  क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुले मुलुकमा दक्षिणपन्थी हावा चलिरहेको बताएका छन् । उनीहरुले त्यसैको उपजका रुपमा नक्कली कम्युनिष्ट र संसदवादी शक्तिहरुमा बिग्रह आएको औल्याए । दक्षिणपन्थी संशोधनवाद नै अहिलेको कम्युनिष्ट आन्दोलनको  प्रमुख समस्या रहेकोले निर्ममतापुर्वक संर्घष गर्नुपर्ने नेताहरुले जोड दिए ।
बुधवार नवलपरासीको बर्दघाट–४ देवीनगर सम्पन्न पार्टीको नगर संगठन समितिको प्रशिक्षणात्मक कार्यक्रममा बोल्दै नेताहरुले यस्तो बताएका हुन ।
जेनजी बिद्रोहको एक झोक्काले नामधारी कम्युनिष्टहरु एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत धेरैलाई त्राहिमाम बनाएको उनीहरुले दावी गरे ।
संसदवादीहरुले भष्ट्राचार तथा कमिशनखोरी संचालन गरेकै कारण जेन्जी बिद्रोह भएको र बिद्रोहलाई बैदेशिक शक्तिले दुरुपयोग गरेको नेताहरुको कथन थियो । संसदीय ब्यवस्था असफल भइसकेको जिकिर गर्दै बक्ताहरुले नयाँ जनवादको खुड्किलो पार गरेर बैज्ञानिक समाजमा देशलाई लैजाने योजना आफनो पार्टी संगमात्र रहेको उल्लेख गरे ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापा, बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय र क्रान्तिकारी संयुक्त मोर्चाका जिल्ला संयोजक चुडामणी भण्डारीले प्रशिक्षण मन्तब्य राखेका थिए ।
देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिका बीच संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको पक्षमा संघर्ष उठाउने आवश्यक रहेको नेताहरुले जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला कार्यालय सदस्यद्वय गणेश बहादुर ढकाल र दुर्गा नारायण चौधरीको समेत आतिथ्यता रहेको पार्टीले जनाएको छ । कार्यक्रम नगर संयोजक राम प्रसाद अर्गेजाको अध्यक्षता ज्ञान बहादुर केसीको संचालनमा भएको थियो ।
यसैबीच क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दघाट नगर संगठन समितिको जिम्मेवारी हेरफेर गरिएको छ । नगर संयोजक रामप्रसाद अर्गेजालाई क्रान्तिकारी युवा संघ नेपालको जिम्मेवारी दिदै पार्टी नगर संयोजकमा ज्ञान बहादुर केसीलाई जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।