देश गम्भीर भुराजनीतिक चलखेलको भुमरीमा फसेको छ। बेेलैमा बाह्य षडयन्त्रको गम्भीर गुरुयोजना बुझ्न नसक्दा हामी पनि यसको गोटी बन्न पुगेका छौं।
जेन जीले आव्हान गरेको आन्दोलनमा बर्बर, निर्शंस र पासविक हमला गरेर नरसंहार मच्चाउँदै खड्गप्रसाद ओली नेतृत्वको एमाले-कांग्रेसको सरकारले देशलाई रक्तकुण्डमा बदलिदियो । देशका अनमोल रत्नहरुको रगतको अभिषेक लिएर देशी विदेशी षड्यन्त्रकारी र प्रतिक्रियावादी तत्वले वलिदानको सौर्यसमेत पार्श्वमा धकेल्ने गरि देशका धरोहरहरुमाथि आगो झोसियो।
नारायणहिटी राजदरबारमा देशका लोकप्रिय राजा, सेनाका परमाधिपति वीरेन्द्रको सपरिवारको कत्लेआममा देखाएकै शैलीको लाचारी र ढाड फर्काउने काम सैनिक नेतृत्वले वर्तमान परमाधिपति निवास, सिंहदरबार, सर्वोच्च अदालतजस्ता राष्ट्रिय धरोहरहरू खरानी बन्दा पनि दोहोर्याएको छ। यसले राजदरबार हत्याकाण्ड र देश जलाएर खरानी बनाउने वर्तमान बितण्डाको प्रायोजक एउटै रहेको र गोटीहरुको ठेगाना पनि एकैतिर रहेको गम्भीर संकेत र आशंका उब्जाएको छ।
देशलाई बंगलादेश बनाउने, सोमालिया बनाउने धम्की परिचालित विदेशी भाडाका टट्टुहरुले खुलेआम लामो समयदेखि दिइरहेका थिए। अर्कोतिर नेपाली जेलेन्स्कीको अवतार निर्वाह गर्न अघि सारिएको परिचालित तत्वद्वारा राष्ट्रिय सम्पत्तिमा खुलेआम आगो लगाउने धम्की दिँदै मानिसको दिमागमा सिंहदरबार जलाउनुपर्छ भन्ने भाष्यको आगो सल्काउने र फैलाउने काम पनि निरन्तर जारी थियो। अर्कोतिर मौका परस्त अवसरवादी तत्त्वहरूले निरन्तर देशका संस्थाहरु उपर संगठित रुपमा घृणाको बिष बिस्तार गर्ने काम गरिरहेका थिए। हामीले बेलैमा त्यसलाई प्रतिवाद गर्न सकेनौं र बदलामा खरानीको हकदार बनेका छौं।
एकातिर देश जलाएर खरानी बनाइएको छ। ट्रष्टका विद्यालय, सुरक्षा निकायका कार्यलय, नागरिकले सेवा लिने वडा कार्यालय, भन्सार, निजी व्यवसाय, अदालत, संसद भवन, राष्ट्रपति भवन, सिंहदरबारजस्ता ऐतिहासिक धरोहर खाग बनाइएको छ । बलिदानको सौर्यको चरम मजाक उडाइएको छ।
जनताको लामो त्याग, बलिदान र सौर्यको मोलमा स्थापित लोकतान्त्रिक संस्थाहरु फौजी बुटको परेडमुनि पिल्सिन पुगेका छन्। जंगी मुख्यालय नागरिक सरकारको दरखास्त आव्हान गरेर बसेको छ। नागरिकको सर्वोच्च संस्था र संविधानका संरक्षक राष्ट्रपतिलाई राजीनमाको लागि फौजी दवाव दिइएको खबरहरु आउनु गौरवशाली राष्ट्रिय सेनाको गौरवमय इतिहासको छातीमा कालो पोत्ने अवसरवादी र वैदेशिक गोटीहरुको घृणित दुस्साहसको प्रकटीकरण हो ।
देशको राष्ट्रिय गौरव र भरोसा सैनिक संस्था कसैको गोजीको खेलौना होइन । नेपाली जनताको धरोहर हो। यसलाई विवादित र असफल तुल्याउँदै वाह्य स्वार्थको परेड खेलाउने गुरुयोजनाको हिस्साको रुपमा भद्रकालीमा कलाविहीन नाङ्गो नाटक मन्चन गरिएको छ। दूर्भाग्यपूर्ण घटनाको पटाक्षेपमा नेपाली परिचय भएको सैनिक नेतृत्वको अनुहार अघि देखिएपनि यसको निर्देशक मुलुकबाहिर छ भन्न डराउनुपर्ने कारण छैन। तसर्थ, यसको प्रष्ट र दृढतापूर्वक प्रतिवाद गर्नु सार्वभौम नेपाली जनताको प्राथमिक कर्तव्य बन्न आएको छ।
देशलाई अकल्पनीय संवैधानिक रिक्ततामा लाने र विदेशी मनसुवा पुरा गर्न परिचालित गोटीहरुलाई निर्शंस हत्या गरिएका देशका अनमोल रत्नहरुको रगतको अभिषेक लिएर टीका लगाउँदै बुख्याँचा सत्ताको बरमाला पहिराउने नाटकको रिहर्सल चलिरहेको छ। यो प्रतिक्रान्तिकारी वैदेशिक योजनाबद्धता तोड्न तत्काल राष्ट्रपति कार्यालय सक्रिय हुन जरुरी छ। फौजी गोजीबाट सत्ताको टीका लगाउने जंगी अड्डाको भद्दा परेड बन्द गर्दै राष्ट्रपतिले तत्काल संवैधानिक सक्रियताको पहलकदमी लिन जरुरी छ।
देशलाई सीमाहीन लुटको मैदान बनाएका दलीय लुटेराहरुलाई सख्त कारबाहीको दायरामा ल्याउँदै न्यायिक कठघरामा उभ्याउन जरुरी छ। साथै देशलाई यो चरम विखण्डनमा पुर्याउने मुख्य भ्रष्टहरुलाई दलीय नेतृत्वबाट बर्खास्त गर्दै बेदाग व्यक्तिहरुले नेतृत्व हातमा लिन ढिलो गर्नु यो प्रतिक्रान्तिकारी वैदेशिक योजनाको गोटी बन्नु हुनेछ। तमाम धाक धम्की, हमला, अपमानलाई पचाउँदै जनताको बलिदानका प्राप्त लोकतान्त्रिक आधारहरु जोगाउन एकतावद्ध संघर्षको उद्घोष गर्न अग्रसर हुनु जरुरी छ।
अन्त्यमा,
अपारदर्शी छलछाम, षड्यन्त्र र मनसुवालाई थन्काएर नेपाली समाजको लोकतान्त्रिक धमनीहरुको रक्षाको लागि नेपाली समाजको प्रयासलाई तमाम अन्तर्राष्ट्रिय समुदायले खुला र स्वच्छ भावकासाथ मदत र सहयोग गर्न हार्दिक अपिल गर्न चाहन्छु।
लेखक/अध्येता





























