म ड्यामोक्रेटिक व्यवस्था

म ड्यामोक्रेटिक व्यवस्था

कविता

म पञ्चकै प्रपञ्च हुँ अलोकतन्त्र नै हुँ
म खोकतन्त्र नै र ठोकतन्त्र नै म हुँ
नदी दिने पहाडका जमिन दिने मधेशको
म प्रष्ट छु म भ्रष्ट हुँ म कष्टकी स्वदेशको

म एमसिसी गरिदिने फिरिङ्गीको म दास हुँ
धरा गरा र कन्दरा उडाउने बतास हुँ
विवेकको जिरो म हुँ ढुकुटीको किरो म हुँ
म मालपोतको पिरो विषादीको हिरो म हुँ

किसानले जतासुकै लडीबुडी गरिरहुन्
गरिब या परिश्रमी जसो गरुन् जता मरुन्
कवित्वमा चिरा परुन् दिमागमा किरा परुन्
म खन्चुवा घिचिरहुँ म उभ्भिउ यिनी लडुन्

सुवर्णको म वर्ण हुँ म माफिया म कर्म हुँ
कुकर्मको म मर्म हुँ अधर्मकै म धर्म हो
न मातृमाथि प्रेमता न भातृ प्रेम अस्मिता
यो देश नै जलाउने बनाउँदै छु है मता

तिमीहरू निदाउँदै सुतिरहु बजारमा
चढाउँदै छु देश यो फिरिङ्गीकै निधारमा
कराउने ठिमामिना कता गए कता गए
बलाउँदै छ दुनकुटी ल रोक है बुता भए ।