नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा हिरामणि दुःखीको महत्वपूर्ण भूमिका रहिआएको छ । नेपाली कम्युनिस्ट आन्दोलन र सांस्कृतिक आन्दोलनको क्षेत्रमा उहाँले उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ । प्रगतिवादी साहित्यमा कविता, कथा, निबन्ध-संस्मरण र समीक्षा लगायत पत्रकारिताको क्षेत्रमा समेत उहाँको योगदान महत्वपूर्ण छ । हाल उहाँ इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष र अखिल नेपाल जनसांस्कृतिक महासङ्घको महासचिव हुनुहुन्छ ।
प्रगतिवादी साहित्यकार हिरामणि दुःखीका पुस्तकाकार कृतिहरू चारओटा छन् । कविताका क्षेत्रमा २०६१ मा प्रकाशित “परिभाषा” र २०६५ मा प्रकाशित “जून पस्किने यात्रामा” शीर्षक रहेका दुई कवितासङ्ग्रह, कथाका क्षेत्रमा २०६८ मा प्रकाशित “युद्धका कथाहरू” शीर्षक एउटा कथा सङ्ग्रह र निबन्ध-संस्मरणका क्षेत्रमा २०७० मा प्रकाशित “स्मृतिका कुइनेटा” शीर्षक एउटा सङ्कलन प्रकाशित भएका छन् । उहाँका कयौ फुटकर कविता, लेख आदि पनि विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित हुँदै आएका छन् । यहाँ म दुःखीजीका सबै कृतिहरू होइन केवल उक्त दुई कवितासङ्ग्रहरूबारे सङ्क्षिप्तमा समीक्षा गर्न गइरहेको छु ।
दुःखीको कविताहरूको समीक्षा गर्दा सर्वप्रथम कविताका बारेमा उहाँका मान्यता तथा अभिमतमाथि दृष्टिदिनु उपयुक्त हुन्छ । पहिलो कवितासङ्ग्रह प्रकाशित हुने बेला दुःखी भन्नुहुन्छ –“हरेक व्यक्ति स्वभावैले साहित्यिक हुँदो रहेछ । फरक यत्ति हो कि कुनै कुनै मान्छे सामाजिक प्रभावबाट उद्वेलित मनका भावनालाई शव्दमा उतार्छ कसैले मनमै राख्छ । तर, मान्छे साहित्यमय भने अवश्य हुन्छ ।” (आफ्नै कुरा– परिभाषा) । उहाँ अगाडि भन्नुहुन्छ – “जीवनको परिभाषा नै क्रान्ति हो भन्ने मेरो ठम्याइ हो । सायद असल रचना जन्म दिनका लागि समाज परिवर्तनका व्यावहारिक भट्टीमा हामफाल्नु जरुरी छ । र, यी रचनाहरू पनि व्यावहारिक भट्टीकै अनुभूतिजन्य अभिव्यक्ति हुन्” । (उक्त) यहाँ साहित्य तथा कविता सम्बन्धी दुःखीका कतिपय मान्यता व्यक्तिएका छन् ।
यसैगरी दोस्रो कवितासङ्ग्रहको सन्दर्भमा दुःखी भन्नुहुन्छ “हामी माक्र्सवादी विचारका विद्यार्थीहरूकाले साहित्यलाई समाजको ऐनाका रूपमा मात्र बुझ्दैनौ र ग्रहण गर्दैनौ पनि । साहित्यले समाजको रूपान्तरणकारी भूमिका खेल्नु पर्छ । हाम्रा कविताहरूमा सामाजिक यथार्थको चित्रण मात्र नभएर समाज बदल्नका निम्ति प्रेरित गर्ने विचार र दृष्टिकोण पनि छन् । अर्थात् यी कुरुप समाज, उत्पीडनकारी व्यवस्था, अन्याय अत्याचार, भेदभाव, शोषण र दमनकारी राज्यसत्ता र त्यसको संस्कृतिलाई भत्काउने, च्यातचुत पार्ने र ध्वंस गरी नयाँ सुन्दर, सभ्य र सुसंस्कृत समाज निर्माण गर्नका निम्ति उद्वेलित गर्ने, दिशा निर्देशित गर्ने विचारहरू पनि मैले आफ्ना कविताहरूमा पस्किने कोसिस गरेको छु ।” (कविको कलम–जून पस्किने यात्रामा) । कविताबारे कवि अगाडि भन्नुहुन्छ– “हाम्रा कविताहरूमा नारा बढी देखिन्छन् भने पनि मलाई गर्व नै लाग्छ । र, मैले यो सङ्ग्रहमार्फत् समाजमा अहिलेसम्म पछि पारिएका दमित वर्गलाई आफ्नो अधिकार खोस्ने प्रक्रियामा अगाडि बढ्न तिनै नारा घन्काउने कोशिस गरेको छु” (उक्त) । यहाँ कविले आफूलाई माक्र्सवादी विचारमा आधारित रही साहित्यका क्षेत्रमा क्रियाशील साहित्यकारका रूपमा प्रस्तुत गर्नुभएको छ ।
यसरी हेर्दा दुःखीका कविता वा साहित्य सम्बन्धी मान्यतालाई निम्नानुसार दर्शाउन सकिन्छ– (१) हरेक मान्छे साहित्यिक हुन्छ, (२) जीवनको परिभाषा नै क्रान्ति हो । (३) रचनाहरू व्यावहारिक भट्टीका अनुभूतिजन्य अभिव्यक्ति हुन् । (४) साहित्यले समाजको रूपान्तरणकारी भूमिका खेल्नु पर्दछ । (५) कवितामा सामाजिक यथार्थको चित्रण मात्र नभई समाज बदल्नका लागि प्रेरित गर्ने विचार र दृष्टिकोण पनि हुनु पर्दछ । (६) कुरूप तथा उत्पीडनकारी समाज तथा संस्कृतिलाई ध्वंस गरी नयाँ, सुदर र सुसंस्कृत समाज निर्माण गर्न दिशानिर्देश गर्ने विचारलाई कवितामा पस्किनु पर्दछ । (७) कवितामा दमित वर्गका नारा घन्काउनु पर्छ । उक्त विचार तथा मान्यतालाई ध्यान दिँदा के स्पष्ट हुन्छ भने दुःखी माक्र्सवादी मान्यताप्रति प्रतिबद्ध साहित्यकार हुनुहुन्छ र उहाँका यी विचार प्रगतिवाद अथवा भनौं समाजवादी यथार्थवादमा आधारित रहेका छन्् ।
कवि हिरामणि दुःखीको पहिलो कवितासङ्ग्रह “परिभाषा”को भूमिका प्रगतिवादी साहित्यकार ईश्वरचन्द्र ज्ञवालीजी र दोस्रो कवितासङ्ग्रहको भूमिका प्रगतिवादी साहित्यकार डा. जगदीशचन्द्र भण्डारीजीले लेख्नुभएको छ । उहाँहरू दुवैले दुःखीका कविताबारे यथेष्ट प्रकाश पार्नुभएको छ । मेरो समीक्षा कार्यका लागि तिनले अवश्यै राम्रो मद्दत पु¥याउने छन् ।
प्रगतिवादी कवि हिरामणि दुःखीका उक्त दुवै कवितासङ्ग्रह महान् जनयुद्धको भावधारामा आधारित छन् । त्यसैले प्रस्तुत समीक्षाको अभीष्ट पनि कविता सम्बन्धी दुःखीका मान्यतामाथि आवश्यक ध्यान दिँदै द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण र माक्र्सवादी सौन्दर्य चिन्तनका आधारमा कविताहरूमा अभिव्यक्त जनयुद्धका भावधाराको मूल मर्मबारे सङ्क्षिप्तमा अध्ययन गर्नु रहेको छ ।

परिभाषा कवितासङ्ग्रहबारे ः
दुःखी रचित “परिभाषा” कवितासङ्ग्रहमा जनयुद्ध सुरू भए पछिका ३२ र त्यस अघिको एउटा गरी ३३ ओटा कविता सङ्कलित छन् । यो कृति मोही, भरिया, पीडित वर्ग, शोषक, सामन्त क्रान्तिकारी योद्धा सहित जनयुद्धको परिवेश र भावधारामा आधारित विषयवस्तुद्वारा निर्मित भएको छ ।
नेपालमा महान् जनयुद्धको थालनी भए लगत्तै देखापरेको देशको स्थितिमाथि प्रकाशपार्दै कवि दुःखी भन्नुहुन्छ ः
“वातावरण कोलाहलपूर्ण छ
जताततै कालो बादल मडारिदै छ
बिजुली चम्कदै छ
र, सङ्केत गर्दै छ आँधी आउने
यसै बेला, मलाई गीत गाउन मन लाग्छ ।”
(फैसला ः परिभाषा पृ. ११)
यहाँ कविले जनयुद्धको पहल गरिए लगत्तैको अवस्थालाई कालो बादल मडारिँदै, बिजुली चम्कदै र आँधी आउने सङ्केत गर्दै भनेर एउटा विद्रोहमय परिस्थितिको रूपमा चित्रण गर्नु भएको छ । यसै स्थितिबाट अभिप्रेरित बन्दै कविलाई गीत गाउन मनलागेको छ । साँच्चै कवि खुशी हुनु भएको छ ।
जनयुद्धमा वर्गदुश्मनका विरुद्ध लड्नका लागि वस्ती वस्तीमा लाल योद्धाहरू अघि बढिरहेका छन् । कवि भन्नुहुन्छ ः
“तिम्रो कपटपूर्ण नारा र झुटो आश्वसन सँगै
तिमीहरूलाई पनि सदाका लागि मसानघाटमा पु¥याउन
कसम खाएरऔकफन बाँधेर
लुटको संसार सदाका लागि अन्त्य गर्न
लामबद्ध भएका छन् “लाल योद्धा” हरू ।”
(लालयोद्धा ः परिभाषा, पृ.१४)
वस्तुतः लाल योद्धाहरू सिरमा कफन बाँधेर र क्रान्तिको शपथ खाएर लुटको संसारलाई सदाका लागि अन्त्य गर्न लामबद्ध भएका छन् । यहाँ जनयुद्धको सामान्य चित्र उतार्न खोजिएको छ ।
जनयुद्ध सुरु भएपछि गरीब तथा मोही किसानहरू खुशी भएका छन् । उनीहरूको मनोभाव माथि दुःखीले यसरी प्रकाश पार्नु भएको छ ।
“अब भने बस्नुहुन्न चुप लागेर हामी
उठ्नु पर्छ हक खोस्न दबिएका ज्यामी
युद्ध शुरु भएको छ वर्गमुक्ति लिन
विद्रोहमा जुटौं अब आफ्नो हक लिन ।”
(मोही ः परिभाषा, पृ.१५)
यहाँ दबिएका ज्यामी र किसानहरू जनयुद्धको प्रक्रियामा अघि बढ्न र मुक्ति प्राप्त गर्नका लाागि जुर्मुराउन पुगेका देखिन्छन् । गरीब किसान र ज्यामीहरूमा नयाँ प्रकारको उत्साह र उमङ्गको भाव पैदा भएको देखिन्छ ।
महान् जनयुद्धमा देश र जनताको मुक्तिका लागि क्रान्तिले रगतको माग गरिरहेको छ । सुनौँ त कविकै शब्दमा ः
“क्रान्तिले बहादुर र सज्जनहरूको रगत मागेको छ ।
त्यसैले त अहिले
क्रान्तिमा रगत चढाउनेको लाम लागेको छ ।
यदि हामीले क्रान्तिलाई
रगत दिन सक्यौ भने
अवश्य पनि क्रान्तिले हामीलाई
सुन्दर देश दिनेछ ।”
(रगतले देश साट्ने वाचा भएको छ ः परिभाषा, पृ.२२)
जनयुद्ध सुधार होइन, आमूल परिवर्तनको दिशातिर अघि बढिरहेको छ । यसै भावलाई कवि यसरी व्यक्त गर्नृहुन्छः
“जीर्णोद्धार कार्यले मात्र
घरको आयु लम्बिन अब सक्दैन
तसर्थ जग निर्माणमा जुटेका
मेरा मित्र कालीगढहरू
अवश्य निर्माण गरिछाड्छन्् नयाँ घर
जहाँ स्वच्छ हावा, सुन्दर वातावरण र
समतामूलक संसार मिल्ने छ ।”
(नयाँ घरः परिभाषा, पृ.२३) ।
यहाँ कविद्वारा कालीगढहरूलाई पुरानो घरको जीर्णोद्धार होइन, नयाँ घरको निर्माण गर्न आव्हान गरिएको छ । अनि यो नयाँ संसारमा स्वच्छ हावा र सुन्दर वातावरण बनाउन सकिने र यसरी नै समतामूलक समाज बन्ने भाव पनि अभिव्यक्त गरिएको छ । यहाँ जीर्णोद्धार सुधारवाद, कालीगढ क्रान्तिकारीहरू र नयाँ घर नयाँ समाजको प्रतीक बनेर प्रस्तुत भएका छन् ।
जनयुद्ध र माओवादी सँगसँगै जोडिएका छन् । माओवादीको परिचय दिँदै कवि भन्नुहुन्छ ः
“मैले मृत्युसँग भीषण लडाइँ लड्ने आँट गरेको छु
मृत्युसँग लड्न जो कोही सक्तैनन्
मृत्युलाई जित्न सक्ने मान्छे माओवादी हुन्छ
म त्यही माओवादी भएको छु ।”
(म माओवादी भएको छु ः परिभाषा, पृ. २६) ।
जनयुद्धको बेला माओवादीको एउटा मुख्य परिचय मृत्युसँग लड्ने योद्धा बन्न गएको थियो । वस्तुतः माओवादी त्याग, वीरता र बलिदानको प्रतीक बन्न गएको थियो । र क्रान्तिकारी योद्धाहरूले माओवादी बन्न पाएकोमा आफूलाई गौरवान्वित ठान्दथे । यहाँ यही भावधारा अभिव्यक्त भएको छ ।
महान् जनयुद्धको समयमा राजनीतिका महत्वपूर्ण पारिभाषिक पदावलीहरू परिभाषा, समाजको वर्गीय चरित्र अनुरूप शोषक र शोषित वर्गका लागि फरक फरक हुने गरेका छन् । जस्तो कि हेरौं ः
“हत्याराको परिभाषा भन या अपराधको
देशद्रोहीको परिभाषा भन या आतङ्कवादको
राष्ट्रवादको परिभाषा भन या प्रजातन्त्रको
तिम्रो र उसको परिभाषा फरक छ ।”
(परिभाषाः परिभाषा, पृ.५९) ।
वर्गसमाजमा हरेक चीजको चरित्र वर्गीय हुन्छ । ठीक त्यसैले कविका दृष्टिमा महान् जनयुद्धको प्रक्रियामा क्रान्ति, जनयुद्ध, आतङ्कवाद, राष्ट्रवाद, प्रजातन्त्र, हत्या, अपराध आदि पारिभाषिक पदावली वा पदहरूको अर्थ पनि वर्गीय विश्वदृष्टिकोणका अनुसार बेग्ला बेग्लै हुने गर्दछन् । प्रस्तुत कविता “परिभाषा” एउटा कविता मात्र होइन, सिङ्गो कवितासङ्ग्रहकै शीर्षक रहेको छ र यसरी हेर्दा जनयुद्धको वर्गीय सारतत्वलाई अभिव्यक्त गर्ने कविता र कवितासङ्ग्रहको शीर्षक पनि सार्थक नै रहेका छन् ।
जून पस्किने यात्रामा कवितासङ्ग्रहबारे
दुःखी रचित “जून पस्किने यात्रामा” शीर्षक कवितासङ्ग्रहमा तीन दर्जन जति कविता समावेश गरिएका छन् । यस कृतिमा शोषक र शोषित वर्ग बीचका सङ्घर्ष, देशभक्ति, जनताका हकअधिकार, मुक्तिका सपना सहित समग्र जनयुद्धको परिवेश तथा भावधारामा आधारित विषयवस्तुलाई स्थान दिइएको छ । जनयुद्ध सफल हुने कुरामा कवि विश्वस्त देखिनुहुन्छ । जस्तो ः
“मेरो प्रिय क्याप्टेन
हाम्रो प्रिय युग नायक
भीमकाय सामुद्रिक छाल र तुफानहरू
ठुल्ठुला ज्वार भाटाहरू
र यमानका चट्टानहरू
छिचोल्दै र पन्छाउदै
अघि बढ्नेछ र जहाजलाई
बन्दरगाहमा उतार्ने छ ।
त्यति बेला
केही पीडा-केही धक्का
व्योहोर्नु पर्नेछ अवश्य
त्यसको सट्टामा उसले
मझेरी भरि जून पस्कने छ … ।”
(जून पस्किने यात्रामाः जून पस्किने यात्रामा,पृ.२४)।
क्रान्तिको बाटोमा जति बिघ्नबाधा भए पन त्यसलाई युगनायकले अवश्यै पार लगाउने छ भन्ने कुरामा कविलाई विश्वास छ । यहाँ क्याप्टेन, जहाज र बन्दरगाह जस्ता प्रतीकहरूको प्रयोग गरिएको छ ।
उक्त “जून पस्किने यात्रामा” शीर्षक कवितालाई आधार मानेर सिङ्गो कवितासङ्ग्रहको शीर्षक नै “जून पस्किने यात्रामा” राखिएको छ । यो शीर्षक पनि नेपालको जनयुद्ध सफल हुने विश्वासमा आधारित रहेको छ । त्यसैले यो शीर्षक पनि सार्थक नै रहेको छ ।
परन्तु, जनयुद्धकै क्रममा र अन्तिम समयतिर सम्झौताका कुरा पनि उठ्दै गएका छन् । तर, कविलाई गलत प्रकारको संझौता स्वीकार्य छैन । कवि भन्नुहुन्छ ः
“जहाँ स्वाभिमानको जिन्दगी हुँदैन
जहाँ अधिकारलाई बन्धकी राख्नु पर्छ
बाँच्नका निम्ति
फगत बाँच्नका निम्ति
अहँ म बन्धकी राख्न चाहन्न अधिकारको
बरू मलाई स्वीकार्य छ मृत्युका निम्ति
एक गोली
सिर्फ एक गोली
यो मेरो विवशता हो
तर म चाहन्न संझौतामा जीवन बाँच्न ।”
(सम्झौताः जून पस्किने यात्रामा, पृ.४९) ।
कविका दृष्टिमा स्वाभिमानलाई ध्वस्त पारेर र अधिकारलाई बन्धकी राखेर आत्मसमर्पणवादी ढङ्गले सम्झौतावादमा फस्नु गलत हो । त्यसैले उहाँ सम्झौता होइन बरू मृत्यु वरण गर्न तयार हुनुहुन्छ । यहाँ क्रान्ति र मुक्तिका निम्ति कविमा विद्यमान त्याग, वीरता र बलिदानी भावलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ ।
कवि सम्झौतावादमा फस्नेतिर होइन क्रान्ति जारी राख्ने पक्षमा हुनुहुन्छ । कविको भनाइ छ ः
“विवश छु म
तुफानको स्वागत गर्न
आँगनको छेउमा स्वागतद्वार बनाएर
पर्खि बसेको छु
छिटो आऊ तुफान भन्दै
समयको जोखना हेरिरहेको छु ।
अझै यो देशलाई तुफानको खाँचो छ ।”
(आह्वानः जून पस्किने यात्रामा पृ.४०)
यहाँ कवि तुफान अर्थात् क्रान्तिको स्वागत गर्न तयार हुनुहुन्छ । र, उहाँको दृष्टिमा क्रान्ति रोक्नु हुँदैन, देशको मुक्तिको लागि अझै तुफानको खाँचो छ । यहाँ तुफान क्रान्तिको प्रतीकका रूपमा प्रस्तुत भएको छ ।
क्रान्तिमा सपनाको विशेष महत्व हुन्छ । कवि भन्नुहुन्छ ः
“म माटोको कसम खाएर भन्छु
म फेरि दशौं हजार पटक
सहिद बन्न तयार छु
तर मेरा सपना मर्न दिंदैन
त्यसका लागि
म अर्काे नालापानी उठाउन तयार छु ।”
(हराउँदै छ मेरो देशः जून पस्किने यात्रामा, पृ.२१)
उक्त कवितांशमा पनि त्याग, वीरता र बलिदानी भाव व्यक्त भएको छ । कविले सपनाको मृत्यु देख्न चाहनु हुन्न । बरू सपनालाई साकार तुल्याउनका लागि एक पटक मात्र होइन हजार पटक सहिद बन्न चाहनु हुन्छ । यहाँ प्रस्तुत हजार पटक सहिदको विशिष्ट अर्थ छ, त्यो कविमा विद्यमान बलिदानी भावधाराको एउटा उत्कर्ष हो । यसरी नै उहाँ आफ्ना सपना साकार पार्नका लागि अर्काे नालापानी उठाउन, अर्थात् अर्काे मुक्तियुद्ध लड्न तयार हुनुहुन्छ । यहाँ प्रस्तुत सपना कवि र जनताले चाहेको मुक्तिको आदर्श हो, इच्छित भविष्य हो ।
सिङ्गो क्रान्तिमा, साथै महान् जनयुद्धको प्रक्रियामा पनि सहिदहरूले देश र जनताको मुक्तिका निम्ति महत्वपूर्ण योगदान गरेका छन् । अमर सहिद इच्छुकका सन्दर्भमा कवि दुःखीको अभिव्यक्ति यस प्रकार छ ः
“ग्यास च्याम्बरमा लिई उसलाई पार्दै आज गुमनाम
तर तिम्रै चिहान खन्ने आन्दोलन पो बन्यो अरू ।
इच्छा थियो धेरै उसको त्यसैले त ‘इच्छुक’ बन्यो
आज उसले धेरै ‘इच्छुक’ जन्माएर गयो बरू ।”
(इच्छुकः जून पस्किने यात्रामा, पृ.७० )।
महान् जनयुद्धको अवधिमा धेरै नै सहिदहरूले प्राणको उत्सर्ग गरेका छन् । ती सहिदहरू मध्ये एक जना अमर सहिदको नाम इच्छुक हो । प्रतिक्रियावादी सरकारले इच्छुकलाई ठूलो यातना दिएर हत्या ग¥यो । तर आन्दोलनमा इच्छुकको बाटो पछ्याएर धेरै सहिदहरू लामबद्ध भए । यहाँ यही त्याग र वीरताको भाव मुखारित गरिएको छ । “ग्यास च्याम्बर”– दोस्रो विश्वयुद्धको बेला नाजीवादी हिट्लरले जर्मनीमा बन्दीहरूलाई थुनेर हत्या गर्ने बधशाला हो । नेपालमा पनि नाजीवादी-फासीवादी सरकारले महान् जनयुद्धको बेला कैयौ योद्धाहरूलाई ग्यास च्याम्बर जस्तै बधशालामा हालेर मारेको थियो ।
जनयुद्धको भावधारालाई कविले गजलमा यसरी अभिव्यक्त गर्नु भएको छ ।
“जनयुद्धको विकासले आकाश थर्किएको छ,
क्रान्तिको यो भूकम्पले धर्ती हल्लिएको छ ।
गाँउवस्ती, टोल, शहर सबैतिर आज
वर्ग वैरी खत्तम गर्ने युद्ध चर्किएको छ ।”
(धर्ती हल्लिएको छः जून पस्किने यात्रामा, पृ.६२) ।
उक्त कवितांशमा महान् जनयुद्ध विकसित हुँदै गएको, गाँउवस्ती, टोल, शहर चारैतिर फैलिएको र वर्गवैरीका विरुद्ध परिलक्षित हुँदै विकसित बन्न पुगेको यथार्थलाई सजीव रूपमा प्रस्तुत गरिएको छ । यहाँ भूकम्पलाई क्रान्तिको प्रतीकका रूपमा लिइएको छ ।
प्रगतिवादी कवि हिरामणि दुःखीका कविताहरू वैचारिक तथा कलात्मक दुवै दृष्टिले महत्वपूर्ण रहेका छन् । यी दुवै कवितासङ्ग्रहका कविताहरूमा विद्यमान वैचारिक तथा कलात्मक विशेषताहरूलाई सङ्क्षिप्तमा यसरी दर्शाउन सकिन्छ ।
पहिलो, दुःखीका कविताहरूको स्रोत जनयुद्धमा सङ्लग्न नेपाली सामाजिक जीवन हो । त्यसैले दुःखीका कविताहरूमा जनयुद्धद्वारा उद्घाटित वर्गयुद्धमय जीवन नयाँ नयार्थ सजीव र कलात्मक रूपमा प्रतिबिम्बित भएका छन् । यहाँ केवल चित्रण मात्र छैन, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको भावधारा पनि सशक्त रूपमा मुखरित भएको छ ।
दोस्रो, कवि दुःखीका कविताहरूमा वर्गीय भावधारा र मनोभाव राम्रोसित अभिव्यक्त भएको पाइन्छ । यहाँ एकातिर शोषक तथा उत्पीडक वर्गप्रति अपार घृणा र शोषित पीडित जनसमुदाय, श्रमिक वर्ग तथा क्रान्तिमा सङ्लग्न लाल योद्धाहरूप्रति अगाध प्रेमभाव मुखरित भएका छन् ।
तेस्रो, कवि दुःखीका कविताहरूमा प्रतिबद्धता र स्वतन्त्रताका बीचको द्वन्द्वात्मक सम्बन्धमाथि आवश्यक ध्यान दिइएको छ । यहाँ प्रस्तुत कविता देश तथा जनताको मुक्ति, महान् जनयुद्ध र क्रान्तिको सञ्चालक शक्तिप्रति प्रतिबद्ध रहेका छन् । साथै यहाँ कविले रचना शिल्प र प्रस्तुतिका हिसाबले स्वतन्त्र तथा निर्धक्कसित कवित्व शक्तिको उडान भर्नु भएको छ ।
चौथो, यस सङ्ग्रहमा संरचनाका हिसाबले तीन प्रकारका कविता देखिन्छन् । ती हुन्–गद्य कविता, गीति कविता र गजल । केही कविता छन्दमा लेख्न खोज्ने जस्तो देखिन्छ, तर छन्दोमय बनेको पाइँदैन । यहाँ अधिकांशतः गद्य कविताकै प्राधानता रहेको छ ।
पाँचौ, प्रस्तुत कविताहरूमा वर्गयुद्धमय जीवनको यथार्थमा आधारित सत्य, जनसमुदाय तथा श्रमिक वर्गको हितमा आधारित शिव र त्यसै सत्य तथा शिवका संश्लेषित सुन्दर अभिव्यक्त बन्न गएका छन् ।
छैटौं, दुःखीका कवितासङ्ग्रहका कविताहरूमा अन्तरवस्तु र रूपका बीच आफ्नो सापेक्षतामा एकरूपता पाइन्छ । दुःखीले आफ्ना कविताहरूमा क्रान्ति र जनयुद्धका विचार र राजनीतिलाई भावमय र रागात्मक बनाई प्रस्तुत गर्नु भएको छ । यो कृति राजनीतिक विषयवस्तुमा आधारित रहेको छ । तर यहाँ राजनीतिक विचारलाई जनयुद्ध र क्रान्तिको भावधारामा अन्तर्मथन एवम् संश्लेषण गरेर अभिव्यक्ति दिने काम गरिएको छ । यी कविता वीर रस प्रधान कविता हुन् र यिनमा अन्तर्वस्तुलाई प्रधानता दिइएको छ ।
कवि दुःखीका कविताहरूमा बिम्ब, प्रतीक र अलङ्कार पनि मनग्गे पाइन्छन् । माथि उद्धृत गरिएका कतिपय कविताहरूमा बिम्ब, प्रतीक र अलङ्कारहरूको छनक देख्न सकिन्छ । तर पनि उदाहरणार्थ केही कविता हेरौँ ः
(क) बाजहरूको हुकुमी शासन अगाडि
भोको चराको गीत कल्ले सुन्न सक्छ र ?”
(फैसलाः परिभाषा कवितासङ्ग्रह, पृ.११) ।
यहाँ ‘बाज’ शोषक तथा शासक वर्ग र ‘चरा’ शोषित, शासित तथा उत्पीडित वर्गका प्रतीक बन्न गएका छन् । शोषकहरूले भरिएको समाज शोषित वर्गका कुरा सुनिदैनन् । यसै भावलाई यहाँ कलात्मक रूपमा व्यक्त गरिएको छ ।
(ख) “सुन्दर भविष्यको सपना देख्न
आयुध चलाउने हिम्मत गर्नु पर्छ ।”
(सपनाः परिभाषा कवितासङ्ग्रह, पृ.६१)
उक्त कवितांश पनि प्रतीकमय बन्न गएको छ । सुन्दर भविष्यको सपना इच्छित भविष्य हो र त्यसको प्राप्तिका लागि आयुध अर्थात् हतियार चलाउने हिम्मत गर्नैपर्ने हुन्छ । यहाँ कविले क्रान्तिको जीवनमा सत्य प्रमाणित भइसकेको तथ्यलाई सरल र सरस भाषामा व्यक्त गर्नु भएको छ ।
(ग) “सपना ओढ्न आतुर छ गाँउ
सपना खान र सपनामा रम्न
प्रतीक्षित छ गाँउ
जहाँ उसले सपना देख्ने गथ्र्याे
र सपना बाँड्ने गथ्र्याे आश्वस्त पार्दै
हो, अहिले सपनाहरू
विपना बनेर गाँउ पसेको देख्न
आतुर छ मेरो गाँउ ।”
(शहर र सपनाः जून पस्किने यात्रामा, पृ.१)
क्रान्तिकारीहरूले जनतामा सपना त बाँडे । तर त्यो सपना साकार बन्न सक्ने स्थितिप्रति जनतामा केही आशङ्का पैदा हुन थालेको छ । गाँउका जनता सपना ओढ्न, खान र त्यसैमा रम्न आतुर र प्रतीक्षारत छन् । अर्काे भाषामा भन्ने हो भने जनताले जनयुद्ध अर्थात् क्रान्तिको फल चाख्न खोजिरहेका छन् । यहाँ ठीक यही भावधारालाई अभिव्यक्ति दिइएको छ । उक्त कवितांश पनि कलात्मक नै रहेको छ ।
(घ) “पश्चिमी हावाको झोक्काले
भुङ्ग्राे पनि निभाइदिन सक्छ
होसियार र सचेत बनौँ
र, आगो जोगाऊँ यति बेला ।”
(आगो खोज्दैछ मान्छे ः जून पस्किने यात्रामा, पृ.१६) ।
यहाँ उल्लेख गरिएको आगो क्रान्तिको प्रतीक हो । पश्चिमी हावाको झाेंक्कालाई साम्राज्यवाद-विस्तारवादको हस्तक्षेपका अर्थमा ग्रहण गर्न सकिन्छ । आगो र आगोको भुङ्रो समेत अर्थात् क्रान्तिको समग्र अवशेष समेत ध्वस्त हुने स्थितिप्रति कवि गम्भीर देखिनु हुन्छ । उहाँले आगो जोगाउन होसियार र सचेत बन्नु पर्ने कुरामा विशेष जोड दिनुभएको छ । उक्त कवितांश वैचारिक र कलात्मक दुबै दृष्टिले ओजपूर्ण रहेको छ ।
दुःखीजीका केही कविताहरूमा कतिपय कमी तथा सीमा पनि रहेका छन् । यस सन्दर्भमा सर्वप्रथम उहाँकै भनाई माथि ध्यान दिनु आवश्यक देखिन्छ । उहाँले “परिभाषा” कवितासङ्ग्रह प्रकाशित हुने बेलामा “आफ्नै कुरा” मा कविताका निम्ति “निरन्तर साधना” र “रचनालाई परिष्कृत गर्न” आवश्यक हुने कुरालाई आत्मसात गर्नु भएको थियो । यो ठीक कुरा हो । उहाँका कतिपय कवितामा त्यस कुरालाई राम्रोसित आत्मसात् गर्न सकिएको छैन र यहाँ यसै अनुसारका कमी तथा सीमा पाइन्छन् । “जून पस्किने यात्रामा” शीर्षक कवितासङ्ग्रह प्रकाशित हुने बेलामा “कविको कलम” मा “हाम्रा कविताहरूमा नारा बढी घन्कन्छन् भने पनि मलाई गर्व लाग्छ” भन्नु भएको छ । उहाँका कतिपय कवितामा विद्यमान कतिपय कमी वा सीमा देखा पर्नुमा उक्त भनाइमा आधारित सोचले पनि काम गरेको देखिन्छ । प्रसिद्ध येनान वार्तामा माओले राजनीतिक विषयवस्तु तथा राजनीतिक मापदण्डमा जोड दिंदा दिदै पनि कलात्मक गुण नभएका र नारावादी शैलीमा आधारित साहित्य रच्ने कुराको विरोध गर्नु भएको छ । विरोधीहरूले राजनीतिक विषयवस्तुमा आधारित प्रगतिशील रचनाहरूलाई नारावादी भनेर विरोध गर्दछन् । त्यसैलाई आधाार बनाएर हामीले नारावादी शैलीको पक्षपोषण गर्नु हुँदैन । साहित्यमा राजनीतिक विषयवस्तु हुन्छ र हुनु पनि पर्दछ । तर राजनीतिक विषयवस्तुलाई स्वीकार गर्नुको अर्थ नारावादी शैलीलाई स्वीकार गर्नु पर्छ भनेको होइन । राजनीति र साहित्यमा एउटा मूल भिन्नता भनेको माध्यम हो । राजनीतिमा कुरा सिधै गरिन्छ, तर साहित्यमा त्यही कुरा कलात्मक वा सौन्दर्यात्मक ढङ्गले प्रस्तुत गर्नुपर्ने हुन्छ । यो कुरा स्वम् दुःखीजीले पनि हृदयङ्गम गर्नु भएकै छ भन्ने लाग्छ ।
अब एउटा प्रसङ्ग । दुःखीजीको “परिभाषा” कवितासङ्ग्रहका केही कवितामा कसाही, कसाहीखाना जस्ता शब्दहरूको प्रयोग गरिएको छ र त्यसमा केही त्रुटी रहन गएको छ । यद्यपि यी शब्दहरू वर्गदुश्मनको क्रुर दमन तथा फासिवादी चरित्रका विरुद्ध प्रस्तुत गरिएका प्रतीक हुन् । परन्तु, त्यसप्रकारका शब्दहरू श्रमिकवर्ग तथा उत्पीडित जनसमुदायलाई होच्याउने तथा हेप्ने सामन्तवादी चिन्तन तथा प्रवृत्तिका उद्बोधक पनि रहि आएका छन् । तसर्थ, यस प्रकारका शब्दहरूको प्रयोग गर्दा सचेत बन्नुपर्ने आवश्यकता छ । यो आलोचना भन्दा पनि सुझाव हो ।
समग्रमा हेर्दा र निष्कर्षका रूपमा भन्नुपर्दा दुःखीका उक्त दुवै कवितासङ्ग्रहका कविताहरू महत्वपूर्ण तथा सारगर्भित रहेका छन् । यी कविता कुनै एकान्तको कोठामा शान्त भई बसेर र साहित्यका शास्त्रीय ग्रन्थहरूको ठेली चपाएर रचिएका होइनन् । अपितु, वर्गयुद्धको सजीव मैदानमा खडा भएर, सङ्घर्षमय जीवनका आक्रोश तथा आवेगले अभिभूत बनेर र आतङ्क एवम् आनन्दको द्वन्द्ववादले अभिप्रेरित भएर जन्मिएका हुन् । प्रस्तुत कवितासङ्ग्रहहरूको असली मूल्यबोध त्याग, वीरता तथा बलिदानका उत्कृष्ट कीर्तिमान र जनयुद्धको सौन्दर्यशास्त्रमा अभिव्यक्त हुन गएको छ । यी कविताहरूको अध्ययन गर्दा दश वर्षीय जनयुद्धको ऐतिहासिक परिवेश सम्झनामा आइरहन्छ । यहाँ सङ्कलित कविताहरू द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र समाजवादी यथार्थवादका सैद्धान्तिक मान्यतामा आधारित रहेका छन् ।
प्रगतिवादी साहित्यकार हिरामणि दुःखी रचित कविता भोका नाङ्गा जनता र वर्गयुद्धसित जोडिएका कविता हुन् । उहाँले आफ्नो साधनालाई एउटा उचाइ त प्रदान गर्नु भएको छ नै, अब जीवनका थप समृद्ध अनुभव, भोगाइ र साधनाको समग्रतामा अर्काे उचाइमा फड्को हान्न जरुरी छ ।



























