शनिबारीय साहित्य : कविता
*** ***
फरक फरक मानिसहरू
फरक फरक कारणले हाँस्ने गर्छन्
जस्तो कि :
कोसी नदी बेचिदाका बखत पनि
बेस्सरी हाँसे एक थरी मानिसहरू
तिनै मानिसहरू
गण्डकी बेचिदाका बखत अझ जोड जोडले हाँसे
एका थरी रातो टि-सर्ट लगाउने फ्याउराहरू पनि थपिए
र महाकाली बेचेपछि
देशबासीको अमन चयन बिथोलेर हाँसे ।
यसरी हाँस्नेहरू अझै हाँसिरहेकै छन
तिनीहरू जति बेस्सरी हाँस्छन्
देशवासीहरूका झन् रुने दिन आउछन्
देशबासीहरू रोइरहेका बखत
मोहन वैद्यहरू बिर्सेर पनि हाँस्दैन ।
देशका कल कार्खानाहरू
कौडीको भाउमा बेचिए
देशभक्तहरू बेस्सरी रोए
त्यो बखत पनि देशमा एक थरी हाँसि नै रहे
तर मोहन वैद्यहरू हाँसेनन् ।
जनसमरको
रातो पन र तातो पन
अर्को पटक बेचियो
जनसत्ताहरू विपत्ता भए
जनसेनाहरू हिनामिना भए
त्यो विपत्ता र हिनामिनाको आगोले जलेर
देशको मजदूर बस्ती रोयो
दलित बस्ती रोयो
किसान बस्ती रोयो
आदिवासी,जनजाती
मधेशी मुस्लिम र महिलाहरू रोए
त्यो बखत पनि हाँस्नेहरू थुप्रै थिए
तर त्यो हाँस्नेहरूको उन्मत्त भिडमा
मोहन वैद्यहरू थिएनन् ।
देशलाई पराईको पाशोमा पार्ने क्रम
रोकिएको छैन अझै
र यसरी सबैभन्दा पछिल्लो पाशो बनेको छ
मिलेनियम च्यालेन्ज कर्पोरेशन
दश बुँदे स्पष्टीकरणको चिर्कटोले छोपेर
देश बाँध्ने खतरनाक सिक्रीलाई
सुन्दर गहना हो भन्दै
पछिल्लो अपराधमा मुछिए
र यसरी मुछिएका बखत पनि
तिनीहरू मुस्कुराउन छोडेनन्
भलै तिनीहरूको मुस्कान
यस धरतीको हालसम्मकै
सबैभन्दा अस्लिल मुस्कान थियो
त्यस खाले मुस्कानलाई देखेर
मोहन वैद्यहरूले पिच्च थुके तर हाँसेनन् ।
यस्तो बेला हाँस्नु पनि कसरी ?
यसरी कैयन दशकहरू बिते
तर मोहन वैद्यहरू मजाले हाँसेकै छैनन्
जुन दिन मोहन वैद्यहरू साँच्चै हाँस्ने छन्
आजसम्म हाँस्नेहरूको हाँसो खोसेर मात्र हास्ने छन् ।
यो हाँसो भन्ने कुरा पनि अचम्म हुने रैछ
देशभक्त र देशघातीले एकै पटक हाँस्न नमिल्ने
अचम्मको हाँसो
****
२०८१ मंसिर २
लोकन्थली