शनिबारीय साहित्य : कविता
***  ***
 
तिम्रा देवता पूजनीय
अनि हाम्रा देवता घृणा गर्न लायक
तिम्रो मन्दिर भब्य
अनि हाम्रो प्रतिक्षालय पनि
तिमीलाई अस्विकार्य
तिम्रो लागि जगमगाउदो राजमार्ग
अनि हाम्रो लागि अँध्यारो बाटो
तिम्रो देश चै देश
अनि हाम्रो देश धरती विहीन ।
 
तिम्रो विरुवा कल्प-वृक्ष
अनि हाम्रा विरुवा जंङ्गली झाडी झोर्यान
तिम्रा पहाड नागराज
अनि हाम्रो कोइला खानी
तिम्रा मैदान स्वच्छ सुरक्षित
अनि हाम्रा चै फोहोरी र आतङ्कित
तिम्रा गाडीकालागि
फराकिला र चिल्ला सडक
अनि हाम्रा
साँघुरा गल्ली पनि काँडै काँडा भएका ।
 
हाम्रो प्राणभन्दा पनि प्यारो
जङ्गललाई नष्ट गर्दै
तिम्रो खाँचोको लागि
खुलिरहेका कार्खानाहरू
हाम्रो खेतीयोग्य जमीनमा बन्दै गरेका
तिम्रा महल र कोठीहरू
तिम्रो विकासको लागि
हामी विनासको खाडलमा ठेलिन्छौं ।
 
तिमी हत्यारा भएर पनि देशभक्त
अनि हामी मारिएर पनि विद्रोही
तिमी मर्नु सम्मानपूर्ण बलिदान
अनि हामी मर्नु सफाया ।
तिमी आक्रमणकारी भएर पनि स्वदेशी
अनि हामी
मूल बासिन्दा भएर पनि आक्रमणकारी
तिम्रा नदीहरू हाम्रा आमा
अनि हाम्रा नदीहरू
तिम्रा रखौटीजस्ता
हाम्रो श्रम तिम्रो शोषण
अनि तिम्रो सुबिधा हाम्रो शोषण ।
 
सुन !
खुल्लमखुल्ला सुन
अनि कान थापेर ध्यानले सुन अब
हाम्रो जागरण
अब तिम्रो निद्रा हो
अनि हाम्रो रगत
अब तिम्रो लागि विष
जब तिमी
केवल पूँजीवादको लागि
यत्रो छलछाम गरिरहेका छौ भने
हामी लडिरहेका छौं
हाम्रो जल,
जङ्गल ,
र जमीनका लागि ।
 
अनुवाद : बलराम तिमल्सिना

प्रतिक्रिया

सम्बन्धित खवर