काठमाडौं । एकता महाधिवेशनलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बरिष्ठ नेता सीपी गजुरेल गौरवले अन्तर्राष्ट्रिय परिस्थिति तेस्रो विश्वयुद्धतिर उन्मुख भएको र तेस्रो विश्वयुद्ध भयो भने विगतका युद्धभन्दा धेरै नै भयानक र विनाशकारी हुने दावी गर्नुभयो । उहाँले तेस्रो विश्वयुद्ध हुनका लागि अन्तरसाम्राज्यवादी अन्तरविरोध बढेर गएको हुनुपर्ने भन्दै अहिले एकातिर अमेरिका र नाटोसँग सम्बन्धित देशहरु र अर्कोतिर चीन, रुस, उत्तरकोरिया र इरान देखिएकोले विश्वयुद्ध हुने परिस्थिति विकसित हुँदै गएको बताउनु भयो ।
उहाँले भन्नुभयो, “विश्व अहिले दुई ध्रुवमा विभाजित भएको छ । एक ध्रुवको नेतृत्व अमेरिकाले गरेको छ भने अर्को ध्रुवको नेतृत्व चीन–रुसले गरिरहेका छन् । युक्रेन र गाँजाको युद्धमा यी शक्तिहरु परोक्ष रुपमा संलग्न भएका छन् र अब प्रत्यक्ष रुपमा युद्धमा आउने परिस्थिति विकसित भएको छ । खासगरी अमेरिकी राष्ट्रपति बाइडेनले आफू सत्ताबाट बाहिरिदै गर्दा संयुक्त राष्ट्रसंघले समेत प्रतिबन्ध लगाएको आइसीबिएम मिसायल रुसका विरुद्ध प्रहार गर्न अनुमति दिएपछि स्थिति अझ विश्वयुद्धतर्फ उन्मुख भएको छ । युक्रेनले आइसीबिएम मिसायल रुसी भूमिमा प्रयोग गरेपछि रुसले पनि त्योभन्दा अझ घातक हतियार युक्रेनमाथि प्रहार गरेको छ । अमेरिका र रुस प्रत्यक्ष रुपमा टकराउने स्थिति विकसित भएको छ । यो विश्वयुद्ध रोक्नका लागि विश्वमा कम्युनिस्ट आन्दोलन बलियो हुनु पर्छ ।”
उहाँले दोस्रो विश्वयुद्धको अन्त्यका लागि, हिटलरको फासिवादका विरुद्ध तत्कालीन सोभियत संघका नेता स्टालिनले निर्णायक भूमिका खेल्नु भएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “आज नेपाल र विश्वमा कम्युनिस्ट शक्ति कमजोर भयो भनेर पुँजीवादी साम्राज्यवादीहरु खुशी मनाइरहेका छन् । यी सब क्षणिक कुरा हुन् । नेपालमा र विश्वमा पनि कम्युनिस्ट शक्तिलाई बलियो बनाएर मात्र युद्धलाई रोक्न सकिन्छ र वास्तविक शान्तिको अनुभूति दिलाउन सकिन्छ ।”
उहाँले अगाडि भन्नुभयो, “अहिले हामी ऐतिहासिक एकता महाधिवेशनमा जुटिरहेका छौं । यसका दुईवटा कार्यभार छन्– एउटा देशभित्र राजनीतिक रणनीतिहरु तयार गर्ने, संगठनलाई बलियो बनाउने, छरिएर रहेका सबै क्रान्तिकारीहरुलाई एकीकरण गर्ने र अर्को अन्तर्राष्ट्रिय रुपमा पनि बलियो मोर्चा निर्माण गर्ने । विचार मिल्ने सबै भाइचरा पार्टीहरुलाई एकीकरण गर्ने । यी दुई कार्यभार पूरा गर्न यो महाधिवेशन सफल हुने दृढ विश्वास लिएको छु ।”