क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको एकता महाधिवेशन काठमाडौंमा जारी छ । पार्टीका संयोजक मोहन बैद्यले गत १३ गते काठमाडौंको न्युरोड, भूगोलपार्कमा एक बिशेष समारोहकाबीच महाधिवेशनको उद्घाटन गर्नुभएको थियो । ०७९ चैतमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बीच एकताको ऐतिहासिक सहमति भएको थियोभने ०८० बैशाख १८ गते अन्तर्राष्ट्रिय मई दिवस को अवसर पारेर पार्टी एकताको घोषणा गरिएको थियो । त्यतिबेलानै अन्य क्रान्तिकारी मालेमावादीहरुसँग पनि पार्टी एकता र क्रान्तिकारी ध्रुवीकरणका लागि छलफल र बहस भइरहेको खुलाशा गरिएको थियो । उक्त कार्यक्रममा एकताबद्ध पार्टीको शीर्ष नेतृत्वले नेपालको दलाल पूँजीवादी संसदीय व्यवस्थाविरुद्धको जारी संघर्षलाई जनवादी क्रान्ति सम्पन्नगर्दै वैज्ञानिक समाजवादी क्रान्तितर्फ एकसाथ अगाडि बढाउने प्रतिबद्धता जनाउनु भएको थियो । पार्टी एकीकरणका लागि दुवै पार्टीबाट ६÷६ जनागरी १२ जनाको संयोजन समिति बनाइएको थियो । जसमा तत्कालीन क्रान्तिकारी माओवादीकातर्फबाट महासचिव मोहन बैद्यसहित सिपी गजुरेल, हरिभक्त कँडेल, परी थापा, इन्द्रमोहन सिग्देल र रामसिंह श्रीश तथा नेकपा (बहुमत)बाट संयोजक धर्मेन्द्र बास्तोलासहित हेमन्तप्रकाश वली, दीपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी रहनु भएको थियो । त्यसैगरी त्यसैगरी ०८२ बैशाखमा क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेकपा (मशाल) बीचमा पनि पार्टी एकताको घोषणा भएको थियो । त्यसअघि बसेको दुवै पार्टीको संयुक्त बैठकले महाधिवेशन आयोजक समिति समेत गठन गरेको थियो । संयोजकमा मोहन बैद्य र सहसंयोजकमा धर्मेन्द्र बास्तोला र सन्तबहादुर नेपाली रहनुभएको थियो । २५ सदस्य कार्यालय, ८० सदस्यको सचिवालय र ५७८ सदस्यीय आयोजक समिति गठन गरिएको थियो । एकता बैठकले राजनीतिक प्रतिवेदन र विधानसमेत पारित गरेको थियो । नेकपा (मशाल) मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) बाट चारबर्ष अघि अलग भएको थियो । पार्टी एकताका सबै प्रक्रिया सकेर महाधिवेशनको तयारी तीब्र भएकै बेला गत ०८१ साउनमा धर्मेन्द्र बास्तोलासहितका केही नेताहरुले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको थियो । एकता भएको १५ महिनामै बास्तोलाहरु अलग भएपनि क्रान्तिकारी कम्युनिष्ट पार्टीले आफ्नो पार्टीलाई संगठित गरेर महाधिवेशनसम्म पु¥याउन सकेको छ । बास्तोला समूहले केही बिचारधारात्मक र संगठनात्मक सवाल उठाएर पार्टीबाट अलग भएको घोषणा गरेपनि करिव पाँच महिना यताका गतिबिधिले उनीहरु पार्टीबाट अलग हुनु केवल बहानामात्र थियोभन्ने पुष्टि गरेको छ । उनीहरुको गन्तब्य कता सोझिएको छभन्ने कुरा पछिल्ला दिनका गतिबिधिहरुले स्पष्ट गरेका छन् । उनीहरुले पार्टीबाट अलग हुँदैगर्दा फेरी पनि एकता हुनसक्ने अपेक्षा पनि गरेका थिए । त्यसैगरी बास्तोला समूह अलग हुँदैगर्दा क्रान्तिकारी कम्युनिष्ट पार्टीका संयोजक बैद्यले एक विज्ञप्ति जारीगर्दै नयाँ जनवाद र वैज्ञानिक समाजवाद लगायतका बिभिन्न विषयहरुमाथिको बहसमा सहभागीहुँदै तथा आवश्यक संश्लेषणगर्दै महाधिवेशन सफलपार्न आग्रह गर्नुभएको थियो । उहाँले आफ्नो मतलाई स्थापितगर्न बिचारधारात्मक संघर्ष गर्नुको साटो मैदानबाट भाग्ने कार्यले क्रान्तिकारी कम्युनिष्ट एकतालाई बाधा र दक्षिणपन्थी संधोधनवादीहरुलाई सहयोग पुग्न जान्छ ।
त्यसकारण पार्टी एकताको महत्वलाई विशेष गम्भीरताका साथ ग्रहणगरी उक्त पत्र फिर्ता लिएर ऐतिहासिक एकता कायम राख्न र महाधिवेशनलाई अवमूल्यन नगर्न विशेष आह्वानसमेत गर्नुभएको थियो । जसलेगर्दा बास्तोला समूह अलग भएर पनि क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई संगठनात्मकरुपले खासै असर गरेन र हाल एकताको महाधिवेशनगर्ने सफता प्राप्त भयो । संगठनात्मक रुपमा पनि नेकपा( बहुमत) को पलायनले खासै असर गरेको छैन । बिचारधारात्मक रुपमा बास्तोलाहरुले लगत बाटो लिएको स्पष्ट भएको छ । तत्कालीन नेकपा(माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल लगायतका केही नेताहरुले ०६२ मंसिर सातगते भारतको नयाँ दिल्लीमा नेपालका सात संसदवादी दलहरुसँग १२ बुँदे सहमतिगर्ने नाममा देशि तथा विदेशी प्रतिक्रियावादी पार्टी र शक्तिहरुसँग आत्मसमर्पण गरेपछि नेपालको क्रान्तिकारी कम्युनिष्ट धारले आकस्मिकरुपमा धक्का खानुपरेको थियो । ०६३ को राजनीतिक परिवर्तनको बहाना बनाएर पुष्पकमल दाहालहरुले प्रतिक्रान्तिकारी गतिबिधि गरे । जसलेगर्दा पहिलो संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो शक्तिकारुपमा देखिएको तत्कालीन नेकपा (माओवादी) पटक, पटक फुटको शृंखलाबाट गुज्रिएर हालको अवस्थामा आइपुगेको छ । यतिबेला नेपालको समग्र कम्युनिष्ट राजनीतिक फाँटनै स्पष्टरुपले दुईवटा धारमा बिभक्त भएको छ । क्रान्तिकारी धारको नेतृत्व क्रान्तिकारी कम्युनिष्ट पार्टीका संयोजक मोहन बैद्य र दक्षिणपन्थी एबं अवसरवादी धारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेको अवस्था छ । जसलेगर्दा क्रान्तिकारी कम्युनिष्ट पार्टी र शक्तिहरु तीब्ररुपमा क्रान्तिकारी कम्युनिष्ट पार्टीमा गोलबन्द भएका छनभने दक्षिणपन्थी एबं अवसरवादीहरु माओवादी केन्द्रतर्फ आकर्षित भएको देखिएको छ । ०६९ असार चारगते शान्ति र संविधानको बाटोमा जानेकि देश र जनतालाई मुक्ति दिन जनविद्रोहमा जानेभन्ने विषयले तत्कालीन माओवादीमा फुटको श्रृंखला शुरुगराएको थियो । सबैभन्दा पहिला बैद्यले नेतृत्व गरेको समूह तत्कालीन एमाओवादीबाट अलग भएको थियो। त्यसपछि ०७२ असोज तीनगते ०७२ को संविधान जारी भएलगत्तै डा. बाबुराम भट्टराईले एमाओवादीभित्र विद्रोहगर्दै नयाँ शक्ति पार्टी गठन गर्नुभएको थियो । हालको अवस्थामा आइपुग्दा डा. भट्टराईले कम्युनिष्ट राजनीति र पार्टी दुबै परित्याग गर्नुभएको छभने पुष्पकमल दाहाल कम्युनिष्ट राजनीति परित्याग गरेर बैचारिकरुपमा नेकांको निकट पुग्दा पनि पार्टीको नाममा कम्युनिष्ट र माओवादी केन्द्र शब्द हटाउन सक्नुभएको छैन । यद्यपि माओवादी केन्द्रमा हालसम्म पनि तीब्र मतभेद कायमै छ ।
कतिपयले दाहाललाई नेतृत्वबाट हटाउने र पार्टीको नाम परिवर्तन गरेर पूर्णत संसदवादी बनाउने प्रयास जारीराखेका छन् । त्यसपछि दाहालको गन्तब्य एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीतर्फ अगाडि बढ्ने निश्चित छ । त्यसैले पछिल्लो समयमा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले ०६२ मा दिल्लीमा भएको १२ बुँदे सहमति, ०६३ मा भएको शान्ति संझौता, संविधानसभाको निर्वाचन, ०७२ को संविधान र सो संविधानअनुसार नेपालमा लागूगराइएको बिद्यमान राजनीतिक ब्यवस्थालाई अमान्य घोषणा गरेको छ । अझ ०७२ को संविधानलाई त नेपालमा बिद्यमान सबै राजनीतिक समस्याहरुको जड भएको ठहर पनि गरिएको छ । जसले जनसंविधान र जनगणतन्त्रको पक्षमा आवाज बुलन्द पारेको छ । खासमा बिचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही नभएसम्म कम्युनिष्ट आन्दोलन ठीक ढंगले अगाडि बढ्न सक्दैन । कार्यदिशा भनेकै निश्चित गन्तव्यमा पुग्ने बाटो हो । कुनैपनि पार्टीले वैज्ञानिक, वस्तुवादी र सही बाटो तयगरेको खण्डमा मात्र गन्तव्य टाढा र घुमाउरो भएपनि अवश्यनै लक्ष्यमा पुग्नसकिन्छ । अझ कम्युनिष्ट पार्टीको कार्यदिशा भनेको रणनीतिक गन्तव्यमा पुग्ने खालको हुनुपर्दछ । नेपालको कम्युनिष्ट आन्दोलनमा शुरुदेखि हालसम्मनै रणनीति र कार्यनीतिको बियषयमा कतिपय नेता र समूहहरुबाट धोखाघडी भएकाले यो तीब्र ढंगले अगाडि बढ्न नसकेको हो । नेपालको कम्युनिष्ट राजनीति स्पष्टरुपमा दुईधारमा बिभक्त भएको छ । दक्षिणपन्थी धारको नेतृत्व एमालेले गरिरहेको छभने क्रान्तिकारी धारको नेतृत्व क्रान्तिकारी कम्युनिष्ट पार्टीले गरिरहेको छ । त्यसैले माओवादी केन्द्रलगायतका पार्टीहरुको आकर्षण अझैपनि एमालेतिरै बढी केन्द्रित छ । ०७५ जेठ तीनगते माओवादी केन्द्रले माओवाद लगायतका सबै सिद्धान्त, रणनीति र कार्यनीति छाडेर एमालेसँग पार्टी एकता गरेको उदाहारण पनि छ । तर माओवादी केन्द्रका मुख्य नेताहरुको अवसरवादी चरित्रका कारण एमालेमात्र नभएर एमालेबाट बिभाजन भएर बनेको एकीकृत समाजवादीलगायतका पार्टीले पनि विश्वासगर्न सकिरहेका छैनन् ।
हालको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले त्यतिबेलानै एमाओवादीसँग नवसंशोधनवादसँग निर्णायक सम्बन्ध विच्छेदको घोषणा गरेको थियो । त्यसैले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सन्दर्भमा नेपाली जनवादी क्रान्तिको उत्तराधिकारी र जनयुद्धको दाबेदार पार्टी हो । तात्कालीक कार्यदिशा, कार्यनीति र रणनीतिका हिसाबले पनि क्रान्तिकारी कम्युनिष्ट पार्टी सही साबित भएको छ । त्यसैले हालको अवस्थामा एमाले र माओवादीजस्ता संसदवादी पार्टीसँग क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले एकता गर्नुभनेको आकाशको तारा खसाल्नुजस्तै हो । एमाओवादीबाट अलगहुँदै तत्कालीन नेकपा–माओवादीले तत्कालै जनविद्रोहमा पनि नजाने र वैधानिकरुपमा निर्वाचन आयोगमा दर्ता पनि नहुने निर्णय गरेको थियो । नयाँ ढंगले जन बिद्रोहको ब्यवस्थापन हुँदैछभने पछिल्ला सबै संसदीय निर्वाचनहरु बहिष्कार भएको छ । पछिल्ला दिनमा माओवादी केन्द्रको नेतृत्व विलासी बन्दैगएको छ, बिभिन्न किसिमका सुख सुविधामा डुबेको छ र शहीद तथा बेपत्ताका परिवारलाई बेवास्ता समेत गरेको छ । जसका गतिबिधिहरु अत्यन्त अपारदर्शी बन्दैगएका छन् । नेपालमा पूर्बमाओवादी र अन्यगरी दर्जनौं कम्युनिष्ट नामधारी पार्टीहरु रहेका छन् । त्यसमा पनि रणनीति र कार्यनीतिका हिसावले समेत बिभिन्नताहरु रहेका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टीको हाल जारीरहेको एकताको महाधिवेशनले देशको अन्तरिक र बाह्य राजनीतिक परिस्थितिकासाथै नेपालका कम्युनिष्ट पार्टीहरुकाबारेमा मिहिन ढंगले छलफलगरी निचोड निकाल्ने र महाधिवेशनपछि नेपालको समग्र कम्युनिष्ट आन्दोलनलाईनै सही दिशानिर्देश गर्नसक्ने अपेक्षा गरिएको छ ।
डा. केशव देवकोटा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय सल्लाहकार समितिको सदस्य क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सल्लाहकार हुनुहुन्छ ।