” मार्क्सवाद संघर्षद्वारा मात्र विकसित हुन सक्छ , र यो कुरा विगत र वर्तमानका सन्दर्भमा मात्र नभई भविष्यका सन्दर्भमा पनि त्यत्तिकै सत्य हो ।”
– माओ त्सेतुङ , Selected Works Of Mao Tse Tung , Vol.v, p.409, Foreign Language Press 1977.
मार्क्सवाद – लेनिनवाद – माओवाद विश्व सर्वहारा वर्गको मार्गदर्शक सिध्दान्त हो । यसको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोण हो ।
यस दार्शनिक आलेखमा मार्क्सवाद – लेनिनवाद – माओवादको सैध्दान्तिक तथा दार्शनिक विकास कसरी हुँदै आएको छ भन्ने विषय संक्षेपमा प्रस्तुत गरिनेछ ।
मार्क्सवादको संक्षिप्त परिचय :
मार्क्सवादको प्रतिपादन कार्ल मार्क्स ( १८१८ – १८८३ ) र फ्रेडरिक एंगेल्सद्वारा विश्वविख्यात कम्युनिस्ट घोषणापत्र मार्फत् सन १८४८ मा गरिएको हो । यसलाई कम्युनिस्ट लिग मार्फत् सन १८४८ फेब्रुअरी २१ दिन लण्डनबाट गरिएको हो । मार्क्स – एंगेल्स मार्क्सवादका प्रवर्तक हुनुहुन्छ । जर्मन शास्त्रीय दर्शन , बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजवादको गहन अध्ययन – विश्लेषण र संश्लेषण पश्चात् विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त र पथप्रदर्शक सिध्दान्तका रुपमा मार्क्स – एंगेल्सद्वारा मार्क्सवाद र मार्क्सवादी दर्शनको अनुसन्धान गरिएको थियो ।
मार्क्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । मार्क्सवाद गतिशील सिध्दान्त हो । वर्गसंघर्ष र विचार संघर्षको बीचबाट मार्क्सवादकोो जन्म र विकास हुँदै आएको छ । आज मार्क्सवादले आफ्नो विकासको क्रममा मार्क्सवादी चरण , लेनिनवादी चरण र माओवादी चरणसम्म गुणात्मक रुपमा विकास भएको छ, मार्क्सवादका विकासका यी तीन गुणात्मक चरणबारे छोटो रुपमा विषय प्रस्तुत यसरी गरिएको छ :
मार्क्सवादको विकासको चरण
मार्क्सवाद एक विज्ञान हो , अर्थात् मार्क्सवाद विश्व सर्वहारा क्रान्तिको विज्ञान हो । समाज विकासका क्रममा यसको पुँजीवादको प्रारम्भिक अवस्थामा जन्म र विकास भएको हो । मार्क्सवादको मुख्य उद्श्य् लक्ष्य के हो भन्ने कुरा नै महत्त्वपूर्ण विषय हो । यसको दार्शनिक , आर्थिक , राजनीतिक मान्यता को हो भन्ने विषय नै प्रमुख विषय हुन् । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद , अतिरिक्त मूल्यको सिध्दान्त , वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका , सर्वहारा वर्गको अधिनायकत्व र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता र लक्ष्य – उद्श्ये हुन् । लेनिनले मार्क्सवादबारे ” मार्क्सवाद भनेको मार्क्सका विचार र उनका शिक्षाको व्यवस्थित श्रृङखला हो” भन्नुभएको छ । मार्क्सवादको निर्माण दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक तत्वहरुको संश्लेषणबाट भएको छ ।
मार्क्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यो दर्शनको सिध्दान्त भौतिकवाद हो । यसले पदार्थ , प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना , विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ ।यसले चेतनालाई वस्तजगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ । यो दर्शनको पध्दति द्वन्द्ववाद हो ।
फ्रेडरिक एंगेल्सले द्वन्द्ववादका तीन नियम अर्थात् विपरीतहरुको एकता र संघर्षको नियम , मात्रको गुण र गुणको मात्रामा रुपान्तरणको नियम र निषेधको निषेधको नियमको उल्लेख गर्नुभएको छ ।
साथै कार्ल मार्क्सले ऐतिहासिक भौतिकवादमा सामाजिक सत्ता र सामाजिक चेतना , उत्पादन शक्ति र उत्पादन सम्बन्ध , आधार र उपरि संरचना तथा उत्पीडक र उत्पीडित वर्गहरुका बीचको संघर्षको मान्यता प्रस्तुत गर्नुभयो छ । मार्क्सको राजनीतिक अर्थशास्त्र श्रम मूल्यको सिध्दान्त र अतिरिक्त मूल्यको सिध्दान्तमा आधारित रहेको छ । मार्क्सको वैज्ञानिक समाजवाद वर्गसंघर्ष , इतिहासमा बलप्रयोगको भूमिका , सर्वहारा वर्गको अधिनायकत्व र वैज्ञानिक साम्यवादका आधारभूत मान्यताहरुद्वारा निर्मित भएको छ ।
लेनिनवादको विकासको चरण :
सन १८८३ मा प्लेखानोवको नेतृत्वमा गठन गरिएको मजदुर मुक्ति दलद रुसमा पहिलो मार्क्सवादी समुह थियो । प्लेखनोवकै नेतृत्वमा त्यसलाई विकास गरिएको थियो । त्यही नै रुसमा स्थापित कम्युनिस्ट पार्टी थियो र त्यसैलाई नै लेनिन ( १८७० – १९२४) ले नयाँ ढंगले विकसित गर्नुभएको थियो ।
मार्क्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । लेनिनवादको विकास कुन कारणले भयो भन्ने कुरा ज्यादै महत्त्वपूर्ण विषय हो । लेनिनको समयमा पुगेर पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति , सर्वहारा आन्दोलन तथा ज्ञान – विज्ञानका क्षेत्रमा थप खोज- आविष्कार हुँदै जानू र त्यसप्रकारको नयाँ परिस्थिति अनुरुप मार्क्सवादलाई नयाँ उँचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवादको जन्म भएको थियो ।
त्यही परिस्थितिमा प्रकृति विज्ञानका क्षेत्रमा दुर्तगतिले प्रगति हुँदै गयो । इलेक्ट्रोनको क्षेत्रमा विसत खोज भयो , सापेक्षतावादको सिध्दान्त प्रकाशमा आयो । त्यो स्थितिमा कैयौं आदर्शवादी प्रकृति वैज्ञानिक र दार्शनिकहरुले पदार्थ लोप भयो भन्दै भौतिकवादमाथि प्रहार गर्न थाले । एकातिर यो स्थिति र अर्कोतिर साम्राज्यवादको जन्मको कारण मजदुर आन्दोलनमा अभिजातवर्गको प्रादूर्भावबाट संशोधनवाद प्रकट भयो र त्यसले मार्क्सवादको गंभीर तोडमरोड गर्न थाल्यो । साम्राज्यवाद र संशोधनवादको चिरफार गर्दै क्रान्तिका कामहरुलाई अगाडि बढाउनु पर्ने आवश्यकताको परिपुर्ति लेनिनबाट भएको थियो । लेनिनले आफ्नै नेतृत्वमा सन १९१७ मा महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरेर मार्क्सवादको सफल प्रयोग गर्नुभई विश्वमै पहिलोपटक सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्नुभएको थियो ।
त्यसै प्रक्रियामा लेनिनले सन १९१९ मा तेस्रो अन्तर्राष्ट्रियको गठन गर्नुभएको थियो । र पार्टी संगठनका क्षेत्रमा जनवादी केन्द्रीयताको सिध्दान्त प्रतिपादन गर्गु भयो । यिनै समग्रतालाई लेनिनवाद भनिन्छ । लेनिनवादका बारेमा अन्तर्राष्ट्रिय सर्वहारा वर्गका अर्का नेता स्टालिनले भन्नुभएको छ , ” लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको मार्क्सवाद हो । अझ खसोखास भन्ने हो भने लेनिनवाद भनेको सामान्यतः सर्वहारा क्रान्तिको सिध्दान्त तथा कार्यनीति र विशेषत: सर्वहारा वर्गको अधिनायकत्वको सिध्दान्त र कार्यनीति हो ।”
त्यस्तै लेनिनवादी सिध्दान्त , विश्वदृष्टिकोण र उहाँका शिक्षाकाबारेमा माओ त्सेतुङले भन्नुभएको छ , ” लेनिनवादको सिध्दान्तले मार्क्सवादको विकास गरेको छ । यो कुन सन्दर्भमा भनिएको छ ? प्रथम , विश्वदृष्टिकोणमा, भौतिकवाद र द्वन्द्ववादमा र द्वितीय क्रान्तिको सिध्दान्त र कार्यनीतिमा विशेषत: वर्गसंघर्ष , सर्वहारा वर्गको अधिनायकत्व र सर्वहारा वर्गको राजनीतिक पार्टीका प्रश्नहरुमा र यसका साथै समाजवादी निर्माणमा लेनिनका शिक्षाहरु रहेका छन् ।”
लेनिनद्वारा प्रतिपादित लेनिनवादले मार्क्सवादको विकासमा थपेको उँचाइबारे स्टालिन र माओ त्सेतुङका भनाइहरुले सटिक र सूत्रबधद रुपमा राम्रो प्रकाश पारेका छन् । लेनिनले मार्क्सवादी विश्वदृष्टिकोणमा जुन नयाँ उँचाई थप्नु भएको छ त्यसका मूल विशेषताहरु यसप्रकार रहेका छन् :
(१) पदार्थको लोप भयो भन्ने आदर्शवादी प्रकृति वैज्ञानिक तथा दार्शनिकहरु र संशोधनवादीहरुका विरुद्ध लेनिनले विज्ञानका थप विकसित सामाग्रीका आधारमा द्वन्द्वात्मक भौतिकवादको दार्शनिक मौलिक प्रश्नमा नयाँ आयाम प्रदान गर्नु भएको छ । लेनिनको यो योगदान अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अतुलनीय रहेको छ ।
(२) महान् लेनिनले द्वन्द्ववादी पध्दतिको व्याख्या , विश्लेषण र परिमार्जन गरि त्यसमा अग्रिम विकास र मूर्तिकरण गर्नुभएको छ । लेनिनले भँडुवा विकासवादका विरुद्ध संघर्ष गरि द्वन्द्ववादको विपरीतहरुको एकता र गुणात्मक छलाङको सिध्दान्तमा नयाँ आयाम थप्नु भएको छ ।
(३) लेनिनले द्वन्द्वात्मक भौतिकवादको ज्ञान सिध्दान्तमा प्रतिबिम्बनको सिध्दान्त , ज्ञानको वक्रता तथा बहुविधताबारे लेनिनले कैयौं नयाँ नयाँ कुराहरुको उजागर गर्नुभएको छ
(४) लेनिनले ऐतिहासिक भौतिकवादको क्षेत्रमा समाज विकासका उत्प्रेरक शक्तिको अवमूल्यन गर्ने आत्मपरतावाद , चेतनाको भूमिकालाई नकार्ने संवत:स्फूर्तवाद, जनताको भूमिकालाई निषेध गर्ने अराजकतावाद, सामाजिक चिन्तन र सामाजिक सत्तालाई एउटै ठान्ने तथा उत्पादक शक्तिको सिध्दान्तको पूजा गर्ने संशोधनवादका विरुद्ध कडा संघर्ष चलाउनु भएको थियो ।
साम्राज्यवादको सारतत्वलाई एकाधिकार पुँजीवादका रुपमा आौंल्याउँदै सर्वहारा क्रान्तिको सिध्दान्तलाई विकसित गर्ने , सर्वहारा अधिनायकत्वको सिध्दान्तलाई परिमार्जन गर्ने , साम्राज्यवादको युगमा युध्दको अपरिहार्यता र हिंसापूर्ण क्रान्तिको अनिवार्यतालाई व्यवस्थित रुपमा सैध्दान्तिकरण गर्ने काममा लेनिनको उल्लेखनीय भूमिका रहेको छ ।
(५) मार्क्सवादी – लेनिनवादी विश्वदृष्टिकोणलाई क्रान्तिको कार्यदिशासंग गाँस्ने , वर्गदुश्मन तथा संशोधनवादका विरुद्ध वर्गसंघर्ष र दुईलाइन संघर्षका समस्याहरुको समाधान गर्दै
वैज्ञानिक समाजवादको स्थापना तथा निर्माण गर्ने काममा लेनिनको भूमिका अद्वितीय रहेको छ ।
के गर्ने ? भौतिकवाद: अनुभवसिध्द आलोचना , सोह्र बुँदे दार्शनिक नोट , एक पाइला अगाडि दुई पाइला पछाडि , राज्य र क्रान्ति , साम्राज्यवाद पुँजीवादको उच्चतम चरण , वामपन्थी साम्यवाद : एक बालरोग , ृृ मार्क्सवाद र संशोधनवाद जस्ता दार्शनिक तथा सैध्दान्तिक पुस्तकहर लेखेर मार्क्सवादी ज्ञान सिध्दान्तको भण्डारमा महत्त्वपूर्ण योगदान थपेर समृद्ध तुल्याउनु भएको छ ।
माओवादको विकासको चरण :
मार्क्सवाद – लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । माओ त्सेतसङ ( १८९३ – १९७६ ) माओवादका प्रवर्तक हुनुहुन्छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा के आवश्यकताले माओवादको विकास गरियो भन्ने विषय ज्यादै महत्त्वपूर्ण विषय हो । खासगरी सामन्तवादी – साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरुको समाधान गर्नुपर्ने , विश्व सर्वहारा वर्गका महान् नेता तथा सोभियत सत्ताका प्रमुख स्टालिनको सन १९५३ मा मृत्यु भयो । त्यतिबेला अन्तर्राष्ट्रिय पनि थिएन । त्यसपश्चात सोभियत रुस एवं पूर्वी युरोपका कैयौं देशहरूमा प्रतिक्रान्ति भई पुँजीवादको पुनस्र्थापनाका कारणहरुको खोज गरि त्यसबाट शिक्षा लिनुपर्ने र ख्रुश्चोवी आधुनिक संशोधनवाद विरुद्धको लडाइँ लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओ त्सेतुङद्वारा मार्क्सवाद – लेनिनवादको थप परिमार्जन तथा विकास गरि त्यसलाई मार्क्सवाद – लेनिनवाद – माओवादको तेस्रो , नयाँ र गुणात्मक उँचाइमा पुर्याउने काम भएको थियो । मार्क्सवाद – लेनिनवादलाई माओवादमा विकसित तुल्याउने काममा माओ त्सेतुङको अतुलनीय योगदान रहेको छ ।
सर्वहारा क्रान्तिको विज्ञानको मार्क्सवाद – लेनिनवाद – माओवादका रुपमा भएको गुणात्मक विकासको प्रक्रियालाई हामीले यसरी बुझ्न आवश्यक हुन्छ कि वर्गसंघर्षको ऐतिहासिक अनुभव र विकासको क्रममा अन्तर्राष्ट्रिय सर्वहारा वर्गको क्रान्तिको विज्ञानको रुपमा मार्क्सद्वारा मार्क्सवादको अनुसन्धान भएको हो । अनवरत संघर्ष र महान् प्रतिभाको परिचयका साथ कार्ल मार्क्सद्वारा उद्घाटित मार्क्सवादी विज्ञानको दर्शन, राजनीतिक अर्थशास्त्र एवं वैज्ञानिक समाजवाद गरि तीन प्रमुख अंग रहेको कुरा सर्वविधितैै छ । स्वयं एउटा विज्ञान भएको कारणले मार्क्सवादको निरन्तर विकास हुनु स्वाभाविक प्रक्रिया हो ।
तत्कालीन समयमा वर्गसंघर्षका नयाँ अनुभव र समस्याहरुका सन्दर्भमा लेनिनद्वारा मार्क्सवादलाई त्यसको समग्रतामा विकासको दोस्रो चरण लेनिनवादको चरणमा पुर्याउने कामले मार्क्सवादलाई दार्शनिक क्षेत्रका साथै मार्क्सवादका तीनवटै अंगमा एक महत्त्वपूर्ण उपलब्धि थियो । आज यो विज्ञान संघर्षको विकासको तेस्रो , नयाँ र उच्च चरण साथै मार्क्सवादको तेस्रो , नयाँ र उच्च चरण माओ त्सेतुङद्वारा विकास गरिएको छ।
यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिध्दान्तको सिंगो अभेद्य ईकाइका रुपमा मार्क्सवाद – लेनिनवाद – माओवाद रहेको छ । माओवादलाई आजको मार्क्सवाद – लेनिनवादको रुपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्तिन । आजको विश्वको मार्क्सवाद – लेनिनवाद भएकोले नै संसारभरका प्रतिक्रियावादी तथा संशोधनवादीहरुले माओवाद एवम् माओवादीहरुमाथि भीषण हमला गरिरहेका छन् । जसरी मार्क्सवाद – लेनिनवादको स्थापना क्रान्तिकारी कम्युनिस्टहरूद्वारा सबैखाले प्रतिक्रियावाद , संशोधनवाद , अवसरवादका विरुद्ध भीषण संघर्षका क्रममा भएको थियो , त्यसरी नै आज माओवादको स्थापना पनि निर्मम संघर्षका बीचबाट भइरहेको छ ।
माओवाद विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । यस माओवादी विश्वदृष्टिकोणका मूल विशेषताहरु यसप्रकार रहेका छन् :
(१) दर्शन अर्थात् द्वन्द्वात्मक भौतिकवादको सारतत्वका रुपमा अन्तर्विरोधको नियम , विपरीतहरुको एकताको नियमको उद्घाटन र व्याख्या , एकको दुईमा विभाजन हुन्छ भन्ने कुराको समृद्ध व्याख्या र प्रयोग ।
(२) द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिध्दान्तको क्षेत्रमा पदार्थको चेतनामा र चेचनाको पदार्थमा रुपान्तरणको दुई छलाङको सिध्दान्तको रुपमा विकास र व्याख्या ।
(३) आधार र उपरिसंरचना, उत्पादक शक्ति र उत्पादन सम्बन्ध , सिध्दान्त र व्यवहारबीचको द्वन्द्वात्मक सम्बन्धको व्याख्या , विवेचना र परिमार्जन , नयाँ जनवाद , दीर्घकालीन जनयुद्ध , नोकरशाही पुँजीवाद, सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिध्दान्त तथा महान् सर्वहारा साँस्कृतिक क्रान्तिको सिध्दान्तको प्रतिपादन तथा प्रयोग , वर्गसंघर्षलाई मुख्य कडी मान्ने , राजनीतिलाई कमान्डमा राख्ने , क्रान्तिलाई पकड्ने र उत्पादनमा जोड दिने , मुख्यतः लाल बन्दै निपुण समेत बन्नुपर्ने जस्ता मान्नेता अघि सारी सामाजिक चिन्तन , आर्थिक तथा साँस्कृतिक गतिविधिहरुको सञ्चालन र इतिहास निर्माणमा जनसमुदायको भूमिका उच्च मूल्यांकन सहित जनदिशाको मान्नेता निर्धारणसहितका विचारद्वारा ऐतिहासिक भौतिकवादका क्षेत्रमा महत्त्वपूर्ण योगदान ।दर्शनलाई जनसमुदायमा पुर्याउनुपर्ने कुरामा जोड ।
(४) विश्वदृष्टिकोण र कार्यदिशा बीचको अन्त:सम्बन्धको प्रस्तुति । वर्गसंघर्ष तथा दुई लाईन संघर्षका समस्याहरुको समाधानका लागि कार्यनीतिको विकास र संशोधनवादका विरुद्ध निर्मम संघर्ष । आदि ।
यस अतिरिक्त माओ त्सेतुङले व्यवहारबारे , अन्तर्विरोधबारे , नौलो जनवाद , सही विचार कहाँबाट आउँछ ? , मनोगतवादको विरोध गर , घिसेपिटे पार्टी लेखन , युवा आन्दोलनको दिशा , दर्शनलाई जनताका बीचमा पुर्याउ , जनदिशा , जनताका बीचको अन्तर्विरोध सही ढंगले सञ्चालन गर्नेबारे , ठूलो माछाले सानो माछा खान्छ , दर्शनमा एकको दुई हुन्छ, ज्ञन सिध्दान्तको क्षेत्रमा दुई छलाङको सिध्दान्त , वैज्ञानिक समाजवाद अर्थात् वर्गसंघर्षको क्षेत्रमा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिध्दान्त , संगठनको क्षेत्रमा तीन गर , तीन नगरको सिध्दान्त , पार्टीको कार्यशैली सुधार जस्ता महत्त्वपूर्ण दार्शनिक , सैध्दान्तिक तथा राजनीतिक लेखहर लेखेर मार्क्सवादी – लेनिनवादी ज्ञान सिध्दान्तको भण्डारमा थप योगदान पुर्याउनु भएको छ ।
मार्क्सवाद – लेनिनवाद – माओवादको ऐतिहासिक कार्यभार :
मार्क्सवाद एक वैज्ञानिक तथा परिवर्तनशील सिध्दान्त हो । यो निरन्तर विकासको चरणको प्रक्रिया पार गर्दै आज यसले पहिलो मार्क्सवादको विकासको चरण , दोस्रो लेनिनवादको विकासको चरण र तेस्रो नयाँ र उच्च चरणमा माओवादको विकासको चरणसम्म पार गरिसकेको छ । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिध्दान्तको सिंगो अभेद्य ईकाइको रुपमा रहेको मार्क्सवाद – लेनिनवाद – माओवाद विश्व सर्वहारा वर्गको पथप्रदर्शक सिध्दान्त बन्न पुगेको छ ।
मार्क्सवाद – लेनिनवाद – माओवादको ऐतिहासिक कार्यभार के हो ? भन्ने प्रश्न आजको ज्वलन्त प्रश्न हो । यसको ऐतिहासिक कार्यभार भनेको विश्व मानव समाजलाई नयाँ जनवाद , वैज्ञानिक समाजवाद हुँदै वर्गबिहिन , राज्यबिहिन समानतामूलक सभ्य र सुन्दर नयाँ संसारको निर्माण गर्नु रहेको छ । नयाँ संसार भनेको वर्गबिहिन , राज्यबिहिन वैज्ञानिक साम्यवाद हो ।
( लेखक : वरिष्ठ मार्क्सवादी चिन्तक , लेखक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुनुहुन्छ ) ।