शनिबारीय साहित्य : सांस्कृतिक अलेख
*** ***
पुँजीको केन्द्रीयतामा पुँजीपतिहरूको हितमा उनीहरूकै तजबीजमा चल्ने प्रणाली पुँजीवाद भएझैं उपभोक्ताको हितमा उपभोक्ताकै केन्द्रीयतामा र उपभोक्ताकै तजबीजमा चल्ने प्रणालीलाई उपभोक्तावाद भनिएको होला भन्ने लाग्न सक्छ । यथार्थ भने नितान्त विपरीत छ । कमसल वस्तुलाई उत्कृष्ट वस्तुका रूपमा र अनावश्यक वस्तुलाई अत्यावश्यक वस्तुका रूपमा तिलस्मी ढङ्गले प्रचार गरी उपभोक्तालाई भ्रममा पारी मालवस्तु बिकाउने प्रपञ्च नै उपभोक्तावाद हो । पुँजीवादी बजारले उपभोक्ताको मनमा उत्पन्न गराउने मनोविकार पनि उपभोक्तावाद हो । उपभोक्तावाद उपभोक्ताको चिन्तन र व्यवहारमा उत्पन्न हुने एक किसिमको पागलपन हो । पागलपनमा सही र गलत छुट्याउने चेतना मुर्छा परेको हुन्छ । मनमा उपभोक्तावfदको घोडसवार भइसकेपछि आवश्यकताको छनोट गर्ने विवेक नष्ट हुन्छ । बजार जाम् जाम् लागिरहन्छ र गइसकेपछि जे देख्यो त्यही किनम् किनम् हुन्छ । यसमा वर्गीयता पनि देखा पर्दछ । क्रेतामध्ये पनि उच्च वर्गको देखासिकी गर्ने मध्यम र निम्नमध्यम वर्ग उपभोक्तावादमा सबभन्दा नराम्ररी जकडिएको वर्ग हो ।
त्यसलाई अर्को शब्दमा यसरी भन्न सकिन्छ । विक्रेता र क्रेता दुबैको मनोदशा र व्यवहारको एकीकृत नाम नै उपभोक्तावाद हो । यी दुवैको दाउ उही वस्तु र सेवामा केन्द्रित हुन्छ, एउटाको दाउ बेच्ने र अर्काको दाउ किन्ने । क्रेता किनेर अघाउँदैन र बिक्रेता बेचेर अघाउँदैन । निरन्तर नयाँ नयाँ वस्तु र सेवाको असीमित उपभोग गर्ने अनन्त तृष्णा नै उपभोक्तावाद हो । यो एउटा यस्तो कुलतको जाल हो, जसमा फसेपछि मान्छे हत्तपत्त उम्कन सक्तैन । यस्तो जाल कि कुलतीले म कुलतमा फसेको छु भन्ने पत्तै पाउँदैन । बरु शान बढेको भ्रामक अभिमानमा डुबेर कुलतवश किनिएका वस्तुको प्रदर्शनमा उत्रिन्छ । उत्पादकलाई वस्तुको जनआवश्यकतासित खास सरोकार हुँदैन, सरोकार हुन्छ त केवल सहज रूपमा स्वेच्छाले किनेको भान हुनेगरी किन्न बाध्य पार्ने मनोवैज्ञानिक युक्तिसित, निजी नाफाको गणितसित ।
दसैँ-तिहारमा कोकाकोलासित सेलरोटी खाने विज्ञापनले बच्चाहरूको मनोविज्ञान बिथोलिएको हुन्छ । दही, मोही र काँक्राको अचारसित खानुपर्ने सेलरोटी कोकाकोलासित खाएपछि के हुन्छ ! उहाँ टेलिभिजनमा सेलसित कोक खानेको कत्रो शान छ, अनि सेलसित दही, मोही र काँक्राको अचार कल्ले खान्छ ! बजारले हाम्रो चाडलाई पनि बेच्यो । दही, मोही र काँक्राका उत्पादकहरूसित प्रचारको मिडिया छैन । सञ्चारका संयन्त्र त कोकवालाको हातमा छ । कोक-फेन्टा खासमा चिनीको झोल हो भन्ने यथार्थ बुझ्न पनि आलोचनात्मक विवेक आवश्यक पर्छ । उपभोक्तावादी विज्ञापन र बजारीकरणजन्य अतिभोगवादी चिन्तनले त्यो विवेक पनि बेकाम हुन पुगेको छ । उपभोक्तावाद सांस्कृतिक साम्राज्यवादको मनोभौतिक अस्त्र पनि हो ।
केही जोर कपडा भए पुग्नेमा सक्नेले पचासौं जोर किनून्, नसक्नेले एकजोर जुटाउन पनि नसकेर नाङ्गै हिडून्, पुँजीवादी व्यापारीहरूलाई केही फरक पर्दैन, नाफा भए पुगिहाल्यो । उपभोक्तावाद न्यायोचित वितरणको सिद्धान्त हैन । ठुलो जनसङ्ख्यालाई मूल्यवान् मालवस्तुको उपभोगबाट बञ्चित गराएर हत्केलाका औंलामा गन्न सकिने सङ्ख्याका धनीहरूका धनको र अभावग्रस्त गरिबको अभावको गणना गरी सरदर हिसाब निकालेर प्रतिव्यक्ति आयका आधारमा देशको सम्पन्नता मापन गर्ने कार्य बिचमा दश फिट गहिरो र किनारमा छिपछिपे पानी भएको नदीको गहिराइ सरदरमा पाँच फिट निकालेर साढे पाँच फिटको मान्छे जङ्घार तरी पारि पुग्न खोज्नु जस्तै हो । अर्थतन्त्रमा सरदरको गणित गरिबमारा गणित हो । उपभोक्तावादको मूल सूत्र यही गणितमा अन्तरनिहित छ ।
पुँजीवादीहरूको अर्थशास्त्रमा उपभोक्तावादले ग्राहकहरूमा उपभोगको मात्रा बढाएर अर्थतन्त्रलाई चलायमान बनाउन बल पुग्छ भन्ने मान्यताको बखान छ । ‘वस्तु र सेवाको उपभोग बढेपछि स्वत: उत्पादन बढाउनु पर्ने हुन्छ । उत्पादन बढाउनका लागि रोजगारी पनि बढाउनु पर्ने हुन्छ । रोजगारी बढेपछि क्रयशक्ति पनि बढ्न पुग्दछ । फलत: व्यवसायका मालिकहरू, उद्योगका कामदारहरू र कच्चापदार्थका आपूर्तिकर्ताहरू उत्पादको बिक्रीबाट लाभान्वित हुनपुग्छन् ।’ वस्तुत: यो सिद्धान्त भ्रामक छ । उपभोक्तावादले मालिक वर्गलाई अकूत नाफा दिलाएर बाँकीलाई रनभुल्ल पारेर छाडिदिन्छ ।
पुँजीवादी प्रणालीले राज गरेको यो भद्रगोलको दुनियाँमा विकासको अवधारणा पनि विचित्रको छ । सम्पूर्ण जनताको जीवनस्तर माथि उठेको अवस्थालाई पो विकास भनिनुपर्थ्यो । पुँजी, पैसा र आधुनिकतम सुविधाको छेलोखेलो छ मान्छेहरूको सीमित सर्कलभित्र । बाँकी मान्छेहरू यी सम्पूर्ण अवसरबाट वञ्चित छन् । विश्वमा ‘फेयरनेस क्रिम, पर्फ्युम, स्याम्पोलगायतका सौन्दर्य प्रसाधनका सामानहरू वार्षिक ५०० खरब बराबरको उत्पादन गरिँदो रहेछ । जबकि वार्षिक ११ खरब रुपैयाँ खर्च गर्दा विश्वबाट गरिबी हट्ने अनुमान गरिएको छ’ (नेपाल रिडर्स) । अधिकांश मान्छेलाई असहाय, अशान्त र मरणासन्न पारेर पनि नाफा कमाउन पाइने र त्यसैलाई अर्थतन्त्र चलायमान भएको अर्थ लगाउनु पर्ने यो कस्तो लोकतन्त्र हो ! यो कस्तो मानव अधिकार हो !
बहुप्रचारित वस्तुहरूको अधिकाधिक उपभोगबाहेक बाँकी सबै चीज भ्रम हुन् भन्ने मान्यताका कारणले स्थानीय र सामाजिक सांस्कृतिक मूल्यहरू नष्ट भएर जान्छन् । अति भौतिकवादी चिन्तनको विकासले ती मूल्यहरू सङ्कटापन्न हुँदै गएको हामी आफैले पनि देखिरहेका छौं । उपभोक्तावादले कथित विश्वस्तरका वैश्विक ब्रान्डका सामानको बिक्रीमा प्राथमिकता दिने कारणले रैथाने उत्पादनले तीसित प्रतिस्पर्धा गर्न नसक्ने हुनाले यसले मुलुकलाई परनिर्भरतातिर धकेल्दछ । यस्तो हुनुको मूल कारण देशको असङ्गत अर्थराजनीतिक प्रणाली हो । हाम्रा उद्योगहरू यसै सुकेका हैनन् ।
उपभोक्तावादले उपभोग गर्ने हतारो पैदा गर्दछ । तुरुन्तै धनी हुने हतारो ! ठूला सञ्चार माध्यमका विज्ञापनमा प्रदर्शित दामी र शानदार भनिएका वस्तु र सेवाको शीघ्रातिशीघ्र प्राप्त गर्ने हतारो ! बजारु देखासिकी र होहल्लाको प्रभावजन्य हतारो । हिजोआज करियर डिभलपमन्ट नामको तृष्णा पनि उपभोक्तावादी चिन्तनकै नतिजा हो । यही चिन्तनले नै नवयुवाहरू जन्मदाता मातापिता, जन्मभूमि र आफूले खाइखेली हुर्केबढेको समाजलाई चटक्क छाडेर विकसित भनिएका पश्चिमी मुलुकमा भासिने गरेका हुन् । पर्देसिनुका अन्य वाध्यताहरू पनि होलान् । त्यो छुट्टै विवेचनाको पाटो हो । अर्काको देशमा सुविधा देखेर सबैजना त्यतै दगुर्ने हो भने आफ्नो देश कसले बनाइदिन्छ ! यो देशको र समाजको मूल समस्या पहचान गर्ने र त्यसको समाधानार्थ सिर्जनशील, निस्वार्थ र निर्भीक भई खट्नु पर्नेमा देशै छाडेर भाग्ने मनोदशा निर्माण गर्ने को हो ? यो भगुवा चरित्रको निर्माता को हो ? छिचोलेर बुझ्न र बुझाउन जरुरी छ ।
उपभोक्तावादले पृथ्वीको पर्यावरणमा ठूलो नोक्सानी पुर्याएको छ । मानवीय आवश्यकताभन्दा अत्यधिक वस्तुले बजार भरिएको छ । अत्यधिक वस्तुको उत्पादनको अर्थ हो धर्तीको अत्यधिक दोहन । तर बहुसंख्यक मान्छे क्रयशक्तिको अभावमा ती चिज वस्तु उपभोग गर्न असमर्थ छन् । भनिन्छ, ‘संसारमा एघार अरब जनसंख्यालाई खान पुग्ने गरि खाद्यान्न उत्पादन भइरहेको छ । जबकि जनसंख्या आठ अरब मात्र छ । तर कैयन मुलुकमा भोकमरी कायमै छ ।’ अत्यधिक उपभोग गर्नेहरू अधिकांशत: उच्चताभासले ग्रसित छन् । सामन्तवादमा होस् वा पुँजीवादमा होस्, शोषणकारी सत्ताले महँगा मालवस्तु प्रशस्त मात्रामा उपभोग गर्नेहरूलाई सम्मान्य र कमसल वस्तुका प्रयोक्तालाई अपमान्य ठान्दछ । यस्तो अवस्थामा क्रान्तिकारी चेतनाले जाग्रत सर्वहाराबाहेकका अन्य सर्वसाधारणले आफूलाई अपमानित महसुस गर्दछन् र तिनमा हीनताभासको ग्रन्थी विकसित हुन पुग्दछ । कति त देखासिकीमा नसकी नसकी ती माल वस्तुको उपभोग गर्ने प्रयत्नमा सामर्थ्यभन्दा बढी खर्च गरेर आर्थिक रूपले दुर्घटित समेत हुन पुग्दछन् । उपभोक्तवादले प्रकृति र मानवतालाई घात गरेको छ ।
पुँजीवादी वर्चस्वको यो समयमा बजारबिना बाँच्ने कुरा असम्भव छ । अत्यावश्क कतिपय चीज बजारबाट नै किन्नु पर्ने हुन्छ । चकमक रगडेर झुरमा सल्काई आगो निकाल्ने काम अब परम् अव्यावहारिक हुन जान्छ । घर-घरमा सलाई र लाइटर बनाउनु सम्भव छैन, बजार नै पुग्नुपर्दछ । तर सहज प्रयत्न, युक्ति र प्रविधिद्वारा परिवारमै राम्रोसित उत्पादन हुनसक्ने वस्तुलाई पनि बजारमै सुम्पनु भने परनिर्भरताको पराकाष्ठा हो । परिवार परिवारको परनिर्भरता जोडिएर समग्रमा देशकै परनिर्भरता बन्न पुगको छ । यो परनिर्भरताको विचार-कार्यात्मक नेतृत्व दलालीकृत अर्थराजनीतिक चिन्तनले गरिरहेको छ । वर्तमान संसदीय राजनीतिका खेलाडीहरू यही चिन्तनका दासचरित्र हुन् ।