काठमाडौं । अविरल बर्षाका कारण काठमाडौं उपत्यकासहित देशैभर भएको धनजनको क्षतिप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको जनाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले उद्दार, राहतलगायतका विषयमा सरकारको ५ बुँदे ध्यानाकर्षण गराएको छ । सो पार्टीका प्रवक्ता सुदर्शनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ५ बुँदे ध्यानाकर्षण गराउनु भएको हो ।
वक्तव्यमा भनिएको छ, ‘१) यो प्राकृतिक प्रकोपबाट पिडित जनतालाई राज्यले श्ीघ्रातिशीघ्र क्षतिपूर्ति, राहत, उद्धार र घाइतेहरुको उपचार गर्नुपर्दछ । यसका साथसाथै नख्खु खोलामा रहेको एक झुपडीमा बसोबास गर्ने एक परिवारलाई उद्धार गर्ने समय हुँदाहुँदै पनि टुलुटुलु हेरेर बस्ने सरकारको गृहमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्दछ ।, २) यस्तो प्राकृतिक प्रकोपलाई विस्तार गर्ने दलाल पूँजीवादी क्रियाकलापहरु बन्द गरी खोला र नदी किनारको प्राकृतिक अवस्था फिर्ता गरेर शहरहरुलाई व्यवस्थित गर्नुपर्दछ । यसका साथसाथै वास्तविक सुकुमवासीहरुलाई उचित स्थानमा उचित व्यवस्थापन गरिनुपर्दछ ।, ३) अराजक नदीजन्य उत्खनन्को फुक्काफाल वनफडानी तथा वनमा आगजनी अवैज्ञानिक सडक निर्माण र त्यसमा यन्त्रहरुको प्रयोग बन्द गरिनुपर्दछ ।, ४) यो प्राकृतिक प्रकोपबाट पीडित जनताको उद्धार कार्यमा हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सबै स्तरमा सक्रिय सहभागी हुन विशेष निर्देशन गर्दछौँ ।, र ५) यो प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै उनीहरुका परिवारजनहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।”
यस्तो छ वक्तव्यको पूर्णपाठ :
“दश असोजको विहिवार साँझदेखि बाह्र असोजको शनिवार साँझसम्म भएको देशव्यापी, घनिभूत, अविरल र अभिलेखतोडक वर्षाले गर्दा हुन गएको धनजनको क्षती, आवागमन अवरोध र प्रकृतिको विनाशबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । सन् २००२ मा मौसम पूर्वानुमान महाशाखाको मापन अभिलेख अनुसार १७७ मिलिलिटर वर्षा भएको थियो भने यसपाली २३९.७ मिलिलिटर वर्षा काठमाडौँमा मापन भएको छ । यसले गर्दा राजधानीमा सबभन्दा बढी ३४ जना र देशव्यापी गरी १२० जनाभन्दा बढी मानिसहरुको मृत्यु भएको छ भने कैयौँ हराइरहेका छन् । नदी र खोला किनारका वस्तीहरु, तराईका वस्तीहरु र सुकुमबासी वस्तीहरु डुबानमा परी मानिसहरु घरवासविहीन र भोकभोकै हुने स्थिति बन्नगएको छ । देशव्यापी यातायातमा अवरुद्धता आएर आवागमन बन्द भएको छ । यही निहँुमा यो तमासा हेरिरहेका कालाबजारीयाहरुले कृत्रिम अभाव खडा गरी महङ्गी बढाउने दाउ हेरिरहेका छन् । नख्खु लगायत कैयौँ स्थानहरुमा उद्धार गर्न सकिने समय हुँदा हुँदै पनि सरकार र त्यसका संयन्त्रहरुको हददर्जाको लापर्वाहीले हेर्दाहेर्दै मानिसहरु जलप्रवाहमा हृदयविदारक ढंगले विलीन भएका छन् । भारी र अविरल वर्षा प्राकृतिक प्रकोप हो । यसमा त कसैले दोष लगाउने ठाउँ छैन । तर सरकार र सरकारी संयन्त्रमा रहेका अधिकारप्राप्त अधिकारीहरुले खोला र नदीहरुको बहावक्षेत्र कब्जा गरी भुमाफियाहरुलाई खरिद विक्री गर्न दिनु, कुनै भोगोलिक मापन र वैज्ञानिक सर्वेक्षण नगरी बाटोघाटो बनाउदा आधुनिक यन्त्रहरुको प्रयोग गर्नु, जथाभावी नदीजन्य पदार्थहरुको उत्खनन् गरी प्राकृतिक असन्तुलन पैदा गर्नु, वन अधिकृतहरुकै संरक्षणमा वन फडानी गर्नु र वनमा डँढेलो लगाउनु वा लगाउन प्रेरित गर्नु, जनता स्वयं यो स्वार्थी लहडको बहकाउमा फस्नु इत्यादि प्राकृतिक प्रकोपमा अप्राकृतिक समस्या निम्त्याउने कारणहरु हुन् । दलाल पूँजीवादी अर्थतन्त्र रहेको देशको राज्यसत्ता पनि दलाल पूँजीवादी नै हुन्छ भन्ने कुरा यो घटनाले पुस्टि गर्दछ ।
अतः क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निम्न कुराहरुमा ध्यानाकर्षण गराउँछ ।
१) यो प्राकृतिक प्रकोपबाट पिडित जनतालाई राज्यले श्ीघ्रातिशीघ्र क्षतिपूर्ति, राहत, उद्धार र घाइतेहरुको उपचार गर्नुपर्दछ । यसका साथसाथै नख्खु खोलामा रहेको एक झुपडीमा बसोबास गर्ने एक परिवारलाई उद्धार गर्ने समय हुँदाहुँदै पनि टुलुटुलु हेरेर बस्ने सरकारको गृहमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्दछ ।
२) यस्तो प्राकृतिक प्रकोपलाई विस्तार गर्ने दलाल पूँजीवादी क्रियाकलापहरु बन्द गरी खोला र नदी किनारको प्राकृतिक अवस्था फिर्ता गरेर शहरहरुलाई व्यवस्थित गर्नुपर्दछ । यसका साथसाथै वास्तविक सुकुमवासीहरुलाई उचित स्थानमा उचित व्यवस्थापन गरिनुपर्दछ ।
३) अराजक नदीजन्य उत्खनन्को फुक्काफाल वनफडानी तथा वनमा आगजनी अवैज्ञानिक सडक निर्माण र त्यसमा यन्त्रहरुको प्रयोग बन्द गरिनुपर्दछ ।
४) यो प्राकृतिक प्रकोपबाट पीडित जनताको उद्धार कार्यमा हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सबै स्तरमा सक्रिय सहभागी हुन विशेष निर्देशन गर्दछौँ ।
५) यो प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै उनीहरुका परिवारजनहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।”
मिति ः असोज १३, २०८१